चुनावको माहोल तात्दै थियो । दलका नेताहरू एकले अर्को दललाई खुलाउने प्रतिस्पर्धामा थिए ।

मधेश केन्द्रित दुई दल मलोपा र तलोपा एकले अर्कोलाई चर्को प्रतिस्पर्धी र कट्टर दुश्मनका रूपमा लिन्थे । दुवै दलका नेताहरू एकले अर्को दलका नेता र उम्मेदवारलाई नातावादको विषय लिएर चर्को आलोचना गर्थे । नातावादकै कारण पुरानो पार्टी छाडेर अर्को नयाँ पार्टी गठन गर्नु परेको तर्क गर्थे । नातावादमा नभई क्षमताका आधारमा मात्रै पार्टीका कार्यकर्ताले अवसर पाउने दलिल प्रस्तुत गर्थे तर अचम्म, यी दुवै दलका अध्यक्षले भने चुनावी भाषणमा एकले अर्कोको आलोचना गरेनन्, प्रशंसा त गर्ने कुरै भएन ।

कतिसम्म भने यी दुवै अध्यक्षले अरू सबै दलका समानुपातिकको बन्द सूचीमा रहेका नेताहरूको परिवार र आफन्तका नाम भटट्ट सुनाउथे तर दुई दलका समानुपातिक सूचीबारे केही बोलेनन् ।

यही कुरामा पत्रकारलाई शंका लाग्यो । दुवै नेतालाई प्रश्न गरे ।

पत्रकार आफैँले कुरा बुझ्छन् भनेर दुवै अध्यक्षले आ-आफ्नो पार्टीको बन्दसूची थमाए ।

मलोपाको बन्दसूचीको एक नम्बरमा तलोपाका अध्यक्षको छोरीको नाम थियो ।

तलोपाको बन्दसूचीको पहिलो नम्बरमा मलोपा अध्यक्षको श्रीमतीको नाम थियो ।

पत्रकार नबुझ्ने कुरै भएन । र त राजनीतिमा- पार्टी पार्टीबिच शत्रुवत् सम्बन्ध भए पनि नेताबिच मित्रवत् सम्बन्ध हुनुपर्नाको कारण ।