थोत्रिएको जीर्ण बाटाले
मलाई हेर्छ अनि
भन्छ ए मानव
मेरो उद्धार गर न
म त यी अविवेकीहरूको भारी
बोक्दाबोक्दा थाकिसकेँ ।

अलि पर पुग्छु
सुस्त मौन गतिमा
बगिरहेको पानीले कम्पित स्वरमा
मेरो नाम पुकार्छ
म उसको आवाज सुनिदिन्छु
उसले भन्छ अब त मेरो अस्तित्व नै
धरापमा परिसक्यो ।

यसो उता फर्किएर हेर्छु त
कोही भोकले छट्पटाइरहेको छ
उसले पनि मानवरूपी पिण्डलाई
आग्रह गरिरहेको छ मलाई अलिकति
दया गरिदिनुस् न ।

समयको भारी बोझले केही
लामो श्वास लिन्छु
र केही बेर नाङ्गो आकाशमुनि
प्रचण्ड घामको तापमा सुस्ताउँछु ।
समस्या मेरा पनि नभएका होइनन्
तर मेरा त म आफैँ पूरा गर्न सक्छु ।

यस्तै सोच्दासोच्दै कसैको
मुटु नै चिथोर्ने आवाज सुन्छु
लौन कसैले सहयोग गरिदिनुपर्‍यो
मेरो बच्चा हस्पिटलको बेडमा
छटपटाउन थालेको छ ।
उपचारका लागि रकम छैन
घर धितोमा राखूँ त्यो
भत्किन लागेको घर कसले किन्छ ?
यस्तै थाकेका आवाज सुन्दै
मनमा दुःखको ढ्याङ्ग्रो ठटाउँदै
घर फर्किन खोज्छु
यत्तिकैमा चर्को आवाजमा माइकिङ
सुन्छु अब कोही कसैले भोकले
मर्नुपर्दैन, रोगले सड्नुपर्दैन
घर–घरमा सेवा सुविधा उपलब्ध गराइनेछ
भेडाको समूह रहेछ बरर्र… ताली बज्छ ।

हुन त भेडो भ्या भ्या मात्रै गर्ने हो
भनी सरासर घर पुग्छु
फेरि देख्छु रित्तो भण्डार ।
कोरिरहेछ भण्डारले पनि
गरिबीको रूपरेखा ।
गोजी छाम्छु पाउँछु खाली
अनि जान्छु ङिच्च दाँत देखाउँदै
साहुजी अझै खातामा बाँकी
चढाउनुपर्ने भयो ।