गान्तोक । सिक्किम अकादेमीको आयोजनामा सिक्किम–नेपाल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  अकादेमीको सभाहलमा आयोजित कार्यक्रममा नेपालबाट सहभागी अनलाइन अभिलेखका प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रम शुरू गरिएको थियो ।

सिक्किम अकादेमीका अध्यक्ष प्रविण राई ‘जुमेली’ले नेपालबाट सहभागी डा. पुरण राई, आनन्द राई तथा प्रकाश राईलाई परम्परागत खादा ओढाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा सिक्किम अकादेमीका भाषा तथा साहित्य सचिव प्रद्युम्न श्रेष्ठ तथा अनलाइन अभिलेखका प्रमुख सल्लाहकार साहित्यकार एवं समालोचक डा. पुरण राईले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेटघाटका अवसरमा अनलाइन अभिलेखले सिक्किमका  साहित्यकार वीरभद्र कार्कीढोली र मदनकुमार राईलाई सम्मान गरेको छ । दीर्घकालीन साहित्यिक योगदानको कदर गर्दै उहाँहरूलाई सम्मानपत्र र शिरशोभासहित अनलाइन अभिलेख सम्मान प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै डा. पुरण राईले नेपाली साहित्यको समृद्धिमा सिक्किम साहित्यको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले सिक्किम र नेपालको साहित्यिक सम्बन्ध परस्पर पूरक रहेको धारणा राख्दै यही भावनाका आधारमा सम्मान अर्पण गरिएको बताउनुभयो ।

उहाँले अनलाइन अभिलेखलाई साझा अनलाइन पुस्तकका रूपमा व्याख्या गर्दै विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरूले आफ्ना जीवनी, साहित्य, संस्कृति, इतिहास, वंशावली, पर्यटन, कृषि तथा अन्य विषयका सामग्री प्रकाशन गर्न सक्ने जानकारी दिनुभयो ।

कवि प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरी ढुङ्गेल, पूर्वसचिव प्रताप प्रधान, विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तित्व, साहित्यकार, समाजसेवी, सङ्गीतकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राधा पाण्डे, टीबी चन्द्र सुब्बा, अविगेल राई, रूपा तामाङ, सूचन प्रधान, दावा योञ्जन, अम्बर गुरुङ ‘लाछिकाठी’, मनोरथ दाहाल, पूजा क्षेत्री, विश्वजीत बास्कोटा, ताम्लिङ सरोजनी सुब्बा, जीविका अश्रु, मणिका शर्मा, भीम रावत र योञ्जना कार्कीले कविता वाचन गर्नुभएको थियो ।

कविहरूको प्रस्तुतिले सिक्किम–नेपाल साहित्यिक भेटघाटलाई अझ आत्मीय, स्मरणीय र सौहार्दपूर्ण बनाएको आयोजकले जनाएको छ ।