परिच्छेद- ९

पियेरे आफ्ना साथीबाट छुटेर जाँदा एक बजिसकेको थियो । यो रात बादलरहित, गृष्मकालीन रात थियो । पियेरेले सोझै घरमा जाने मनसायले एउटा खुला बग्गी लियो । तर ऊ जतिजति घरको नजिक पुग्थ्यो उतिउति उसलाई यस्तो रातमा निदाउन असम्भव छ जस्तो लाग्न थाल्यो । सुनसान सडकमा टाढासम्म उज्यालो देखिन्थ्यो । र यो निशाकाल नभएर सन्ध्याकाल वा प्रात:कालजस्तो लाग्थ्यो । बाटोमा पियेरेले अनातोल कुरागिनले सधैँ बेलुकी पख खेल्ने तासका पत्तीहरू लिएर आउला भनी मलाई पर्खिरहेका होलान्‌ भनेर सम्झ्यो- त्यसपछि प्रायशः मद्यपानको कार्यक्रम सुरु हुन्थ्यो र त्यस दिनको जमघट समाप्त हुन्थ्यो, जो पियरेलाई असाध्यै मन पर्थ्यो ।

“कुरागिनहरूको घरतिर नै लागुँ क्यारे,” उसले सोच्यो । तर उसले तुरुन्तै आफूले त्यहाँ नजाने विषयमा राजकुमार आन्द्रेइसँग गरेको वाचा सम्झ्यो । त्यसपछि जस्तो कि कमजोर चरित्र भएका मानिसहरूलाई हुने गर्छ, उसको आफू अभ्यस्त भइसकेको त्यो छिल्लिएको वातावरणमा रमाउने इच्छा पुन: जागेर आयो । उसले त्यहाँ जाने निर्णय गर्यो । तत्काल उसका मनमा आफूले राजकुमार आन्द्रेइसँग खाएको कसमको कुनै अर्थ छैन जस्तो लाग्यो किनभने त्योभन्दा पहिले उसले राजकुमार अनातोलकहाँ हुने जमघटमा समावेश हुने कसम खाइसकेको थियो । त्यसबाहेक उसले सोच्यो कि यस्ता वाचा र कसमहरू कुनै खास अर्थ नभएका पुराना र रुढिवादी कुरा हुन्‌ खास गरेर भोलि मरियो भने अथवा त्यस्तै कुनै असाधारण घटना घट्न गयो भने त्यस्ता कसमहरू पूरा गर्नु वा भङ्ग गर्नुको कुनै अर्थ नै रहँदैन । पियेरे यस्ता बिम्बहरूमा भासिँदै गयो । उसले आफ्ना पूर्वनिर्णण र आशयहरूको निराकरण गर्यो । ऊ कुरागितहरूको घरमा गयो ।

अनातोल बस्ने घोडाबग्गी ब्यारेकनजिकको ठूलो घरमा पुगेपछि पियेरे बत्ती बलिरहेको डबलीभित्र प्रवेश गर्यो । भन्याङ चढ्यो र ढोकाभित्र छिर्यो । डबलीमा कोही थिएन । रित्ता बोतलहरू थिए, बक्खुकोट र गम्बुटहरू यत्रतत्र छित्रिएका थिए । रक्सीको गन्ध आइरहेको थियो र अलि परतिर हल्लाखल्ला चलिरहेको सुनिन्थ्यो ।

तास तास खेलेर रमाइलो गर्ने र खाना खाने काम सकिसके पनि पाहुनाहरू अझु बिदा भएका थिएनन् । पियेरेले आफ्नो बक्खुकोट खोल्यो र पहिलो कोठाभित्र प्रवेश गर्यो , जहाँ बचेखुचेका खानेकुराहरू थिए । एउटा नोकर जुठा गिलासको पीँधमा रहेको रहपहल कसैले देखेका छैनन होला भन्ने ठानेर सुटुक्क पिउँदै थियो । तेस्रो कोठाबाट परिचितजस्तो लाग्ने बोलीमा हाँस्दै हल्ला गरेको र एउटा भालु घुर्किरहेको आवाज आइरहेको थियो । आठ दस जवान मान्छेहरू एउटा खुला झ्यालको वरिपरि झुम्मिरहेका थिए । अरू दुई जना एउटा जवान भालुसँग लखेटालखेट गर्दै थिए । एक जनाले सिक्रीमा बाँधेको भालुलाई तान्दै अरूहरूसँग जुधाउने प्रयास गर्दै थियो ।
“म स्टेभेतसँग सय रुपियाँको बाजी राख्छु” एक जना चिच्चायो ।
“होइन भन्न पाउँदैनौ नि” अर्को करायो ।
“म दोलोखोभसँग बाजी राख्छु” तेस्रो कस्सियो । “कुरागिन तिमी हामीपट्टि लाग”

” ब्रुइन तिमीले हस्तक्षेप नगर है, यहाँ बाजी परिरहेको छ ।”
“एकै घुट्कोमा सिध्याएन भने उसले बाजी हार्ने छ” चौथो उफ्रियो ।

‘ज्याकोव; अर्को एक बोतल लिएर आइज त,” घरपछि दगुर्यो । ऊ अग्लो र खाइहाल्दो व्यक्ति थियो, जो त्यस समूहका बीचमा आएर ठिङ्ग उभियो । उसले कोट पनि लगाएको थिएन र सुतीको कमिजका टाँक पनि अगाडिपट्टि पूरै खोलेको थियो । “तिमीहरू सबै एक छिन पर्ख । यहाँ एक जना असल मान्छे पेत्या पनि छन्‌,” पियेरेतर्फ सङ्केत गर्दै उसले हाँक लगायो ।

त्यस्तै मझौला कद, शुद्ध र नीला आँखा भएको एउटा अर्को व्यक्ति मिठासपूर्ण आवाजमा यी सबै रक्सीले लठ्ठिएकाहरूको ध्यानाकृष्ट गर्दै झ्यालबाट चिच्यायो ।

“लौ यहाँ आओ, बाजी थाप” ऊ सेमेनोभ गणको अफिसर एउटा कुख्यात जुवाडे र द्वनद्वयुद्ध प्रेमी दोलोखोभ थियो, जो अनातोलसँग बस्ने गर्थ्यो । पियेरे हँसिलो अनुहार
लगाउँदै उसलाई हेरेर मुस्कुरायो ।

“यो सब के भइरहेछ ? मैले त बुझेकै छैन ।”
“एक छिन पर्ख, उसलाई रक्सीले छोएकै छैन । एक बोतल सिङ्गै बाँकी छ भन्दै अनातोल टेबुलबाट एउटा गिलास उठाएर पियेरेनिर गयो ।”
“तिमीले यो पिउनै पर्छ ।”

दोलोखोभका कुरा सुन्दै झ्यालको वरिपरि फेरि झुम्मिएका मदमत्त पाहुनाहरूलाई आँखीभौँहरू खुम्च्याएर हेर्दै पियेरेले पनि एकपछि अर्को गिलास थप्दै गयो । अनातोलले अङ्ग्रेजी जलसेनाका एक जना अफिसर स्टेभेन्ससँग दोलोखोभको बाजी परेको बयान गर्दै पियेरेको गिलास भर्दै गयो । दोलोखोभले तेस्रो तलाको झ्यालको बाहिरी फलैचामा खुट्टा झुण्डयाउँदै बसेर सिङ्गै एक बोतल रम सिध्याउनु पर्नेछ । बुझ्यौ पियेरे ?

“थप पियेरे, यो त तिमीले सिध्याउनै पर्छ । नत्र म तिमीलाई यहाँबाट जानै दिन्नँ” अन्तिम गिलास पियेरेलाई दिँदै अनातोलले भन्यो ।

“होइन, म सक्तिनँ” अनातोललाई एकातिर धक्याउँदै पियेरेले भन्यो र झ्यालतिर गयो ।

दोलोखोभले अनातोल र पियेरेतर्फ सङ्केत गर्दै विस्तारपूर्वक बाजीका शर्तहरू दोहोर्याउँदै अङ्ग्रेज अफिसरको हात समाइरहेको थियो ।

दोलोखोभ मझौला कद, घुम्रेको कपाल र हल्का, नीला आँखा भएको पुरुष थियो । ऊ अन्दाजी पच्चीस वर्षको थियो । अन्य सैनिक अफिसरहरूलेझैँ उसले जुँघा पालेको थिएन । त्यसैले सबैको ध्यानाकर्षित गर्ने उसको मुख सजिलैसँग चिन्न सकिन्थ्यो । त्यो मुखका चक्रहरू नबिर्सिने खालका राम्रा र बत्राकार थिए । सुन्तलाको केस्राजस्तो माथिल्लो ओठको मध्यभागको चुच्चो मुखबन्द गरेका अवस्थामा तल्ला ओठसँग एकाकार हुँदै मुखका दुवै कुनाबाट निरन्तर प्रस्फुटन हुने मुस्कान र दृढ, बुद्धिगम्य र मत्त आँखाले उत्पन्न गर्ने प्रभावका कारण उसको अनुहार बिर्सन सम्भव नै थिएन । दोलोखोभको आर्थिक अवस्था कमजोर थियो र उसको पहुँच पनि कतै थिएन । तथापि ऊ हजारौँ हजार रुबल खर्च गर्ने अनातोलसँग बसेर आफूलाई त्यही अवस्थामा स्थापित गर्न सक्षम भएको हुँदा अनातोल स्वयम्ले र अरूहरूले समेत उसलाई अनातोललाई भन्दा बढी सम्मान गर्ने गर्थे ।

दोलोखोभ जुवाका सबै प्रकारका खेल खेल्न सक्थ्यो र प्रायः जित्थ्यो । र जति धेरै रक्सी खाए पनि उसले चतुर्याईं र सतर्कता कहिल्यै गुमाएन । कुरागिन (अनातोल) र दोलोखोभ दुवै पिटर्सबर्गका त्यस समयका ब्यसनी र लफङ्गाहरूमध्ये कुख्यात थिए ।

रमको बोतल ल्याइयो । दुई जना नोकरले ढोकाको चौकोस नै भाँच्न लागिरहेका थिए, जसले बाहिरी संघारमा बस्न अप्ठ्यारो पारेको थियो । ती नोकरहरूलाई यसो गर र,उसो गर भन्ने ठूलाबडाका आदेश पालना गर्नमा नै फुर्सत हुँदैनथ्यो ।

अनातोल एउटा विजयी लडाकुले जस्तै फुर्ति देखाउँदै ढोकासम्म पुग्यो । उसलाई के गरुँ, के भाँचुजस्तो भइरहेको थियो, सो उसले नोकरहरूलाई एकातिर धक्याउँदै चौकोस उखेल्न खोज्यो । तर त्यसलाई फिटिक्क चलाउनसमेत सकेन । उसको पालो झ्यालका सीसाहरू झम्यामझुरुम पारेर फुटाल्यो ।

“अब तिमी बल गर पहलमान,” उसले पियेरेतर्फ फर्कँदै भन्यो ।” पियेरेले चौकोसका बीचमा दुई हातले चक्कु समातेर यसरी तान्यो कि चौकोस चर्रर गर्दै चर्केर भाँच्चियो र फ्वात्त बाहिर निस्क्यो ।
“त्यसलाई पूरै निकाल्देऊ, नत्र मान्छेहरूले म यसमा अडेस्‌ लाइरहेछु भन्ने सोच्ने छन्‌,” दोलोखोभले भन्यो ।

“क्या होः अङ्ग्रेज ठूल्ठूला कुरा गर्दै छ कि कसो ? सबैथोक ठीक छ होइन ?” अनातोलले सोध्यो ।
हो त नि, पियेरेले दोलोखोभतिर हेर्दै उत्तर दियो, जो हातमा रक्सीको बोतल लिएर ढोकातिर आइरहेथ्यो । ढोकाबाट सूर्यास्त र सूर्योदयको जस्तो सन्धिप्रकाश झलमलाईरहेको थियो ।

हातमा रमको बोतल समातिरहेको दोलोखोभ उफ्रिदै ढोकाको चौकोसमाथि चढ्यो ।

“सबैले सुन्नु पर्यो” त्यहाँ उभिएका उपस्थित सबैलाई सम्बोधन गर्दै ऊ चिच्यायो । सबै चुप लागे । “म पचास थान सुनको असर्फी बाजी राख्छु,’- ऊ अङ्ग्रेजले बुझोस्‌ भनेर फ्रान्सेली भाषामा बोल्यो तर भाषा शुद्ध थिएन । “पचास थान असर्फी- कि तिमी सय थान पुर्याउन चाहन्छौँ ?” “होइन, पचास नै ढीक छ,” अङ्ग्रेजले भन्यो । “लौ, चास मात्र है त… झ्यालबाहिर यही ठाउँमा बसेर (मुखबाटै नझिकेर) एक सासमा म एक बोतल पूरै रित्याइदिन्छु (उसले झुकेर ढोकाबाहिर ढल्केको फलैँचातिर इसारा गर्यो ) र यसो गर्दा कुनै चिजको सहारा लिने छैन । हुन्छ ?” “हुन्छ, ठीक छ,” अनातोल अङ्ग्रेजतर्फ फर्क्यो र उसको कोटको टाँक समाउँदै र उसलाई हेप्दै (अङ्ग्रेज अलि पुड्को थियो) बाजीको शर्त अङ्ग्रेजी भाषामा अनुवाद गरेर सुनायो ।

“पर्ख, सबैको ध्यान आकर्षित गर्ने हेतुले झ्यालमा रक्सीको बोतलले हान्दै दोलोखोभ उफ्रयो । एकै छिन पर्ख र सुन कुरागिन, यदि कसैले यस्तो गर्न सक्छ भने म उसलाई यसको दोब्बर एक सय थान असर्फी इनाम दिनेछु, बुझ्यौ तिमीले ?”

अङ्ग्रेज अक्मकियो । उसले यो चुनौती स्वीकार गर्ने वा नगर्ने निर्णय गर्न सकेन । अनातोलले उसको कठालो समातिरह्यो । अङ्ग्रेजले त्यो चुनौती बुझिसकेको आशङ्का प्रकट गरे तापनि अनातोल भने दोलोखोभका ती शब्दहरू अङ्ग्रेजीमा अनुवाद गर्दै रह्यो । सम्राट्द्वारा संरक्षित गार्ड रेजिमेन्टको एउटा दुब्लो-पातलो जवान जो त्यस रात जुवामा हारेको थियो, एक्कासि ढोकामाथि चढ्यो र त्यहाँबाट टाउको निकालेर तलतिर हेर्यो ।

तलतिर पेटीमा बिछ्याइएका ढुङ्गाहरूमाथि हेर्दै आत्तिएर ऊ ‘ओहो !’ भन्दै चिच्यायो । चुप लाग तिमी, झ्यालबाट धकेल्दै दोलोखोभले उसलाई हकार्यो । यसो गर्दा त्यो हुस्सार अफिसर खुट्टा कमाउँदै आत्तिएर कोठाभित्र प्रविष्ट भयो ।

सजिलैसँग हातमा लिन सकियोस्‌ भन्ने हेतुले रक्सीको बोतल झ्यालको चौकोसमा राख्दै दोलोखोभ सतर्कतापूर्वक र विस्तारै झ्यालमा चढ्यो र खुट्टा तल झार्यो ।

झ्यालका दुवै सुर अँठ्याउँदै, उसले बस्ने ठाउँ मिलायो, हातहरू तल झर्यो, अलिकति दायाँ त्यसपछि अलिकति बायाँ घुम्यो र रक्सीको बोतल समायो । उज्यालो भए तापनि अनातोलले दुइटा मैनबत्ती ल्यायो र झ्यालको शिलामाथि (सँघारठेलो) राख्यो । सेतो कमिजमा उसको पीठ र उसका घुम्रिएका केश दुवैतिरबाट टल्किरहेका थिए । त्यहाँ उपस्थित सबै झ्यालतिर झुम्मिए । अङ्ग्रेज भने सबैभन्दा अगाडि नै थियो । पियेरे मुसुमुसु मुस्कुराउँदै चुप लागेर बसिरह्यो । त्यहाँ भएकामध्ये अरूहरूभन्दा अलि बुढो देखिने एक जना मानिस अलि डराएको तथा रिसाएको जस्तो अनुहार लगाउँदै अचानक सबैलाई पेल्दै घुस्यो र उसले दोलोखोभको कठालो समाउन खोज्यो ।

“हेर्नुस्‌, भद्रभलादमीहरू, म भन्छु यो सरासर मूर्खता हो । ऊ यहाँबाट खसेर मर्छ” त्यो समझदार पुरुषले भन्यो ।
तर अनातोलले उसलाई रोक्यो ।
“नचलाऊ, नचलाऊ यसलाई । उसलाई त्यसरी डराउन दियौ भने ऊ अवश्य त्यहाँबाट खसेर मर्नेछ- अनि के गर्ने ? के होला त्यसपछि !”

दोलोखोभले घुमेर हेर्यो र हातको सहाराले आफ्नो बस्ने ठाउँ मिलायो ।
“यदि फेरि मलाई कसैले हस्तक्षेप गर्न आयो भने मैले उसलाई यहीँबाट अहिले नै भुइँमा खसालिदिनेछु । बुझ्यौ तिमीहरूले ?” ऊ आफ्ना पातला र कसिएका बन्द ओँठ चलाउँदै एउटा-एउटा शब्द निकालेर भन्दै गयो ।
यति भनेर उसले फेरि टाउको बटार्यो, हात छोडिदियो, बोतल उचालेर मुखमा लगायो, टाउको पछाडि फर्कायो र सन्तुलन कायम गर्नका लागि खाली हात माथितिर उठायो । अघि फुटेर भुईमा झरेका सिसाका टुक्रा सफा गर्न लागेको एक जना नोकर झ्यालबाट र दोलोखोभको पीठबाट आफ्ना आँखा एक निमेष नहटाएर यथास्थानमा उभिएकोउभियै रह्यो । अनातोल पनि एकटक लगाएर हेर्दै तनक्क तन्केर उभिइरह्यो । अङ्ग्रेज ओंठ लेब्य्राउँदै छेउतिरबाट हेरिरहेको थियो । दोलोखोभलाई यसो गर्नबाट रोक्न चाहने कोठाको एउटा कुनामा दौड्दै गएर भित्तातिर अनुहार फर्काएर एउटा सोफामा ढ्याम्म बस्यो । पियेरेले मुख छोप्यो । उसको अनुहारमा मन्द मुस्कान देखिए तापनि अहिले उसको सातो गएको थियो । सबै चुपचाप थिए । पियेरेले आँखाबाट हात हटायो । दोलोखोभ अझै पनि पहिलेकै अवस्थामा बसिरहेको थियो । फरक यति थियो कि उसको टाउको अलिकति पछाडि फर्किएको थियो, जसले गर्दा उसका घुम्रिएका केशले उसको कमिजको कलर छुन लागेको थियो । र बोतल समातेको हात माथिमाथि उठिरहेको थियो र त्यसो गर्दा त्यो हात काँपिरहेको थियो । बोतल स्पष्टरूपमा देखिने गरी खालि हुँदै थियो र झन्‌झन्‌ माथि उठ्दै थियो भने उसको शिर त्यही अनुपातमा पछाडि उलार हुँदै थियो । “किन यति ढिला गरेको होला ?” पियेरेले सोच्यो । उसको हिसाबमा आधा घन्टाभन्दा बढी समय लागेझैँ लाग्यो । अचानक दोलोखोभले ढाड पछाडि फर्कायो र उसका पाखुराहरू आत्तिएर कम्पायमान भए । यो कम्पन झ्यालको ढलानमा बसेको दोलोखोभको सम्पूर्ण शरीरलाई नै हल्लाउन पर्याप्त थियो । उसको सम्पूर्ण शरीर हल्लियो । तलतिर खस्न लागेपछि उसले आफूलाई सम्हाल्ने प्रयत्न गर्यो र, यसो गर्दा उसका हात र टाउको झन्‌ बढी हल्लिन थाले । एउटा हात झ्यालको शिला समात्न माथि उठ्यो तर समात्न सकेन । पियेरेले फेरि आफ्ना आँखा छोप्यो र अब कहिल्यै खोल्ने छैन भन्ने विचार गर्यो । तर उसलाई सहसा यस्तो अनुभव भयो कि उसको वरिपरिको वातावरण एकदम चलायमान भएको छ । उसले आँखा खोलेर माथितिर हेर्यो । दोलोखोभ झ्यालका शिलामा उभिएको थियो । उसको अनुहार पहेँलो तर हर्षले उज्यालो देखिएको थियो ।

“बोतल खाली भयो ।”

उसले फुर्तीसाथ बोतल अङ्ग्रेजतर्फ हुत्यायो र अङग्रेजले पनि मज्जाले च्याप्पै समात्यो । दोलोखोभ उफ्रेर भुइँसा झर्यो । उसको मुखबाट रमको कडा गन्ध आइरहेको थियो ।

“स्याबास, बहादुर ! यस्तो पो बाजी मार्नु ! राक्षस नै रहेछ !” चारैतिरबाट यस्तै शब्दहरू आइरहेको सुनिन्थ्यो ।

अङ्ग्रेजले खल्तीवाट थैली निकाल्यो र सुवर्ण मुद्रा गन्न लाग्यो । दोलोखोभ नाकमुख खुम्च्याएर चुपचाप बसेको थियो । त्यत्तिकैमा पियेरे उफ्रेर झ्यालको शिलामा चढ्यो ।

“उपस्थित महानुभावहरू, कोही मसँग बाजी थाप्त चाहन्छ ? म पनि त्यस्तै गर्न सक्छु,” ऊ अचानक कराउन थाल्यो । “भैगो, बाजीसाजी थाप्नु पनि पर्दैन । “एक बोतल
रम लिन पठाऊ । म पति त्यस्तै गर्छु । छिटो ल्याऊ ।”

“गर्छ भने गरोस्‌ न त,” दोलोखोभले मुस्कुराउँदै भन्यो ।
“फेरि भन त ? बहुलाइस्‌ कि के हो ? तँलाई कसले दिन्छ त्यस्तो गर्न ? तँलाई त भर्याङ चढ्दा पनि रिङ्गटा लाग्छ होइन र ?” थुप्रै मान्छेहरूले एकै स्वरमा सम्झाए । “म त पिउँछु पिउँछु ! एक बोतल रम तुरुन्त ल्याऊ !” पियेरे नशा लागेर मातेको मान्छेले झैँ दृढताका साथ टेबुल बजार्दै झयालबाट बाहिर खुट्टा झुण्डयाउन थाल्यो ।

उनीहरूले उसको हात समाते तर ऊ यति बलियो थियो कि आफ्नो नजिक आउने जति सबैलाई ऊ धकेलेर पर पुर्याइ दिन्थ्यो ।

“होइन, यसरी उसलाई नियन्त्रणमा लिन सकिँदैन,” अनातोलले भन्यो । “एकछिन पर्खौं, उसलाई मैले जानेको छु । हुन्छ पियेरे- मैले बाजी थाप्ने भएँ तर आज होइन, भोलि । आज त हामी सबै … कोमा गइरहेका छौँ ।”

“हो, जाँदै छौँ, जाने हो,” पियेरै चिच्यायो । ब्रुइनलाई पनि सँगै लग्ने हो ।”

त्यसपछि उसले भालुको बच्चालाई समात्यो, आफ्नो काखमा च्याप्यो, भुइँबाट उठायो र भालुलाई काखमा लिँदै कोठाभित्र नाच्न लाग्यो ।

क्रमस………………