माने झल्याँस्स बिउँझन्छ र हेर्छ कोठाभरिको आकाश । आँखीझ्यालबाट आएका छन् घामका एक-दुई रेखा । पश्चिमतिरको सानु भयाल बन्द छ । पूरा गलेको, थाकेजस्तो अनुभव हुन्छ उसलाई । घाँटी तिर्खाले सकसकाइरहेछ ।
आज फेरि कसरी घरमा मुख देखाउने ? सधैं के भएको उसलाई ? रुपियाँ पाउनासाथ किन तान्छ, रक्सीले उसलाई ? ऊ सुतीसुती कमिजको गोजी छाम्छ । त्यहाँ केवल बाँकी रहेछ एउटा एकको नोट । ऊ बिस्तारै उठ्छ र पल्लो कोठामा जान्छ ।
“सानी दिदी सानी दिदी रक्सी पारिरहिछे । पानी फेरेको खलल आवाज आइरहेछ । मानेलाई त्यो पानी हालेको हेरिरहन मन लाग्छ । सानी दिदी आफ्नै सुरमा कराउँछे- “ए जेठी ! ल है छिटो गरेर पानी ल्या । यहाँ अर्को वाहन बाँकी नै छ ।”
“सानी दिदी ! अलिकति छैन तातो । सारै दडदडी लाग्यो ।” माने बिस्तारै भन्छ ।
“पखेस् अब दुई पानी मात्र बाँकी छ ।” अलिकति मुस्काउँछे सानी दिदी । सानी दिदीको अनुहार एकपल्ट हेर्छ माने । अधबैंसे उमेर । राताराता गाला । सानु टप कानमा । कताकता भर्खरकै जस्ती । मानेलाई जिस्क्याउन मन लाग्छ- “कसो त सानी दिदी ! फेरि घरजम नगर्ने ?” सानी रिसाएको हाँसो हाँस्छे । आनन्दआनन्द लाग्छ मानेलाई ।
फेरि डर लाग्छ के भन्ने हो गोरेकी आमाले आज । दसोटा एक-एकका नोट बोकेर हिजो साँझमा चामल किन्न हिंडेको मान्छे । यता पो अलमलिएछ ऊ त । के खाए होलान् ती जहान केटाकेटीहरूले । कस्तो पापी मान्छे हैं माने !
कसरी गोरेकी आमाले सोचिरहेकी होली- अब एक क्षणमा त आउलान् । पचहत्तर पैसा मानाको चामल किनेर सधैं कसरी बाँच्न सकिन्छ ? मकै ल्याउनू भनेको । अलिकति भए पनि फारो हुन्छ । दरिलो पनि हुन्छ मकैको भात । किन ढिला गरिरहेछन् ? मकै किन्न पाइएन कि ! छोराछोरीहरू हुनसम्म भोकाइसके । बिहान त्यही कोदाको रोटी एक-एकवटा खाएका न हुन् । अहिले बाहिर सिमसिम पानी पर्न लाग्छ । वर्षाको बेला । मकैका पातहरू सरसराइरहेछन् । एउटा सानु छिंडी । पिलपिलाउँदो बत्ती । गोरेकी आमा झोक्राइरहन्छे । गोरे रुन्चे स्वरमा भन्छ- “आमा, वा आएन ?”
“आउलान् – एकछिन पख् अब ।” अनि काखकी सानी छोरीलाई गोरेकी आमा दूध चुसाउन लाग्छे । दूध आउँदैन । छोरी अतालीअताली रुन्छे । एउटा विदीर्ण वातावरण आउँछ त्यहाँ । खान पाएको भए पो दूध आउनु ! पानीसिवाय जीउमा केही परेको होइन । रुन लाग्छे ऊ । सधैं यस्तै हो । यो चिहानमा एक पेट खान र एक धरो लाउनसम्म पाइन्न ।
अलिकति नशाले छुन्छ मानेलाई । ऊ मन नलागीनलागी उठ्छ । अहिले माने सडकमा छ । एउटा सानु सडक । असंख्य फोहोर । कुकुरहरूले मानेलाई भुक्छन् । आफैं पनि कुकुरझैं ठान्छ ऊ । यसैले ती कुकुरहरूलाई ऊ गाली गर्दैन, न कुट्न नै तम्सन्छ ।
मानेको छाया अगाडि बढिरहेछ । उसका मनका भित्री तहहरू आफआफै हडबडाउँछन् । सानी छोरी मुख नीलो पारीपारी कति पटक रोइहोली । त्यो गोरे ! बिचरो एक पेटसम्म कहिल्यै खान पाउँदैन । गोरेकी आमाको त कुरै नगरौं । मलाई त के र ! ई, रक्सी खायो हिँड्यो । मर्न लागे होलान् सबै । कति गरेर खोजी ल्याएको दस रुपियाँ । एकै छाक भइहाल्यो । रक्सी त उसले त्यति खाएको कहाँ हो र ! नौ-नौ रुपियाँ । कहाँ पाउने उसले ? नलिई गए गोरेकी आमाका अगाडि मुख नदेखाए हुन्छ । पर एउटा मान्छे आइरहेछ । त्यो धने हो जस्तो मानेलाई लाग्छ । नभन्दै त्यो नजिकै आउँछ ।
माने कराउँछ- “ए धने ! यहाँ आइज आइज ।”
धने नसुनेजस्तो गरेर अगाडि बढ्न खोज्छ ।
ऊ अझ जोडले चिच्च्याउँछ- “धने धने ।” बल्ल धने नजिकै आउँछ । धनेको आँखामा पनि अलिकति रातो चिन्ह देखिन्छ । माने सोच्तछ धनेले पनि खाएको रहेछ । मैले मात्रै थोरै हो र ! अलिकति साहस पाएजस्तो गरेर माने भन्छ, “ए धने ! अलिकति रुपियाँ सापटी दिन सक्छस् मलाई !”
मानेलाई थाहा छ- धने ऊ जस्तो कहिल्यै चार पैसा गोजीमा नहुने मान्छे हो । तर पनि उसलाई माग्न मन लाग्छ । धनेले क्वारक्वारती मानेलाई हेर्छ- हेरी मात्र रहन्छ । पर कताकता कुकुर भुकिरहेछ । सूनसान भने हुन्छ सडकलाई । धनेका मनहरू लहरहरू जस्तो – नदीतिर बढ्छ मानेको जिन्दगीको नदीतिर । धने एक पटक डुब्छ-उत्रन्छ फेरि डुब्छ । ऊ आकाश हेर्छ । बादल फाट्तै छ । घामले फुत्कन बाँकी छ । हो- घामले अलिकति फुत्कन बाँकी छ बीसौं शताब्दीको मान्छेका जिन्दगीका ओसाइला पाटातिर । हाम्रा ओसाइला पाटाहरू ! गल्ली र चोकहरू…
“भन् न धने, किन बोल्दैनस् ?” मौनतालाई चिथोर्छ माने ।
“तँलाई थाहा छैन ? बल्ल धने बोल्छ ।
“छ भने दे न । भोलि म जस्तोको तस्तै फर्काइदिउँला ।” रुवाइका क्षणहरू बटुलेर ऊ भन्छ ।
“मरिजाऊँ छैन !” अनि सरासर ऊ आफ्नो बाटो लाग्छ । अलमल्ल पर्छ माने- मेला भर्न आएको कुनै ठिटो जस्तो । कहाँ जाने ? कता जाने ? ऊ निश्चयबाट अनभिज्ञ हुन्छ । किन रक्सी पियो हिजो उसले ? धोइदिन सक्छ रक्सीले कतै उसका विवशताहरूलाई, उसका रित्ता, भोका पेटहरूलाई ? सानी दिदीको रक्सी ! के छ त्यहाँभित्र ? त्यो सानु झोपडीभित्र ? त्यो बोतलको पानीभित्र ? यो सृष्टिभित्र एक थोपा तातो रक्सी । होइन ऊ केवल एक पाला तातो रक्सी । ऊ सरासर अगिकै बाटो फर्कन लाग्छ । सानी दिदीको घर नजिकनजिक आइरहेछ आइरहेछ त्यो मानेका आँखाभित्र । ऊ सुटुक्क सानी दिदीको घरमा पस्छ र लोसे चालले भऱ्याङ नबजाईकन माथि उक्लन्छ । सानी दिदी आँखा च्यातेर हेर्छ । किन आइस् त माने तँ यहाँ ?- उसका परेलीहरू त्यसै चलमलाउँछन् ।
“सा…नी… दि…दी… !” माने डराईडराई भन्छ ।
“के ?” …. थुप्रै आशङ्काहरू आउँछन्, थुप्रै विश्वासहरू हराउँछन् ।
“हिजो कति रुपियाँ सानी दिदी मैले ।”
“के भन्छ यो माने मोरा ?” सकिनसकी हाँस्छे सानी ।
माने मनमनै गुन्छ- नौ रुपियाँ ! …नौ रुपियाँ ! बोल्ने, साहस बटुल्न खोज्छ ऊ । तर असमर्थ ?
“सापटी चाहियो बुझ्नुभएन दिदी…” एउटा झीनो स्वर, एउटा वेदना गुम्सिन्छ भित्रभित्रै । ऊ मनभरि रुन्छ । रुन्छ हृदयभरि । धमिलो कालो बादल ढाक्छ उसको हृदयको खुल्ला आकाशभरि ।
“के रे माने ?” नबुझे जस्तो गरेर सानी भन्छे । भात गुदुगुदु पाक्तै छ । मानेको स्वरलहरी हराएछ- भातको गुदगुदुसँगै । एक माना तातो भात ! एक बुटकी सिस्नाको झो ल! त्यति हो बस, त्यही हो उसले चाहेको ।
“छैन त माने, पैसा मागेको होलास् ।”
“दिदी पनि… !”
“के गर्छस् र माने ! आएको सबै देख्छन्, गएको को देख्ने ? जोडीको पाँच माना कोदो किन्नु छ । त्यो पनि पाइनसक्नु !”
“आफ्नोआफ्नो दुःख आफैंसँग छ नि ! वहाँ जहान केटाकेटी भोकै छन् ।” एउटा लामो सुस्केरा तानेर माने उठ्तै भन्छ- “म त सुत्छु है सानी दिदी, एकछिन ?”
माने पल्टन्छ-ती काला ध्वाँसाले पोतिएका चिरपट । उसका आँखाका आकाशभरि – ध्वाँसो मात्र । ऊ निदाउन नसकिरहेको हुन्छ । हिजो साँझ ! ठूलै साँझभित्र माने निस्कन्छ । सानी दिदीकै घरबाट भएर चामलपसल जानु छ । एक सुकाको अलिकति खाऊँ न । पानी छिट्टयाउँदै छ । बानी परिहाल्यो त ! यो कस्तो बानी ! दुःख पनि त अलिकति बिर्सिइन्छ । कति पीर लिइरहने ! कत्ति बटुकीले पनि उसको तिर्खा मेटिन्न । अहँ यी तिर्खा । गोरेकी आमा रक्सीको बटुकीभित्र हराउँछे । निस्लोट कसरी माने सुतेछ । गहन परेलीहरू निदाउन खोज्छन् ।
ढल्कँदै गएको दिन । तर पनि निकै गर्मी छ बाहिर । यो सानु आँखीझ्यालबाट एउटा हलुको हावा आउँछ कोठाभित्र । बिउँझन्छ माने । अलिकति चङ्गा जस्तो अनुभव गर्छ ऊ । पल्लो कोठामा भाँडाकुँडा बजेका आवाजहरू एउटा मीठो थर्कन एउटा गुञ्जन लिएर उसका कानहरूमा प्रतिध्वनित भइरहेछन् । ऊ उठ्छ । घर जानैपर्ला ! जे भए पनि ! सधैं बाहिर डुलेर । तर गोरे उसकी आमा त्यसका भोकले सुकेका छाती त्यो तीन महिनाकी सानी छोरी ! कसरी हेर्न सकिन्छ ती सुकेका ओठ, ती भोकले आत्तिएका मुख ? ऊ लिएर कस्ता आँखाहरू, जान सक्छ त्यहाँ ? त्यो छिँडीमा उसको डेरा । उफ् ! डेराको बहाल पनि त बाँकी नै छ । धेरै भयो ज्यामी कामसम्म पनि नपाएको ! औलो ज्वरो आएदेखि मधेस भारी बोक्न जानु पनि बन्द नै छ ।
मनलाई जितेर माने सडकमा निस्कन्छ । बिस्तारै घाम निदाउँदै छ । आशा र निराशाका छापहरू मानेका हृदयमा लाग्छन् । दाउरा लिएर छोप्ने हो कि स्वास्नीले ! त्यसको बानी त्यही हो ! के गरोस् र ऊ पनि ! छोरोछोरीको भोकाएको झलझली छायाले पिरोलिएर ऊ । वरपरका पसलहरू । सबलाई टीठलाग्दो रूपमा हेर्दै माने बढिरहन्छ । एक-एकका नौवटा ती नोटहरू नाचिरहन्छन् मानेका मनभरि-आँखाभरि । स्वास्नीको एउटा भएको बुलाकी बेचेर ल्याएका ती नोटहरू ! बिचरीले माइतीबाट ल्याएको त्यत्ति हो दाइजो भने पनि धन भने पनि जे भने पनि । त्यत्ति हो एउटा बुलाकी ।
साँझ पर्छ । हृदयमा ढुकढुकीहरू बढेर आउँछन् मानेका सोलाहरू थुप्रै काँडाहरू काँडाहरू । लोसे भएर ऊ गल्लीबाट छिंडीमा पुग्छ । छिंडीभित्र पूरा अँध्यारो छ । चालचुल केही छैन । ऊ खटप्वालबाट चियाउँछ । परको कुनामा अलिकति आगो पिलपिलाइरहेछ । ऊ सास रोकेर सुन्छ- अहँ सबै मरेजस्ता । एउटा आशङ्काभित्र ऊ उदाउँछ कि मरे भोकले सबै । ऊ अझ लुगलुगाउँछ । साहस बटुलेर ऊ विस्तारै त्यो भत्किसकेको ढोका उघार्छ । ढोका आवश्यकताभन्दा जोडले कराउँछ ।
“खै आमा ए गोरे ?”
“आमा”
“अँ, खै ?”
“बाहिर गयो ।”
“कहिले आउँछ हैं ?”
“कुन्नि” गोरेको स्वर धमिलो छ ।
“के पकाउँदै छस् यहाँ ?”
“आलु” चिम्टा लिएर गोरे भाँडाभित्रको डल्लो वस्तुलाई घोच्छ ।
“के पाकेन ? आलु हो ?”
“कोनि त ! यो पाकेपछि आमाले खा भनेको छ ।”
मानेले गोरेको अनुहार अलिकति देख्छ- आगाको धमिलो उज्यालोभित्र एउटा – धमिलो र रित्तिएको अनुहार । यो पाक्ला र खाउँलाको एउटा झीनो आशा मात्र । पाक्ला ! खाउँला । खाउँला पाक्ला ! यति ।
माने चिम्टाले भाँडाको वस्तुलाई घोच्छ । तर त्यो सारो बिलकुल सारो र कडा छ । बाहिर झिक्छ ओहो ? यो त लोहोरो पो ! पाक्छ कहिले यो ढुङ्गो । एउटा आशाभित्र बचाउन खोजेकी रहिछ गोरेलाई आमाले । धन्य ! गोरेकी आमा !! मानेको आँखा रसाउँछ । ढुङ्गो एउटा लोहारो ! त्यो भएको एक रुपियाँको कुनै चीज ल्याउने साहससम्म किन गर्न सकेन उसले ? मर्छ गोरे । ऊ सरक्क बाहिर निस्कन्छ- “पख ए गोरे ! म खाना ल्याउँछु ।”
ऊ दुई-चार पाइला अगि बढ्छ । एउटी सानी नानी च्यापेकी आइमाई त्यो अँध्यारोमा प्रस्ट ठिङ्गिछे । मानेले चिन्न बेर लाउँदैन । ऊ नचिने जस्तो गरेर अगाडि बढ्न खोज्छ ।
एउटा झीनो स्वरले माने ठिङ्गिन्छ- “गोरेका बा ! ए ! गोरेका बा !”
नानी च्याहाँ रुन्छे-रोइरहन्छे । दो’टा छायाहरू । एउटा सानु आगो अझ छिंडीभित्र पिलपिलाइरहेछ । उफ् ! गोरेको झीनो आशा ! माने भक्कानिन्छ ।
“नरोऊ बा, मेरी नानी ।” गोरेकी आमा छोरी फकाउन लाग्छे । नानी अत्तालीअत्ताली रुन्छे । सुकेको स्वरमा गोरेकी आमा भन्छे- “दूध आउँदैन । कसैले दिएनन् गोरेका बा !” एउटा लामो सास तान्छे ऊ एउटा लामो सुस्केरा ।
माने बिस्तारै भन्छ- “तेरो नरसाएको छाती- सुकेको छाती बाँझो जग्गा जस्तो ! कसरी आउँछ दूध गोरेकी आमा ? कसरी आउँछ दूध ?”
(‘परशु प्रधानको प्रतिनिधि कथाहरू’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।