कोभिड १९ का कारण यी दुइ वर्षमा थुप्रै पसलहरू बन्द भए, तीमध्ये कयौँ पुस्तक पसल पनि पर्छन् ।

बेलायतको वेल्सस्थित क्रिकोवेल भन्ने ठाउँमा बुकिस भन्ने एउटा स्वतन्त्र पुस्तक पसल पनि बन्द हुने अवस्थामा थियो ।

यसको सञ्चालिकाले पनि पसल बन्द गर्नुपर्ने अवस्था आएको थियो । उनले आफ्ना पाठकहरूमाथि विश्वास गर्दै इन्टरनेटमार्फत पुस्तक पसल जोगाउने अभियान शुरू गरेकामा त्यो सफल बनाएरै छाडेकी छन् ।

क्राउडफन्डिङ भनिने अभियानमार्फत उनले पसल जोगाएकी हुन् । गो फन्ड मि डटकमले कुनै अभियानका लागि पैसा जम्मा गर्ने सुविधा दिन्छ । सोहीमार्फत बुकिसले पैसा जम्मा गरेको हो ।

पसल जोगाउनका लागि यसको सञ्चालिका एम्मा कर्फिल्ड वाल्टरलाइ जम्मा २५ हजार पाउन्ड चाहिएको थियो । अभियानमार्फ उनले २७ हजार ४ सय ८५ पाउन्ड फेला पारिसकेपछि भने उनको यो अभियान सकिएको छ ।

उनको यस अभियानमा ८५१ जनाले सहभागिता जनाएका थिए । कम्तीमा १० पाउन्डदेखि पैसा जम्मा गर्न सकिने यो अभियान सफल पारिदिएकामा सम्पूर्ण पुस्तक प्रेमीलाइ उनले धन्यवाद दिएकी छन् ।

उनले यो पुस्तक पसल २०१० मा शुरू गरेकी थिइन् । दुइ तले यो पुस्तक पसलमा क्याफे मात्र होइन, रक्सी पसल पनि छ । कार्यक्रम आयोजना गर्ने सानो ठाउँ पनि छ ।

यो घरवालाले घर बेच्न लागेको सूचना केही समय पहिले एम्मालाइ दिएका थिए । घरवालाले भनेका थिए, कोभिडले मलाइ अप्ठेरो पर्यो, यो बेच्नुपर्ने भयो । पुस्तक पसलबाहेक अरूलाइ बेच्नु तिमीमाथि अन्याय गर्नु हो भन्ने लाग्यो । सक्छ्यौ भने किन ।

यत्तिका लामो समय स्थानीय तवरमा स्थापित यो पसललाइ ठाउँ सारिरहन र भनेजस्तो ठाउँ पाउन पनि गाह्रो थियो । त्यसैले आफूसँग भएको रकम र नपुगेको रकम क्राउन्ड फन्डिङमार्फत उनले जुटाउने निधो गरिन् ।

बैंकमार्फत यत्तिका ऋण उनले नपाउने होइन, तर प्रक्रिया झन्झटिलो भएकाले सर्वसाधारणसँग उनले ऋण मागेकी हुन् । उनले दान दिएबापत रकम फर्काउन आफूकहाँ पुस्तक किनिदिन पनि आग्रह गरेकी छन् ।

उनले १० दिनभित्र पैसा जुटाउनु थियो र त्यो पूरा भएको थियो । गएको नोभेम्बर २८ मा पैसा चाहेभन्दा बढी जम्मा भएपछि एम्माले सबैलाइ धन्यवाद दिएकी थिइन् ।