कार्यालयको कामको सिलसिलामा गणेशलाई उल्टे जानुपर्ने भयो । उल्टे ! होइन, यस्तो पनि कुनै ठाउँको नाम छ र ? उसलाई अचम्म लाग्यो । तर संसारमा सुन्दा अचम्म लाग्ने खालका नाम भएका धेरै ठाउँहरू छन् । पहिलोपटक मंगोलियाको राजधानीको नाम उलनबटार सुन्दा पनि उसलाई अनौठो लागेथ्यो । उल्टे पनि कुनै अर्को भाषाबाट उत्पत्ति भएको नाम पो होला कि ? तर गणेशले उल्टे शब्द सुनेदेखि नेपाली भाषाको उल्टो शब्दबाट नै उक्त शहरको नाम जन्मेको होला कि भनेर दिमाग खियाइरह्यो ।
साँझको उडानमा उल्टे जानुपर्ने । अफिसबाट जहाजको टिकट आइसक्यो । उसले गुगल गरेर हेर्न खोज्यो । तर अहँ, उल्टे भन्ने शहर कतै भेटिएन । अब त उसको उत्सुकता झन् झन् बढ्दै गयो । आखिर केही विशेष त पक्कै हुनुपर्छ । मनमा कुरा खेल्न थाले । एकमनले त “ह्या, नाममा कति घोत्लिनु, जे भएपनि के नै फरक पर्ने हो र ?” भनिरह्यो । विगतमा पनि थुप्रै नयाँ ठाउँ गएकै हो त ! यो पनि के त्यस्तो आश्चर्यजनक ठाउँ होला र जस्तो लाग्यो । तर अचम्मका तर्कना खेलिरहे । कतै त्यहाँका मानिस अगाडि नहिँडेर पछाडि पो हिँड्छन् कि ? वा, खुट्टाले टेकेर हिँड्नु साटो टाउकोले टेकेर पो हिँड्छन् कि ?
“छ्या, के सोचेको मैले पनि ! त्यस्तो पनि कहीँ होला र ?” भनेर मन बुझायो । “आखिर गइँदै छ भने केही समयको प्रतीक्षा मात्र हो, पुगेपछि थाहा भइहाल्छ नि । शहरको नाम कसरी रह्यो भनी पक्कै बुझ्न पाइएला ।”
पुग्दा रात परिसकेको थियो । मान्छेहरू सामान्य तरिकाले हिँडडुल गरेको देखियो । उल्टो हिँड्ने वा टाउकोले टेक्ने तहको आश्चर्य देखिने हो कि भन्ने संशय स्वतः हरायो । होटेलमा गएर ओछ्यानमा जाँदा समेत उसले त्यस्तो विचित्रको उल्टो केही देखेन । तर मन शान्त हुनुको सट्टा खुलदुली भने भइरह्यो । आखिर उल्टे शब्दको केही अर्थ त अवश्य होला । खुल्दुलीले गर्दा गणेश धेरै बेर निदाउन सकेन । कति बेला निदाएछ, पत्तै भएन ।
भोलिपल्ट अलि अबेर मात्र काममा जानुपर्ने तालिका थियो । बिहान हिँडडुल गर्ने उसको बानी थियो । त्यसैले उठेर एकछिन यताउता टहल्ने विचार गर्यो । सिङ्गो नयाँ शहर उसका अगाडि उघारिएको थियो । नयाँ परिवेशले नयाँ नयाँ दृश्यहरू पस्कँदै थिए । तर उसको मानसपटलमा भने हरेक दृश्यभित्र उल्टेकै खोजी हुन्थ्यो ।
टहलिँदै हिँडिरह्यो । धातु तथा काठका मूर्ति तथा सजावट सामग्रीका पसलहरू देख्यो । शहर काष्ठकला र मूर्तिकलामा निकै उन्नत स्तरको भएको महसुस गर्यो । तर कुनै पनि मूर्ति उल्टोजस्तो भने लागेन । हिँड्दै गर्दा अकस्मात् पानीमा भिज्यो । माथिबाट खसेको । फर्की-फर्की यताउता हेर्न थाल्यो । अनि घरको छतमा पानीको भाँडो हातमा लिएका एकजना देखिए । अपरिचित शहरमा अप्रत्याशित घटना भोगेको थियो । के बोल्ने, के नबोल्ने भयो । छतबाटै आवाज आयो – “अलि तर्केर हिँड्नु पर्दैन ?” कुरा सुन्दा एकछिन दुःख लाग्यो तर अकस्मात् दुःखको सट्टा खुसीको भाव छायो । हो न हो, उसलाई उल्टे नामाकरणको रहस्य फेला परेझैँ लाग्यो । सोच्यो, यो शहरमा विचित्रको उल्टो चलन हुँदो रहेछ । बाटोघाटोमा छतबाट पानी फ्याँक्न पाइँदो रहेछ । अनि बटुवा चाहिँ जतिबेला पनि पानी छ्यापिन सक्छ भनेर सचेत भई हिँड्नुपर्ने रहेछ । पानीले छ्यापियो भने बटुवाकै गल्ती हुने रहेछ ।
“त्यो पानी सफा त पक्कै होइन होला । धन्न बिहान हिँड्दा छ्यापिएँ । काममा जान लागेको बेला भए त बरबादै हुने रहेछ ।” यस्तै सोचेर अलि चनाखो हुँदै होटेलभित्र छिर्यो । नुहाइधुवाइ गरेर खाइवरि कामका लागि निस्क्यो । होटेलबाटै ट्याक्सी लियो । नजिकै रातो इटासहितका प्राचीन वास्तुजस्तो देखिने चोक र मन्दिरहरू देख्यो । उसलाई गज्जब लाग्यो । फर्कँदा त्यहीँसम्म मात्र ट्याक्सीमा फर्केर एकछिन घुमेर बाँकी बाटो पैदल हिँड्ने जमर्को गर्यो । एकछिन रमायो । जानकारी बटुल्यो । सयौँ वर्ष पुराना धरोहरहरू जीवित अवस्थामा सुन्दर रूपमा देख्न पाउँदा रोमाञ्चित भयो । तस्विरहरू लियो । रात पर्न लागेकाले होटेलतिर हिँड्न लाग्यो । बिहान जाँदा त त्यति साह्रो सवारी जाम भएको थिएन । अहिले त बाटोमा हिँड्न पनि गाह्रो लाग्यो । बटुवा र सवारी साधन एउटै सडकबाट हिँड्नुपर्थ्यो । अरू जसरी ऊ पनि एउटा किनारमा हिँडिरह्यो । ऊ हिँड्ने ठाउँ मिच्न खोज्दै मोटरसाइकलहरू आइरहन्थे । ऊ सकेसम्म तर्कन्थ्यो । तर ऊ जति तर्कन्थ्यो, मोटरसाइकल झन् झन् नजिक आउँथे । ऊ सुरक्षाका लागि तर्कन्थ्यो तर मोटरसाइकल चालकले आफूलाई आउनका लागि ठाउँ छोडिदिएको ठानेजस्तो देखिन्थ्यो । हुँदा-हुँदा सडकपेटी भएका खण्डमा समेत त्यस्तै नियति भोग्नुपर्यो । मान्छे हिँड्न भनी बनाएका सडकपेटीमा मोटरसाइकल उकालिरहन्थे । हर्न बजाइरहन्थे । मानौँ, फुटपाथमा समेत पहिलो हक मोटरसाइकलको हो । उसलाई आश्चर्य लाग्यो । अनि सोच्यो, सायद पैदलयात्रुको हक सबैभन्दा निम्छरो हुने शहर भएकोले पो यो शहरको नाम उल्टे रह्यो कि ? यस्तै सोच्दै बल्लतल्ल होटेल पुग्यो ।
भोलिपल्ट पनि गणेश बिहानी यात्रामा निस्क्यो । पसलहरूमा कुचो लगाएको देख्यो । बिहानै सरसफाइ र पूजापाठ गरेका दृश्यहरू देख्ता शहरप्रति सम्मान जाग्यो । तर बढार्नेहरूको तरिका देख्दा चाहिँ घोर आश्चर्य लाग्यो । भित्रबाट बढार्दै ल्याएको फोहोर सडकपेटी हुँदै सडकमा खसाल्ने चलन स्थापित भएझैँ लाग्यो । गणेशले त्यसरी सफा गर्नुको औचित्य बुझ्न सकेन । बढारेर सडकमा फालेको कसिंगर र धुलो कहाँ जाँदो हो र ? दिनभरि त्यहीँ मिचिएर, माडिएर, उडेर फेरि पसलहरूमा छिर्ने त होला । जब बढारिसकियो भने उठाएर फालेको भए शहरको फोहोर घट्दै जाँदो हो । यसरी पुनर्उत्पादन गरिरहे त कसरी सफाइ होला र ? यस्तै सोचेर हिँड्दै गर्दा अलिक पर एउटा मूर्ति पसल देखियो । भ्याकुम क्लीनर लगाएजस्तो आवाज आयो । नजिक पुगेर हेर्दा देखियो, त्यो मेशीनले त हावा तान्ने नभई फाल्ने पो रहेछ । मेशीनले मूर्तिमा भएको धुलो उडाइरहेको थियो जसले गर्दा पसल नै धुलाम्मे भएको देख्न सकिन्थ्यो । गणेश धुलोलाई तानेर संकलन गरी व्यवस्थित हिसाबले फाल्ने भ्याकुम क्लीनरसँग परिचित थियो । तर एउटा सामानमा लागेको धुलो सफा गर्ने नाममा पसलभरि धुलो उडाएको त्यो दृश्य उसलाई उल्टो कर्म लाग्यो । पसलहरूमा कुचोले बढारेर धुलो सडकमा फालेका दृश्य तथा यहाँ मेशीनले धुलो उडाउँदै गरेको दृश्य देखेपछि गणेशले सोच्यो, सायद फोहोरप्रतिको दृष्टिकोण उल्टो भएको हुनाले पो यो शहरको नाम उल्टे रहेको हो कि ?
तेस्रो बिहान उठ्दाखेरि सिमसिम पानी परिरहेको थियो । त्यसैले गणेश छाता ओढेर निस्क्यो । पानी पर्दा केही झन्झट भएतापनि छाता ओड्न पाउँदा ऊ खुसी नै थियो – हिजोजस्तो माथिबाट फाल्ने पानीले नछ्यापिने हुनाले । तर माथिबाट छ्यापिनु नपरेपनि खाल्डाखुल्डीमा जमेको पानीले भने छ्यापिरह्यो । जसोतसो हिँड्दै थियो । बाटामा धारा झरिरहेका देखिन्थे । पाइप नै लगाएर छतको पानी सडकमा खसालिँदो रहेछ । शुरुमा त उसले कुनै कुनै अराजक घरले मात्र त्यसो गरेका होलान् भन्ठान्यो । तर धेरै घरहरूमा पाइप जोडेर सडकपेटीमा पानी खसाल्ने प्रबन्ध देखेपछि भने उसलाई अनौठो लाग्यो । नगरपालिकाले नै सोही किसिमले नक्शा पास गर्ने व्यवस्था गरेको होला । अनि सोच्यो – सायद यही व्यवस्थाको कारण पो शहरको नाम उल्टे रह्यो कि ?
गणेश उल्टे शहरमा केही दिन बसिसकेको थियो । होटेल छेउका केही गल्लीहरूसँग परिचित हुन पुगेको थियो । शहरबासीका तौरतरिका र चालचलनलाई बडो उत्सुकतापूर्वक नियालिरहन्थ्यो । आजसम्म विभिन्न दृश्यहरूमा उसले उल्टे शब्दको कारण अनुमान गरेको भएपनि कुनै अर्को खास कारण छ कि भनेर चिन्तन गरिरहन्थ्यो । उसले आएदेखि नै ख्याल गरेको एउटा चलन उसलाई अनौठो लागेको हो । यो शहरमा मान्छेहरू सँगै हिँड्नु पर्दा समानान्तर (अघिपछि होइन, दायाँबायाँ) हिँड्दा रहेछन् । सडकपेटीको चौडाइ पर्याप्त हुँदा अन्यत्र पनि मान्छेहरू समानान्तर हिँड्छन् । चउरमा, पार्कमा वा समुद्री तटमा हिँड्दा ४-५ जनाकै समूह पनि दायाँबायाँ भई समानान्तर हिँडिन्छ । गफिँदै, हाँस्दै हिँडिन्छ । यो स्वाभाविक मानव चलन नै हो । तर यो शहरको तरिका उसलाई बढी नै अनौठो लाग्यो । शुरुमा उसले साँघुरो गल्लीमा दुईजना वृद्ध वृद्धा यसरी हिँडेको भेटेको थियो । ऊ पछिपछि थियो । त्यो वृद्ध जोडी बुढ्यौलीको ढिलो गतिमा हिँडिरहेका थिए । गल्ली साँघुरो थियो । दुईजना मुस्किलले अटिन्थ्यो तर त्यो जोडी टिमिक्क अटेको थियो । अर्को मान्छे छिर्ने ठाउँ नै हुन्थेन । केही बेर हिँडेपछि विपरित दिशाबाट कोही आउँथ्यो । वृद्धवृद्धाहरू एकपलको लागि अघिपछि हुन्थे । विपरित दिशाबाट आएको यात्री पार लाग्थ्यो । गणेशले बुढाबुढी अघिपछि भएको त्यही मेसोमा फुत्त अगाडि जाने कोसिस गर्थ्यो तर स्वचालित मेशीनको चालजस्तै बुढाबुढी समानान्तर बनिहाल्थे । उनीहरूलाई धकेलेर अघि बढ्ने कुरा भएन । एकछिन बाटो पाऊँ न भनेर बोलूँजस्तो लाग्थ्यो तर बोलेन । धेरै बेरसम्म त्यसरी हिँडेपछि एउटा चोक आइपुग्दा बल्ल ऊ अगाडि लाग्न पायो । सायद ती बुढाबुढी सानो छँदा यी बस्तीहरू खुला थिए होला । खुला बस्तीमा अर्को मान्छे हिँड्न ठाउँ छ कि छैन भनेर सोच्ने आवश्यकता नै पर्दैनथ्यो होला । त्यसैले समानान्तर हिँड्ने उनीहरूको बानी बनेको होला ।
अर्को गल्लीमा उसले एक जोडी युवायुवती हात समाई हिँडिरहेको देख्यो । उनीहरू गफिँदै, हाँस्दै बिस्तारै हिँडिरहेका थिए । शिक्षितजस्तो लाग्ने यो जोडीले त पक्कै बाटो छोडिदिन्छन् होला भन्ने लागेको थियो । तर अहँ ! त्यस्तो कुनै गुञ्जायस थिएन । सयौँ पाइलासम्म पनि उसले आफ्नो गति सीमित राख्नुपर्यो । सायद मायाप्रेममा मग्न भएर होला, नत्र त यत्तिको युवापुस्ता पक्कै अरूप्रति संवेदनशील हुनुपर्थ्यो भन्ठान्यो ।
गल्लीमा समानान्तर हिँडाइको अर्को दृश्य देखियो । एउटै पोशाकमा चट्ट परेर हिँडिरहेको चार जनाको समूह थियो । सायद कलेज जाँदै गरेका विद्यार्थीहरू हुनुपर्छ । यहाँ गल्ली अलिक चौडा थियो र गणेशले आफू अघि बढ्न पाउने आशा गर्थ्यो तर त्यो चारजनाको समानान्तर हिँडाइ बडो विचित्रको थियो । चार फिट चौडा सडकपेटीमा उनीहरू ठिक्क अटेका देखिन्थे । सडकपेटी साँघुरिएर तीन फिट हुँदा ती केही खाँदिन्थे तर समानान्तर नै रहन्थे । पाँच फिट चौडा सडकपेटी आयो भने पनि ती चार जनाले पूरै चौडाइ समेटिहाल्थे । कतिबेला अगाडि जान पाइएला भन्ने अधैर्य नभएको होइन तर उसलाई त्यो समूहको समानान्तर हिँडाइको चर्तिकला हेर्न रमाइलो पनि लाग्दै थियो । सडकपेटी तीन फिट भएपनि, चार फिट भएपनि, पाँच फिट भएपनि उनीहरू ठ्याक्क फिट हुन्थे। तिनीहरूको संकुचन तथा फैलावट यन्त्रवत् देखिन्थ्यो । विपरित दिशाबाट कोही आयो भने केही खुम्चिहाल्थे अनि यान्त्रिक हिसाबले तुरुन्त फैलिहाल्थे । पछाडि कोही छ कि भन्नेमा किञ्चित पनि हेक्का हुन्थेन ।
समानान्तर हिँडाइको अर्को नमुना उसले ठूला सरकारी कार्यालय बाहिरका चौडा सडकपेटीमा पनि देख्यो । कोट पाइन्ट लगाएका जिम्मेवार पदाधिकारीहरूजस्तो लाग्ने मान्छेहरू पनि त्यसरी नै बाटोको पूरै चौडाइ कब्जा गरेर हिँड्दा रहेछन् । साना केटाकेटीहरू स्कूल जाँदा समेत त्यस्तै दृश्य देखियो । यी सबै देखेपछि गणेशले एउटा धारणा बनायो । यो शहरमा सडकपेटी कब्जा नै गरेजस्तो गरी समानान्तर हिँड्नु एउटा साझा चरित्र रहेछ । उमेर, शिक्षा, हैसियत वा गफको गहिराइजस्ता कुराको यसमा असर छैन । सडकमा अरू पनि हिँड्छन् भन्ने कुराको हेक्का नराखेजस्तो लाग्थ्यो । अरू मानिसहरूप्रति कम संवेदनशील हुने चलन भएकोले पो कसैले यो शहरलाई उल्टे नामाकरण गरे होलान् कि ? गणेशले यस्तै सोचिरह्यो ।
केही दिनको बसाइमा उसले आँगन धोएर सडकमा फोहोर पानी बगाएको देख्यो । गाडी धुने क्रममा बटुवाहरूलाई पिचकारीले छ्याप्ने गरेको देख्यो । मोटरसाइकल मर्मत गरेर कालो तेल सडकमा बगाएको देख्यो । टिलिक्क टल्काएको रेष्टुरेन्टले भाँडा माझेको फोहोर पानी सडकमा बगाएको देख्यो । अनि यस्तै तमाम दृश्यहरूको प्रतिनिधि हुनुपर्छ, शहरबीच बग्ने नदी डुङडुङ्ती गन्हाउने गरी कालो भएर बगेको देख्यो । “सफा हुनु भनेको निजी मामिला हो, सार्वजनिक सम्पत्ति जति कुरुप भएपनि हुन्छ” भन्ने मानसिकता प्रधान हो कि भन्ठान्यो । र सायद यही मानसिकता पो उल्टे नामको जननी हो कि जस्तो लाग्यो ।
उल्टे शहरमा केही दिन बसेर पनि गणेशलाई उल्टे शब्दको रहस्य यकिनका साथ थाहा भएन । धेरैपटक सोध्न मन लागेको हो तर सोध्न संकोच लागिरह्यो । यस्तैमा उसको फर्कने दिन आयो । अपराह्नमा काम सकाएर साँझको उडानबाट फर्कने तालिका थियो । काम सकेपछि शहरको केही सम्झना लैजाऊँ भनेर बाहिर निस्क्यो । ऊ आउने बेलाभन्दा शहर केही सफा देखिन्थ्यो । सायद पानी आएकोले हुनुपर्छ । हावा धोएझैँ भएको थियो । यसैबीच केही मान्छे भेला भएर चोकमा टायर बाल्दै थिए । उनीहरूले वातावरणीय अभियन्ता लेखिएको टिसर्ट लगाएका थिए । झट्ट हेर्दा अनौठो लाग्यो । वातावरणका अभियन्ताहरूले नै चोकमा धुवाँ उडाइरहेछन् । बढ्तै खसखस लागेपछि उसले ती अभियन्ताहरूलाई सोध्यो । उनीहरूले आगो बाल्नुको कारणमाथि प्रकाश पार्दै उल्टे नामको समेत रहस्योद्घाटन गरे ।
शहरलाई हालै मात्र नगरसभाद्वारा उल्टे नामाकरण गरिएको रहेछ । औपचारिक निकायहरूमा नयाँ नाम प्रयोग हुन थालेको भएपनि जनबोलीमा उल्टे नाम खासै परिचित भइसकेको रहेनछ । सायद त्यसैले होला, गुगलमा खोज्दा उसले उल्टे शहर भेटेको थिएन ।
अभियन्ताहरूले वर्णन गर्दै गए । यो एक प्राचीन शहर हो । पहिले अति नै सुन्दर थियो । पछि जनसंख्याको चाप बढ्दै गयो । अव्यवस्थित बन्दै गयो । फोहोरको उचित व्यवस्थापन हुन सकेन । उद्योग, कलकारखाना, चिम्नी, सवारी साधन आदिका कारण प्रदुषण बढ्दै गयो । धुलो धुवाँको व्यापक वृद्धि भयो । प्रदुषणका कारण अनेकौँ रोग देखिन थाले । चिड्चिडाहट बढ्न थाल्यो । मान्छेका सोच बदलिन थाले । नकारात्मक सोचमा बढोत्तरी भयो । छलछामको बिग्बिगी भयो । दलाली मौलायो । घुसखोरी त यति विचित्र हुन थाल्यो कि सरकारलाई कर तिर्दा घुस खुवाउनु स्वाभाविक विषय लाग्न थाल्यो । बिमावापत पाउनुपर्ने रकम पाउनको लागि बिमाको कर्मचारीलाई घुस खुवाउनु परेको सुनियो । बैंकको खातामा राखेको आफ्नै पैसा निकाल्न घुस खुवाउनु परेको सम्म यदाकदा सुनियो । अदालती फैसलाहरू उल्टोपाल्टो आउन थाले । मुद्दामा दुई पक्ष हुने हुँदा एउटा पक्षलाई फैसला उल्टो लाग्नु स्वाभाविक हो । तर तेस्रो पक्ष अर्थात् समाजलाई नै फैसला उल्टो आएको महसुस भइरहने । औषधी नियमन गर्ने निकायमा काम गर्ने अधिकारीकै छोरीको मिसावटयुक्त औषधीको असरले निधन भयो । अचम्मको कुरा, तिनै अधिकारीले ठूलो रकमको डिल गरेर एउटा औषधी कम्पनीलाई अवैध रसायन आयातका लागि अनधिकृत स्वीकृति दिएका रहेछन् । समाचार छताछुल्ल भयो । खाद्यान्नको गुणस्तर हेर्ने निकायका कर्मचारीको त्यस्तै आश्चर्यजनक समाचार आयो । सडकका कर्मचारीले ठेकेदारसँगको मिलिमतोमा राजमार्गको सुरक्षाको लागि अनिवार्य रहेको आधारभूत संरचना नै गायब पारिदिए । आफैँ हिँड्ने सडकमा ज्यानकै जोखिम हुने भयो तर आफ्नो ज्यानभन्दा पैसाको माया धेरै भयो । विश्वविद्यालयले शिक्षाको गुणस्तर खस्काउन गरेका सौदावाजी, सरकारी कम्पनी धराशायी बनाउन मन्त्री र कर्मचारीले गरेका कर्तुत, बालबालिका तथा ज्येष्ठ नागरिकको सुविधाका लागि खुलेका सरकारी संस्थाको जग्गा हिनामिना आदि थुप्रै समाचारहरू आइरहे । एकातिर जिउँदो मान्छेलाई मरिसकेको भनेर सिफारिस बन्न थाले भने अर्कातिर मरिसकेका मान्छेका नाममा भत्ताप्रवाह भएका खबर पनि सुनिए । मानवीय संवेदनाको विपरित लाग्ने हर्कतका अविराम सिलसिलाहरू भइरहे ।
यस्तैमा शहरका वैज्ञानिकले एउटा नवीन तथ्य पत्ता लगाएछन् । शहरमा प्रदुषणको बिगबिगी थियो । प्रदुषणले स्वास्थ्यमा पार्ने असरहरूबारे विश्वभरि अनुसन्धान भइरहेका छन् । मान्छेले जेनतेन सहन सक्ने प्रदुषणको तहको मापदण्ड विश्वव्यापी रूपमा तोकिएको हुन्छ । यो शहरका वैज्ञानिकले भने प्रदुषणका कारण मान्छेको सोचमा पनि केही असर पर्छ कि भनी अनुसन्धान गरेका रहेछन् । स्वास्थ्यका लागि तोकिएको विश्वव्यापी मापदण्डलाई नै आधार बनाएका रहेछन् । उनको अनुसन्धानको विषय वर्षभरिमा प्रदुषणयुक्त दिनहरूको संख्या घटीबढी हुँदा मान्छेको सोचमा आउने परिवर्तनबारे रहेछ । उनका अनुसार, वर्षदिन भरिमा ५० प्रतिशत समयसम्म, वा भनौँ वर्षको ६ महिनासम्म, मापदण्डभित्रको प्रदुषणमा बस्ने मान्छेले स्वाभाविक सोच्दो रहेछ । प्रदुषण खेपाइको अवधि बढ्दै जाँदा मान्छेको विवेक र संवेदनशीलता घट्दै जाँदो रहेछ । जब ७५ प्रतिशतभन्दा धेरै समय, अर्थात् वर्षको ९ महिनाभन्दा धेरै समय, मापदण्डभन्दा बढीको प्रदुषणमा बसिन्छ तब मान्छेमा विवेकपूर्ण सोच शून्यप्रायः हुन्छ । मान्छे आफ्नो आधारभूत पशु चरित्रको नजिक पुग्छ । ती वैज्ञानिकको सन्सनीपूर्ण खुलासा यो रह्यो कि ५० देखि ७५ प्रतिशतबीचको अवधिको प्रदुषण खेपाइ घातक हुँदो रहेछ । यो अवस्थामा मान्छे दोधारे र दोमन हुँदो रहेछ । जीवनका आदर्श अनि मूल्य मान्यतामा अलमल हुँदो रहेछ । राम्रो गर्छु भन्ने, नराम्रो गर्ने । सामाजिक अभियन्ता बन्ने, तर समाज लुट्ने हर्कत गर्ने । सेवक हुँ भन्ने तर पीडक बन्ने खालका चरित्र हुँदा रहेछन् । कतिसम्म भने, अगाडि हिँड्छु भनेर अघि बढ्ने अनि उल्टो विचार आएर अकस्मात् पछाडि हिँड्ने सम्म हुँदो रहेछ । सवारी चलाउँदा दायाँतर्फको संकेत दिएर बायाँ जानेजस्ता अनौठा व्यवहार पनि देखा पर्दा रहेछन् । बिजुली, मेशीन आदिको स्वीच खोल्नुपर्ने बेलामा बन्द गर्ने अनि बन्द गर्नुपर्ने बेलामा खोल्ने मनोविज्ञान पनि बन्दो रहेछ । निर्णयमा दोहोरोपन, व्यवहारमा अलमल अनि शारीरिक चालचलनमा समेत असमञ्जस हुँदोरहेछ । काम गरेको अभिनयजस्तो अनि अभिनय चाहिँ कामजस्तो देखिँदो रहेछ । कहिले विवेकी मान्छेजस्तो, कहिले विवेकहीन पशुजस्तो । कैयौँ दुर्घटना, चोटपटक निम्तने जोखिम हुँदो रहेछ । यसरी उच्च प्रदुषणको अवधि ६ देखि ९ महिना कायम रहनु एकदमै भयावह हुँदो रहेछ । यस्तो असमञ्जसको स्थितिभन्दा त बरू ९ महिनाभन्दा धेरै समय उच्च प्रदुषण भयो भने विचारमा स्थिरता हुँदो रहेछ । विवेक शून्यप्रायः हुने र मान्छे पशुवत हुने कुरा झट्ट सुन्दा नराम्रो लागेपनि सबैको व्यवहार अनुमानयोग्य हुँदो रहेछ । धोका पाइने सम्भावना नहुने रहेछ । जे जे गरिन्छ, खुलमखुला गरिन्छ ।
शहरका वैज्ञानिकले यति महत्त्वपूर्ण खोज गरेपछि शहरभरि सनसनी फैलिएको रहेछ । प्रदुषण घटाएर कम्तीमा ६ महिनासम्म मापदण्डभित्र राख्ने छलफल र प्रयास भएछन् । तर त्यसो गर्न सम्भव भएनछ । प्रदुषण बढाउन बरु सजिलो तर घटाउनु चुनौतीपूर्ण देखिएछ । त्यसैले ९ महिनाभन्दा धेरै समय उच्च प्रदुषणको अवस्था कायम राख्ने निर्णय भएछ । शहरमा प्रदुषण मापन गर्ने उपकरणहरू जडान गरिएछ । प्रदुषण घट्न लाग्यो भने चोकहरूमा आगजनी गरेर भएपनि प्रदुषणको स्तर कायम गरिराख्ने निर्णय गरेको रहेछ नगरसभाले । यो कुरा कसैले नभुलुन् र निरन्तर रूपमा पालन भइरहोस् भन्ने सुनिश्चित गर्नका लागि शहरको नाम नै उल्टे राख्ने निर्णय गरिएको रहेछ ।
ऊ जहाजमा घर फर्कन लागेको थियो । शहर जानुअघिदेखि खुल्दुली बनाएको नामबारे उसको तृष्णा मेटिएको थियो । तर यस्तो आश्चर्यजनक रहस्य थाहा पाउँदा उसको मन खैलाबैला बनेको थियो । यो प्रदुषित शहरमा ऊ पनि केही दिन बसेको थियो । हुन त छोटो समय हो तैपनि त्यसको असरले उसमा पनि दोधारे विचार आउन पो लागे कि ? आएदेखिका सबै दृश्यहरू फनफनी घुम्न थाले । देखेका दृश्य र भोगेका घटनाहरू पनि कतै भ्रान्ति हुन् कि ? कतै ती वातावरणीय अभियन्ताले बताएका कुरामा पनि केही उल्टोपाल्टो पर्यो कि ? अथवा ती वैज्ञानिकले पत्ता लगाएको रहस्य मै पो कतै उल्टोपाल्टो पर्यो कि ? जहाज बादलमाथि छिरिसकेको थियो । अध्याँरो भइसकेको थियो । कुन दिशामा उडेको हो, केही पत्तो थिएन । उसलाई लाग्न थाल्यो, कतै यो जहाज पनि उल्टो दिशातर्फ पो गइरहेको छ कि ? ऊ बेचैन थियो । के उसले जे सोचेको छ, त्यही नै उसको प्राकृतिक सोचाइ हो वा उसले उल्टो सोचिरहेको छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 




