राजकुमार र भिखारी १

सोह्रौं शताब्दीको मध्यतिर इङ्ल्याण्डको शाही परिवारमा प्रिन्स अफ्‌ वेल्स एड्वार्डको जन्म भयो । राजकुमार जन्मेको खुसियालीमा भव्य समारोह भयो । कैयौं दिनसम्म सिङ्गो देश भोजभतेरमा मस्त भयो । देशभरि उमङ्ग र हर्ष छायो ।

त्यही समयमा, लन्डनको एउटा गरीब परिवारमा टम क्यान्टी नाम गरेको शिशुको जन्म भयो । टमको घरमा न त्यस्तो कुनै खुसियाली छायो न त भोजभतेर नै भयो । टम नाम दिइएको

राजकुमार र भिखारी २

उक्त शिशुलाई पुरानो लुगाले बेरियो । गरीब टमको झुप्रोमा खाने मुख र दुःख मात्रै थपियो ।

टम जन्मेको इलाका लन्डननिरको सडक साँघुरो र फोहोर थियो । काठले बनेका दुई तीन तले घरहरूमा नीलो र कालो रङ पोतिएको थियो । लस्करै रहेका घरका स-साना झ्यालहरूमा सिसा लगाइएको थियो।

टमको परिवार ठूलो थियो । परिवारमा टमको बाबु-आमा, बाजे-बज्यै, बेट र नान्सी नाम गरेका पन्ध्र वर्षका जुम्ल्याहा दिदीहरू थिए । विचराहरू भुइँमा पराल ओछ्याई फाटेका कम्बल ओढेर सुत्थे ।

सिँगाने, फोहोरी, अनपढ, अनि झूत्रेझाम्रे लुगा लगाए तापनि बेट र नान्सीको हृदय भने सफा थियो । आमा दयालु थिइन्‌ तर बाजे र बज्यै झंगडालु स्वभावका थिए | चाहे रक्सी पिएको बेला होस्‌ या अघिपछि उनीहरू आपसमा बाझिरहन्थे ।

राजकुमार र भिखारी ३

भिखारी भएरै हुर्क्यो टम । रित्तो हात वा थोरै पैसा लिएर घर फर्केको दिन बाबु बाजेले पालैपालो पिट्थे उसलाई । आमाले चाहिँ उसलाई खानेकुरा लुकाएर दिन्थिन्‌ । घरको त्यस्तो नराम्रो वातावरणमा पनि टम खुसी नै देखिन्थो |

राजकुमार र भिखारी ४

गरीबै भए पनि घरका कसैले चोरी चाहिँ गर्दैनथे । बालबालिकालाई त्यस्तो राम्रो बानी व्यवहार सिकाउने श्रेय चाहिँ उनीहरूका पुरोहित फादर एन्ड्रयुलाई जान्छ । टमलाई लेखपढ गराउने, राम्रो बोलीवचन सिकाउने अनि थोरै ल्याटिन भाषा सिकाउने काम पनि उनैले गरे ।

राजा, महाराजा, राजकुमार, राक्षस र परीका कथाहरू सुनाएर एन्ड्रयु बालबालिकालाई मख्ख पार्थे । टम कथाका पात्र जस्तै बन्ने सपना देख्थ्यो ।

राजकुमार र भिखारी ५

समय बित्दै गयो । राजकुमार बन्ने सपना देख्दादेख्दै टममा पनि कथाका पात्रहरूको प्रभाव पर्न थाल्यो । उसले पनि जानी-नजानी राजकुमारकै व्यवहार देखाउन थाल्यो ।

राजकुमार र भिखारी ६

टमको बोलीवचन र व्यवहार दरबारीयाको जस्तै हुन थाल्यो । उसको यस्तो शैली र व्यवहार देखेर साथीहरू र छरछिमेकका जो कोही पनि छक्क पर्न थाले । साथीहरूमाथि टमको प्रभाव बढ्दै गएपछि उनीहरूले टमलाई आफ्नो आदर्श नेता मान्न थाले ।

केही समस्या पर्नासाथ मानिस टमकहाँ सर-सल्लाह गर्न आउँथे । ऊ पनि

क्रमश……

 

 

‘लेखकका बारेमा

नाम: मार्क ट्वेन

मार्क ट्वेन

जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी

विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना

प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |

मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।

हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन्‌ १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन्‌ १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन्‌ १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान्‌ हस्तिको हृदयघातका कारण सन्‌ १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।