पृष्ठभूमि
यो लेख मैले नेपाली र अंग्रेजीमा प्रकाशित एक्रस द्वैभाषिक पत्रिकाको निम्ति लगभग २३ वर्षअघि नै तयार गरेर प्रकाशित गरेकी थिएँ । म त्यो पत्रिकाको नेपाली खण्डकी सम्पादक थिएँ । यसैको निम्ति तेस्रो आयाम समूहका दाइहरूसँग अन्तर्वार्ता र संवाद गरेकी थिएँ । निकै समय लगाएर तीन जनाका विचारहरू सङ्कलन गरेकी थिएँ जसको विषयमा तल लेखिएकै छ ।
यो लेख उक्त एक्रस पत्रिकाको नोभेम्बर, २०००–२००१, वर्ष ४, अङ्क ३ मा पृष्ठ ४८–५५ मा छापिएको छ । मेरो मुख्य प्रश्न नै तेस्रो आयामको आन्दोलन विषयमा भएकोले वहाँ लेखक दाइहरूका भनाइहरू अहिले अत्यन्त महत्त्वपूर्ण भएका छन् । वैरागी दाइ र बल्लभ दाइलाई काठमाडौंमा नै अन्तर्वार्ता गरें । इन्द्र राई दाइलाई भने सिलगडीको सालबारी स्थित निवासमा नै पुगेर सम्वाद गरें । अनि प्रश्नहरू पनि दिएँ ।
अन्तर्वार्ताका दुई वटा पद्धति थिए । पहिलो, प्रश्नहरू लेखेर वहाँहरूलाई दिएँ । यो वहाँहरूकै सल्लाह थियो । वहाँहरूले हातले उत्तर लेखेर दिनुभयो । दोस्रो, ती उत्तरबारे बढी प्रष्ट हुन पछि मौखिक वार्ता पनि गरेकी थिएँ । इन्द्र दाइ र बल्लभ दाइ दिवङ्गत भैसक्नु भएको छ । वैरागी काइँला दाइसँग अहिले पनि भेट हुन्छ । अनि तेस्रो आयाम साहित्यिक प्रयोगको चर्चा अहिले पनि भैरहेको छ । त्यसैले यो लेख अहिले अत्यन्त सान्दर्भिक र महत्त्वपूर्ण हुनेछ भन्ने सल्लाह पाएकी हुनाले यहाँ पुनः प्रकाशित गरिएको हो । प्रस्तुत छ लेखको पूर्ण पाठ ।
० ० ० ०
पूर्ण पाठ
साहित्यमा ‘सम्पूर्णता’को चाहना राखेर ‘तेस्रो आयाम’ अथवा भनौं आयामेली लेखनको शुरूवात गर्नुहुने इन्द्रबहादुर राई, ईश्वर बल्लभ र वैरागी काइँलादाइहरू आज आधुनिक नेपाली कविताको पर्यायवाची भइसक्नु भएको छ । अहिलेको साहित्यिक परिवेशमा अनेकन विषयमा साहित्यकारहरूले धेरै लेखिसकेका छन् जसमा ‘सम्पूर्णता’ कवितामा कसरी आएको होला वा आएकै छैन भन्ने विषयमा चर्चा भएका छन् ।
इन्द्र दाज्यूले शीर्षक ‘लेखन सब एक अर्काका सम्पूरक हुन्छन्, राख्दा हुन्न र ?’ भन्ने सल्लाह दिनुभएको छ तर वहाँकै हरफहरू ‘अ’ आयामिक लेखनलाई ‘आन्दोलन’ आयामिकहरूले घोषित गरेका थिए ? कि समालोचक, सम्पादक, अन्य लेखहरूबाट भयो त्यो प्रकारांकन ? खोजजस्तो होला भन्नु महत्वपूर्ण छ ।
अर्कातिर प्राध्यापक समालोचकहरूले आजसम्म तेस्रो आयामलाई आयामेली आन्दोलनकै रूपमा पठनपाठन, छलफल हुँदै आएकोमा ‘तेस्रो आयाम आन्दोलन हो कि होइन ?’ भन्ने शीर्षक यसमा रोज्न पुगेकी हुँ । यसमा इन्द्र दाज्यूसँग पत्राचार गरेकी थिएँ भने बाँकी दुईजना दाइहरूसँग काठमाडौंमै सम्पर्क गरेकी थिएँ । प्रस्तुत अन्तर्वार्ताले नै सबै कुरा भन्ने छ ।
प्रश्न : १
काठमाडौंमा नेशनल बुक ट्रष्ट अफ इन्डियाको एउटा सेमिनारमा दिल्लीको जे.एन.यु.का प्राध्यापक डा. महेन्द्र पी. लामाले आयामेली आन्दोलनमाथि बोलिरहेका एक नेपाली समालोचकसँग छलफल गर्दा भनेका थिए, “आयाम एक आन्दोलन होइन किनकि आन्दोलनको समाजमा प्रभाव पर्नुपर्छ, त्यसले परिवर्तन ल्याउनुपर्छ, अनि त्यसको प्रभाव आर्थिकदेखि लिएर राजनैतिक पक्षमा पनि गर्नुपर्दछ ।” वहाँको विचारलाई छलफलको विषय बनाएर भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?
इन्द्र राई
चालीस वर्ष अघिका हामी आयामिकहरू अब बूढा भइसक्यौं । अघिका काम कुराबारे हामीबाट अब थुतिएका उत्तर (सम्झना हल्लिएर) ‘जस्तो लाग्छ’ भनिएको भन्दा प्रामाणिक नहोलान् कि ! संशय यस्तोमा पनि तर उत्तरहरू गर्नुपर्ने हर्क लागिरहेछ एक विशेष कारणले । आयामिक लेखन बढाउँदा यस लेखनसम्बन्धी प्रकाशित समालोचना श्री अभि सुवेदीका, श्री तारानाथ शर्माका, प्रकाशित समीक्षात्मक पत्र स्व. ईश्वर बरालको हामीलाई बखतका मार्गनिर्देश थिए । श्रीमती सुवेदीका प्रश्नका उत्तर मलाई लेखाउँछ सम्झनार्थ यसैले ।
अआयामिक लेखनलाई ‘आन्दोलन’ आयामिकहरूले घोषित गरेका थिए ? कि समालोचक, सम्पादक, अन्य लेखकहरूबाट भयो त्यो प्रकारांक ? खोजी होला ।
साहित्य, सङ्गीत, कला विचारका क्षेत्रमा नवप्रवृत्ति र त्यसको सङ्घात (इम्प्याक्ट) हुँदैछ ‘आन्दोलन’ ।
आयामिक लेखनका राजनैतिक र अर्थनीतिक पक्ष खोज्नेले युरोपीय रोम्यान्टिक मुभमेन्ट, पप म्यूजिक मुभमेन्ट, सररस्अलिस्ट मुभमेन्ट, आइडिअलिस्टक मुभमेन्ट आदि सबका राजनीतिक र अर्थनीति देखेका होलान् । नेपाली हलन्तवहिष्कार आन्दोलन, झर्रोवाद आन्दोलनका पनि ।
ईश्वर बल्लभ
डा. महेन्द्र लामाले सेमिनार कुन परिप्रेक्षमा आयामको सन्दर्भमा आयाम आन्दोलन होइन भन्नुभएको रहेछ । म व्यक्तिगत अर्थात् सदेह त्यहाँ उपस्थित हुन नसके तापनि यहाँले सन्दर्भमा सङ्केत गर्नुभएको विषय बुझ्ने चेष्टा गर्छ । वास्तवमा आयाम एउटा दृष्टिकोण हो अर्थात् अलि व्यापकताले भनौं – यो केही विचार मात्रै हो, दर्शन हुन खोज्ने विचार हो । आखिर जुनसुकै दर्शन पहिले विचार भएर उत्पन्न हुन्छ, क्रमशः विस्तृतिले दर्शन हुन खोज्दै समय हुँदै या समयसित विकसित हुँदै बढ्छ ।
आयामेली आन्दोलन भने पनि आयाम आन्दोलन या जे भने पनि यो प्राध्यापक लामाले भन्नुभएको जस्तो या वहाँले परिभाषा गर्नुभएको आन्दोलन जस्तो आन्दोलन होइन दार्जीलिङमा हुँदै आयामका ऊहापोहले व्याप्त गर्दा मैले पनि लेखेको थिएँ । म आयामेली आन्दोलनको कैदी । वास्तवमा अरूले ज्यादा चर्चा गरिदिएको हुनाले र हामीभन्दा अरूले ज्यादै आन्दोलन भनिदिएर यो आन्दोलन भएको हो । हामीले शुरूमा भनेका थियौं–सम्पूर्णताको खोजी । अर्थात् वस्तुताको सम्पूर्णता र त्यसको सबै पाटाले र त्यसको अस्तित्वबारे हामीले कुरा गरौं भन्यौं । प्रसङ्गमा या सन्दर्भहरूमा अर्को विधाहरू पनि पढ्यौं । चित्रकला पढ्यौं, मूर्तिकला, वास्तुकला तथा सङ्गीतका अमीटहरू के के रहेछन् बुझ्न हेर्यौं र अनुरूप साहित्यलाई विशेष कहिले तिनीहरूकै प्रविधिले वस्तु हुने र स्पर्श गर्ने विधा भन्यौं, जिन्दगी तिनै माध्यमले लिन, हेर्यौं । वस्तुमा, भविता वा निक्खर सोलोडोलो या सबैपाटा भएको, तर अर्थ रहित या खालि एउटा अर्थ नभएको देख्यौं ।
हामीले हेरेका सत्य अर्थात् सत्यसदृश वस्तुता हामीले हेरेको जस्तो नभएर अर्कै रहेछ भन्यौं, रहेछ नै भनेर हेर्यौं । विषयलाई त्यसकै आफ्नो स्वतन्त्रता तथा अस्तित्वमा बाहिरबाट अनावश्यक रंग नहालेर स्पर्श गर्ने प्रयत्न पनि गर्यौं । नितान्त ‘निक्खर’ अर्थात्, वस्तु, वस्तुताले त्यो मात्रै । कविता, कथामा संरचनागत कलाहरू त्यही आदर्श अनुरूप लेख्ने पनि प्रयत्न गर्यौं ।
मानिस त मानिस खालि रहेनछ, धेरै पाटाहरू भएको या आयामहरूको तत्त्व रहेछ ।
मानिसलाई हेर्ने क्रममा शंकराचार्य, रामानुज पनि डे कार्ट र हेगेल पनि माकर्स पनि नागार्जुन र दोस्तोयवस्की या वर्देयव पनि सबैले हेर्यौं । वस्तुलाई कि मानिसलाई र यिनै स्थितिहरूलाई लेख्ने, व्याख्या गर्ने, कहिले चित्रको रंगको माध्यमले शब्द बुन्ने सबैबाट हामीले जिन्दगी लिने भन्यौं ।
खोइ यो लिने भनेको के हो ? व्याख्या गर्न सक्छु तर बुझेको भने छैन । अझै बुझेको छैन । सम्भवतः यिनै विषयहरूको सम्प्रेषण र अभिव्यक्तिहरूको व्यापकताले आयाम आन्दोलन भएको हो ।
हामीले ज्वारभाटा उठाएपछि हामीले आफैं नबोके पनि भएन र अरूले भनेकै ‘आन्दोलन’ शब्द पनि बोकेर आजसम्म यहाँ पुगेका छौं ।
मूलतः मैले अघि भने आयाम एउटा दृष्टि हो, आन्दोलन भएर यसले जीवित रहनुको कुनै सार्थकता मात्रै छैन ।
नात्सीवाद या फासीवाद, साम्यवादहरूले जस्तै या कुनै अन्य वादहरूले जस्तै हामीले समाजलाई प्रभावित पार्न खोजेका थिएनौं । केवल एउटा ‘निक्खर’ जिन्दगी वस्तु जान्न र लेख्न खोजेका मात्रै थियौं । शायद डा. श्री महेन्द्र लामाले यिनै परिप्रेक्ष्यमा भन्नुभएको भए कतै अन्यथा भएको म त अनुभव गर्दिन ।
वैरागी काइँला
आन्दोलनको शाब्दिक अर्थ के हुन्छ ? मलाई थाहा छैन । भइरहेको व्यवस्था वा पद्धतिसँग असहमत भई विकल्पको खोजीमा जुट्नु र संस्थागत विचारगत तरिकाले लागिपर्नुलाई आन्दोलन झैं मैले ठानेको छु । विचारले सार्वजनिक भएर सामाजिक मान्छेको जीवनमा केही न केही कतै न कतै प्रभाव त पार्छ नै । त्यसरी पर्ने प्रभाव जीवनको सबै पक्षमा पर्छ कि पर्दैन समाजशास्त्रीहरूले बताउने कुरा जस्तो लाग्छ । फेरि साहित्य लेख्दा मान्छेको जीवनको जीवन अनुभूतिलाई अभिव्यक्ति भाषामा लिएर सौन्दर्यको कलात्मक सृजना गरिन्छ । राजनैतिक व्यक्तिले झैं समाजमा विद्यमान सामाजिक, आर्थिक, राजनैतिक, लैंगिक, भाषिक, सांस्कृतिक र धार्मिक विभेदलाई निमिट्यान्न पार्ने ध्येयले नै साहित्य लेखिंदैन र पनि त्यस्ता विभेदजन्य विसंगति र विकृतिको विरुद्ध साहित्य लेखन भएको हुन्छ ।
शुरूमा आन्दोलन भनिएर आरम्भ गरिएको प्रचलित लेखाइको विषय, भाषा, शैली र प्रविधिको विकल्पमा आएको आयामिक लेखनले पनि जीवन र जगतलाई हेर्ने आफ्नै निरपेक्ष दृष्टिकोण पनि बनायो । यसले पनि लेखनमा प्रभाव पार्यो नै । अहिले आयामिक लेखन भनिने यो लेखनले साहित्यलेखनमा पारेको प्रभावको मूल्याङ्कन त समालोचकहरूबाट भइराखेको छ ।
० ० ० ०
प्रश्न : २
तेस्रो आयाम शुरू गर्ने तपाईंहरू तीन जना (इन्द्र राई, वैरागी काँइला, ईश्वर बल्लभ) कसरी भेट्नु भयो ? विचार मन्थन गर्न थाल्नुभयो ?
इन्द्र राई
नेपाली साहित्य सम्मेलन पत्रिका दियालोको सम्पादनमा संलग्न थिएँ १९५९ देखि, जसमा ईश्वर बल्लभका रचना पनि प्रकाशित हुन्थे । तिलविक्रम नेम्बाङ (वैरागी काइँला) र ईश्वर बल्लभले पत्रिका फूल–पात–पतकर निकाले १९६१ मा) १९६१ मै दार्जीलिङ मच्चिएको ‘नेपाली सरकारी भाषा आन्दोलन’ मा सचिव थिएँ म, तिलविक्रम नेम्बाङ थिए छात्रप्रतिनिधि । ईश्वर बल्लभ र म टर्नबूल उच्च विद्यालयमा सँगै शिक्षक थियौं । आधुनिक साहित्यका अध्ययन र लेखन हुर्काउने लक्ष्यले नेपाली साहित्य परिषद् खोलेका थियौं कुमार प्रधान, राजनारायण प्रधान लिई १९६३ मा । ईश्वर बल्लभ पनि थिए । तेस्रो आयाम वैरागी काइँलाको सम्पादकत्वमा प्रथम अंक प्रकाशित भएको थियो यही वर्ष ।
ईश्वर बल्लभ
सन्जोगले नै हामी तीन जना दार्जीलिङ सँगै भयौं । दार्जीलिङमा इन्द्रबहादुर हुनुहुन्थ्यो, हामी नेपालबाट गएकाहरू वैरागी काइँला र म । सन्जोग पनि सिद्धान्ततः विषम विषय हो, यसको विश्लेषण या व्याख्याहरू दार्शनिक स्तरमा भएका छन् । तर नितान्त सामान्य सोचले सोच्दा सबभन्दा सजिलो धारणा तपाईंले भन्नुभएकै जस्तो हाम्रो भेटको तारतम्य कतै तत्काल अगम्यतिर इंगित भए पनि सन्जोग नै थियो ।
वैरागी काइँला
भेट सबै पूर्वनियोजित हुँदैनन् रहेछन् । सन्जोगले भेट भयो नै भन्नुपर्दछ । तर यस्ता सन्जोग कहिलेकाहीं व्यक्तिको जीवन र सामाजिक जीवनमा दूरगामी प्रभाव पार्ने खालको पनि हुँदो रहेछ । हाम्रो भेट झन्डै त्यस्तै साबित भएको छ आज । नयाँ केही गरौं भन्ने म र ईश्वर बल्लभको भेट मेरो सन्दर्भमा पहिलो भयो भने ईश्वर बल्लभको सन्दर्भमा इन्द्रबहादुर राईसँग भयो । बल्लभ र मैले फूलपात पतकर (काइँला प्रकाशक र बल्लभ सम्पादक) निकाल्दा इन्द्रबहादुर राईले अनेक कथाहरू र ‘आज रमिता छ’ उपन्यास लेखिसकेका थिए । म र बल्लभसँगै बस्न थालेपछि साहित्यिक कोठेगोष्ठी आयोजना गर्न थाल्यौं सन् १९५९ देखि नै । पछि कोठे गोष्ठी साहित्य प्रतिष्ठान भन्ने संस्था पनि खोल्यौं जसले रामायण पाठको अन्तर हाईस्कूल-स्तरीय प्रतियोगिता गरायो वा थालनी गर्यो र यो यौटा परम्परा झैं भएको छ त्यता आजकल । पहिलो त्यही रामायण पाठको अन्तर हाईस्कूल-स्तरीय प्रतियोगिताको निमन्त्रण पत्र आशालच्छी प्रेसमा छाप्दै गर्दा मेरो त ईन्द्र बहादुर राईसँग पहिलो भेट भयो । छाप्नु पनि भानुको तस्वीर फ्रन्टमा छापेर पहाडे कागत (नेपाली काँचो कागत)मा र भाषा पनि नेपालको लेखपढको भाषामा त्यो निम्तोपत्र छापेको देखेर श्री राईले केही प्रतिक्रिया व्यक्त गर्नुभएको थियो, त्यसबेला । भित्रभित्रै सल्केको विचारको आगो मन–मस्तिष्कमा बोकेर हिंडेका राईले सम्भावित सहयात्री त्यस दिन देखे होलान् कि ? यसरी भयो भेट मेरो । र अब शुरू भए विचार मन्थनका अटूट शृङ्खलाहरू ।
० ० ० ०
प्रश्न : ३
विचार आन्दोलन शुरू गर्दा कुनै एक व्यक्तिको सबभन्दा ठूलो प्रभाव हुन्छ भन्छन् । तपाईंहरू मध्ये कसको सबभन्दा ठूलो प्रभाव थियो विचारको हिसाबले ?
इन्द्र राई
सबभन्दा ठूलो प्रभाव भन्ने हामी माझ भएन । काइँला अतीव व्यवस्थित र प्रणालीवद्ध चिन्तन गर्न सक्छन् । बल्लभमा नयाँ कुरा बुझ्ने र बढाउने क्षमता छ । पढ्थ्यौं इलिएट, नित्से, बंर्गशाँ आदि सापेक्षतावाद, मिथक, चित्रकला आदिका पुस्तक किन्दै । पछि पहिले काइँला पहाड सारताप फर्के, त्यहाँपछि बल्लभ काठमाडौं फर्के ।
यति वर्षपछि पनि जतिखेर धुलाबरीमा काइँलालाई भेट्छु, काठमाडौंमा बल्लभलाई भेट्छु, सम्भावित नयाँ लेखाइका झिल्का–झिल्की उड्न थालिहालेको लाग्छ ।
ईश्वर बल्लभ
दाइ इन्द्रबहादुर राई, विचारका प्रशस्त धनी हुनुहुन्छ । उहाँका वैचारिक प्रस्तुतिहरूले मलाई आकर्षित गरेको हो ।
वैरागी काइँला
विचार आन्दोलन शुरू गर्दा कुनै एक व्यक्तिको सबभन्दा ठूलो प्रभाव हुन्छ भन्छन् मात्र होइन कुनै एक व्यक्ति अगाडि हिंडेको पनि हुन्छ । कुरा यसो भएको हो कि म बिरामी परेर देशबन्धु चेष्ट क्लिनिक दार्जीलिङमा उपचार गराइरहेको थिएँ । हेर्ने हितैषीहरू आउँथे । तिनमा बल्लभ र इन्द्रबहादुर राईको आई बढी हुने नै भयो ।
एक दिन नयाँ खालको पत्रिका सानो भए पनि निकालौं भनेर दाजु इन्द्रबहादुर राईले भन्नुभयो । अर्को पटक उहाँहरू आउँदा मैले पनि सोची राख्नु भन्नुभयो । अर्को पटक उहाँहरू आउँदा मैले पनि बाठो भएर हो कि नाम सोचिराखेको जो थिएँ, बताएँ ‘तेस्रो आयाम’ (Third Dimension) ।
उहाँहरू दुवैलाई मन पर्यो नाम । पत्रिका निकाल्ने भयौं, अर्थको प्रबन्ध मैले गर्ने, दर्तादेखि सामग्री सङ्कलन बल्लभजीले र पहिलो सम्पादकीय “भाइ काइँला बिरामी छौ, म लेखिदिन्छु” भनेर दाजु इन्द्रबहादुर राईले भन्नुभयो ।
यसरी छापियो पहिलो अंक जसको सम्पादकीयमा लेखिएको थियो, “अबको साहित्य लेखनले मानिसको सम्पूर्णतालाई उचाल्न सक्नुपर्दछ । मानिस आँखा मात्र, कान मात्र, मन मात्र होइन । ऊ जम्मै इन्द्रिय, हृदय, मस्तिष्कको उपज हो र अब लेखिने प्रत्येक वाक्य र पंक्तिले उसको सम्पूर्णतालाई समाउनुपर्छ, उचाल्नुपर्छ । यै गर्न हाम्रो प्रत्येक कृतिले तृतीय आयाम आफूमा ल्याउन सक्नुपर्छ । दुःख पाउने मान्छेको कथा वा कविता त्यो एउटा मान्छेले दुःख पाएको कथा वा कविता मात्रमा सीमित नरहोस् । त्यसले उठ्न सकेर त्यो टुक्रा कुराको पछि एउटा विशाल विचार बसेको होस्, उँभोतिर एउटा दर्शनको आकाश टाँगियोस्, त्यो एउटा टुक्राले राजनीति बोकोस्, सामाजिक भाष्य बनोस्, त्यो ‘मात्र’ भन्दा धेरै धेरै अरू कुरा होस् । यै ‘धेरै’ हरू हो ‘तेस्रो आयाम’ हो ।”
यसरी शुरू भएको आयामिक लेखनमा सम्पूर्णताको धारणापछि तत्क्षणता, अर्थनिरपेक्षता र वस्तुमा थपिएर यसले लेखनमा पूर्वपरम्परा त्यागेर नयाँ दर्शन र लेखनको भाषा, शैली र शिल्पमा नयाँ अवधारणा लिएर पाठकहरूका सन्मुख उपस्थित भयो । श्रेय कसलाई दिने ? भन्नुहुन्छ भने म त निसंकोचले भन्छु – दाजु इन्द्रबहादुर राईलाई । उनैले पहिलो सम्पादकीयमा सम्पूर्णताको कुरा उठाए । पछि बल्लभले कविताको वस्तुताको कुरा उठाएको र मैले अर्थनिपेक्षताको कुरा उठाएको हो कि जस्तो लाग्छ । दाजु इन्द्रबहादुर राईले कालको अविराम र आवत्र्त वर्तमानको कुरा गरेपछि मैले पनि अनुभूतिको तत्क्षणताका कुरा उठाएँ झैं लाग्छ । जे होस्, आयामिक लेखनको चिन्तन पक्षको विकासमा सबैको भूमिका थियो । तर पनि आयामिक लेखनको सैद्धान्तिक अगुवा दाजु इन्द्रबहादुर राई नै हुन् ।
० ० ० ०
प्रश्न : ४
त्यस्तो आन्दोलन शुरू गरेपछि सुनाउनु पर्ने आवश्यकताबोध गर्नुभयो होला र त्यो स्वाभाविक पनि हो । तपाईंहरूले यो आन्दोलन र विचार पहिले कसलाई सुनाउनुभयो ?
इन्द्र राई
आयामिक लेखनका गर्भकाल, जन्म, न्वारनदेखि प्रथम वार्षिक जन्मदिवस मनाउने बेलासम्म थिए कुमार प्रधान, जगच्चन्द्र क्षेत्री, राजनारायण प्रधान, लदेवान, भीम थापा, मच्छिन्द्र प्रधान आदि । कुमार प्रधानको प्रेरणा विशेष थियो । झल्को अझ आउँछ । दुई भाइले अरू कतिसँग चर्चा गरे हुन् ।
ईश्वर बल्लभ
मलाई त्यस्तो कुनै विशेष विषयको सम्झना छैन तर, विचार विमर्शहरूमा नेपाली साहित्यको तत्कालीन स्थितिबारे कुरा गर्थ्यौं सन्तुष्ट थिएनौं– परस्पर वार्ता गर्यौं ।
वैरागी काइँला
म त शुरूमा पहिलो अंक निस्कँदा देशबन्धु चेष्ट क्लिनिक दार्जीलिङको यौटा वेडमा थिएँ, मलाई टि.वि. नै भएको थियो र यो दोस्रोपल्ट रिल्याप्स भएको केस थियो । धेरै महिनापछि म बाहिर आएपछि वातावरण पक्षमा र विपक्षमा धेरै गरम भएको पाएँ । तर छलफल बढी हामी तीनमा हुन्थ्यो र कुराको चुरो दाजु इन्द्रबहादुर राईले नै निकाल्थे र बताउँथे । उनको चिन्तन र अध्ययनले मलाई त धेरै सहयोग भएको पाएको छु । पछि पछि त हाम्रो छलफलको दायराभित्र चित्रकला र संगीतका मर्मज्ञहरू थपिए जसका ज्ञानले हामीलाई आफ्नो चिन्तन तिखार्ने र लेखनलाई प्रभावशाली बनाउन मद्दतै गर्यो ।
० ० ० ०
प्रश्न : ५
साहित्यिक आन्दोलनहरू ठूलाठूला शहरमा शुरू हुनुको कारण त्यहाँको एउटा बौद्धिक जमात हो । तपाईंहरूले शुरू गर्नुहुँदा दार्जीलिङमा कस्तो जमात थियो ?
इन्द्र राई
दार्जीलिङमा त्यस बेलासम्म भावावेगमा बहने लेखन थियो । बथानदेखि छुट्टिई युरोपीय आधुनिक लेखनको समस्तरीय आफ्नो लेखन गर्ने यो उद्यम तत्कालीन दार्जिलिङली लेखनको प्रतिकारमा अग्रसरित थियो । पछि ता यसको अलग परिचय बन्यो ।
ईश्वर बल्लभ
दार्जीलिङ नेपाली साहित्य र संस्कृतिको संरक्षणको निमित्त सचेत जग्गा हो, त्यो बेला पनि त्यस्तै थियो सचेत, सूर्य विक्रम ज्ञवाली, पारसमणि प्रधान, धरणीधर शर्माहरूको तथा शिवकुमार राई, रूपनारायण सिंहहरूको चैतनिक प्राग्भूमि थियो । यदाकदा नेपाल देखिन् पनि कुराहरू पुग्थे तिनै वातारणको परिप्रेक्ष्य तथा आधारगत सापेक्षमा हामीले नयाँ विचार भनी शुरू गरेका हौं । शैक्षिक तथा बौद्धिक नागरिक समाज धेरैजसो शहरकै बासिन्दा हुने गर्छ हाम्रो आयामले पनि शहर मै आश्रय खोज्यो ।
वैरागी काइँला
कुरा ठीक हो कि साहित्यिक आन्दोलनहरू ठूलाठूला शहरमा शुरू हुनुमा त्यहाँका बौद्धिक जमात र तिनको चिन्तनशैली हुन्छन् । दार्जीलिङ सानो शहरको आफ्नै सीमितता थियो । नेपालको मूलधारको साहित्यभन्दा टाढा हुँदा हुने अनुकूलता र प्रतिकूलता यससँग थियो । परम्परागत लेखाइ, शैली र शिल्प, जीवन दर्शन बोकेर लेखिएका ती साहित्यले आधुनिक मान्छेको अनुभूति व्यक्त गर्न नसकेको पाउँदा नै नयाँ चिन्तन र पाराको लेखनको खोज जहिले पनि हुन्छ हामीले पनि त्यही काम मात्र गरेका हौं ।
० ० ० ०
प्रश्न : ६
तेस्रो आयाम भनेको के हो ? म जस्तो साहित्य साधारणबोध गर्ने व्यक्तिलाई भनिदिनु पर्यो भने कसरी भनिदिन सक्नुहुन्छ ? कि म भन्दा धेरै जान्ने व्यक्तिलाई मात्र भन्न मिल्छ ? यो कुरा प्रष्ट भनिदिनुभए त्यो पनि मलाई उत्तर हुन्छ ।
इन्द्र राई
आयामिक लेखनका प्रतिपादन र व्याख्यानमा ईश्वर बल्लभ र तिलविक्रम काइँलाले प्रशस्त लेखेका छन् । सरल गरी बुझाइएको मेरो लेख आयामिक लेखनको आत्मकथा पनि छ ।
आज फेरि बुझाउनपरे संक्षिप्तमा यसो र यत्ति भन्छु – हामी सम्पूर्णता लेख्न चाहन्थ्यौं, जीवनको सम्पूर्णता भावमा विचार जोडिदियौं सम्पूर्णता लेख्न र पढाउन । भावावेगहरूका वृत्तान्त मात्र नदिएर तिनीहरूका अनुभूति समेत दिन चाह्यौं, सम्पूर्णता तब हुने मानी । आनुभूतिकर भाषाको रचना गरियो, अनुभूति लेख्न । जीवनलाई बुझ्न फेरि वार्तमानिक तहमा मात्र होइन सार्वकालिक तहहरूमा हेरियो, चिनियो । सार्वकालिक जीवन भनेको सर्वकालमा रहेको महत्तम समावर्तक जीवन थियो, जसलाई आधारिक जीवन वा निक्खर जीवन पनि भनियो । सम्पूर्णतालाई अझ पछ्याउँदै दृष्ट र बोध्य वस्तु (तथ्य, घटना) मा कूटस्थ रहने अर्थनिरपेक्ष मूल्यनिरपेक्ष वस्तुतामा पुगियो । आयामिक लेखनलाई यसो हुँदा सम्पूर्णता लेखन भन्दा वित्तल पर्दैन । ‘सम्पूर्णता थियो उत्तरको त्यो ध्रुवतारा जसलाई हेरेर हामी समुद्रमा आँखा टेक्दथ्यौं ।
अबको बुझाइमा यस्तो लाग्छ । विषयक ज्ञान बढाउने पनि अबको बुझाइने हो । अभि सुबेदीले आफ्नो एक अंग्रेजी लेखमा वैरागीका काइँला आयामिक कवितामा कविको र लिम्बु मुन्धममा फेदाङमाको भूमिका (रोल) को तुल्यता राम्रो ठम्याइदिएका छन् । यस परिका अध्ययनहरू हुनुपर्दछ ।
ईश्वर बल्लभ
मानिसको जिन्दगी भन्यौं पहिले, जिन्दगीकै स्वत्त तथा सत्तालाई अभिव्यक्त गर्नुपर्दछ भन्यौं । एउटा मात्रै आयाम भएको वस्तु पानीमा परेको तेलजस्तो हुने आयामै नहुने ठान्यौं र वस्तुलाई तीन आयामको अनुमान गरेर तेस्रो आयाम भन्यौं । वैरागी काइँलाले पत्रिकाको नाम ‘तेस्रो आयाम’ राख्नुभयो । पछि त्यही नाममा अनेकौं आयामहरूको स्थिति अनुभव गर्न थाल्यौं । शुरूमा सामान्यतः यिनै कुरा थिए र वस्तुलाई र जिन्दगीको वास्तविकता तथा भूति ‘अनुभव’ र अध्ययन गर्ने क्रममा यो विवाद हुँदै गएको हो । हामीले सबैलाई यही भनिरहेका छौं । लेख्दा रचनामा पनि यही लेख्ने आदर्श आग्रह गर्दछौं ।
वैरागी काइँला
जुनै पदार्थको पनि तीन आयाम हुन्छ – लम्बाई, चौडाइ र गहिराइ या उचाइ । र त्यो पदार्थ काल अथवा समयको सन्दर्भमा हुन्छ । लम्बाइ मात्र भएको जसको चौडाइ र गहिराइ वा उचाइ हुँदैन एक आयामिक हुन्छ जस्तै – कागतको पन्ना । तीनै थोक भएको ढुङ्गा कुर्सी इत्यादि । जुनै पदार्थ पनि समयमा हुन्छ । समय वा काललाई चौथो आयाम भनिन्छ । त्यसैले देशकालको नैरन्तर्यमा साहित्यको रचना होस् भन्यौं हामीले उतिबेला ।
यौटा मान्छेको दुःख पोखिएको कविता खालि त्यसैको मात्र दुःख पोखिएको (एक आयामिक लेख) भयो भने अरूले किन सुनिबस्ने वा पढिबस्ने उसको गन्थन ? उसको निजी कुरा भयो अरे त्यो । तर त्यो मान्छेको दुःख सबैको दुःख भएको (बहुआयामिक–त्रिआयामिक) भयो भने सबैले रुचाउँछन् र राम्रो भन्छन् पनि । सबैले राम्रो भनेको कुरा पक्कै पनि सबै प्रकारले पूर्ण जस्तो भए कै हुनुपर्दछ अथवा सम्पूर्णता बोकेकै हुनुपर्दछ । सबैको भएको उसको दुःख सबैको, सबैतिरको र सबैकालको हुन्छ र सदासर्वदाको हुन्छ । यस्तो साहित्यको सृजनामा सबै लागौं भनेको मात्र हो ।
० ० ० ०
प्रश्न : ७
नेपालभित्र पनि त्यस बेला अथवा सन् १९६२ तिर लेखिएका मोहन कोइराला, तुलसी दिवस, रत्न थापा, मदन रेग्मी र अरू कविका कविता तपाईंहरूका जस्तै लाग्छन् मलाई । मैले नबुझेको र शैली उस्तै जस्तै लाग्नेलाई मैले आधार मानेकी छु । त्यस्तो कसरी भयो ? त्यो एउटा सन्जोग मात्रै हो कि, समय त्यस्तै थियो ? कि मेरो कुरा मिलेन र वहाँहरूका कविता तपाईंहरूका भन्दा धेरै फरक हुन् ?
इन्द्र राई
यहाँद्वारा नामोल्लिखित सामान्य कविहरूका भाषाशैलीबाट ईश्वर बल्लभ र वैरागी काइँला किमार्थ प्रभावित भएका होइनन् भन्न मिल्दैन, विशेषतः फूल–पात–पतकर अवधिमा । पछि वैशेषिक बोध, भाषा र प्रविधि प्रयोगले पृथक् बने र पनि समसामयिक काव्यिक एउटै भाषा र परम्पराको परीग्राही बँचाई (‘प्रभाव’ नभनौं कि ?) देखि दुई सर्वथा मुक्त छैनन् ।
ईश्वर बल्लभ
मोहन कोइराला, तुलसी दिवस, मदन रेग्मीहरूको सम्बन्धमा सुन्थ्यौं, यदाकदा प्रकाशित माध्यमहरूले धेरै थोरै पढ्थ्यौं पनि तर तिनीहरू जस्तै या तिनीहरू भन्दा बेग्लै भनेर सोचेनौं । आफ्नो त सबैभन्दा अलग लाग्थ्यो बाटो । विषयको ‘निक्खर’ खोज्ने आदर्श भयो । आदर्श त्यही राख्यौं ।
वैरागी काइँला
सन् १९६० को दशकमा नेपाली साहित्यमा आधुनिकतावादी चेत घुस्यो र नेपाली कवितामा प्रष्टसँग देखा पर्यो । नेपाल (काठमाडौं) मा लेख्ने कविहरूमा यो आधुनिक चेत र लेखनमा यो धार प्रष्टसँग देखापरेको छ । यो समयको माग नै थियो । पढ्दा उस्तै उस्तै लाग्छन् । मलाई पनि त्यस्तै लाग्छ । तर फरक के मा छ भन्दा हामीले सचेत रूपमा कविता र कृतिको सम्पूर्णता, वस्तुता र त्यसका लागि अर्थनिपेक्षताका वकालत गरेका छौं । कृतिगत सम्पूर्णता, वस्तुता र त्यसका लागि अर्थनिपेक्षताका प्राप्तिका लागि आवश्यक भाषा संरचना, शैली र शिल्पको विकासको प्रयत्न सचेतनताले गर्ने गरेका छौं ।
० ० ० ०
प्रश्न : ८
दाइहरूले भन्नुभयो – जीवनलाई सबैतिरबाट बुझ्ने र हेर्ने साहित्य हो । त्यतिन्जेलको साहित्य त्यस्तो थिएन भन्ने तपाईंहरूलाई लाग्यो । अहिले दाइहरूको जस्तो नलेखिने साहित्य कस्तो साहित्य हो ? अहिलेको कविता त म पनि धेरै बुझ्न सक्छु । कथा पनि इन्द्रदाज्युका भन्दा फरक छन् । बुझ्न सकछु । यस्तो साहित्यलाई दाइ के भन्नुहुन्छ ?
इन्द्र राई
स्टिफन स्पेन्डरले भनेका रहेछन् : साहित्य क्षेत्र हिन्दू मन्दिर जस्तो हुन्छ जहाँ स्थान अनेकन् देवदेवीलाई हुन्छ । बहुत्वको स्वीकार आजको पाठ हो । जुन कमी देखिन्छ (समयानुकूल लेखिन्न) आफ्नो लेखनले त्यो दिने उद्योग गरिन्छ । लेख्नु भनेको अभावमरण हो र सबैले यसै गर्छन् आफ्नो हेराइले र समर्थताले । सबै दृष्टि आफ्ना तहमा सही हुन्छन् । समग्रतामा देख्नलाई ती सबलाई श्रेणीक्रम वा तहक्रममा राख्नुपर्छ । परस्परविरोधी तथ्य दृष्टि समेत समन्वित बन्छन् । लेखन सब एक अर्काका समपूरक हुन्छन् । होइन, आफ्नै विचार, भाव, कार्य एवम् लेखनलाई मात्र ठीक माने क्षति धेरै छ । कठपुतलीको मनमा भनेको छु : ‘हेर जताततै रात परेछ, तिम्रो मात्र उज्यालोले ।’
ईश्वर बल्लभ
जीवनलाई हेर्ने प्रक्रिया हो – आयामको प्रविधि पनि जीवन आयामहरूले तीन तहमा पहिले नै भौतिकताले रहेछ – हामीले त्यहाँ त्यसमा त्यससित गहिरिएर पनि हेर्यौं । सबैतिरबाट हेर्ने भनेको हाम्रो विचारले त्यही हो – जीवनलाई सम्पूर्ण खोज्ने विचार हो आयाम । साहित्य अर्थात् कविता, कथा वा सम्पूर्णतामा कला बुझ्ने भन्ने विषय प्राविधिक विषय हो । बुझ्ने क्रममा बोधको विभिन्न स्थितिहरू तैयार हुँदै जान्छन् । तपाईंले बुझ्दा तिनै स्थितिहरूको सापेक्षमा बुझ्नु हुन्छ कला कहिले केवल सम्प्रेषण तथा स्पर्श मात्रै हो – छोए भैगयो । व्याख्या विश्लेषण गर्दा अर्को पक्ष खुल्न थाल्छ ।
वैरागी काइँला
बुझिने कुरा मात्र राम्रा हुँदैनन् तथा नबुझिने सबै नराम्रा पनि हुँदैनन् । मनमा लागेका कुराहरू सपाट भनिदिनु र सुन्नेलाई बोधगम्य भइहाल्नु नै मात्र राम्रो वा उच्च साहित्यको पहिचान होइन । त्यसो र बोधगम्यताले छिटो र धेरैमा प्रभाव पर्दछ । हाम्रा मात्र होइनन् नेपाली साहित्यमा आधुनिकतावादी चेतले लेख्ने सबै लेखक कविका लेखन आजको झैं सपाट छैनन् । नबुझिने भनेको क्लिष्टता हो । भाषाको क्लिष्टता शब्दकोश पल्टाएपछि हल भैहाल्छ । कुनै लेखकको लेखन प्रविधिको ज्ञान थाहा भयो भने उसको लेखन बुझिहालिन्छ, अहिले भएको समस्या यही हो । नयाँ कुरा भन्न नयाँ जुक्ति त खोज्नै पर्छ । साहित्य भाषामा लेखिने हुँदा जुक्ति पनि यसभित्र नै खोजिनु पर्यो र नै भाष्य प्रयोगमा कता कता दुरूहता देखिएका हुन् । यति समाधान भएन सबै बुझिहालिन्छ नि । तर लेखकको विचारमा नै अस्पष्टता छ भने त इन्द्रेको बाबु चन्द्रे आए पनि सीप लाग्दैन ।
० ० ० ०
प्रश्न : ९
जीवनका सबै पक्षको विषय गर्दा स्वास्नी मानिसको चित्रण, उनको विषय र उनको भावनालाई आयामेली साहित्यका रचनामा त्यति ठाउँ दिएको पाइँदैन । स्वास्नीमान्छेको चित्रण बिना जीवनको सिङ्गो चित्र कसरी आउँछ ?
इन्द्र राई
काइँलाको कविता ‘विवाहित क्लर्क युवतीको डायरी: अन्य पुरुषमा’ छाडी, हामीले नारीलाई नारीको रूपमा विशेष केही लेखेका रहेनछौं । नारी पात्रहरू आएका छन् । (दृष्टान्तः मैनाकी आमा, लुसिपसका छोरीहरू, तिगेनजोङना आदि) तर इतिहासकाल वा मिथकीय सर्वकालमा राखिएका । नारी जीवनको चित्रण नभई, वर्तमानकालिक सामाजिक जीवनचित्रण पूर्ण हुँदैन । हाम्रो भने अन्वेष्य र अनुभवनीय थियो सार्विक जीवन, सार्वकालिक जीवन ।
ईश्वर बल्लभ
खोइ हामीले विशेष गरेर, मैले जीवनको वर्चस्वता अनुभव गर्दा नारीको भिन्न वर्चस्व अनुभव गरिनँ । जीवन सार्वभौम हो – त्यहाँ पृथकताहरू अनुभूतिका रहेनन् । यस्ता विषयहरू मलाई व्यावहारिक लाग्छ व्यावहारिक अध्ययनमा लैंगिक विषयहरू रहलान् । हामीले रचनामा ग्रहित विषयहरू चूडान्त मात्र हुन्–औपचारिक थिएनन् ।
वैरागी काइँला
आयामिक लेखनमा जीवनको परिकल्पना सधैं सम्पूर्णतामा गरियो । न मान्छेलाई व्यक्ति–व्यक्तिमा बाँडेर, न लैंगिक विभाजन गरेर । हामीले सम्पूर्ण मान्छेको धारणा राखेर लेखेका हौं उसबेला । त्यसो त स्वास्नीमान्छेलाई माध्यम बनाएर पनि सम्पूर्ण मान्छेको धारणा अघि बढाउन सकिने हो । इन्द्रबहादुर राईको कथा ‘हामी जस्तै मैनाकी आमा’ मा स्वास्नीमान्छेलाई अघि राखेर नै मान्छेको आख्यान भनिएको छ ।
० ० ० ०
प्रश्न : १०
आयामेली आन्दोलन जस्तो नभए पनि पारिजातले नारीलाई लिएर भनौं शिरीषको फूलमा एउटा सबै पक्ष आउने गरेर रचना गर्नुभयो । सकम्बरीलाई सिङ्गो नारीको चित्र भन्नुहुन्छ कि हुन्न ?
इन्द्र राई
नेपाली उपन्यासका आधारहरू (प्रकाशित संबत् २०३१) मा ‘शिरीषको फूल’ अध्यायमा लेखेको रहेछु : ‘उपन्यासमा सकम्बरीको चरित्र यति बिघ्न जीवन्त भएको चित्रणमा उपयोग गरिएका विवरण विशेषहरूको उपयुक्तताले हो तर अझ बढ्ता… यथार्थिक सकम्बरीभन्दा सुयोगवीरको संवेदनभित्र निक्लेकी सकम्बरी अधिक (दिइएकोले हो) र चरित्रछाप पाठकले स्वीकारनै पर्छ ।’
विसङ्गति र व्यक्तिको चर्को संयुक्ति छ सकम्बरी । नाउँमा समेत विसङ्गति बोकेकी शाकम्भरी जो हुनुपर्ने शाक (शिरीषवृक्ष) की भरणी तर संकल्पित मरिन् भ्रमरचुम्बनमै ।
ईश्वर बल्लभ
सकम्बरीलाई सिङ्गो भन्दिन तर केही विशेष पात्र भने हो, भन्छु । पारिजात सक्षम लेखक थिइन् तिनका पात्रहरू नारीपुरुष जेसुकै भए पनि समाजका असल प्रतीक विम्बहरू बनेका छन् ।
वैरागी काइँला
पारिजातहरूका लेखनलाई आयामिक लेखन उहाँहरूले नभन्दा नभनेको मात्र हो तर तिनमा आयामिक लेखनले भनेको धेरैथोक छ । माथि भनेझैं आयामिक भनिने हामीले सचेतापूर्वक त्यस्तो लेखन गरेका भने हो ।
० ० ० ०
प्रश्न : ११
वैचारिक आन्दोलन भनेपछि पुरुषप्रधान बढी हुन्छ भन्ने कुरा सत्य हो ?
इन्द्र राई
हो, वैचारिकता (बुद्धिसंगती, तर्कसंगति, अमूर्त विचारण आदि) लाई पुरुषसिद्धान्त भन्दैछ नारीवादी समीक्षाले । नारीले नारीको पक्षमा लेख्दै पूर्णतः नारीवादी लेखन नहुने भन्दैछन् । संवेदन (सेन्सेसन), मनोभाव, फीलिङ), अन्तर्बोध (इनट्यूइशन) को प्राधान्यले र अझ स्पर्शिक (ट्याकटाइल्) लेखिएको हुनुपर्नेछ भन्दैछन् । नभन्दै कुरा मननीय छ । नारीमा पुरुषतत्व (वैचारिक सहित) र पुरुषमा नारीतत्व अचेतनमै न्यूनाधिक्यमा रहने नै बताउने युगीयहरू फेरि छँदैछन् ।
ईश्वर बल्लभ
खोइ, मलाई त त्यस्तो लाग्दैन । तर यस्ता प्रश्नहरू भने इतिहासमा भर्खरै भर्खरै मुखर हुन र सोधिन थालेका छन् ।
वैरागी काइँला
वैचारिक आन्दोलनमा पुरुष नै अघि हुन्छन् भन्ने कुरा गलत हो । आज पुरुष अघि देखिएका त हाम्रा सामाजिक बनोटले गर्दा मात्र हो । स्त्री जातिले घर भित्रका काम गरिदिंदा पुरुषजातिले बाहिरको काम गर्न पाएका मात्र हुन् । किनभने विचार गर्ने र त्यसलाई प्रसार गर्ने काम भनेको सामाजिक कामजस्तै हो । चुल्हा चौका गर्नुपर्ने स्वास्नीमान्छेहरूलाई यो अवसर कम मिलेर मात्र यस्तो देखिन गएको हो ।
० ० ० ०
प्रश्न : ११
दाइ अहिले तेस्रो आयामलाई फर्केर हेर्नहुन्छ कि त्यसलाई ग्रहण गरेर पहिलेकै जस्तो गरेर लेख्नुहुन्छ ?
इन्द्र राई
सर्पले काँचुली छाडेजस्तो गरी आयामिक बोध त्यागिएको, त्याग्न सकिएको छैन, यो धेरै अन्तरंग बनेको छ । त्यही जसमा जोडिएका छन् पछि पाएका बोधहरू । सम्पूर्णताभित्र सत्यता मात्र होइन असत्य पनि, ज्ञान मात्र होइन भ्रान्ति पनि पर्ने पाई लीलालेखन छ । आयाम लेखन र लीलालेखन सम्पूर्णता लेखनका दुई चरण चिन्न सकिन्छ ।
आयामिक लेखनका भाषिक तथा सांरचनिक कति प्रविधि अचेल पनि चलाउँदैछु म तापले ।
ईश्वर बल्लभ
यहाँ पुगेपछि फर्केर विगत हेर्नु बाहेक कुनै अर्को विकल्प छैन । त्यहाँ आयाम जे थियो, त्यो तात्कालिकतामा विशेष नै थियो – अहिले सोच्दछु । तर विचारमा संशोधन र परिष्कार हुँदैछन् । अहिलेको यो जस्ता सार्वभौम वर्तमान त्यहाँ थिएन ।
वैरागी काइँला
अहिले पनि तेस्रो आयामले बढाएको विचारलाई छोडेको छैन मैले त । हो, यसलाई अघि बढाएर दाजु इन्द्रबहादुर राईले लीलालेखनको दर्शनानुसार लेखन प्रविधि पनि हुनुपर्दछ भन्दैछन् । मलाई पनि कुरा ठीकै हो जस्तो लागिरहेछ ।
० ० ० ०
प्रश्न : १२
तेस्रो आयाम अहिले नेपाली साहित्यको महत्त्वपूर्ण इतिहास भइसक्यो । यसको विषयमा जुन ढङ्गले पठनपाठन हुन्छ त्यसलाई लिएर तपाईं सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट नभए पनि आन्दोलन चलाउनेहरूले त्यसको विषयमा केही गर्न सक्दैनन् भन्ने कुरा साँचो हो ?
इन्द्र राई
महाविद्यालय तथा विश्वविद्यालयमा पाठ्यतालिका तयार गर्नेहरूलाई कति प्रकारको अप्ठेरो पर्छ । पत्रपत्रिका, पुस्तकमा पनि, पर्याप्त पाचनपछि पठनपाठनको परिधिमा पूरै पर्ला । पूरै अर्थात् आयामिक कृतिहरू र सिद्धान्त पनि ।
ईश्वर बल्लभ
इतिहास भैसकेको सत्य तपाईंले भन्नुभयो–आयाम इतिहास हो । जुन प्रकारको आयामको पठनपाठन या प्राध्यापन भएका छन् । सन्तुष्ट हुँदैन । अरू असामर्थ्य भएको अर्थ छैन पनि आयामको साँढे तीन दशकको त्यही दश वर्ष भन्दा दोहोर्याउने इच्छा पनि छैन । आन्दोलन दश वर्ष भन्दा अधिक चलिरहनु हुँदैन, विचार र दृष्टिको विषय भने अर्कै हो ।
वैरागी काइँला
तेस्रो आयाम अहिले नेपाली साहित्यको महत्त्वपूर्ण इतिहास भइसक्यो भन्ने तपाईंको कुरामा सहमत छु । तर इतिहास भयो भनेर विगतको कुरा भइसक्यो भनेको पक्कै होइन होला । नेपाली साहित्यको पठनपाठन हुँदा तेस्रो आयाम र आयामिक लेखनको चर्चा गरिनुले नै आयामिक लेखनको महत्वको बोध गराउँछ । अब पठनपाठन गर्ने गराउनेले आफ्नै हिसाबले गर्दा गराउँदा हुन् । हिजोआज त पाठकीय स्वतन्त्रताको पनि कुरा धूमधाम छ नि ।
० ० ० ०
प्रश्न : १३
दाइ अहिले के गर्दै हुनुहुन्छ ? अर्को कुनै विचारको वा साहित्य लेखनको प्रयोग गर्दै हुनुहुन्छ ?
इन्द्र राई
भन्न हुँदैन । भन्यो भने, आफ्नो निश्चयको फुस्स सास जान्छ । भनेन भने, अठोट बलियो बढ्छ ।
ईश्वर बल्लभ
धेरै लेख्दैछु । अर्को प्रयोग सोच्छु तर फेरि आन्दोलन भैदियो भने के गर्ने भन्ने स्थितिले पनि त्रसित हुन्छु । आन्दोलनहरू सडक र गल्लीहरूमा तोरण, पताका तथा झण्डा र एउटा यात्रा नै लिएर नारा लाउँदै हिँड्न थाल्छन् । आन्दोलन आयामको जोगाउन संरक्षण गर्न चार दशक समय लाग्यो । अब फेरि त्यति उमेर कहाँ प्राप्त छ र ?
वैरागी काइँला
साहित्यिक काम भनेको कविता लेखनको काम चाहिँ केही गरेको छैन । त्यस हिसाबले त त्यसै बसेको छु । तर अर्को हिसाबमा भने निकै थोक गर्दैछु । त्यो के हो भने नेपालमा विभिन्न जाति छन् जसका आ–आफ्ना भाषा र संस्कृति छन् । तिनमा लिम्बुजाति पनि यौटा हो । यही लिम्बु जातिको म एक सदस्य हुँ । लिम्बुजाति लेख्यसाहित्य र लोकसाहित्यमा धनी जाति हो । लिम्बुजातिको लोकसाहित्य र लोकसंस्कृतिको अध्ययन, अनुसन्धान र प्रकाशनमा लागेको छु । वि.सं. २०३० सालदेखि यस क्षेत्रमा निम लागिआएको छु । निकैवटा किताबहरू प्रकाशित गरेको छु यसतर्फ । नेपालको सबै लोकसंस्कृतिहरू वा लोकसाहित्यहरू वा लेख्यसाहित्यहरू नेपाली लोकसंस्कृति वा लोकसाहित्य र लेख्यसाहित्य नै हुन् अथवा हुनुपर्ने हो । दुःख लाग्दछ किन यसो हुन नसकेको ? खस नेपाली भाषामा लेखिएको साहित्यलाई मात्र नेपाली साहित्य किन भनिएको होला ? खस नेपाली भाषीको लोकसंस्कृतिलाई मात्र किन नेपाली लोकसंस्कृति भनिएको होला ? किन मुलुकका अरू संस्कृतिको किताबहरूको चर्चा परिचर्चा नगरिएको होला ? आज हाम्रा सामु समग्र नेपाली संस्कृतिको निर्माण गर्ने चुनौती छ । मुलुकमा सामाजिक सद्भावको विकासद्वारा सहिष्णुताको संस्कृति निर्माण गर्ने बेला छ । साहित्यद्वारा पनि यसो गरेर हामी राष्ट्रलाई बलियो र सबैको बनाउन सक्दछौं ।
० ० ० ०
प्रकाशितः
एक्रस् अंग्रेजी–नेपाली पत्रिका
नोभेम्बर २०००
बर्ष ५, अङ्क ३ । पृष्ठ ४८–५५



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










