मन्दिरबाहिर नारा गुञ्जिरहेको थियो । भित्र भने शान्ति थियो । घण्टी बजाउँदै एक युवक पुजारीकहाँ आइपुग्यो ।

“पुजारीज्यू !”, उसले सोध्यो, “धर्मले कसको पक्ष लिन भन्छ ? भीडको कि सत्यको ?”

पुजारीले दियो बाले । मन्द उज्यालो फैलियो ।

“धर्म…”, उनले भने, “पहिला आफ्नोपन हो । अरूको अपमान र पीडालाई ‘मेरो सरोकार होइन’ भन्न नसक्नु नै धर्म हो ।”

बाहिर नारा अझ चर्कियो।

“धर्म कर्तव्य पनि हो ।”, पुजारीले थपे, “पद, विचार वा डरका नाममा जिम्मेवारीबाट पन्छिनु धर्म होइन ।”

युवक केहीबेर मौन रह्यो ।

फेरि सोध्यो, “त्यसो भए मौन बस्नु गल्ती हो ?”

पुजारीले दीपतिर हेरे, “सजिलो र सत्य बीच छनोट गर्नुपर्दा विवेक कहिल्यै मौन हुँदैन ।”

युवक हिच्किचायो, “तर जो सही बोल्छ, उसैले सजायको पाउँछ ।”

पुजारी मुस्कुराए, “त्यसैले धर्ममा त्याग, साहस र आत्मनिरीक्षण चाहिन्छ । सुविधा जोगाउने धर्म दीप होइन । छायाँ हो ।”

युवक बाहिर निस्कियो । नारा उस्तै चर्को थियो ।

मन्दिरभित्र दियो निभेन । अब मौनता नै अँध्यारो बनेको थियो ।