शहरको व्यस्त गल्ली ! आचरण सुधार केन्द्र लेखिएको ठूलो होर्डिङ बोर्ड र त्यसैको अगाडि ठिङ्ग उभिएका छन् भद्रमान सर । कुनै छटपटीमा परेझैं उनी यताउता गरिरहेछन् । मन थिरमा छैन । भित्र जाऊँ कि नजाऊँ भन्ने दोधार दोधारमै उनी मूल गेटभित्र प्रवेश गर्छन् र सिधै पुग्छन् आचरण सुधार केन्द्रको रिसेप्शनमा । जहाँ उनलाई मन्द मुस्कानका साथ एउटी २०/२१ वर्ष जतिकी केटीले स्वागत गर्छे र एकैछिनमा यस सुधार केन्द्रको जन्मदातालाई बोलाइदिन्छु भन्दै बाहिर निस्किन्छे ।

भद्रमान सर मनमा पछुतो पालेर सुधार केन्द्रको जन्मदातालाई पर्खिरहन्छन् । उनलाई कहिल्यै यहाँ आउनुपर्छ जस्तो लागेको थिएन । र यस्तो सुधार केन्द्र हुन्छ भन्ने पनि थाहा थिएन । यसको बारेमा जानकारी उनले आफ्नै श्रीमतीबाट पाएका थिए । उफ् ! जिन्दगीमा कस्ता कस्ता ठाउँहरूमा पनि आउनुपर्छ ? बेकार आइयो यस्तो ठाउँमा । उनी खुइय्य सुसेल्छन् ।

केही क्षणको प्रतीक्षापछि नमस्कार है भद्रमान सर भन्दै कोही आइपुग्यो । त्यो मान्छेलाई देखेर भद्रमानका आँखा केही बेर तिरमिराए । कतै आँखाको दोष त होइन ? करीब ५० टेक्न लागेका भद्रमानले आफ्नै आँखामाथि शङ्का गरे तर सत्य उनकै अगाडि थियो । उनको सामुन्ने मन्द मुस्कान सहित उनले सबैभन्दा बढी आदर्शवान् र इमानदार मानेका पूर्व प्रशासक उपस्थित थिए ।

“सर हजुर यहाँ ?” उनले जिज्ञासा थाम्न नसकेर सोधिहाले । जवाफमा पूर्व प्रशासक मुस्कुराए मात्र ।

तातोचिसो सोधिसकेपछि उनी बोले, “यो प्रश्नको जवाफ तपाईं आफैं यहाँ आएर दिइसक्नुभएको छ । मैले लामै समय सार्वजनिक सेवामा व्यतीत गरें । कानूनी छिद्रहरूको बारेमा राम्रै जानकारी हासिल गरियो । रिटायर्ड लाइफ के गर्ने भन्ने भैरहेको थियो । हाम्रो जस्तो समाजमा मैले अपार सम्भावना देखेर नै यो सुधार केन्द्र खोलेको हुँ । अहिले तपाईंजस्ता करीब एक सय मान्छेलाई हामी तालिम दिइरहेका छौं ।“

उनले गर्वका साथ आफ्ना कुराहरू एकै सासमा भनी सिद्ध्याए ।

भद्रमान सरले किन तपाईं यस्तो तालिम दिनुहुन्छ भनेर सोध्न पनि सकेनन् । किनभने उनी आफैं त्यहाँ पुगेका थिए । आफ्नै इच्छाले भने पटक्कै होइन । उनलाई त कहिल्यै लागेको थिएन आफूलाई सुधार गर्नुपर्छ भनेर । तर उनकी श्रीमतीलाई लाग्थ्यो उनी पूरापूर बिग्रिएका छन् । किनभने उनी सरकारी कर्मचारी भएर सधैं समयमै कार्यालय जान्थे । कार्यालयमा काम बाहेक दायाँबायाँ केही पनि गर्दैनथे । एक सुको घुस खाँदैनथे । कसैको चाकरी गर्दैनथे । कसैलाई भनसुन गर्दिन परे उनलाई ज्वरो आउँथ्यो । उनीसँगैका साथीहरूले काठमाडौंमा दुईचार ओटा महल ठड्याइसक्दा पनि उनले सामान्य पक्की घरमै गुजारा गरिराखेका थिए । आफू माथिल्लो पदमा पुगेर पनि आफ्ना साला/साली, भाइ/भतिजा, भान्जाभान्जी कसैलाई कतै जागीर खुवाउन सकेका थिएनन् । हरेक पार्टीमा एउटै र उस्तै लुगाहरू लगाएर गैदिन्थे । यसले उनलाई त खासै फरक परेको थिएन तर उनकी श्रीमती तथा छोराछोरीले साह्रै लज्जित महसूस गरिरहेका थिए । आफन्तले पनि उनलाई माल पाएर पनि चाल पाउन नसक्ने मूर्ख व्यक्ति भन्दै खिसीटिउरी गर्थे । समाजको नजरमा पनि उनी मुटु नभएका कातर कर्मचारीको रूपमा परिचित थिए ।

उनले आफूलाई सुधार नगर्ने हो भने उनीसँग श्रीमतीले बस्न नसक्ने धम्की दिएपछि बाध्य भएर उनी यस सुधार केन्द्रमा आइपुगेका थिए । जहाँ उनलाई उनैले आदर्श मानेका पूर्व प्रशासकहरूले कुनै फन्दामा नफसी भ्रष्टाचार गर्ने भद्र तरिकाहरू, अकुत सम्पत्ति कमाउने अनेकौं बाटाहरू, काम चोर्ने सय उपाय अनि चाकडीका चालिस विधि सिकाउने वाला थिए ।