बिहान मेरो एमबिबिएसको दीक्षान्त समारोह थियो । झुलुक्क उसलाई देखेकी थिएँ । एकदम ठूलो कालो चस्माले आँखा छोपेको थियो । नाक र मुख मास्कले छोपेको थियो । लट्टा कपाल तुर्लुङ्ग झुन्डिएको थियो । टाउकोमा काउब्वाई ह्याट लगाएको थियो । काँधदेखि पाइतालासम्म ढाक्ने गाउन लगाएको थियो । ऊ समारोहको कुनामा बसेको थियो ।
उसलाई देखेर मेरो हंसले ठाउँ छोडेको थियो । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा कार्यक्रम सकिनासाथ प्रमाणपत्र बोकेर मुटु ढुकढुक गर्दै अन्तिम डिभिडी लिन उसको घरतर्फ लागेकी छु । ट्याक्सी तुफान कुदेको छ । सूर्यास्त हुनै लागेको छ । आकाश पँहेलपुर देखिएको छ । यसरी सूर्यास्त हुने बेलामा पँहेलपुर देखिनु अशुभ हो भन्नुहुन्थ्यो हजुरआमाले । म ऊसँग अन्तिम डिभिडी लिन गइरहेकी छु । ट्याक्सीलाई झम्सिखेलमा पुर्याएर छोडिदिएँ । यही गल्लीमा उसको घर छ । एक प्रकारले हो भने बलात्कृत हुन गइरहेकी छु । उसले आजैको दिन त भनेको हो, उसको अन्तिम इच्छा पूरा गर्ने । उसको अन्तिम इच्छा भनेको मेरो बलात्कार त हो ।
यसअघि मैले ऊबाट सात ओटा डिभिडी लिइसकेकी छु । उसले भनेको छ, अबको अन्तिम डिभिडी हुनेछ । सो डिभिडी हात पारेपछि म उसलाई टेर्ने छुइनँ । मैले उसका विरुद्ध एक एक प्रमाण बनाएर राखेकी छु । म प्रहरी लगाएर उसलाई दण्डित गर्छु, गर्छु ।
वातावरण चिसो छ । पानी पनि पर्ला जस्तो छ । ऊनको ज्याकेटले शरीरलाई न्यानो बनाउने प्रयत्न गर्दैछु । तर मनभित्र भने हुँडलो हुँडलिएको छ । हलेदोद्वारा बनाइएको नासको औषधी जस्तो वाकवाकी लाग्दो छ अवस्था । म मेरो मनलाई शान्त बनाउन खोज्छु । भए त्यही बलात्कार त हुने हो, अरू के हुन्छ र ? मारि त नहाल्ला नि ! मारेछ भने पनि म के गर्न सक्छु र ! बलात्कारै हुनु रहेछ भने कसले रोक्न सक्छ र ? मेरो एउटा दिमागले भन्छ ‘छोडि दे त्यो डिभिडीको चक्कर । त्यसलाई पुलिसद्वारा समात्न लगा ।’ तत्क्षण अर्को दिमाग आउँछ र भन्छ ‘त्यो त तेरी स्वर्गवासी आमाको नासो हो, त्यसलाई बलात्कार भएरै पनि प्राप्त गर्नुपर्छ ।’ म दोस्रो दिमागको पक्षमा उभिएकी छु ।
उसबाट यसअघिका डिभिडी कसरी हात पारेका कुराले दिमागका पत्रमा हन्टरले हानेझैँ हानिरहेको छ । हिउँदको चिसाम्यले पनि मलाई चिस्याउन सकेको छैन । हेर्दा हेर्दै म उसको घरअगाडि पुगेकी छु अन्तिम डिभिडी लिन ।
मेरी आमा प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । समाजमा महिलामुक्तिको मसिहा मानिनुहुन्थ्यो । मेरी आमाको क्यान्सरले गर्दा अकालमै मृत्यु भयो । आमाको मृत्यु भएको तेस्रो दिन नै उसले मेरो आँखामा पट्टी तथा मुखमा टेप टाँसेर अपहरण गरेको थियो । म १४ वर्षकी थिएँ । गाडीमा हालेर सहरको निर्जन स्थानतिर लगेको थियो । एउटा घरको कोठामा पुर्याएपछि उसले मेरो आँखाको पट्टी खोलिदिएथ्यो । मुखको टेप खोलिदिएथ्यो । म रुन थालेँथेँ । उसले बन्दुक निकालेर भनेथ्यो “रोइस्, कराइस्, चिच्याइस् भने यही बन्दुकले तँलाई सिध्याइदिन्छु ।”
म डरले चुप लागेकी थिएँ । ऊ मेरा लागि विशुद्ध अचिनारु थियो । अग्लो थियो । शरीरभरि टाटु खोपिएको थियो । दाह्री तिलचामले थियो । कपाल जिङ्रिङ्ग लट्टे थियो । अनुहारमा डन्डीफोरका दाग थिए । हेर्दा विशुद्ध अपहरणकारी लाग्थ्यो । डरले चुपचाप उसको अनुहार नहेरी बसिरहेकी थिएँ । भाग्ने कुनै गुन्जाइस थिएन । उसले मेरो अनुहारलाई सुम्सुम्याएथ्यो । दह्रा जुँघा भएको मुखले मेरा सुकोमल गालामा म्वाइँ खाएथ्यो । म भित्रभित्रै आतङ्कित भएकी थिएँ । बिच सहरमा पनि म एक्ली थिएँ । पुलिसका भ्यान साइरन बजाउँदै कुदेको सुनिन्थ्यो । तर म बेसहारा थिएँ । उफ ! कति फितलो हुन्छ मानिसको जीवन । उसले मेरो बलात्कार गर्छ भन्ने कुरामा म विश्वस्त थिएँ । किनकि म बलात्कारको अर्थ बुझ्ने भैसकेकी थिएँ । नत्र किन मलाई अपहरण गर्थ्यो र उसले ? त्यसैले आफूलाई भन्दा आमालाई सम्झेर मनमनै रोइरहेकी थिएँ ।
उसले मलाई नरिवल पानी पिउन दिएको थियो । एकछिनपछि मलाई गाडीमा हालेथ्यो र गाडी हुइँक्याएथ्यो । गाडी मेरो कोठाअगाडि पुगेर रोकिएथ्यो । मलाई गाडीबाट उतारेपछि पहिलो डिभिडी दिँदै उसले भनेको थियो, “मेरो घर, कोठा, यो घटना तथा यससँग सम्बन्धित कुनै पनि कुरा बाहिर ल्याइस् भने सम्झी तँ मरिस् । मैले तेरी आमालाई पनि यसैगरी अपहरण गरेको थिएँ । अपहरण गरेको कुरा तेरी आमाले कहिल्यै पनि कसैलाई भनिन । ऊ बाँची । मैले ऊबाट जफत गरिएका यी डिभिडीहरू एक एक गरेर तँलाई दिन्छु । तँसँग डिभिडी प्लेयर छ ?”
मैले डराएर छोटो उत्तर दिएकी थिएँ “छैन ।”
उसले मलाई एउटा डिभिडी प्लेयर दिँदै भनेथ्यो “ला लैजा यो डिभिडी प्लेयर ।”
यसबाहेक उसले मलाई दस हजार रुपियाँ दिँदै हकार्दै भनेथ्यो “यो पैसा तँलाई फुर्माइस गर्न दिएको होइन । कलेजको फिस तिर् । तँलाई थाहा छ म किन तँलाई पैसा दिइरहेको छु ?”
मैले ‘छैन’ भावमा मुन्टो हल्लाएकी थिएँ ।
उसले भनेथ्यो “मैले तेरी आमालाई अपहरण गर्दा उसको सबै गहनागुरिया, रुपियाँपैसा, धनसम्पत्ति जफत गरेको थिएँ । उसको घडेरी बेच्न लगाएर त्यो पैसा पनि जफत गरेको थिएँ । बदलामा मैले तेरी आमालाई अपहरण मुक्त गरेको थिएँ । तेरी आमा त मरिहाली । अब तँ छेस् मेरो कब्जामा । मेरो भनाइ नमानेर यताउति गरिस् भने म तँलाई मारिदिन्छु । बुझिस् ?”
म अत्यन्त आतङ्कित भएकी थिएँ ।
जाँदा जाँदै उसले मलाई भनेथ्यो “नेपाल बैंक लिमिटेडमा एउटा बचत खाता खोली राख् । अर्कोपल्ट डिभिडी लिन आउँदा त्यो खाता नं लिएर आइज ।”
म घरमा पुगेर हतार हतार डिभिडी हेर्न थालेकी थिएँ ।
आमा त्यस्तै १९-२० की देखिनुभएको छ । केही गुन्डाहरूले आमालाई अपहरण गरेका छन् । जङ्गलको एउटा झाडीमा पुर्याएर बलात्कारको प्रयास गर्दैछन् । आमा जोडजोडले चिच्याइरहनुभएको छ । आमालाई अर्धनग्न बनाइएको छ । आमा हात जोडेर बिन्ती गर्दै हुनुहुन्छ । ती सबै गुन्डाहरूले मखुन्डो लगाएका छन् । ती कम बोल्छन्, तर मेरी आमालाई गिजोलिरहेका छन् । यस्तैमा बन्दुकको आवाज आउँछ । बन्दुकको आवाज आउनेबित्तिकै ती गुन्डाहरू भाग्छन् । त्यसपछि अर्कै गुन्डाले मेरी आमालाई अङ्कमाल गर्छ । च्यातिएका लुगा मिलाउन प्रयास गर्छ । आफूले लगाएको ज्याकेट फिल्मी शैलीमा मेरी आमालाई दिन्छ । आमा आतङ्कित देखिनुभएको छ । र आमालाई लिएर त्यो मखुन्डोधारी गुन्डा जङ्गलबाट बाहिर निस्कन्छ । आमा थरथर कामिरहनुभएको छ । भिडियो सकिन्छ ।
भिडियो हेरेपछि म झन् आतङ्कित भएकी छु । शरीरभरि पसिना आएको छ ।
भिडियो हेरेपछि मलाई ऊसँग भएका मेरी आमासँग सम्बन्धी अरू भिडियो हेर्न मन छ । तर उसले भनेको छ कि एउटा सेमेस्टर सकिएपछि मात्र अर्को डिभिडी उसले मलाई दिनेछ । अब म यो निष्कर्षमा पुगेकी छु कि चाहे उसले मलाई बलात्कार नै गरोस् तर म ती डिभिडी हेरिकन छोड्छु ।
सेमेस्टर पासको सर्टिफिकेट बोकेर म दोस्रो डिभिडीका लागि उसको घरतिर पाइला चालेकी थिएँ । मलाई पक्का विश्वास थियो, उसले मेरो बलात्कार गर्ने छ ।
उसको घरको घन्टी बजाएकी थिएँ । उसले ढोकाको एक फब्ल्याँटो मात्र उघारेर मलाई फुत्त भित्र तानेथ्यो । मेरा गालामा म्वाइँ खाएथ्यो । गुट्का खाएको उसको मुखको गन्धले म पिरोलिएकी थिएँ । उसले मलाई गम्लङ्ग अँगालो हालेथ्यो । कस्तो साह्रो थियो उसको शरीर, बाहुपास ! जुरुक्क बोकेको थियो अनि भनेथ्यो “यो केटी पनि उसकी आमा जस्तै बुज्झकी छे जस्तो छ । स्याबास !”
अब ऊ आउने छ र मेरो बलात्कार गर्नेछ र मात्र मलाई डिभिडी दिने छ भन्ने लागिरहेको थियो । उसले कोठाभित्र पसेर बोलाएथ्यो । आफ्नो सर्ट खोलेथ्यो । उसको शरीरभरि टाटुका थेग्लाथेग्ली गुजुमुज्जु देखिएका थिए । उसले मेरो बाहिरी सर्ट फुकाल्न लगाएथ्यो । म थप आतङ्कित भएकी थिएँ ।
यसपछि उसले मेरो केशराशी खेलाएथ्यो । अनि सोधेथ्यो “बैंक खाता ल्याइस् ?”
मैले खाता नं दिएकी थिएँ । उसले दोस्रो डिभिडी दिँदै भनेथ्यो, “अब अर्को सेमेस्टरको मार्कसीट बोकेर मात्र आउनू । पैसा ब्वाईफ्रेन्डमा सकिस् भने पनि तेरो गुन्जाइस छैन ।”
उसले मलाई योपल्ट पनि बलात्कार गरेन । मैले घर पुगेर हतार हतार डिभिडी हेर्न थालेकी थिएँ —
ग्याङ रेपको प्रयत्नपछि आमा अस्पतालमा देखिनुभयो । अस्पतालको शैयामा आमा लेटिरहनुभएको छ । पुलिसहरूले आमासँग केही सोधिरहेका छन् । आमा सकिनसकी उत्तर दिँदै हुनुहुन्छ तर डिभिडीमा ती आवाज बुझिँदैन । पुलिस गएपछि उही गुन्डा आमाको अगाडि आएको छ । मैले अनुमान लगाएकी छु, सायद ऊ भन्दैछ “हो यसैगरी ग्याङ्गरेप भएको र मैले तँलाई बचाएको कुरा कसैलाई पनि न भन् । नत्र …।”
म आमाको पीडा अनुभूत गरेर अत्यन्त पीडामा छु । कठै मेरी आमा ! बाँचुन्जेल कहिले पनि मलाई केही सुइँकोसम्म दिनुभएन ।
समय बित्यो, मैले अर्को सेमेस्टर पास गरेँ । पैसाले अलि सजिलो भयो । पैसा मेरो खातामा उसले अड्कली अड्कली हाल्न थालेको थियो । म पहिलेझैँ मार्कसीट बोकेर उसको घर पुगेकी थिएँ । उसैगरी उसले कसैले थाहा नपाउने गरी भित्र तानेको थियो । म्वाइँ खाएको थियो । सुम्सुम्याएको थियो । अनि उसले यसपल्ट मलाई भन्यो, “खास काम कुरा त मैले तँसँग गरेकै छैन । तँ पसिनै पसिना भएकी छेस्, जा बाथरुममा । अनि नाङ्गै नुहा । यताउति गरिस् भने कुरा बुझ् नि फेरि ।”
म आतङ्कित भएर बाथरुममा पसेँ । चुकुल लगाउन खोजेको चुकुल रहेनछ । मैले उसलाई सुस्तरी सोधेँ “चुकुल त रैनछ ।”
उसले कडा मिजासमा उत्तर दिएको थियो, “तँलाई किन चाहियो चुकुल ? चुकुलले नुहाउने हो र ? खुरुक्क नुहाएर आइज । नयाँ कपडा त्यहीँ राखिदिएको छु ।”
मैले कुरा बुझेँ, ऊ बाथरुममा मलाई बलात्कार गर्न चाहन्छ ।
म नुहाइसकेर उसैले दिएका कपडा लगाएर बाहिर निस्केँ । ऊ सोफामा बसेर अघिकै पोजिसनमा पत्रिका पढ्दै थियो । अनि मलाई भन्यो, “आमाजस्तै राम्री छे यो मोरी पनि । नुहाएपछि त झन् कति राम्री देखिएकी !”
यसपछि उसले मलाई तेस्रो डिभीडी दियो र पूर्ववत् मार्कसीट लिएर आउनु भन्यो ।
घर पुगेर मैले डिभिडी खोलेँ ।
मेरी आमा आफ्नै कथासङ्ग्रह ‘निरपेक्ष आँसु’ का बारेमा हात हल्लाइ हल्लाइ बोल्दै हुनुहुन्छ —
‘मेरो यो कथाकृतिलाई विविध पक्षबाट हेरियोस् । म महिलावादी स्रष्टा हुँ । महिलावादी हुनु भनेको साहित्य तथा इतिहासमा प्रयोग भएको विषय, भाषा तथा प्रयोजनले महिलामाथि गरेको विभेदका बारेमा बोल्नु तथा विद्रोह लेख्नु हो । पुरुष प्रधान समाज भएकाले समाजका प्रायः सबै तहमा महिलामाथि असमानता देखिन्छ । कतिपय अवस्थामा त यो विभेद जस्तो नै लाग्दैन । यस्तो अवस्थामा साहित्यमा महिलाका लागि प्रयोग गरिने अभिधा, लक्षणा तथा व्यञ्जना शब्द शक्ति वा भाषाले आर्थिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक विभेद गर्छ । किनकि समाज जस्तै साहित्य पनि पुरुष नियन्त्रित लैङ्गिकतामा आधारित छ । यो कथासङ्ग्रहको आशय महिलाहरूले आँसु मात्र नचुहाउन्, अधिकारका लागि जुधून् भन्ने हो ।’
तर त्यो गुन्डा भने आमाकै अलि परतिर बसिरहेको छ चुपचाप ।
समय बित्यो । मैले अर्को सेमेस्टर पास गरेँ । उसको घर पुगेँ । उसले मलाई भन्यो, “आज तेरो सुन्दरतालाई मजाले हेर्नु छ । बाथरुममा जा र यो लुगा लगाएर आइज ।”
मैले बाथरुममा पुगेर उसले लगाउन दिएको लुगा लगाएँ । सो लुगाबाट मेरा स्तनका आकार प्रष्टै देखिएका थिए । नाइटो पनि देखिने खालको लुगा थियो त्यो । स्कर्ट थियो । त्यो लुगामा मेरा तिघ्रा पनि मजैले देखिएका थिए । म सो कपडा लगाएर उसको सामुन्नेमा उभिएँ । उसले मलाई एक टकले हेर्यो अनि भन्यो, “यो मैले तेरी आमालाई अपहरण गरेर ल्याएपछि लाउन दिएको लुगा हो । यो लुगामा तँ काटीकुटी आमाजस्तै देखिएकी छेस् । तेरी आमा त नाङ्गोमा पनि विश्व सुन्दरी देखिन्थी । तँ ननाङ्गिँदा पनि उस्तै राम्री छेस् ।”
तर अचम्म उसले मलाई योपल्ट पनि बलात्कार गरेन । चौथो डिभिडी दिएर पूर्वसर्त बुझाउँदै गाडीमा हालेर मेरो घरअगाडिको चौकमा छोडिदियो । म घरभित्र पस्नासाथ डिभिडी हेर्न थालेँ । मेरी आमालाई ‘महिला मुक्तिको सवाल’ विषयमा बोल्न बोलाइएको रहेछ । आमा धाराप्रवाह बोल्दै हुनुहुन्छ —
“ज्ञात भएको कुरा हो कि लगभग विश्व नै पितृसत्तात्मक आदर्शले घनीभूत छ । यो आदर्शलाई समाजले पछ्याउँछ र घोषित अघोषित रूपमा महिलालाई होच्याउने, अवसर नदिने, हियाउने गर्छ । महिलाको हरेक जीवनमा विभेद छ । अङ्ग्रेजी साहित्यकी प्रखर विदुषी म्यारी एन इभान्स आफू महिला भए पनि समाजमा महिला भएर लेख्न गाह्रो भएको हुनाले पुरुषको नाम जर्ज इलियट राखेर सोही नाममा अङ्ग्रेजी साहित्यमा प्रख्यात भइन् । यो कुराले महिलालाई साहित्यमा उत्रन कति समस्या छ भन्ने कुरा प्रष्ट पार्छ । यो कुरा महिलाले बुझ्न जरुरी छ । महिलाले किन पुरुषको छद्म नाम राखेर लेख्ने ? त्यसैले महिलाले यो समाजमा समानता पाउनका लागि विद्रोह गर्नुपर्छ । समाजका सबै कुरा मानेर विद्रोह हुन्न । समाजका पुराना मान्यतालाई फेर्नुपर्छ । यो काम अरू कसैले गर्दैन, हरेक महिलाले आफैँले आ-आफ्ना ठाउँबाट गर्नुपर्छ ।”
परर ताली बज्छ । तर आमाको अलि परतिर त्यो गुन्डा भने बसेकै छ । मलाई त आमाको भाषणको स्वाद भन्दा त्यो गुन्डाको पो डर लागिरहेको छ ।
मेरो सेमेस्टर सकिएको मार्कसिट बोकेर फेरि उसको घरमा पुगेँ । पूर्ववत् उसले व्यवहार गर्यो । किन हो किन ऊ मलाई उदास लागिरहेको थियो । उसले दराजबाट दुई ओटा स्कच ग्लास निकाल्यो र स्कच एउटा ग्लासमा हाल्यो । अनि उसले भन्यो “तँ त पिउँदिनस् होला, तैँले पिउनु पनि हुन्न यही उमेरमा । मैले तेरी आमालाई अपहरण गरेर ल्याउँदा उसलाई मैले यही ग्लासबाट स्कच पिउन लगाएको थिएँ । यो रित्तो ग्लास तेरी आमाको हो । के गर्ने ऊ मरी हाली ।”
मलाई आज भने पक्का भइसकेको थियो कि उसले मेरो बलात्कार गर्नेछ । खासमा भन्ने हो भने म बलात्कारका लागि मानसिक रूपले तयार भइसकेकी थिएँ ।
उसले सदा झैँ मलाई पाँचौँ डिभिडी दियो र गाडीमा हालेर मेरो घरसम्म छोड्न आयो ।
म हतार हतार डिभिडी खोलेर हेर्न थालेँ । लन्डनमा फेमिनिज्म विषयमा सेमिनारमा आमा भाषण गर्दै हुनुहुन्थ्यो —
“महिला संसारभरि हेपिएका छन् । महिलाले आ-आफ्नो तरिकाले विरोध पनि गरिआएका छन् । यही बेलायतको कुरा गरौँ न । बेलायत जस्तो देशमा पनि महिलाले आफ्ना अधिकारका लागि लड्नु परेको छ । बेलायती साहित्यकार भर्जिनिया उल्फ (सन १८८२—१९४१) ले आफ्ना रचनामा महिलावादको विचार तथा प्रयोगलाई उचाइमा पुर्याइन् । उनी बाइसेक्सुअल थिइन् । उनका ‘अ रुम अफ वन्स’ र ‘प्रोफेसन्स फर ओमन’ नामक निबन्धले फेमिनिज्मको स्वर आकाशमा पुर्यायो । अहिले पनि हामी फेमिनिस्टहरू उनको आवाजलाई बुलन्द पार्न लागेका छौँ । संसारका स्वतन्त्रताकामी महिला भर्जिनिया उल्फको पछाडि छन् ।”
आमाले दिएको भाषणमा विश्वभरबाट आएका फेमिनिस्ट अभियन्ताहरू तथा दर्शकले परररर ताली पिटिरहेका देखिन्छन् । तर अचम्म त्यो गुन्डा लन्डनमा पनि मेरी आमाको पिछा गर्दै गएको रहेछ । यति बेला मलाई त त्यो गुन्डादेखि डर लागिरहेको छ भने मेरी आमाको अवस्था कस्तो दयनीय थियो होला !
मेरो अर्को सेमेस्टर सकिएको थियो । म ढिला नगरी छैठौँ डिभिडीका लागि उसको घर पुगेँ । ऊ उही मुद्रामा थियो । मलाई डर पनि थियो । यो डरको कारण मेरो बलात्कार हुन्छ कि भन्ने नै थियो । बरु बलात्कार भइ नै दिए, सायद फेरिफेरि डर नहुँदो हो । उसले आँखा राता राता बनाएको थियो । सायद ऊ रातभरि सुतेको थिएन होला । स्कचको बोतल रित्तिएको अवस्थामा थियो ।
उसले मलाई काखबाट बाहिर निकाल्दै भन्यो “अब तँसँगको काम पनि सकिन थाल्यो । तर मुख्य काम चाहिँ बाँकी छ । तँ मेन्टली तयार भएर बस्, त्यो मुख्य काम डिभिडी दिने अन्तिम दिन गरौँला ।”
अनि उसले मलाई डिभिडी दिएर सदाझैँ घर पुर्याइदियो ।
हतार हतार डिभीडी खोलेँ । आमा त अमेरिकाको म्यानहटन भन्ने ठाउँमा पेपर प्रस्तुत गर्दै हुनुहुन्थ्यो । छेउमा त्यही गुन्डा थियो । तर अलि फरक बसेको थियो । आमामा ! त्यो गुन्डाले मेरी आमालाई कति तनाव दियो होला भनी साध्य छैन ।
आमा पेपर प्रस्तुत गर्दै स्क्रिनमा देखाउँदै हुनुहुन्थ्यो —
“हामी ‘एलजीबीटीक्युआईए’ का लागि विश्वको सदरमुकाम भनेर चिनिने म्यानटहटनमा छौँ । हामी अब पुरुष, महिला तथा तेस्रो लिङ्ग भनेर भनिने लिङ्गका सामाजिक मान्यतालाई चुनौती दिँदै यहाँ उपस्थित भएका छौँ । वर्तमान अवस्थामा त क्वियर स्टडी अर्थात् एलजीबिटीक्युआइए समेतलाई तथा तिनका विशिष्ट संस्कृतिसम्मलाई वृहत्तर फेमिनिजममा अटाइन्छ । अटाउनु पर्छ । यसलाई वैचारिक रूपले भन्ने हो भने पुरुषसत्ता भर्सेस अन्य लिङ्ग हो । यसका लागि हामीले विश्व सामु चर्को आवाज उठाउनुपर्छ । किनकि सत्ताले कान सुन्दैन । दह्रोसँग आवाज उठाउनु नै हामी सबैको कर्तव्य हो । काम हो ।”
म आमाको विद्वता देखेर अचम्मित भएँ । त्यस्ती आमाकी छोरी हुन पाउनुमा झनै गर्व गर्न थालेँ ।
अघिल्लो सेमेस्टरको मार्कसीट बोकेर म उसको घरतिर पाइला चालेँ । मनमा कुरा खेलिरह्यो । उसैले मेरो खर्च धानेको थियो । त्यो ऋण म आफूलाई बलात्कार गराएर भए पनि तिर्न चाहन्थेँ । उसले पनि त मलाई बलात्कार गर्नकै लागि यत्रो विधि नाटक गरिरहेको थियो । सधैँ सधैँ बलात्कार हुन्छु कि भन्ने डरबाट आज म मुक्त हुने विचारमा थिएँ ।
सदाझैँ उसले मलाई ढोकैबाट तान्यो । उही म्वाइँ खायो, सुम्सुम्यायो र एक तमास हेरिरह्यो । मलाई एकदम अप्ठ्यारो लाग्यो । अनि उसलाई सजिलो बनाइदिन मैले हिम्मत गरेर भनेँ “मलाई अपहरण गर्यौ । धम्क्यायौ । छामछुम पनि गर्यौ । मेरो फी पनि तिरिदियौ । पैसा खर्च गर्यौ । मलाई थाहा छ तिमी बलात्कार गर्न चाहन्छौ । आऊ, बलात्कार गर । मलाई यो बलात्कार हुन्छु कि भन्ने सधैँको डरबाट मुक्ति देऊ ।”
यति भन्दै गर्दा मैले आफ्नो सर्टको माथिल्ला दुई बटन खोलिदिएँ । उसले मलाई ट्वाल्ल परेर हेरिरह्यो । अनि भन्यो “साँच्ची तँ तेरी आमाभन्दा पनि राम्री छेस् । मैले थाहा पाएँ । सर्टको बटन लगा । अब कुरा रह्यो बलात्कारको, तँ आफैँ तयार भएपछि बलात्कार हुन्न त्यो । त्यो त यौनाकर्षण हो । अब अर्को एकपल्ट आइज । म मेरा इच्छा त्यति बेलै पूरा गर्नेछु । किनकि त्यसपछि फेरि तँ र म भेटिनु हुन्न । एउटा अवस्थाबाट मुक्ति हुन्छ त्यो । त्यो अन्तिम पटक आउँदा म तँलाई जिन्दगीभरि नबिर्सने उपहार पनि दिन्छु ।”
यसपछि उसले मलाई सातौँ डिभिडी दियो र घरमा ल्याएर छोडिदियो । मैले हतार हतार भिडियो हेर्न थालेँ । आमाले पत्रकार सम्मेलन गर्नुभएको रहेछ । पत्रकारले आमालाई प्रश्न सोध्दै छन् “तपाईंले बिना बाबुकी छोरी पाउनुभएको छ भन्ने बुझाइ समाजको रहेको छ । यसमा तपाईंको प्रतिक्रिया चाहिँ के छ ?”
आमा निर्धक्क उत्तर दिँदै हुनुहुन्छ —
“हो मेरी एक छोरी छे । बिना बाबुकी छोरी हो ऊ । खासमा म बाबुविहीन सन्तान जन्माउन चाहन्थेँ । बाबुविहीन भनेको बाबुको नामसँग नजोडिएको सन्तान हो । मेरी छोरीले मसँग पटक पटक उसको बाबु को हो भनेर सोधिरहन्छे । म ‘तिमी बिनाबाबुकी छोरी हौ’ भन्छु । उसले ‘बिनाबाबु पनि सन्तान जन्मन्छ र ?’ भनेर प्रश्न सोध्छे । ‘बाबु भन्नु बीउ मात्र हो, बीउ बजारबाट किनेकी हुँ’ भन्छु । किनकि म महिलाका आधारमा पनि वंश चलोस् भन्ने चाहन्छु । एउटा पुरुषलाई देखाएपछि यो संसारमा पुरुषसत्ताबाट महिला कहिल्यै पनि मुक्त हुन सकतैनन् ।”
पत्रकारले फेरि केही प्रश्न सोधेका छन्, “के त्यसो भए प्रेम, बिहे, आधा अङ्गको सिद्धान्त बेकार हुन् ?”
आमा उत्तर दिँदै हुनुहुन्छ “म प्रेम, बिहे तथा आधा अङ्गको सिद्धान्तलाई बेकार त भन्दिनँ । तल आलोचनात्मक दृष्टि भने राख्छु । किनकि प्रेम गरेर बिहे गरेको भए पनि वा जतिसुकै प्रगतिशील र क्रान्तिकारी लोग्ने मानिस भए पनि प्रेमिकाबाट श्रीमती भएपछि महिलाको उन्नति भयो भने प्रेमी श्रीमान् खुसी हुँदैनन् । यो शतप्रतिशतमा लागू नभए पनि कटुसत्य हो । परम्परागत समाजले भन्छ — महिलाको हात पुरुषको सफलताका लागि हो । तर म भन्छु महिलाको सफलताका लागि पुरुषको हात खोइ ? भन्ने बेलामा अर्धाङ्गिनी भने पनि हाउस वाइफ बनाइदिन्छन् र त्यसको अर्थ केही काम नगर्ने महिला भन्ने लाग्छ । तपाईंहरूलाई थाहा छ ? हाउस वाइफ भनेको शिल्पीय कलाकार हो । घरको कुशल व्यवस्थापक हो । चानचुने सिपले घर चल्दैन । के कुनै महिलाले घर सम्हालेकी छिन्, भिजिटिङ कार्ड छैन, जागिरको पहिचान छैन, बैंक खाता छैन भन्दैमा आफ्नो सम्पूर्ण जीवन त्यही परिवारका नाममा समर्पण गरी गुजारेको कुराको केही अर्थ छैन ? हो, यही मान्यतामाथि प्रहार गर्नु छ हामीले ।”
आमा धाराप्रवाह बोलिरहनुभएको छ, तर अचम्म त्यो गुन्डा त्यहाँ पनि भिडियोमा देखिन्छ ।
एमबीबीएसको प्रमाणपत्र बोकेर अन्तिम डिभिडी लिनका लागि उसको घर पुगेकी छु । ढोका ढप्क्याएको रहेछ । मैले नक गरेँ । ऊ आएन । सुस्तरी ढोका खोलेर भित्र पसेँ, ऊ छैन । आज म ऊसँग यौन सम्पर्क राखेर मात्र फर्कन्छु भन्ने दृढताका साथ आएकी छु । तर ऊ छैन । बाथरुममा हेरेँ, त्यहाँ पनि छैन । ऊ घरभित्र कतै छैन । बैठक कोठाको टी टेबुलमा एउटा ब्याग छ । त्यसको सँगै एउटा कागज फरफराइरहेको देखेँ । त्यो उसले लेखेको पत्र रहेछ ।
म चिठी पढ्न थालेकी छु —
प्रिय छोरी,
शुभआशिष !
म तिम्रो बाबु हुँ । हो, तिम्री आमालाई गुन्डाहरूले बलात्कार गर्दा छुटाउने मै थिएँ । ती सबै डिभिडीहरू मैले नै बनाएको थिएँ । तिम्री आमा मेरी प्रेमिका थिइन् । हामी गुपचुपका आदर्श जोडी थियौँ । हामी जङ्गलमा बिहार गर्न गएका थियौँ । अचानक गुन्डा आएर बलात्कारको प्रयास गर्न थाले । म सधैँ बन्दुक बोक्थेँ । म पनि गुन्डा नै थिएँ । गुन्डाले प्रेम गर्न हुन्न भन्ने पनि होइन ।
अस्पतालमा लगेर उपचार गराउने मै थिएँ । त्यसपछि हामी झन् गहिरो प्रेममा परेका थियौँ । उनी जहाँ जहाँ पुगिन् म त्यहीँ पुगेँ । उनको इच्छा तथा उन्नति मेरो यात्रा बन्यो । मेरो प्रेमको लक्ष्य बन्यो । मेरो समग्र जीवनको काम नै उनको काममा सघाउनु रह्यो । यसो गर्दा ममा अपार आनन्दमयी प्रेम सञ्चार भयो । उनले मसँग बिनाबाबुको सन्तान जन्माउने इच्छा राखिन् । प्रेमको लागि म तयार भएँ । तिमी त्यसकै परिणाम हौ । त्यस्ती आमाको कोखबाट जन्मिएकी तिमी भाग्यमानी हौ । समाजका नजरमा तिमी बिनाबाबुकी छोरी हौ । तिमीले त्यही आमाको आइडेन्डटीटीमा बाँच्नुपर्छ । मैले मेरा सारा सम्पत्ति बेचेर तिम्रो खातामा हालिदिएको छु । तिमीले तिम्री आमाका नाममा एउटा प्रतिष्ठान खोलेर आमाको वैचारिक आन्दोलनलाई अगाडि बढाऊ । पढी नसकुन्जेल मैले तिमीसँग एकदम गुन्डाको अभिनय गरेँ । पछिल्ला कालखण्डमा त तिमीलाई नै आश्चर्य लाग्न थालेको थियो कि मैले तिम्रो बलात्कार किन गरिनँ ! मेरो अभिनय सार्थक भयो ।
अब हाम्रो भेट हुन्न । मैले तिम्री आमाको बिनाबाउको सन्तान जन्माउने इच्छालाई कदर गर्न पनि अब यहाँ बस्न हुन्न । उसले परमधामको यात्रा गरी हाली । म कसका लागि यहाँ बस्नु ? म कहीँ कतै गएर बस्छु । तिमीले व्यर्थमा मलाई नसम्झनू । नखोज्नू । यो अन्तिम डिभिडी चाहिँ तिम्री आमा र मेरा बिचका हनिमुनदेखिका रोमाञ्चक क्षणसँग सम्बन्धित छ । मैले दिएको पोकोपुन्तुरो तिम्री आमाको नासो हो । हाम्रो प्रेमको चिनो हो । इतिहास हो । यसलाई सँगालेर राख्नू । यो गोप्यता कायम राख्नू नि ! गोप्यता कायम राखिनौ भने तिम्री आमाको सपना बरबाद हुन्छ छोरी ।
तिमीलाई माया गर्ने,
तिम्रा पिता



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










