मधुप्रसाद घिमिरे

यो समय खै कहाँ गइरहेछ
सत्यलाई पनि स्वीकार्न गाह्रो भइरहेछ
निभ्न लागेको दीप जस्तै
धिपिधिपि र अस्ताउन लागेको
रवि जस्तै मधुरो जस्तो लागिरहेछ
यो जिन्दगी मलाई
हावामा धूलोका कणहरू घुलमिल
भए जस्तै तिमी मेरो
जीवनमा घुलेकी थियौँ ।
आजभोलि लाग्दैछ त्यो त
एउटा तिम्रो धोका दिने
सङ्केत पो रहेछ ।
थिए तिमीमा केही आश र भरोसाहरू
एकै समयमा आइरहेछ एउटा
विशाल भुमरी ।
जसमा मेरा केही थान
अस्तित्वहरू उडाएर
कहिल्यै नभेटिने
कहिल्यै नदेखिने
क्षितिज पारी लगिरहेछ
र मलाई रिक्तो आश देखाइरहेछ
निकै सङ्घर्ष गर्दै छु म तिम्रो
समिपबाट टाढा रहनलाई
र पर्खिरहेछु तिमीले दिएको धोकालाई
बदला लिने उत्कृष्ट समय
भन्थ्यौ तिमीले आँखामा आँखा जुधाएर
तिमी म जस्तो कहिल्यै नबन है ।
हो म तिमी जस्तो कहिल्यै बन्न सकिनँ
तिमी जस्तो उत्कृष्ट बन्न पनि सकिनँ ।
हो म तिमी जस्तो कदापि बन्न सक्दिनँ ।

धुर्कोट, गुल्मी