काठमाडौं । अग्रज कवि राजेश ढुंगानाको नवीनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, कृष्ण धारावासी, प्रा. डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक तथा कवि राजेश ढुंगाना दम्पतिले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि  साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै विगतका साहित्यिक तथा राजनीतिक योगदानको स्मरण गर्नुभयो । उहाँले लोकतान्त्रिक आन्दोलनका पक्षमा ढुंगानाले लेखनमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो ।

प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ढुंगानालाई मितव्ययी भाषामा गहिरा भाव व्यक्त गर्न सक्ने कविका रूपमा चित्रित गर्नुभयो । उहाँका अनुसार कवितामा विद्रोह, असन्तुष्टि, प्रेम, मृत्युचिन्तन, देशचिन्तन तथा समयचेतनाका विविध स्वर अभिव्यक्त भएका छन् ।

साहित्यकार कृष्ण धारावासीले कवि ढुंगानासँग बिताएका बाल्यकालीन स्मृति साझा गर्दै उहाँलाई लोकतान्त्रिक चेतनाले सम्पन्न, दृढ अडान भएका स्रष्टाका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले पत्रकारिता, मुक्तक, गीत र कविताका क्षेत्रमा ढुंगानाको योगदान उल्लेखनीय रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक तथा कवि मीना ढुंगानाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सार्वजनिक कृतिबाट सुधा शर्मा, राजेश खनाललगायतले कविता वाचन गर्नुभएको थियो ।

नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले छोटा कवितामा पनि गहिरो शक्ति र प्रभाव रहने तथ्य ढुंगानाका कविताले प्रमाणित गरेको बताउनुभयो । उहाँले साहित्य क्षेत्रमा पुरस्कार र सम्मानका नाममा देखिएको अस्वस्थ प्रतिस्पर्धाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।

मधु पाठकले सञ्चालन गर्नुभएको कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।