म तिस र चालिसको मध्य बिन्दुबाट अगाडि बढ्दै छु । म जन्मिएको गोडा दुई वर्ष पछि आमाले देह त्यागेर निस्कनु भएछ । बाले कान्छी श्रीमती जोडेर गाउँ घर छोडेर हिँडेपछि फर्की आउने बाटो भुलेछन् । जीवनको यो मोडमा आइपुग्दा म सँग एउटा जागिर छ । एउटी श्रीमती छिन र एउटा चार वर्षीय छोरो छ । बल्लतल्ल जोगाएको दस ओटा लाख रुपैयाँ थियो, एकको दुई बनाउने लोभले जम्मै सेयर बजारमा हालको, झम्मै घटेर आधा भएको छ । न बेच्न सक्छु न नयाँ किन्न सक्छु । म एक अडबाङ्गो उमेरमा आइपुगेको छु । न भागाभाग गर्ने जाँगर छ न चुपचाप आनन्द बस्न सक्ने अल्छी छ ।
सधैँ किच् किचाई रहने श्रीमती देख्दा भएको जाँगर मर्छ । जुन बेला पनि भोकाइरहने छोरो देख्दा अल्छी जाग्छ । म यो सब के को लागि गर्दै छु रु छोराको चाहना भन्दै श्रीमती आफूलाई खान मन लागेको कुरा ल्याउन भन्छिन् । छोरालाई देखाउँदै यसलाई चाहिएको त हो नि भन्दै आफू चोखो बन्छिन् । म सब बुझेर पनि अबुझ झैँ बन्छु । म एक अबुझ कलाकार । आफू उनीहरूको लागी दगुर्दा दगुर्दा लौरो जस्तो पातलो भइरहेछु । उनीहरू घरमै थन्किएर हसुर्दा हसुर्दै भकुन्डो जस्ता भैसकेका छन् । उनीहरूलाई म हरदिन झन् झन् गोलो देख्छु, आफूलाई ऐनामा हातमा केही बोकेर नपुगेको दिन मसँग उनीहरू बोल्न पनि आवश्यक ठान्दैनन् । दुवैले मोबाइलबाट आँखा हटाएर मेरो मुख सम्म हेर्दैनन् ।
हातमा खानेकुरा लगेको दिन छोरो बडा प्रफुल्लित हुँदै कपाकप खानेकुरा खान्छ, यसो र त्यसो भनेर स्कुलको गफ हान्छ । श्रीमती खानेकुराको फोटो खिचेर भएभरका सोसल मिडियामा पोस्टयाउँछिन् र यसले यस्तो भन्यो र उसले उस्तो भन्यो भन्दै रमौंछिन् । खाना नपकाउन उनलाई बडा मज्जा लाग्छ । आमा छोरालाई नै सबैभन्दा मिठो पिज्जा लाग्छ । उनीहरूलाई खुसी बनाएर, उनीहरू खुसी भएको देखेर आफू खुसी हुनुपर्ने यो कस्तो बाध्यता हो म जान्दिन । म उनीहरू जस्तो हुन सक्दिनँ, उनीहरू म जस्तो ।्र भित्र कता कता बिझेको छ त्यै पनि मुसुक्क मुस्कुराउँदै बोल्न म जान्दछु । यस्तो कला जान्नु नै जीवनको सबैभन्दा अद्भुत कला जान्नु हो भन्ने म ठान्दछु ।
यसो साथीभाइ वा चिनजानका मान्छे भेटौँ न भन्ने जाँगर पनि मरिसकेको छ । भेटेर पनि के गर्नु रु कति कमाउँछस् रु जग्गा जोडिस् रु कति छ ब्याङ्क ब्यालेन्स रु भन्दा अरू जातका प्रश्न उनीहरू सँग छैन । सबैको तरक्की र रमाइलो मात्रै देखिने सोसल मिडिया हेर्नको लागि पनि ठुलै आँट चाहिन्छ मलाई । सारै पिर पर्यो यार भनेर सुनाउनका लागि देशमा बाँकी भएका हितैषीहरूलाई आज आइज रक्सी पिलाउँछु भन्यो भने मात्रै फुर्सद मिल्छ । त्यसो गर्दा दोहोरो घाटा छ । आफैले बोलाएपछि रक्सीको पैसा पनि तिर्नु पर्यो अनि उनीहरूको रामकहानी पनि जाँगर लागेको जस्तो गर्दै सुन्नै पर्यो । आफूलाई जस्तो मान्छे चाहिएको छ उनीहरूले फोकटमा त्यस्तै मान्छे मेरो रूपमा पाउँछन्, क्या भाग्यमानी ।
सबैलाई आफैले बोकेको पिर ठुलो लाग्छ । त्यसैले आजकाल मैले सबैलाई छोडेर मदिरालाई प्रिय साथी बनाएको छु । रिमरिम मातिएर आफैसँग बात मार्छु, यस्तै हो केटो, जे छ ठिक छ भन्दै आफैँलाई धाप मार्छु । राती अबेरसम्म बरालिने भएको छु । कहिले ठमेलको हालचाल देखेर अल्झन्छु । कहिले वसन्तपुरको चहलपहलमा बरालिन्छु । लाग्छ मान्छे सब खुसी छन् । आफन्त भेटघाटबाट सकेसम्म बच्ने प्रयास गर्छु । जब उनीहरूको घरमा बिहे व्रतबन्ध आउँछ मलाई १०४ को जरो आउँछ, श्रीमती जीलाई जाँगर पलाउँछ ।
मेरो अस्थित्वका सबै अङ्ग अङ्ग रोइरहेका छन् तर आँखा ओभानो छ । म आँतै सम्म भरिएको आँसुको पोखरीमा डुबुल्की मारिरहेको छु । सब थोक खतम भएर पनि हर चिज ठिकठाक छ भन्ने नाटक पारिरहेको छु । दिल दिमागभरि काला बादलहरू लडाइँ गरिरहेका छन् । मनैभरि मनसुनको मौसम तम्तयार छ । म मेघ गर्जन सहित बर्सिदिन तयार छु, मात्र कसैले सोधिदियोस् ‘तँलाई कस्तो छ यार ?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।