झुमाले एक बिहान आमासँग भनी, ” आमा, बुबाले कान्छी आमा ल्याएर बसेका होलान् ।  नभए त एक दुई वर्षमा आउनुपर्ने । किन माया मारेका होलान् हामीलाई ?” 

===

माइला बाजेको वनवास

माइला बाजे नौ नम्बर फारसको एउटा गोठमा बेरुवा सुर्तीको मुस्लो धुवाँ उडाउँदै टाटनोमा बाछालाई घाँस हाल्दै थिए । त्यो गोठको मालिक नै माइला बाजे हुन् भने हुन्छ । जन्तरे महाजनका चालिस पुच्छर गाईवस्तुसँग उनका निजी पन्ध्र पुच्छर छन् । नौ नम्बरको खर्कमा जम्मा सात गोठ नजिक नजिक बसेका छन्- नेपाली र कुनै असमियाका ।  

बाछालाई बेलुकाको डाले घाँस बटुल्न खुकुरी भिरेर हिँड्नै लाग्दा दुई बिहारी मुसलमान पैकारी आइपुगे ।  

“आमी गाय ना दिबे” माइला बाजेले टुटेको बंगाली भाषामा ती व्यापारीलाई छिट्टो लघार्न खोजे ।  

“आफूलाई घाँस लिन जान हतार भै’छ, बेला न कुबेला दलाल पस्छन्”, नबुझिने झर्के स्वरमा उनी फुस्फुसाए ।  

असम र भुटानको सिमानाको सदावहार घना जङ्गल गाईपालाहरूको खर्क बस्ने रोजा ठाउँ । घाँस पानी प्रशस्त, दुध घिउ बेच्ने बजार नजिक, र मलिलो माटो । माइला बाजे अठार वर्ष अघि यहाँ आइपुगेका थिए – त्यस पछि उनी लोभिए ।

सनकोश नदीले असम र पश्चिम बंगाललाई सिमाना छुट्टयाइदिन्छ यहाँनेर । माइला बाजेले असम रोजे ।  असमको कच्छु गाउँमा एक नेपाली महाजनको गोठ सम्हाले र आफ्नो पनि जोडे । 

साँझको धन्दा छिनेर माइला बाजे छिमेकी गोठका पाख्रिन बुढासँग गफिन गए । “होइन त्यो दुई बिहारीले के खोजेको रै’छ ?” पाख्रिनले सोधे ।  

” खोइ, मलाई त तेसै दुले चोर होला जस्तो लाग्यो । ” 

राँगाबिल बजारबाट किनेको लामो सुर्तीको कंकट कागज निकालेर काटे पाख्रिन बुढाले । दुईवटा साना कागजमा सुर्ती मिलाएर बेरे दुवै जनाले र छेउमा भर्भर बलिरेहेको अगुल्टोबाट सुर्ती सल्काए । अब निस्के चोटिला गफका चस्का ।  

माइला बाजे भन्दै थिए –  चैनजो, पहाडमा दश नंग्री खियाएर वर्षभरि काम गरे पनि यत्तिको खान लाउन पाइँदैन । पैसाको मुख देख्न हम्मे । यहाँ त जङ्गलमा बसे पनि पैसा आउने बाटो छ । बजारमा दुध घिउ मनग्गे बिक्छ । टाटनामा एक हल मिल्ने बहर छन् अहिले । तिनले कम्तीमा पनि चैनजो हजार पच्चिसेक लिन्छन् । 

साठी वर्ष पुगेका माइला बाजेको फुर्ती घटेको छैन – तन र मनको पनि । डोको बुन्ने चोया खिप्तै पाख्रिन बुढासँग जोसिँदै भने – “यतिको तन्नेरी मान्छेसँग कसो नआउलान् त ? एउटीको खाँचो छ, पहाडकीलाई धेरै भो छोडेको । “

पाख्रिनलाई मुखभरिको जवाफ आएको थियो । भन्न मन लागेको हो –हाउ बाजे ! तिमीलाई यो उमेरमा के उत्ताउलो हुनुपरेको ? त्यो सानी छोरीको मुख हेर न ! तर घाँटीमा रोकेर गफ अर्कैतिर मोडे ।  

“हाउ माइला बाजे, तिमीले पहाड घर छोडेको कति पो भयो हँ ?”

“यो आउने फागुनमा चैन जो बाइस वर्ष लाग्छ । यता पसेकै उन्नाइस वर्ष भयो ।” 

“अबको आइतबार राँगाबिल बजार जानुपर्छ है ”  डोकोलाई पिंध बनिसकेर उठाएपछि माइला बाजे उठे काठको मुढाबाट ।  

“सँगै जाउँला । मेरो पनि नुन मसला सकिएको छ । तीन शेर जति नौनी छ, त्यसैले सौदा भर्छु ।”  पाख्रिनले मत मिलाए ।  

माइला बाजे बजार भरेर महाजन जन्तरेको घरमा निस्के । ‘सपना बिग्रेको धेरै भो । चैन जो, घरमा केही आपद विपद परेको जोखाना आइरेछ मलाई ।’ जन्तरे महाजनलाई सुनाए ।  

महाजनको हली डोग्रालाई गोठ हेर्न पठाएर माइला बाजे लागे नेपालतिर – कोशी किनारको चतरा गाउँ ।   

सात वर्ष पहिले एउटा छाप्रो हालेका थिए माइला बाजेले – त्यहाँ बस्छिन् बाजेकी कान्छी – कटवालनी माइली आमैकी सौता । माइला बाजेको बिग्रेको सपनाले सङ्केत गरेको भेट खायो- आठ वर्षको छोरो सिकिस्त बिरामी परेछ ।  

धामी झाँक्री, झारफुक केही गर्दा बिसेक नभएको । बाजे आफैँ झारफुक र बुट्टी बाँध्ने वैदाङ्गी, तर उनको केही चलेन ।  

अस्पताल राख्नुपर्ने भयो – अनिश्चित समय । डाक्टर र औषधीको खर्च जुटाउन माइला बाजेले गोठका बहर र दुहुने माउ गाई बेच्नुपर्ने भयो ।  

नौ नम्बर गोठमा आफ्नो भागका वस्तु बेचेर उनी फर्के चतरा, फेरि फारस नफर्किने अठोट गरेर ।

ooo

जिन्दगीको डोरो

कटवालनी माइली आमै दिङ्ग्लाफाँटको आइतबारे बजारमा डोकोभरि ल्याएको साग, मुला, सिमल तरुल, पिँडालु फिँजाएर बेच्न बसेकी छन् । साथमै छे, बाह्र वर्षकी कान्छी छोरी झुमा ।  

” ए कान्छी, आज कपाल औधी चिलायो, एकैछिन ठुङ् हान्दे न ।”  

“हत्तेरी आमा पनि ! बजारमा बसेर के को ठुङ् हान्नु नि ! ”   

“अनि मेरो को छ त अरू ? तँ मात्रै त हो ?” 

साँच्चै हो । कटवालनी माइली आमैको बुढेसकालमा त्यही झुमा कान्छी छे सहारा । बुढाले भोजपुरको पहाड छोडेर हिँडेको बाइस-पच्चीस वर्ष हुन लाग्यो । कान्छी दश वर्षकी हुन्जेल तीन चार वर्ष बिराएर आउने गर्थे । त्यस पछिका दिनमा उनी आएको एकपल्ट मात्र सम्झना छ माइली आमैलाई । गोठको घिउ र जङ्गलमा आफैँले काढेको मह बेचेर कटवाल माइलाले भारूको बिटो बोकेर घर फर्कन्थे र घरमा चाहिने लत्ता कपडा र अरु खाँचो टार्थे ।  

चैतको अन्तिम साता हिँड्ने दिनको बिहान सातु सामल बोकेर निस्किँदा, बुढी सम्झाउँथिन्: तल तम्मर खोलामा पुगेर पानी फर्काइदिनू है !

“आमा, आज साग बेचेको पैसाले म एउटा स्कुले झोला किन्छु ल । मेरो झोला पुरानो भयो र सानो पनि भयो ।”  झुमा कान्छीले बिक्रीको सानो भाग खोजी ।  

सत्तरी वर्ष पुगेको ज्यानमा, समयको भुत्ते छिनोले दर्फर्याएको माइली आमैको अनुहारमा सुख र सन्तोषको अनुभव साह्रै कम देखिन्छ: घाम, झरी, हिलो, जाडो सहेर उकालो ओह्रालोमा खेताला, मेला-पात र बजारको नुन तेल बोकेर पहाडको जिन्दगी बाँचेकी छन् माइली आमै । ठूली छोरी पोहोर साल नै मधेसको एउटा केटोसँग भागेर हिँडी । मनको दु:ख अझ थपियो । छोरो थियो- तर अझै बेपत्ता छ । माओवादीमा लागेका साथीको लहै लहैमा घरबाट हिँडेको, कहिल्यै फर्केन । मरे बाँचेको खूद -खबर केही छैन ।  धन्न बुढाले घरको छानोमा जस्ता पाता हालिदिए । अब त सालिनी घर छाउनु पर्दैन । तर गाई ग्वाली लड्न आँटेको छ, बाख्राको खोर छाउन एक वर्ष ढिलो भएको छ ।  

आइतबारे हाटमा साग मुला बेचेको पैसा कान्छी छोरीको स्कुले सामग्री किन्न ठिक्क भयो ।  

पहिलाका बिक्रीबाट बचत पैसा थैलीमा चेपेकी थिइन् – त्यसैले एक मानो खाने तेल, दुई पोका नुन र एक बतल मट्टितेल किनेर माइली आमै र झुमा कान्छी घर फर्के ।   

पुषको महिना । झुमाले एक बिहान आमासँग भनी, ” आमा, बुबाले कान्छी आमा ल्याएर बसेका होलान् ।  नभए त एक दुई वर्षमा आउनुपर्ने । किन माया मारेका होलान् हामीलाई ?” 

झुमाको यो शङ्का जायज हो जस्तो लागेको छ कटवालनी माइली आमैलाई । यति मात्र भनिन्, “तैँले सपनामा देखिस् क्या हो ?”

उसलाई सम्झना छ बुबा आउँदा उसलाई जुत्ता, स्वीटर, स्कुलका लागि कलम कापी, झोला र दशैँका लागि दुई जोर कुर्ता सुरुवाल लिएर आउँथे । अहिले ऊ पाँच साल अघिका तिनै लुगा जुत्ता लाउँदैछे ।  

उसले आमालाई नियालेर हेरी र सोधी – “आमा, तिम्रो न्यानो  लुगा के छ र ? यसपालिको जाडोमा लगाउने चौबन्दी, स्वीटर र एउटा बर्को किन्नु है त्यो सिंगारे पाठो बेचेर ।”  

हाटमा लगेर सिंगारे बेचेको दिन झुमा कान्छीलाई डाँको छोडेर रुन मन लाग्यो;  त्यो पाठो जसलाई उसले बोकेर, दुध पिलाएर, घाँस दाना गरेर हुर्काएकी थिई । उसका लागि एक नजिकको साथी थियो सिंगारे । दुई दिन त खान पनि मन लागेन । तर न्यानो लुगा, आमाको छिनेको ज्यानलाई चाहिने र नभई नहुने आवश्यकता हो ।  उसले चित्त बुझाई –  सिंगारेप्रति उसको माया, आमाको माया अगाडि केही होइन ।