
सामाजिक सद्भाव
तिमीले भत्काइरहन मिल्ने
म भत्किरहन पर्ने
तिमीले मारिरहन मिल्ने
म मरिरहन पर्ने
भो ! अब मन्जुर छैन
यो भेद अनि विभेदमा निर्मित
तिम्रो सामाजिक सद्भाव ।
अन्तिम तर्क
मेरो अगाडि
तर्क गर्न नसक्नेसँग पनि
मेरो पछाडि
एउटा अन्तिम तर्क
जीवित हुन्छ
‘सानी जात ठूली बात ‘
नकाब
यहाँ
पीडित पनि
अनि पीडक पनि
यहाँ
कस्मेटिक कमरेडहरू
अधिकारकर्मीहरू
वादी र प्रतिवादीहरू
नकाबधारी मान्छेहरू
सबै सबै छौं
आऊ नकाब खोलौँ
अनि परिचय गरौँ ।
तिमी भेरी हुँदै आउनू
फेरि पनि
तिम्रो हर्षबढाइँमा
खोजिने छन्
नवराजका हातहरू
फेरि पनि
तिम्रो जुलुसमा
बज्नेछ
नवराजको छालाको दमाहा
फेरि पनि
तिम्रो फिर्ती सवारीमा
फुकिनेछ
नवराजको नलीहाडको सनई
रातो कार्पेट
बनेर बगेको छ भेरी
तिमी भेरी हुँदै आउनू ।
फूल अनि भ्रम
तिमीले फूलहररू
केवल सुन्दर हुन्छन् सुन्यौ
तिमीले फूलहरू
फगत सुकुमार हुन्छन् भन्यौ
तिमीले फूलहरू
कसैको हत्या गर्दैनन् ठान्यौ
माफ गर
म एक –
मांसाहारी फूल हुँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 






