 
			
			
			
			
			
			
“बेचिखाइनस् भने यसैले तँलाई पाल्छ ।” जनकलाई बाबुले भनेका थिए । पुरानो बान्कीको, चार जना बस्न हुने सानो अस्टिन कार बूढाले पहिले त्यस साल भर्खर किनेका थिए । गाडीले बजारदेखि घुमसम्म खेप्थ्यो ।
स्टेसनछेउमा चियादोकान थियो बूढाको । आलु, उसिनेको भटमास, चिउरा, मुरैका डल्ला, बनरोटी, पान राखेर जनककी आमा बस्थिन् दोकानमा । राति ड्राइभरहरू रक्सी खान आउँथे। तास खेलिन्थ्यो । बूढा बत्तीको पैसा उठाउँथे । भयङ्कर झगडा निस्कन्थ्यो कोही बेला; ड्राइभरहरू कुटाकुट गर्थे टाउको फुटेर कोही अस्पताल पुग्थे, फोरेर थाना पुग्थे ।
“मेरो घर कोङसी होइन । तास बन्द आजुदेखि !” बूढा जङ्गिन्थे । चार-पाँच दिनपछिबाट फेरि अलि-अलि गर्दै खेल चल्थ्यो । बूढी पैसा चेप्थिन् । कानमा लाइराखेको चेप्टे सुनबाहेक धनिकताको कुनै प्रदर्शन बूढाबूढीले जीवन्त गरेनन् ।
जनकले म्याट्रिक पास गरेपछि पुलिस विभागमा दरोगा काममा लाइदिन्छौं भन्ने कति सल्लाह आउँदा पनि बूढाले अस्वीकृतिमै टाउको हल्लाए । ब्याङ्कको अङ्ग्रेज म्यानेजरले ‘यतै’ राम्रो आशा दिएको थियो- “हम देखेगा, अच्छा !” भनिसकेको थियो । साहेबले भनेरै त जनक कलकत्तामा पढ्दैछ । रातो जमटको टोपी र माथि ट्याप्प घाँटीसम्मै सालीको बटम मारेको सेतो कमिज लगाएका बूढा गर्वसाथ भन्थे ।
वाणिज्य द्वितीय वर्ष पढ्दै गर्दा कलकत्तामै जनकले बाबु खसेको समाचार पायो । अघिल्लो दिनदेखि कलेजहरू रमणले नोवेल पुरस्कार जितेको खुशीमा बन्द थियो । दण्डी घुम्न जाने कार्यक्रम स्थगित राखेर जनक शोकित आमालाई आधार दिन दार्जीलिङ आए । आमाको अविचलित मुद्रा र शान्त मूर्ति देखेर जनक चकित भए ।
घेवासाङ्गे भयो । सबै जना र लामाहरू पनि गइसकेपछि आमाले जनकलाई बोलाएर भनिन्, “तेरो अब कति मैना छ पढ्नु ? मर्ने बेलामा पनि तँलाई पढाउनु, त्यसलाई पास गराउनू है, गराउनू भनिराखेको छ बाबुले…। जा, छिटो गएर पास गरेर आइज । त्यसपछि काम कति छ कति ।”
यति भनेर त्यस रात जब घरमा कोही अरू मान्छे थिएन आमा रोइन् ।
० ० ० ०
आठ महिनापछि फर्कंदा जनकले आमालाई चिन्नै सकेन । दुब्ली, रुग्णा, वृद्धा । अघिको शरीर खोइ तिनको ? जनक आत्तियो । मुहारमा तर त्यहीं शान्ति छ । दोकानमा तिनी आफ्नै अभ्यस्त पुरानो ठाउँमा पद्धिसम्म बसिरहिन् सीता नआइन्जेल ।
ब्याङ्कदेखि अब जनकले सात-आठ बजे राति पाइ-पाइको हिसाब मिलाएर थकित भई घरमा आएर पनि बाहिर भइरहेको हलचल र उधुमको कुरा सुनाउँथे ।
रातो कोठे हाइलन्डर शाल ओढेकी आमा भन्थिन्, “अङ्ग्रेजले यत्रों राज कैले छोडेर जान्छ ?”
“मान्छेको कुरा । कति लडाइँ, बुद्धि, परिश्रम गरेर आफ्नो पारेको राज कसैले माग्दैमा दिएर जाने हो ? यत्रो सहर, बाटो, बिल्डिङ बनायो अङ्ग्रेजले, कैले त्यसै माया मारेर जान्थ्यो ?”
आमालाई अत्यन्त माया गर्दै जनकले बुझाउने कोशिश गर्थे ।
“हाम्रो देश हाम्रो घर हो । तपाईं नै भन्नोस् आमा । हाम्रो घरमा कोही चोर पस्न आयो भने के गर्नुहुन्छ तपाईं ?”
“म के गर्छु, म ? तैले पो कुटेर खेदैनस् र मैले के गर्नु ?”
“अहँ कुट्नु हुँदैन, आमा । अहिंसा…” जनक आमालाई गान्धीवादको व्याख्यान गर्थे ।
“शत्रु नै किन नहोस्, मानवतामा विश्वास गरेर उसलाई प्रेम गर्नुपर्छ, बुझनुभो आमा ? उसलाई आफ्नो दोष चिन्ने पार्नलाई सप्रेम सत्याग्रह गर्नुपर्छ । सत्यमा टेक लिएर गरिएको आग्रहले अपराधीको हृदयमा आमूल परिवर्तन ल्याउने शक्ति राखेको हुन्छ, थाहा छ आमा ? कदाचित् त्यो अझ निर्मम, अत्याचारी र क्रूर बन्न लाग्यो भने पनि हामीले क्रोध वा प्रतिशोध होइन सविनय अवज्ञाको व्रत पालन गर्नुपर्छ । अब बुझ्नुभो आमा ?”
“बुझिनँ । केई पनि बुझिनँ ।”
पन्ध्र-सोह्र ग्रीष्मपछि, धेरै सङ्घर्षपछि, एक दिन भारत स्वतन्त्र भयो । राति बाह्र बजेदेखि जब आधा पृथ्वी नै निद्रित र सुप्त थियो, मुक्त क्षणहरू बित्न लागे । घरका धुरी-धुरीमा भोलि भारतभरि करोडौँ हर्षका पताकाहरू फरफराउनेछन् ।
“जनक, हाम्रो देश साँच्चै स्वतन्त्र भयो अरे ?”
“भयो भन्छ ।” जनक यति बदलेका थिए ।
“धन्य ईश्वर । जुनी सार्थक भयो मेरो ।” भनिन् आमाले ।
जनकले पढेको उपन्यास र अरू पुस्तकहरूमा त्यति बेला कोरेको नाम र मितिहरूबाट पत्ता लागेको छ, जनकले यही पछिल्लोपालि दार्जीलिङ आउँदा सीतालाई देखेका रहेछन् ।
यी दईबीचको परिचय, प्रगति, प्रेमालापका विषयमा केही बताउन सक्ने कोही पनि भेटिएन अतएव कल्पना कथेर विस्तृत कथा लेख्नु भएन । यसबाट स्पष्ट यति मात्र हुन्छ कसरी जनक र सीता ‘बाबुछोरी’ ले उनीहरूको पापाद्र प्रेमलाई, दुई जनाले मात्र जानेको प्यारो सत्यलाई, कतिसम्म गोप्य राख्न सकेका रहेछन् । जनकको विश्वस्त शमशेरलाई केवल यति नै थाहा थियो: सीता नेपालतिरबाट यहाँ पढ्न आएकी हुन् । जातको शायद प्रधाननी हुन् । कारण कचहरीमुनि हरिदास हट्टाका प्रधान परिवारसँगै तिनी आइतबार बजार गर्न आउँथिन् ।
एक दिन उनीहरूको उपन्यस्त प्रेमनाट्यले मध्यकाल पनि नाघिसकेको अध्यायमा शमशेरलाई जनकले उसलाई सीताले लेखेकी सानो पत्रबाट एक पङ्क्ति पढेर सुनाए, “मेरो भन्दा हजार गुणा प्यारो मलाई हजुरको प्राण लाग्छ ।”
यसै एक पङ्क्तिमा समस्त विश्वको साहित्य र समर्पण जनकले पाए । “एउटा कुरा” – शमशेरले त्यस दिन उत्तेजित भएर जनकलाई भनेछ, “याद गरेका छौ ? सीताको दुवै खुट्टाको माइली औंला कति लामो लामो छ । त्यतिले नै पनि कति घरानकी लाग्छ ।”
नाथे जनकले अरू केही नपाई त्यो कुरा सीतालाई फुस्स भन्दिएछ कि के हो । अर्को दिनदेखि जम्काभेट हुँदा काली सर्पिनी जस्ती भएर सीताले शमशेरलाई हेर्थिन् ।
मीनपचासको बिदामा सीतालाई लिन घरबाट मानिस र भरियाहरू आएका थिए । यस्तो अवस्थामा अरूले जस्तै रातभरि लाएर एक विशद्ध साहित्यिक ‘सान्त्वनापत्र’ सीतालाई जनकले लेखे । त्यस कृतिको अरू भाग दोबारेर लुकाई उपयुक्त पङ्क्ति मात्र शमशेरलाई मैलो कमिजसम्म नफेरेर लाइराखेको जनकले देखाएका थिए :
“पनि होइन । अङ्कमालमा बाँधिएर एक
अर्काको मुहारमा हेरिरहनु प्रेम होइन, सीता ।
दूरस्थ उभिएर पनि एकै दिशातिर फर्की
एउटै लक्ष्य राख्नु पो प्रेम हो, आजको मेरो”
नीलो खाम (बाहिरपट्टि चराले चुच्चोमा चिठी च्यापेर उडाउँदै लगेको चित्र भएको) मा हालेर जनकले त्यो पत्र पठाए ।
० ० ० ०
त्यसै हिउँदोदेखि सीता जनकको घरमा बस्न थालिन् ।
गान्धीलाई फेरि पक्राउ गरिएको बीस-बाइस दिन मात्र भएको थियो । बिहामा आमन्त्रित सबका मुखबाट काङ्ग्रेसलाई अवैध घोषित गरेको कार्यको खण्डन-मण्डनकै तर्क सुनिन्थे । खरसाङमा चार जना नेपाली काङ्ग्रेसीहरू पक्राउ परेको खबरको बजारभरि झन् ठूलो सनसनी थियो ।
मुसोलिनीका फासिस्टहरूले पीसमाथि आक्रमण गरेकै महिनामा जनकले ब्याङ्कको नोकरी र मासिक १७३ रुपियाँ छोडिदिए। मानवअधिकारको आह्वान सुनेर, देश र जातिप्रतिको महान् कर्त्तव्य बुडेर होइन, व्यापार गर्न । पहिले टम्मीहरू, त्यसपछि यान्कीहरू आएर जनकको हुटेल बिचूडमा रातभरि नाचे, छादे । गोआलीहरूले जाज बजाए, गोर्खा जोन्नीहरूले चाउ में र ‘टजम्बा’ खुवाए । कतिपल्ट जनकको टेविल-चौकी धुजा भयो । प्लेटहरू झ्यालबाट उडेर गए तर ब्याङ्कसँग जनकको सम्बन्ध र विश्वास बढ्दै गयो । ब्याङ्कमा लगानी गरिरहेका साथीहरूको आँखा तिरिमिरी हुन्थ्यो ।
हैदराबाद भारतीय सङ्घमा समाविष्ट भएकै हप्तादेखि जनकले कन्ट्रोल दोकान चलाए । सब-सब-सबसँग जनकको व्यवहार मैत्रीपूर्ण । जनक कसैलाई तेल लाउँदैन, न कसैलाई थुक्छ । समता उसको श्रेष्ठ नीति । रातको अन्धकारमा बस्ताका बस्ता आतप चामल बेपत्ता हुन्थे । चिनी, आँटा, मट्टीतेल, माचिस, साबुन दोब्बर-तेब्बर दाममा खुशीसाथ लगिहाल्न पाए जनता आफ्नो शुभभाग्य मान्थे । खाद्यनियन्त्रणकालको दुर्भिक्ष महासागरमा पनि कतिपय परिवार सुरक्षित दीप थिए । जनकको पनि ।
दोस्रो महायुद्ध र भारतीय स्वतन्त्रताको तीन-चार वर्षको अवधिले जनकलाई समुद्रको लहर र छालले जस्तो उडाएर अर्कै अवस्थामा, अर्कै देश र कालको सङ्गममा पुऱ्याइदियो । त्यतिकै गतिले अब चढ्न सकिन्न तापनि त्यसै स्थितिमा रहिरहने बल जनक गरिरहेका छन् ।
बाबूको निधनदेखि यता समय धेरै बिते प्रशस्त पानी पुलमुनिबाट निस्केर गए । जनकले बाबुको अस्टिन कारलाई ट्रकमा बदलाएको बाहेक अरू कारणले पनि ऊ दार्जीलिङका नेपालीहरूमध्ये गण्यमान्य छ । यहाँका मारवाडी र बङ्गालीहरूले चिनेका र मानेका नेपाली मात्र मान्छे हुन्, बाँकी सब झुत्रा भन्ने प्रचलन साँचो हो भने पनि प्रथम कोटीको सूचीभित्र श्री जनकमान योञ्जनको नाम आउँछ ।
नागरिक मतदाता र तिनका छोराछोरीहरू सबै मानिस हुन् भन्ने ठहर सत्य हो भनेचाहिँ जनकको नाम अस्तिको भोटमा क्रमसङ्ख्या ४८९७ मा बजार वार्डको ठेगानामा निस्केको थियो, जहाँ तीन कोठा भाडामा लिएर तिनी, सीता, रवि र छोरी दिव्या एक परिवार बनेर बस्छन् । काम गर्ने केटा वीरमान छँदैछ ।
० ० ० ०
सीता राम्रो दिन भएको साँझतिर घरछेउकी बाबुनीलाई साथी बनाएर मालरोड डुल्न निस्कन्छिन् । केशलाई मुठा पारेर बाँधेकी, घुँडामुनिसम्म मात्रको खुकुलो सजिलो सुरुवाल लाएकी एउटी एङ्ग्लो रक्तिम कञ्चनजङ्घाको पृष्ठभूमि राखी, आडमा भाइबैनी बोकी खेल्दै निस्केको शेर्बा शिशुहरूको फोटो खिच्न लागेकी छ । सीता सुती वा भायलको सिवाय अरू सारी कहिल्यै लाउँदिनन् । गोलो मुहुडाकी, असाध्य गोरी, सीताले सपक्क सम्म्याएर इलामे लाछाले कोरेको केशको मध्यभाजकमा रक्तरातो सिन्दूरले जुन सौन्दर्य दिएको छ अरू कुनै श्रृङ्गारले दिन नसक्ला । सिन्दूर बिहाको । समाजका सदस्यको स्वीकृतिपछि विनत माथको सिउँदोमा हालेको सिन्दूर बिहाको ।
चौरस्ताको चौरमा स्थापित भानुभक्तको सालिकलाई सीता सधैँ हेर्छिन् ।
वरिपरिको फलामे साङ्लोमा झुन्डिएर पिङ खेलिरहेका विभिन्न जातिका बालक-बालिकाहरूलाई सीता समय लाएर हेर्दै जान्छिन् । तीस-पैंतीस वर्ष अफिसको डेस्कमा घोटिएर बुढेसकालमा छुटकारा पाएका बूढाहरू चौरस्तामा जम्मा भई घाममा जीर्ण देह सेकाउँदै पाप र धर्मको, ब्रिटिश र काङ्ग्रेसको तर्क गर्छन्, दार्जीलिङको गएको गौरव र इतिहास खोल्छन् । सीता राति यी सब जनकलाई सुनाउँछिन् ।
चौरस्तादेखि आउँदा अलिकमुन्तिर एउटा ठूलो नक्सादोकान छ । दोकानका झ्यालमा अनेक सुन्दर चित्रहरू राखेर सजाइएका छन् । कृत्रिम छालाको फ्रेममा एउटा पौरुषमय मुहारको बृहदाकार फोटो एउटा झ्यालमा प्रदर्शित छ । मिलेको मसिनो केश, पुष्ट ओठ । निधारमा छड्के चोटको दाग, जुन केही मेटाउने सूक्ष्म प्रयत्न भएको फोटोमा देखिन्छ । चौकुने बनावटको अनुहार, दृढताको सूचक प्रष्ट च्यापुरेखा र अझ आँखाचाहिँ राम्रा, जुन जनकले पाएको विशिष्ट पुरस्कार र दान हो । अचेल जनकका ती दुवै आँखामुन्तिर रातो-कालो मिसिएको रङको झोला पर्दै आएको देखिन्छ ।
यही नक्साको एक प्रति हामी जनकको घरमा बाहिर कोठामा देख्छौं । यसका अरू चार प्रति निम्नलिखित स्थानमा छन् :
(१) कलकत्ता ३१-ए. वेलेस्ली रोडमा श्री डानियेल एस्. प्रधानकहाँ । आतिथ्य कोठामा । हल्का नीलो भित्तामा यो नक्सा शोभित छ ।
(२) धनकुटा गैरीगाउँमा, लामीडाँडादेखि पनि देखिने च्यादरको छाना भएको अस्तिसम्म जुन एउटै घर थियो त्यहाँ श्री ६ धर्मप्रसाद श्रेष्ठकहाँ, जनकको ससुरालीमा । वहाँ यो कसरी राखिएको होला भन्न सकिन्न । धूवाँको त्रासले सायद सन्दुकभित्र होला ।
(३) गान्तोक बजारैमा भएको दा’ नामग्येलको घरमा, जसको सहायताले जनक अचेल सिक्किमपट्टि कन्ट्रयाक्टरी गर्न खोज्दैछ । माथि लाचालाचुङ जाने बाटो र राङराङ खोलासम्मको पोहोर मरमती उसैले गरेको थियो ।
(४) जनकको पार्टी अफिसमा अरू तीन-चार फोटाहरूको लहरमा, दायाँदेखि द्वितीय स्थान राखिएको ।
धनकुटामा यो नक्सा बिहाकै साल पुगेको हो । उतादेखि आएका सालो र मानिसहरूसँगै यताबाट जनक, सीता र तिनका पारङ र आसेङहरू गए । माथिबाट सपरिवार धर्मप्रसाद तल रहेलीमा आफ्नो कामतमा आएर बस्नुभएको थियो । त्यहीं सानो टीकोटालो भयो । त्यहीं एक दिनको बाटो मधुमल्लादेखि मावलीपनका आफन्तहरू भने ढोगभेटमा आएनन् ।
नेपालको माटोमा प्रथमपल्ट पाइलो राखेको हुँदा भारतीय जनक र पारडहरू हर्षाकुल थिए । बेलुकी हुदै जाँदा तुवाँलो हराएपछि ‘धनकुटाका डाँडैडाँडा, हुलाकीले के ल्यायो ?’ भन्ने जनगीतका प्रतीक्षापूर्ण डाँडाहरू आकाशभित्रका बादलमा पसिगएका देखिन्थे ।
“हाम्रो सैलुङ यहाँदेखि कता पर्छ ?” बालजन्य औत्सुक्यसँग जनकले सोधे । “पश्चिम हो सैलुङ । काँ हो काँ !!”
सैलुङ लेक र त्यसमुनिको वाफोक गाउँहरूको नक्सा जनकले देखेको छ, पुग्नेहरूले ल्याएको । जनकलाई लाग्छ निश्चय कुनै दिन ऊ पनि त्यहाँ पुग्नेछ, सङभाइहरूलाई भेट्नेछ योञ्जनहरूको किपोट हेर्नेछ । लेकमा उत्कट जाडो होला तर दिउँसो घाम लाग्नेछ, अनि कल्पना रच्छ जनक तिनी उसको पातलो घाम छिर्ने छाता, घुमेको बाँसको बिंड भएको, ओढ्नेछन्, टुप्पामा छाता फाटेको छ र मानेको पातले टाल्नेछन् । बाखा चराउँदै त्यताहुँदो आएकी हिमचोखी तामाङसेनीहरूलाई जनक पेच पार्दै सेलो गाउनेछन् ।
सेलो कुनै पनि हुन सक्छ, कारण सैलुङको प्रत्येक कल्पनासँग जनकको मनमा गीत विभिन्न आउँछन् ।
विस्तीर्ण छन् सैलुङका नागीहरू, जहाँका रुगरुगाउँदा डाँडामा ठाउँ-ठाउँ उभिएका एक्ला रूखहरू हुनहुनाउँदो हुरीमा निहुरन्छन् औ अर्को दिन त्यहाँ फेरि चहकिलो घाममुनि आएको बादलका काला छायाहरू दगुर्दै दगुर्दै आउँछन्-जान्छन् । औ फेरि अपार छ ती नागीहरूको विविक्त शून्यता जुन जनकको अचेतनमा बजिरहन्छ निरन्तर । तिनका कानको ओढारमा त्यसैको होला प्रतिध्वनि सुनिएको समय-समयमा । त्यही अतृप्त रहरले होला जनकको जीवनमा मीठो असन्तोष दिएको छ र हुन सक्छ तिनका महत्त्वाकाङ्क्षाजति पनि यस्तै अनेक रहरहरूको छद्म रूप मात्र होलान् ।
धर्मप्रसादज्यू बाइस वर्षअघि पहाडमा वैशाखको हावा र हुरी चल्ने महिनामा झापा अमिनीमा सरुवा हुनुभएको थियो । त्यसभन्दा अघि नलशमशेर बडाहाकिम रहुन्जेल उहाँ धनकुटाअड्डामै सुब्बाङ्गी खाइरहनुभएको थियो । वार्षिक खान्गी ४०० कं. रु. । अड्डाका कागतपत्र लिएर काठमाडौँ गएको र अड्डा तातेल हुँदा एकचोटि माथि तिब्बतको सीमानेर ओलाङचुङगोला पुगेका बाहेक धर्मप्रसादज्यू अन्यत्र जानुभएको थिएन ।
झापामा आएर उहाँले जुन उन्नति गर्नुभयो त्यसको कथा मोरङमा ठूलो खेत हुने प्रायः जम्मैको कथा हो ।
जेठा मुमाबडामहारानीको बिर्ताभित्र तीन-चार नाम हाली हाल आबादी जमीन लिनुभयो । दश-पन्ध्र घर सतार र धिमालहरू बसाइए, जसले रूख ढाले, जङ्गल फाँडे, जमीन जोते, बाँधपैन बनाए । वर्षदिनको परिश्रमपछि चालीस विघाजतिको राम्रो खेत भयो धर्मप्रसाद श्रेष्ठको । तिनीहरूले खाने वर्षदिनको धान भकारीमा राखिदिनुपर्थ्यो, बिहामा सिरिफ लुगा हाल्दिनुपर्थ्यो, काम नगर्ने, ज्यादा हिस्सा खोज्ने, गडबडी लाउनेहरू सहजै लघारिए, धर्मप्रसादज्यूलाई सोधे “भागे”।
“हामी जस्तो होइन यो जात ।” धर्मप्रसाद भन्नुहुन्छ- “भोलिको फिक्री पटक्क छैन । माछा भन्दा मरिजान्छन् हुरुक्कै भएर । तीन-चार दिनको बाटो भोकै गएर आएर कान्छी औंलाजत्रो एउटा माछा मारेर आउँछ, के भन्नु ?… ए शुनिया, तँ अब फेरि जान्छस् कि माछा मार्न ?”
हांडीमा भर्खर भुटेको मुरै पिरो खानेतेलमा मलेर घाममा बसी खाइरहेको काले शुनिया सेतो दाँत देखाएर ङिच्च हाँस्छ, मानौं त्यसले भन्दैछ- “यसपल्ट पो परेन त । अर्कोपल्ट त कस्तो नपत्याएको मालिकले !!”
ठूलो एक चकला परेको रोज्जा खेत अब कसको छ, हेरेर त्यो राजवंशी, सतार वा धिमालमाथि मुद्दा लगाइयो । मोरङका आदिवासीको इतिहासमा मुद्दा र अड्डा गोर्खाराजको आदिम अभिशाप भएको छ । ‘न्याय हराए गोर्खा जानु तर न्याय नपाउनु हो भने गोर्खाराजमै बसिरहनु’ यिनीहरूको अनुभवले भन्छ । रात-विरात तिनीहरू घरखेत छोडेर भागे, स्वास्नी, छोराछोरीसमेत माया मारेर । भागेकै भोलिपल्टदेखि त्यो जमिन र खेत वीर विजेता गोर्खालीको सम्पत्ति भयो। दिन र रातसमान भएको त्यस कालको मोरङमा गोर्खालीले दिउँसै डकैती गरे, धन, प्राण, लज्जा लुटे ।
२००७ सालको परिवर्तन र अव्यवस्थापछि उहाँले जागीर छोडिदिनुभयो ।
ऐले श्री धर्मप्रसाद श्रेष्ठको दमकमा डेढसय बिघा खेत, रङ्गेलीमा पैंसठ्ठी र भद्रपुरमा आबादी र जङ्गल गरी चार सय बिघा जमीन छ । जिमीदारी लिएकाले जिरायत जमीन बेग्लै । पहाडमा बएर्नीधान हारेको असी-नब्बे मुरी आउँछ ।
सीताकी आफ्नी आमा धनकुटामै छिन् । दुईचोटि दार्जीलिङ आएकी थिइन् । भाइ मदेसमा बसी बाबूसँग व्यवहार हेर्छ । कान्छी स्वास्नी धर्मप्रसादसँग मदेसमै बस्छिन् । लोग्नेलाई एकछिन छोड्दिनन् । जायजन्म छैन कान्छीपट्टि । औलले खाएको कालो शुष्क शरीर लिएर तिनी हिउँदोभरि अटुट ओइरिएका पाहुना, अपरिचित आउने-जानेहरू सबलाई सत्कार र खानेकुरा पुऱ्याउँछिन्, नोकर-चाकरहरूको ज्याउँठ्याउँतीबीच कराउनु, पश्चिमे बाहुनहरूको हूललाई आफैं पकाइखान धान दिनु, निरन्तरको पूजादि गराइरहनुमा तिनको व्यस्त दिन बित्छ । पहाडमा फगते यात्रीले ओढ्ने लुगा पाउँछ तर खान पाउँदैन; मदेसमा खान नपाउने कुरै छैन तर सुत्दा ओढ्ने पाउँदैन । बेहोसियार पाहुनाहरूले तिनलाई बहुली बनाउँछन् । चैततिरदेखि मदेसमा गर्मी र औल फेरि मच्चिन थाल्दा नयाँ नोकर र सबै पाहुनाहरू पहाड फर्किसक्छन् तर तिनी मदिसे नोकरहरूलाई साथमा लिएर धर्मप्रसादसँग मदेसमै बस्छिन् ।
“धनकुटादेखि मदेस म आएको दुई वर्ष भैसकेको थियो । मोरङको जिउँदै उसिन्ने तातो बाक्लो तरीमा हरिणका हाँच जताततै दगुरिहिंड्द्धे ।” ससुराले जनकलाई एक दिन बताए, “शालको रूख फुलेर रिङटा चल्थ्यो । लामखुट्टेहरू वीरगन्जदेखि जम्मै यहीं आएजस्तो हुन्थ्यो । तुवाँलो चलेर दश गजपर तिरको वस्तु नदेखिने । पहाडबाट फरेर लिम्बूहरू, शीत पर्ने रातभरि रातभरि रूखको वरिपरि तन्नेरी र तरुणी एक-एक जना मिलेर गोलो भई गीत गाउँदै दन्काएको आगाको रापमा फुल्दै फर्लङ्ग रात काटेर ज्वरो आएकाहरू बाटैभरि भुतुक्क भएर मरिबसेको ठाउँठावें भेटिन्थे । तैपनि पहाडमा कुनै लिम्बूकी छोरी बिग्रेको मैले सुनिनँ ।”
कुरा अलिकति बरालेपछि फेरि बिस्तार-बिस्तार धर्मप्रसादले भन्नुभयो, “गाडाले कोपेर गएको शून्य, नियास्रो, लमतन्ने मेगरमा मेरो जीवन कैदीको जस्तो, समाजबहिष्कृत पुरुषको जस्तो बित्यो, जसलाई पहाडका जम्मै आत्मीयहरूले मानौं मृत्युदण्ड दिएका थिए। मैयाँ र आमाचाहिँलाई मोरङको खौलोमा ल्याउन मेरो मनले दिएन र पछि यतै यो अर्की मलाई ल्याउनुपर्यो ।”
लोग्नेमानिसको प्रेममा दयाको अंश ज्यादा हुन्छ र दयावशात् बिहा गरिन्छ भन्ने विचारका जनकले ससुराबाट आज सुने – दयावश जेठीलाई त्यागिन्छ पनि ।
० ० ० ०
रङ्गेलीबाट फर्कँदा जोगबनीमा भारत-नेपाल सीमानेर भएको एउटा सानो घटना यस्तो छ :
नेपाल-तराईमा शालको वन छिचोलनासाथ भारत शुरू हुन्थ्यो । बूढाखाडाहरूलाई पछि पारेर जनक र सीता अघि अघि हिँड्न लागेका छन् । भरियाहरू अझै पछि थिए । स्वर्णिम पड्डा फिँजाउँदै एउटा भाले मुजुर अघिदेखि बाटो देखाउँदै ऊँ हिँडिरहेको छ । पाँच कोस बाटो हिँडिसकेर पनि त्यो यताउताको बाक्लो वनमा पस्दैन । खसिराखेको बाटोको थुर टिपेर जनकले झटारो हानेकैं गर्यो । भाग्दैन । निर्भय छ त्यो मुजुर यात्रीहरूदेखि, सायद क्लान्त पथिकहरूको ममतासँग त्यो परिचित छ । भारतको भू-भाग शुरू भयो ।
जनक दगुरे एक्कासि । सीता छक्क परिन् । हेर्दाहेर्दै जनक देखिएनन् ।
पछिएका सबै आइपुगे । कसैले भन्यो, “नेपाल-राज सकियो, अब फर्कँदैन भनेर मुजुर समात्न दुगुरेको ।”
धेरैबेरपछि स्याँ स्याँ भएर फर्के जनक । मुजुरसुजुर केही थिएन ।
सबका आँखाले तिनलाई प्रश्न गरे ।
“त्यो मुजुर, देख्नुभो, कस्तो दुष्ट ।” अफ रनक्क रिसाउँदै भने जनकले, “हामी त पस्यौं-पस्यौं स्वदेश छोडेर, त्यो मुजुर पनि हामी जस्तै मुग्लान पस्न लागेको । खूब चक्कर लाएर खेदें। देखेरै पनि फेरि नेपालभित्रै हालिराखेको छु । कडा चेताउनी दिएर छोडेको छु । हामी मान्छे त प्रवास पस्यौं पस्यौं, वनको पशुपक्षीले पनि यसरी स्वदेश छोड्न थाले कति दिन रहन्छ नेपाल ?”
जातिप्रति जनकको प्रथम सेवाकार्य यही थियो ।
वीरमानले चौकीमा बसेको जनकलाई भन्यो, “हिजै मात्र हजुर कलकत्ताबाट फिर्नुभएको र मैले भनिनँ ।”
“आजु भन् न त ।”
“सपना पनि…” वीरमान बुढाथोकीले बसेको पिराबाट पनि अलिकति तल सुल्किएर भन्यो, “सपना पनि नराम्रै नराम्रै मात्रै देख्छु । अस्ति महाकाल डाँडा गएँ । सप्रेन सपना । अघि कहिले मलाई यस्तो भा’ थिएन, हजुर । धुलौटो पनि कोराइहेरै बजारमा……”
“झुट्टा कुरा ।”
“कसरी झुट्टा हजुर ! गाईको मासु खाने हुँला । देख्नेछन् ।”
“म त गाईगोरु सबको मासु करापकुरुप खाइदिन्छु । घरमा पो भाउज्यूले ल्याउन दिँदैन ।… अँ, तेरो कुरा झुट्टा कसरी भने, अचेलको ज्योतिषीले माटोमा धुलौटो कोर्दैन, खातैमा लेख्छ पेन्सिलले । मैले देखेको छु । मिन्सिबिलले बजारमा छापेको अलकत्रा र सिमेन्ट धुलौटो कोर्न कसैले उप्कायो भने पक्रिन्छ पो पुलिसले ।”
“उई कुरो त हो नि खातामा लेखे पनि ।” वीरमानने हाँस्तै भन्यो र मालिकसँग साहस अझै अलिकति कुरा खोल्यो, “यसो फेरफारे आफैलाई पनि बनाउनुपर्ने हजुर । फेरि फरियाहरू यता किन्दा सस्तो पर्छ ।”
“के भन्छ यल्ले ?” चौकीमा घुमेर वीरमानलाई हेर्दै सोधे जनकले, “बिहा गर्न आँटिस् कि के हो ?”
“धत्तेरी हजुर । यस्तो लफङ्गाले बिहे गरेर के जात्रा देखाउनुथ्यो र ?… अस्तिदेखि भनूँ भनेको हजुरलाई, मुखै लागेन ।”
अधीर भएर जनक रिसाए, “भन्ने कुरा झट्सँग भनिहाल् न ।”
यो हकारले झन् वीरमानको वाग्धारा हिउँदोको पनेरो जस्तो सुक्यो दुई मिनट साससम्म फेर्न डराई त्यसै अलमलियो ।
जनकलाई उठेर जान लागेको देखेर मात्रै तुरुक्क बोल्यो, “बिहान दिदीलाई पनि भनेथें ।”
“के भनेको थिइस् ? तेरो टाउको ??”
उत्तर झन् छैन । चूर, शिर फारेर ।
“पैसा चाहियो ?”
किञ्चित् वीरमान चलमलायो ।
“घर जान मन लाग्यो कि ?”
“चुप ।”
बिहान धाराबाट पानी ओसारिसकेपछि सीतासँग वीरमानले घर जाने कुरा गरेको थियो ।
“वीरमान, तँ यस्तो कुरा नगर् है। म यो जाडोमा पानी भर्न सक्तिनँ ।” कराउँदै सीताले हप्काइन् ।
“दश-बाह्र दिन त हो दिदी, म आइपुगिहाल्छु नि ।”
“मलाई तँ लाटी ठान्छस् ?” सीता जङ्गिइन् ।
“यताकी ठान्छस् मलाई ? जा, जान्छस् भने, दिव्याका बाबासँग भन् । मलाई नभन् ।”
पल्लो झ्लबाट पुष्पाकी आमाले सानी छोरीलाई बोकेरै वादविवाद सुन्दै थिइन् । तिनलाई पनि सहयोगी बनाउँदै भनिन् सीताले, “सुन्नोस्, बैनी, यो वीरमानको कुरा…। घर जाने अरे । सङ्क्रान्ति कति दिन छ अब भनेर हिजो होइन तैंले गन्दै गरेको ? तँ गैहालेर खसी कसले बनाउँछ ?”
आफ्नो भावनालाई सीताले तर्क मानिन् ।
“सङ्क्रान्ति मानेर जानू नि ? दिदीले भनेपछि…” बाबुनी पुष्पाकी आमाले मेलको सूत्र प्रस्ताव गरिन् । वीरमानलाई एकपल्ट सानो काम अराउँदा, एक आनाको चिनी किन्न पठाउँदा, बाबुनी र सीताको बोलचालै कति दिन बन्द भएको थियो । ऐले त्यो दुवैले बिर्सिसकेका छन् ।
टल्कने कालो वीरमानले पाकेटबाट छोटो हरियो काङ्ग्यो निकालेर कपाल कोर्दै भन्यो, “घर भनेपछि हामीलाई पनि माया लाग्छ नि हो, भाउज्यू । दाजै कसरी घरी-घरी घर आउँछन्, घरको मायाले ?”
बाबुनीलाई कुन्नि कहाँनेर छोयो, रातो भइन् ।
“तँ तेस्तो नक्कले, पहाडमा टिक्नु मत्तै !” भनिन् तिनले ।
“ठीक पनि यो वीरमान पहाड बिहा गर्नु जाँदै होला । हेर है, हामी आइमाईले भनेको ठीक पो हुन्छ !”
“भाउज्यूको आशीर्वाद नै लागोस् । थेङ्क्यु !”
वीरमानले पहाडबाट यहाँ आई मानिसहरूलाई जातले बोलाउन छोडी साइनो लगाई बोलाउन सिकेको थियो औ दोस्रो कुरा सिकेको थियो ‘थेड्ङ्क्यु’ भन्न । “ए, त म दुई मन र पनि चौंतीस सेर रै’छु हो । थेङ्क्यु ।” ‘कालो भा’ पनि सुहाइलो छु नि ?- थेङ्क्यु ।”
० ० ० ०
तीन वर्षअगि वीरमानलाई बाबुले तीनकन्याको थानमा भाकल पुज्न, परेवाको जोडी उडाउन पठाएको थियो । चार कोसको बाटो । वीरमान बाटो लाग्यो र पन्ध्र दिनपछि कहाँबाट कहाँ बत्तिएर झापा बजारमा आइपुगेर होचो पाल टाँगेको दोकानमा लामो काठको बेन्चमा बसी बिहानै फिका चिया खाइसकेको थियो । “आसाम जान्छु,” भन्थ्यो त्यो, बाटोमा सोध्नेहरूलाई । एक दिनभरि पैदल र एक रात सतारहरूको गाडामा यात्रा गरेपछि सत्रौं दिनको दिउँसो एक बजेतिर वीरमानले मुक्तिको मेची तर्यो ।
त्यसले दुई महिना बाघग्रामा बितायो। ईंटा बनाएर । सिलगडीको सिख हुटेलमा नौ महिना बस्यो । प्लेट धोएर ।
रिक्सा कुदायो बीस दिन ।
चार महिना औलोले थलियो ।
जनककहाँ आएको दिन त्यो मदिसेले दौरा सुरुवाल लाएको जस्तो थियो ।
दार्जीलिङको जलवायुले त्यसलाई छ महिना पुरानै वीरमान बनायो । फेरि त्यसले नराम्रो भएर बस्नै पाएन । जनकले दिएन ।
“हरेकलाई सुकिलो भएर बस्न कर लाग्छ दार्जीलिङमा, जबसम्म यहाँको सडकमा अलकत्रा छापिन्छ औ हावापानी सुन्दर रहन्छ ।” जनक, आफू ता लुगौटे छैन, बारम्बार यसो भन्छ ।
मालिकको कथनलाई वीरमानले आफूमा यति चरितार्थ गर्यो कि जम्मै बिल्डिङभरिको मैला लुगा त्यसले धोइदिन थालेको थियो ‘चुरोट’ खाने पैसामा । चाल पाएर जनकले पिट्यो । छेउघरकी श्रीमती दास बरबरी रोइन् ।
“एउटै मात्र चक्र छ मेरो, हेर्नोस् भाउज्यू ?” वीरमानले हातमा जम्मै औंला फारेर दिउँसो घाममा बाबुनीलाई देखाउँथ्यो ।
“यस्तो मान्छे कि ता राजा हुन्छ अरे कि साधु ।” अर्थ लाइदिन्थिन् सीताले ।
“साधु हुन मन लाग्दैन; राजा हुन सकिँदैन ।”
“राजासमान हुन्छस् भनेको पो त, तँलाई त राजै हुन्छस् कसले भन्यो ?”
“साधुसमान त ऐले छु !!”
सीता र बाबुनी दुवै हाँसे, एउटी त सर्किइन् पनि ।
“यो देब्रे चोरको कुराले पनि देब्रे मात्रै खेद्छ हो ! तँ नजा नेपाल अब । तेरो चक्र देखेर राजाले काट्छ तँलाई ।”
“पक्रियो भने ‘म साधु हुन्छु’ भन्छु नि ।”
वीरमानलाई एकपल्ट अजोय दासले देब्रे हात चल्नेको छोराछोरी जम्ले जन्मन्छ भनेर भन्दिएको थियो । बङ्गालीहरूले पढेको हुन्छ र जान्दछ भन्ने विश्वासको वीरमानलाई त्यो एकदम मनमा गाडेको छ ।
दार्जीलिङको आकाशमा चाँदी जस्तो हावाजहाज कहिलेकहीं आवाज गर्दै घुम्न आउँदा सरस्वतीपूजाको लस्करमा बाटोभरि नाच्ने वीरमान जहाँबाट भए पनि दगुरेर छानामा चढ्छ । अनि आकाशतिर फर्की चिच्च्याउँदै सधैं हावाजहाजलाई कराउँछ ।
त्यसको अनुभव र बुद्धिले अति नै मार्मिक ठानेको ठट्टा गर्छ । “ए, हावाजहाज । कैले देख्थिस् तैंले मलाई, तेरो ससुरालाई ! तँलाई म मार्छु हेर्, फार्छु बन्दुक हानेर, हेर् है…!”
बन्दुक पक्रेझैं हात बनाई, औंला अङ्कुसे पारी एक आँखा चिम्म गरी ताकी उड्दो हावाजहाजलाई एकदम वीरमानले गोली लाउँथ्यो “प्वाँक् !”
हावाजहाज पखेटामा गोली लागी, धूवाँ र आगो सल्कँदै, टुक्रा-टुक्रा भई खस्यो अरे वीरमानको कल्पनामा ।
बाघडुग्रामा दुई महिना हुँदा राति हवाईअड्डाको बत्ती घुमेको देखी वीरमान मृगले जस्तो हेरेको हेरेकै हुन्थ्यो । बेलुकातिर मैदानमा बात गर्दै जस्तो बसिरहेका हावाजहाजहरूको वरिपरि त्यो वीरमान अर्को एउटा साथीसँग जान्थ्यो, घुमेर हेर्थ्यो, अरूले नदेखीकनै हावाजहाजलाई छुन्थ्यो । दुइटा हावाजहाजमा, एक-एक-वटा बाँडेर, त्यसको साथी र वीरमानले आफ्नो-आफ्नो नाम पनि लेखेका थिए ।
(इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १३ कार्तिक २०८२, बिहीबार
  
				१३ कार्तिक २०८२, बिहीबार				

 




 
																	 
																	 
																	 
																	




