Sahityapost Uttam Kabya Short List Book - Yadharuko Sangrahalaya by Kewal Binabi

साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७८”का लागि ९ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक काव्यकृतिको घोषणा गर्नुअघि उत्कृष्ट ९ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट नाैमा छनोट भएको कवितासङ्ग्रह ‘यादहरूको सङ्ग्रहालयका स्रष्टा केवल बिनाबिसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष नौ पुस्तकमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

खुसी छु । छनोट समिति अनि साहित्यपोस्टलाई धन्यवाद छ ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

एउटै विषयवस्तुमा लेखिएको कविताको प्रतिस्पर्धा हुनसक्ला । पहिलो कुरा त कृतिहरू बीचको प्रतिस्पर्धा नै गलत कुरा हो । यी पुरस्कार, पदवी र मानसम्मान मान्छेहरूबीच रेखा कोर्ने, कोही अब्बल र कोही कमसल भनेर छुट्ट्याउने गलत संस्कार हुन् । पाठकको आधारमा कुनै कृति राम्रो हुनुलाई भने म सम्मान गर्छु ।

३. “यादहरुको सङ्ग्रहालय” नै किन लेख्नुभयो ?

म जुन समुदायबाट आएँ, त्यो समुदायसँग वर्षौँदेखिका पीडा छन् । आक्रोश छन् । सपना छन् । अरूले लेख्दा न्याय गरेको जस्तो नलागेर यादहरूको सङ्ग्रहालय जन्मियो ।

४. कविता लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ? तपाईँका कविताले के कस्ता विषयवस्तु र अनुभूतिलाई सम्बोधन गरेका छन् ?

समाज परिवर्तनका लागि म कविता लेखिरहेको छु । म आफैँ परिवर्तन हुन कविता लेखिरहेछु । म कवितामार्फत राजनिति गर्न कविता लेखिरहेछु । यो समाजमा व्याप्त हरेक किसिमका विभेदविरुद्ध म कविता लेखिरहेछु । उन्मुक्त आन्दोलनको एक आन्दोलनकारीको रूपमा कविता लेखिरहेछु ।

५. “यादहरुको सङ्ग्रहालय”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

म सुन्ने गर्थेँ, पत्रपत्रिकामा स्थान पाउन चिनजान हुन जरुरी हुन्छ । अश्विनी सर अनि टिमसँग मेरो कहिल्यै भेट भएको छैन । चिनजान छैन । र पनि साहित्यपोस्टले यादहरूको सङ्ग्रहालयलाई धेरै पाठकबिच पुर्‍याएको छ । यही मेरा लागि पुरस्कार ठान्दै अन्य पुरस्कार म अस्वीकार गर्ने कुरा अवगत गराउन चाहन्छु ।

६. अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

लेखनमा कुनै योजनाबिनै उछिट्टिएर आइपुगेको म एक सिकारु मान्छे हुँ । हेरौ लेख्दै जाउँ …