तिमीलाई थाहा छ, खुल्ला आकाशमा के हुन्छ
हावाले स्पर्श गर्छ
जुनको जुनेली किरण पर्छ
सेता ताराले शीतलता दिन्छन्
चम्किला आँखाले सपना बुन्छन्
अझ, चरीझैँ स्वतन्त्र, पानीझैँ स्वच्छ
मनको हुरीलाई मनैमा सजाई
दिमागको जलनलाई दिमागमै बुझाई
मानिस, आफ्नो आफैँ भई
आफ्नै आँखा चिम्लेर निदाउन सक्छ रे ।

अझ, खुल्ला आकाशका कल्पना त कति मिठा हुँदा हुन् है
कुनै प्रेमका कसिला पाठ हुँदा हुन्
कुनै उनीसँगका मिठा–मिठा बात हुँदा हुन्
कुनैलाई सोच्दा मन हर्षित हुँदो हो
कुनैलाई सोच्दा काँचो मन रुँदो हो

ए साँच्चै, मिठा मात्रै कल्पना आउँदा हुन् त
झरीले भिजाए के गर्नु
हुरीले उडाए के गर्नु
भाग्यको खेला भाँचिए के गर्नु
चोला च्यात्तिए के गर्नु

ए त है, खुल्ला आकाशमुनि
मान्छेलाई मान्छेको डर लाग्दो हो
रातिको सोच्दा भोकनिन्द्रा भाग्दो हो
बादलले भविष्य ढाक्दो हो
धुलोले मानसम्मान राख्दो हो
कस्तो हुँदो हो तिनलाई
जसको, खुल्ला आकाश नै बस्ने कुटी हो
दिनभरिको पसिना नै साँझको रोटी हो
जो आफैँ आफ्नो एक्लो साथी हो
जसका लागि पूर्णिमा पनि औँसीको राति हो

ओ हो, सोच्दा त कति गहिरो पो रहेछ
कस्तो मेरो जिउ सिरिङ्ग भएछ
खुसी तिनलाई छ जसले पसिना बेचेर महल ठडाए
अनि महल बाहिर पसिनाको मोल लेखे
समस्या तिनलाई छ
जसले पसिना पोखेर धुलो पाए
अनि त्यही धुलोको छायामा खिएका हड्डी देखे
हुन त, म सोची पो के गरूँ
दया, करुणा जगाई पो के गरूँ
दयाले पेट भरिँदैन
इज्जतले डर भाग्दैन
सम्मानले छत पाइँदैन
बास नदिने सम्मान चाहिँदैन

सक्नेले पसिनाको मोल देऊ
हुनेले ओछ्याउने निको खोल देऊ
बुझ्नेले कानुनी बाटो खोज
बोल्नेले सडकको बाटो रोज
लेखी बोल, देखी बोल, हुन सक्ने जति बोल
तिम्रो बोली, हाम्रो बन्छ, हाम्रो भए न्याय रहन्छ
यो सत्य चाहिँ नभुल ।