शहरको ‘अन्तर्राष्ट्रिय केन्द्र’ मा धेरै पटक उसले आफ्नो नाम नलेखाएकी होइन । तर के हुन्छ कुन्नि, उसको आमन्त्रण स्वीकार गरिन्न कि कसो धेरै समयदेखि पाहुनालाई आफूकहाँ स्वागत गर्ने सुवसर उसले पाए की थिइन । हरेक क्रिस्टमसमा कुनै अर्को देशको पाहुनालाई आफूकहाँ डिनरका निमित्त बोलाउने उसको इच्छा मर्दै गइरहेको थियो । सल्लाको रूखलाई कति बिजुलीका गुलुपहरूले उसले सिँगार गर्छ, यस्तै राम्रा र मीठा अत्तर छर्केर कोठा बास्नामय बनाउँछे, अनि पाहुनाको स्वागतका निमित्त व्यञ्जन र परिकारको लामो सूची तयार गर्नमा पनि ऊ अगाडि नै रहन्छे । पहिलेबाट कुखुराको सुरुवा र लाइट ड्रिड्क्स, अनि फ्राइड चिकेन, एसियाली देशको पाहुना भए चामलको भात नत्र क्रेकरिज, केक र पाउरोटी, अन्त्यमा कुनै हट ड्रिङ्ग यस्तै । टेबुलको सजाउमा पनि उसले कम विचार पुऱ्याउँदिन । राम्राराम्रा गुलाफका फूलहरू, रङ्गीचङ्गी कपडाहरू, बत्तीको झिलिमिली आदि कसरी गर्नुपर्छ भन्ने कुरामा ऊ पोख्त छे । आफ्नो अनुहार र शरीरलाई आकर्षक बनाउन त्यस दिन ऊ ब्युटी सेलुन अवश्य जान्छे । कुन डिजायनको लुगाले ऊ बढी खुल्छे, कुनले पाहुनालाई बढी आकर्षित गर्न सकिएला ? आदिमा क्रिस्टीको पूरा ध्यान जान्छ । आकर्षक र भव्य भएर ऐनामा आफूलाई हेर्दा उसलाई लाग्छ अझ पनि कुनै ‘ब्युटी कन्टेस्ट’ भएमा उसको नाम पहिलो नम्बरमै आउँछ ।

अनि त ऊ सपनाको सानु जाली बुन्न लाग्छे । त्यो तन्देरी विदेशी पाहुना आउँछ र बाहिरबाट घण्टी दिन्छ । ऊ विस्तारै गएर स्वागत गर्छ ‘Very glad to meet you’ (तिमीलाई भेटेर धेरै खुसी लाग्यो) । ऊ बिस्तारै एघारौं तलाको उसको एपार्टमेन्टमा आइपुग्छ ।

उसले भन्नेछ “तिम्रो एपार्टमेन्ट धेरै राम्रो लाग्यो मलाई । कति सफा छ । कति मनमोहक र कति सुन्दर ।” ऊ खालि धन्यवाद भन्नेछे । खालि मुस्काउनेछे ।

अनि त उसले सक्तो नरम स्वर निकालेर भन्नुपर्छ- “के ल्याऊँ ? के टक्र्याऊँ मेरो प्यारो पाहुनालाई आज ? मसँग जोनीवाकर र स्कच ह्विस्की छ । अनि रम चाहिए सो पनि छ । कोकाकोला पनि ल्याऊँ कि ?”

यो सानु तन्द्रा छुट्छ र उसका सामु अर्को नयाँ क्षितिज खुलेर आउँछ । त्यो क्षितिजमा ऊ एक्ली छ । उसको कुनै आकाश छैन । कुनै दिन थियो । उसका पछि थुप्रै ठिटाहरू लाग्थे । सारा क्लबभरि ऊ मात्र हुन्थी । सारा पार्टी र डिनरको आकर्षण ऊ मात्र थिई । व्यायफ्रेन्ड लिएर टाढा कतै समुद्रको किनारामा रहेको लजमा दुई-चार रात काट्नु उसका लागि केही थिएन । त्यसमा उदाउने र अस्ताउने सूर्यलाई उसले धेरैपल्ट हेरेकी छ । कसैले उसलाई प्रस्ताव पनि नगरेको होइन । म तिमीलाई बिहे गर्न चाहन्छु क्रिस्टी ! तिमी त कति लोभलाग्दी छ्यौ । तर सधैं उसलाई लाग्थ्यो यस्ता प्रस्तावहरू सब झूट हुन् । नक्कली हुन् र असत्य हुन् । उसको यौवनका लागि मात्र निक्लिएका यी कृत्रिम स्वरहरू हुन् । यस्ता थुप्रै प्रस्तावहरू, थुप्रै स्वीकृतिहरूलाई अर्थ नदिँदानदिँदा ऊ कति धेरै बूढी भइसकेकी रहिछे । निष्ठुर समयले कसरी छलिसकेको रहेछ । बिचरी क्रिस्टी ! के थाहा उसलाई ? बिस्तारै ती प्रस्तावहरूसँगै एउटा टिप्पणी गाँसिन लाग्यो-किनकिन तिमी धेरै बूढी भएको जस्तो लाग्छ । यसलाई पनि उसले अर्थ दिइन । कार्यालयका हाकिमको अर्थभरि मुस्कानलाई पनि उसले वास्ता गरिन । उसको मनमा सधैं यस्तै केही लागिरह्यो । जिउनुको उद्देश्य खालि बिहेको बन्धनमा बाँधिनु मात्र होइन । उसको नियति संस्कारको त्यस पर्खालमा ठोकिनका लागि मात्र होइन ।

कहिलेकाहीँ आउने कुनै विदेशी पाहुनालाई ऊ मन पराउँछे । उसको गम्भीरता र अर्थपूर्ण मुस्कान क्रिस्टीलाई मन पर्छ । ऊ त्यस देशका विषयमा पहिले नै Encyclopaedia मा पढिसक्छे र त्यही आधारमा उसलाई घुमाउरा प्रश्नहरू (Cross questions) सोध्न रमाइलो लाग्छ । एसिया र अफ्रिकाका केटाहरू कति लजाउँछन् ! स्वास्नीमान्छे जस्तो, सेक्सको कुरा आउँदा तिनका गालामा चढेर आउने रगत उसलाई हेरिरहूँ लाग्छ ।

त्यही मौका पारेर उसको विषयमा ऊ सोधिहाल्छे- यहाँलाई आफ्नी श्रीमती छाड्नुपरेकोमा धेरै दुःख लागेको छैन । अब त्यो तन्देरी केटो गम्भीर देखिन्छ । मानौँ यो प्रश्न नसोधिएको भए हुन्थ्यो ।

ऊ बिस्तारै जवाफ दिन्छ- मैले बिहे गरेको छैन क्रिस्टी ! म एक्लो छु ।

क्रिस्टीलाई थाहा छ कुनै पनि एसियनको बिहे सालाखाला बीस-बाइस वर्षभित्र भइसक्छ । उसका एक-दुई छोराछोरी पनि भइसकेका होलान् । तर ऊ चाहँदैन कि, आफूले बिहे गरिसकेको भनेर आफ्नो प्रतिष्ठा घटाऊँ । फेरि त क्रिस्टीको त्यही नियमित क्रियाकलाप प्रारम्भ हुन्छ भोलि २ बजे भेटौँ । म आफ्नो गाडीमा यहाँलाई यो शहर घुमाइदिन्छु । शहरको बाहिरी भाग धेरै रमाइलो छ मेरो पाहुना ! समुद्रको किनाराकिनारामा घुम्न जाऊँ । तिम्रो देशमा शायद समुद्र छैन होला ।

पाहुनाले ‘समुद्र छैन’ भनेर नकारात्मक टाउको हल्लाउनासाथ क्रिस्टीको साहस झन् बढेर आउँछ समुद्र नभएको देश रमाइलो हुँदैन हगि ? फेरि व्यापार र पर्यटनको विकास हुन पनि गारो हुन्छ । मलाई त समुद्र चाहिन्छ । त्यसबाट उदाउने सूर्य चाहिन्छ । समुद्रको सूर्यास्त पहाडको जस्तो होइन । त्यसमा भित्रै मनमोहकता छ ।

अहिले ऊ अलिकति भावुक हुन्छे । यस्तै भावुकतामा उसलाई कुनै पुरुषको सहवासको लोभ लाग्छ । बजारमा पाइने पुरुष जननेन्द्रियलाई आफ्नो जीवनको साथी बनाउनुपर्दा क्रिस्टीलाई लाग्छ ऊ कति निरीह छे । कमजोर र लाछी स्वास्नीमान्छे छे । रबरको त्यस जननेन्द्रियले मानिसको माया कहाँ दिन सक्छ र क्रिस्टीलाई । तर कहिलेकाहीँ यस्तै भावुकतामा उसलाई त्यो मन पर्छ । कहिलेकाहीँ यस्तै रङ्गीचङ्गी सपनामा त्यो स्वाभाविक सत्य भएर उसको सेक्सको भोक मेट्ने गर्छ । विद्युत्बाट सञ्चालित त्यस यन्त्रले आफ्नो देशमा कति धेरै स्वास्नीमान्छेहरूको सेवा पुऱ्याएको छ भन्ने कुराले उसलाई अलिकति सन्तोष पनि लाग्छ । तर उसले खोजेको त्यस संयत्र पनि होइन, त्यो रबरको कृत्रिमता पनि होइन, त्यो नक्कली आकाश पनि होइन, जो ऊ खोज्छे, त्यो यता कतै छैन ।

जीवनमा साथ दिने कोही लोग्नेमान्छे के आवश्यक छ ? के एक्ली स्वास्नीमान्छे समाजमा आफ्नो प्रतिष्ठा कायम गर्न सक्तिन ? के उसले आफूलाई कुन बलिष्ठ हातहरू सुम्पनैपर्छ ? यस्ता थुप्रै कुराहरू छन् जसले क्रिस्टीलाई बरोबर बिथोल्छ । हरेक पटक बज्ने टेलिफोनको घण्टीले उसलाई सतर्क गराउँछ । कतै आज पनि उसको पाहुनाले माफ राख्नोस् म आउन सक्तिनँ भनिदेला र उसका सारा इच्छाहरू बेकार होलान् । यी सारा तयारीहरूले कुनै अर्थ नराखिदेला । आज कार्यालयमा बिदा लिएर बसेको त्यसै हो र ! मानौँ कुनै राजकुमारलाई पर्खेर बसेकी छे क्रिस्टी ।

ऊ सोफालाई बुसले सफा गर्छ । डिनरका भाँडाकुँडा, कपप्लेट मिलाउँछे । केही अमूर्त चित्रहरू जो उसले कोठामा झुन्ड्याएकी छ, तिनलाई एक पटक पुछपाछ गर्छ । उसको ध्यान एउटा नग्न युवतीमा गएर अड्छ जो उठ्ने तयारीमा छे, तर लज्जावश सक्तिन जसमा सेक्सको इच्छा छ, तर व्यक्त गर्न सक्तिन । शायद त्यही चित्रको युवती हो क्रिस्टी ।

आज आउने केटो हुन सक्छ- दक्षिणपूर्व एसियाको, कुनै विकासोन्मुख देशको हो । यत्रा लामा वर्षहरूको धेरै लामो प्रयासपछि उसले कुनै पाहुनालाई बोलाउन लागेकी छ । यो अवसर धेरै दृष्टिले उसका निमित्त महत्त्वपूर्ण छ । आज मान्छे फरासिलो भएमा ऊ पाहुनासँगै अलिकति ड्रिङ्क गर्नेछे । अनि बरबराउनेछे- मलाई पाहुनाहरू धेरै प्रिय लाग्दछ । म हरेक पाहुनालाई आफू जस्तै प्रेम गर्छु । यसरी बरबराउनु उसलाई आनन्द लाग्छ ।

पाहुनाका विभिन्न चित्रहरू उसका अगाडि देखा पर्छन् । उसको उचाइ धेरै अग्लो हुन सक्तैन । उसको अनुहारमा छोटा चिम्से आँखा हुनेछन् । ऊ हँसिलो हुनेछ । उसको अङ्ग्रेजी भाषा त्यत्ति प्रस्ट हुने छैन । उसका प्रत्येक कुराकानी लाजले भरिएको हुनेछ । उसले आफ्नो देशको संस्कृति बताउनेछ, कलाको बखान गर्नेछ ।

ऊ भन्नेछ- क्रिस्टी ! अमेरिकी स्वास्नीमान्छेहरू मलाई सारै रमाइलो लाग्दछन् । ती सुन्दरी मात्र छैनन्, अत्यन्त फ्र्याङ्क र बुद्धिमति पनि छन् । हाम्रो देशका स्वास्नीमान्छेहरू यस दृष्टिले धेरै पछि छन् । झन्डै शताब्दीको फरक छ ।

म खालि मुस्काउनेछ । ऊ अझ भन्नेछ- “यहाँ कुनै जब पाए म पनि अमेरिकामा बस्थें । तर के गर्नु, नागरिकता नपाई जब पाउन सकिन्न । फेरि नागरिकताका निमित्त सर्वप्रथम यहाँका कुनै केटी बिहे गर्न पाए सजिलो हुन्थ्यो होइन !”

“अनि पछि डाइभोर्स गर्यो होइन ।”

“पछिको कुरा पछि नै हो । मैले त अहिलेको कुरा गरेको,”- ऊ स्पष्टीकरण दिनेछ । क्रिस्टीलाई विश्वास छ उसको कुराकानी निश्चय नै सुखद रूपमा टुङ्गिनेछ । त्यही हार्दिकताको लागि उसले यत्रो डिनर दिन लागेको हो, त्यही सद्भावना र स्नेहका लागि । ऊ घडी हेर्छ । ७ बजिसकेको छ । उसको पाहुना अब आउनै लागेको छ । अनायास ऊ ठूलो ऐनाको अगाडि पुग्छे । उसलाई लाग्छ- उसको उमेर त्यत्ति धेरै गइसकेको जस्तो कहाँ देखिन्छ र ! उसले हडबडाउनुपर्ने केही जरूरत छैन । बाहिर आउने गाडीको हरेक आवाजले उसलाई भित्रसम्म छोएर जान्छ । यसलाई स्वाभाविक रूपले सोच्न ऊ प्रयत्न गर्छ । तर कहीं न कहीं गडबड भइहाल्छ । कहीँ कुनै छेउमा लाइन सट् भएजस्तो हुन्छ । सो गएर उसको मस्तिष्कसम्म पुग्छ । ऊ स्वयम् सट् हुन्छे । उसलाई विगत बिर्सेजस्तो लाग्छ । भोलिका सारा दिनहरू निरास आउँछन् भन्ने लाग्छ ।

अर्को आधा घण्टा गइसकेको छ । तर उसको पाहुनाको कुनै खबर छैन । घण्टी बज्ला र ढोका खोल्न जाउँला भन्ने कुराले बरोबर सचेत गराइरहेछ । तर घण्टी बज्दैन । फ्रइड चिकेनको मधुरो गन्ध कोठाभरि रुमल्लिरहेछ । पाहुना ढिला आइदिएमा कुरा गर्ने लामो समय रहँदैन । उसका मनमा थरीथरीका रङहरू आउँछन् जान्छन् । तर कुनै रङ स्थायी छैन ।

टेलिफोन बज्छ । उसको मुटु काँपेर आउँछ । ऊ रिसिभर उठाउन बाध्य हुन्छे । त्यहाँ एउटा स्वर छ “म सामसोला बोल्दै छु ।”

“तपाई मेरो पाहुना । म तपाईंलाई अगिदेखि पर्खेर बसिरहेकी छु । तपाईं छिटो आउनुभए मलाई सुविधा हुने थियो ।”

“मैले आउने धेरै कोसिस गरेँ । वास्तवमा तपाईसँग भेट्‌ने मेरो हार्दिक इच्छा छ । म चाहन्छु…” उसले स्पष्टीकरण दिन्छ ।

“के तपाईंलाई आउन गाडी भएन ! म गाडी लिएर आउन सक्छु । तर तपाईं कहाँ बस्नुहुन्छ ? अन्तर्राष्ट्रिय केन्द्रले मलाई यहाँको ठेगाना दिएको छैन ।” ऊ एकै सासमा बोल्छे ।

“म आउन सक्थें । तर के गरूँ मिस क्रिस्टी । मलाई माफ राख । आज बिहानैदेखि मेरो टाउको भारी भएर दुखिरहेछ । म ओछयानबाटै उठ्न नसक्ने भएको छु ।”

“तपाईं जसरी भए पनि आउनैपर्छ… म अनुरोध गर्छु मलाई दुःख हुनेछ ।”

“म के गरूँ । टाउको सारै… माफ दिनुहोला कृपया ।…” फोन राखिन्छ । क्रिस्टी सोच्छे- फोन गर्ने पाहुनाको स्वर धोद्रो र बूढो छ। ऊ अवश्य क्रिस्टीभन्दा धेरै उमेरको हुनुपर्छ ।

(परशु प्रधानका ‘प्रतिनिधि कथाहरू’बाट)