रात फेरि बिस्तारै पृथ्वीमाथि ओर्लिरहेको छ
आकाशले आफ्नो नीलो उज्यालो समेटेर
कालो रेशमी चादर ओढिसकेको छ ।
सहरका भीडहरू निदाइसके
गल्लीहरू सुनसान छन्
झ्यालबाहिर बगिरहेको हावाले पनि
आफ्नो थकानलाई मौनतामा विसर्जन गरिसकेको छ ।

तर यी सबै निस्तब्धताभित्र पनि
मेरो मनमा एउटा आवाज जागिरहेको हुन्छ !
अत्यन्त मन्द
तर अत्यन्त गहिरो
त्यो आवाज तिम्रो हो ।
अनि त्यही क्षण
मलाई थाहै नदिई
मेरो कलम फेरि तिम्रै नामतिर बग्न थाल्छ ।
म धेरै बेरसम्म
खाली कागजलाई हेरिरहन्छु ।
शब्दहरू आउँछन्
तर तिमीलाई लेख्न खोज्नेबित्तिकै
ती सबै शब्दहरू
आफ्नो अर्थ गुमाएर मौन बन्छन् ।
किनकि तिमीलाई वर्णन गर्नु
कुनै साधारण प्रेमकथा लेख्नुजस्तो होइन ।
तिमीलाई लेख्नु भनेको
आफ्नो आत्माभित्र लुकेको
एउटा अधुरो ब्रह्माण्डलाई
धीरे–धीरे उजागर गर्नु हो ।
म सोचिरहन्छु

आज तिम्रो कुन रूपलाई शब्द दिऊँ ?
तिम्रो हातको त्यो न्यानोपन लेखूँ ?
जुन पहिलोपटक
मेरो चिसिएको अस्तित्वमाथि
घाम बनेर झरेको थियो ।
त्यो स्पर्श केवल स्पर्श थिएन
त्यो त थाकेको आत्माले
पहिलोपटक शरण पाएको अनुभूति थियो ।
तर डर लाग्छ
यदि त्यो न्यानोपन लेखेँ भने
कतै यो कागज
तिम्रो मायाको ताप सहन नसकेर
आगोझैँ जल्दैन कि !
अनि फेरि सोच्छु
तिम्रो मौनताको गहिराइ लेखूँ ?
त्यो मौनता
जहाँ शब्दहरू कहिल्यै बोलिएनन्
तर भावना भने
समुद्रको ज्वारभाटाजस्तै
निरन्तर उर्लिरहे ।

तर त्यो गहिराइ पनि
मापन गर्न सकिने कुनै दूरी होइन ।
त्यो त यस्तो अथाह आकाश हो
जहाँ एकपटक हराइसकेपछि
मानिस आफूलाई फर्काएर ल्याउन सक्दैन ।
म तिम्रा आँखाहरू सम्झिन्छु ।
ती गाजलु आँखाहरू
जसमा मैले
आफ्नो सम्पूर्ण अस्तित्वलाई
बिस्तारै विलीन हुँदै गएको देखेको थिएँ ।
त्यहाँ म कति पटक हराएँ
त्यसको हिसाब अब मसँग छैन ।

तर यति अवश्य थाहा छ
एकदिन त्यसरी हराइसकेपछि
फर्किने इच्छासमेत
मेरो भित्र शान्त मृत्युझैँ मरेर गयो ।
अनि फेरि
तिम्रो त्यो मन्द मुस्कान सम्झिन्छु ।
त्यो मुस्कान
जुन कुनै अनुहारको सजावट मात्र थिएन
बरु मेरो उजाडिएको मनको बगरमा
अचानक उम्रिएको वसन्त थियो ।
तिम्रो लजालु हेराइ त झन्
असारको पहिलो वर्षाजस्तै थियो
अचानक आउने
तर सम्पूर्ण भित्रलाई भिजाइदिने ।
त्यसले मेरो मनमा
वर्षौंदेखि डढिरहेको पीडामाथि
शीतलता ओतिदिएको थियो ।

सायद त्यसैले
आज पनि म प्रेमलाई शब्दमा होइन
तिम्रो मौनतामा खोज्छु ।
किनकि संसारका धेरै प्रेमहरू
ओठबाट सुरु भएर
समयसँगै समाप्त हुन्छन् ।
तर तिमी
तिमी त मेरो आत्माभित्र
मौन भएर पनि
अनन्तसम्म बोलिरहने अनुभूति हौ ।
आज फेरि
यो सादा कागजको अगाडि बसेर
म अन्तिम निर्णयको सङ्घारमा उभिएको छु ।
के तिम्रो तस्बिरलाई
यी हरफहरूमा सजाएर अमर बनाइदिऊँ ?
कि यो अधुरो कविता च्यातेर
हावासँगै उडाइदिऊँ
जसरी मानिसहरूले
आफ्ना अधुरा सपनाहरू बिर्सिदिन्छन् ?

तर सक्दिनँ
किनकि तिमीलाई बिर्सनु भनेको
आफ्नै सासलाई बिर्सनुजस्तै हो ।
त्यसैले अब
म तिम्रो स्पर्शको न्यानो घाम
र मौनताको नीलो आकाशलाई
एउटै हरफमा मिसाइदिन्छु ।
अनि त्यही हरफबाट
एउटा नयाँ ऋतु जन्मिनेछ
जहाँ प्रेम शब्दभन्दा गहिरो हुनेछ
मौनता सङ्गीतभन्दा मधुर हुनेछ
र भावनाहरू
कविको अन्तिम सासझैँ
समयभन्दा धेरै परसम्म
बाँचिरहनेछन् ।