निधारमा लगाएको तरेखुको टीका झरेको थिएन । हातमा लगाएको रक्षाबन्धनको धागोमा घोरिएर हेर्यो । यसप्रकारको चौथो रक्षाबन्धन थियो उसको ।
“ अहिलेको जमानामा त अलि विचार पुर्याउनुपर्छ नि ।” गोरेले भारी बोक्दा बोक्दै भनेको याद आयो ।
“बाटो पनि के सारो बनाएका हुन् मान्छेले ?” एक्लै बोल्न थाल्यो । गाउँमा पुगेका बाटा देखि पनि उसको रिस उठ्यो । गाउँमा पुगेका बाटाको कारण ऊ लगायतका भरियाको रोजगारी खोसिएकोमा आक्रोश थियो उसको । उसले बुझेको थिएन जीप पनि रित्ता हुँदै गएका थिए । देशै रित्तो हुन थालेको नदेख्नु र गाउँ रित्तो भएको नदेख्नुमा के फरक भयो र !
“भारी बोकेर नै जिन्दगी बिताउँला भनियो । अब त भारी बोक्न पनि टाढा जानुपर्ने दिन आए ।” उसले भन्यो ।
“अरु पनि सीप सिक भनेको मानेको भए पो । जहिले पनि शरीर बलियो छ भन्यौ ।” श्रीमतीले भनी ।
“ अरु केटाकेटी खोइ ?” उसले प्रसङ्ग बदल्दै सोध्यो ।
“ सुतिसके ।” श्रीमतीले छोटो जवाफ दिई ।
“ तँलाई कस्तो छ नि अहिले ?” उसले माया पनि देखायो । श्रीमानको मुखमा हेरेर खिस्स हाँसी ।
“ मैले काम नपाउन्जेल त मै बसुँला, कतै काम पाएर जानु परेमा कसलाई भन्ने हो ?” उसले चिन्ता व्यक्त गर्यो ।
“तल्लो घरकी कान्छीलाई भनुँला नि केही परे ।” उसले भनी ।
छोरा कुरेर छोरी धेरै भएका पनि होइनन्, छोरीको रहरले छोरा धेरै भएका पनि होइनन् तर सन्तानको संख्या निकै भएको थियो । साथमा दाम थिएन, हातमा काम पनि थिएन ।
आजै नामाकरण गरेको छोरो आमासँगै थियो । अरु अठार देखि पन्ध्र महिना फरकका छोराछोरी लस्करै थाङ्नामा सुतेका थिए, आमाचाहिँ भन्दा केही पर ।
“ मैले नै काम पाउन छोडेँ भने यी के गरी खाने हुन् ?” उसको मनमा पिर पर्यो ।
“सुत भो अब तिमी पनि, थाकेका छौ दिनभरी ।” उसलाई आफ्नो श्रीमानको माया लाग्यो ।
तर उसले श्रीमतीलाई सोध्यो, “नढाँटीकन भन् त यी सबै मेरै छोरा छोरी त हुन् ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 










