आचार्य प्रभा (अमेरिका)

लेडिज रेडिमेड कपडा पसलमा निक्कै भिड देखेर म पनि पसेँ । कतै सेल लागेको पो छ कि ? भनेर । सेल त कहाँ हुनु ? उल्टै आकाश छुने दाम देखेर म तर्सिएँ । महिलाहरु हारालुछ गरी रहेका थिए । कुर्ता, सुरुवाल, ड्रेसहरु र अन्य फेसनका कपडाहरूमा । सोंचेँ तीज पनि नजिक आयो । विवाहको लगन पनि यही महिनाभरि परेको छ । त्यसैले भिड भएको रहेछ भनेर । म पनि मिल्ने, साधारण केही लुगा पाउँछु कि ? भनेर खोज्दैथेँ । चेञ्जिङ्ग रुममा तिनचार जना महिलाहरुको आवाज आइरहेको थियो अनि कुनै गीत पनि बजिरहेको थियो । म आश्चर्यचकित बनेँ । लुगा नाँप्नलाई पनि किन गीत घन्काउनु होला ?

एउटी भन्दै थिई – “खै ! यो ड्रेस त्यो गीतमा मिल्ला र ?”

अर्की भन्दै थिई – “त्यो गीतमा नमिले पनि हिन्दी गीतमा मिल्छ नि !”

फेरि तेस्री भन्दै थिई – “म त यी दुईटै लान्छु । एउटै लुगा त सबै गीतमा के लाउनु हौ ?”

बिच बिचमा गीत पनि बज्दै थिए । घात्राक, घुत्रुक आवाज पनि आउँदै थियो । मैले अचम्मित बनेर पसलेलाई सोधेँ ।

“दाइ यी महिलाहरुले लुगाहरु किनेर पनि लान्छन् कि ? हल्ला मात्र गरेर जान्छन् ? फेरि गीत पनि बज्दैछ ।”

पसलेले हाँस्दै भने – “तँपाईँ कुन जमानामा हुनुहुन्छ ? थाहा छैन ? यो टिक्टकको जमाना हो भनेर । महिलाहरु यसैमा लागेर फेसन गर्ने, नाँच्ने, अभिनय गर्ने, मेकअप गर्ने भएका छन् । यतिसम्म कि,पहिला हल्लिनसम्म नजान्नेहरु र एक्टिङ्ग गर्न नजान्नेहरु पनि टिक्टकले गर्दा यस्तो रोमाण्टिक कलाकार बनेका छन् कि, के भन्ने ? जे होस् हामीलाई त फाइदै भएको छ । टिक्टक, विवाहको कारणले त हाम्रो पसल धानिएको छ त !”

यत्तिकैमा एक भारी कपडा बोकेर तिनीहरु साहुजीको छेउ आएर दाम मिलाउन थाले ।

साहुजीले मन्द मुस्कान छर्दै मतिर हेरेर बिस्तारै बोले, “जय हो टिक्टक।”

म त्यो भिड र हल्लादेखि दिक्क भएर बाहिर निस्केँ ।