काठमाडौं । सिर्जना अभियान समाज र नेपालभाषा चिबाखं साहित्यको संयुक्त आयोजनामा सामूहिक लघुकथासङ्ग्रह ‘अभियान चिबाखं’ सार्वजनिक गरिएको छ ।

पाटनको बखुम्बहास्थित लोकसाहित्य परिषद्को सभाकक्षमा आयोजित समारोहमा स्रष्टाहरू केदार सितु, नरेश अमात्य, राजीतबहादुर श्रेष्ठ तथा कृतिका सम्पादक ध्रुव मधिकर्मीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै कथाकार केदार सितुले पछिल्लो समय लघुकथालेखनप्रति देखिएको उत्साह सकारात्मक रहेको उल्लेख गर्दै स्रष्टाहरूले कथा र लघुकथाबीचको विधागत भिन्नतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले लघुकथा लेखनलाई थप सशक्त र उपलब्धिमूलक बनाउन विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कृतिका सम्पादक ध्रुव मधिकर्मीले सामूहिक प्रकाशनले स्रष्टाहरूबीच पठन, चिन्तन र संवादको वातावरण निर्माण गर्ने भएकाले यसले लेखनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, अमृतरत्न शाक्य, बद्री बेदना, रीता महर्जन ‘ऋतु’ तथा किशोर धुसःले आफ्ना लघुकथा वाचन गर्नुभएको थियो ।

सिर्जना अभियान समाजबाट प्रकाशित ‘अभियान चिबाखं’ लघुकथासङ्ग्रहमा देशभित्र तथा विदेशमा रहेका ७८ जना स्रष्टाका विभिन्न विषयमा आधारित लघुकथाहरू सङ्कलित छन् ।