मङ्सिरको चिसो सिरेटोमा बिहानको झुल्के घाम
घट्टेकुलोका साँघुरा गल्लीहरूमा
नयाँ सूर्य उचालिनै बाँकी
हुँदै थियो
तर एक युवतीको जीवन
पहिले नै झर्न थालिसकेको थियो
जुवाको अँध्यारो खाडलमा ।
कहानी जस्तो लाग्दैन
यो त रक्तिम अक्षरहरूले लेखिएको सत्य कथा हो ।
एक छात्रा
जसका सपनाहरू पाइलट भएर
आकाशसँग संवाद लेख्थे
त्यही आकाश
एक क्रूर हातले काटिदियो
र पूर्व, पश्चिम, उत्तर, दक्षिण गरी चारै दिशा फालियो ।
कफीको कपमा लुकेको मृत्यु
र रडको अँध्यारो प्रहार
यी दृश्यहरू कुनै उपन्यासका
दुष्ट पात्रका कल्पना होइनन्
समाजका भित्री लुकेका अपराधी छाया हुन् ।
जुन घटनाले पूरै देश हल्लायो ! समाचार पनि पूरै सुन्न नसकेर थरथर काँप्दै कान थुने
कस्तो विडम्बना !
मानिस जन्मिन्छ
स्वतन्त्रता र विवेकको ज्योति लिएर
तर तिनै ज्योतिहरू
लोभ, लालच र कुलतको हावाले
बुझाइदिन्छ ।
जीवन र मृत्यु
सधैँ आफ्नो नियममा चल्छन्
तर जब अपराधीहरू सर्सराउँछन्
जुवाको चिप चलाउने हातहरू खाली भएपछि
हत्या, अपराध, फिरौती र अपहरणका खेल खेल्न थाल्छन् र फैसला पनि हतारमा गर्छन्
युवा युवतीहरूको सेटिङमा झुक्काएर बोलाइन्छ र फसाइन्छ
त्यो दर्शन होइन
अपराध र अधर्मको सर्वाधिक विकृति हो ।
वेद, उपनिषद्, गीता
सबै भन्छन्
“अहिंसा परमो धर्मः।”
तर एउटा मन
अहङ्कार, लालच र मोहले
अन्धो बन्दा
धर्मको वचन बिर्सिन्थ्यो ।
जुन घरमा
ख्यातिलाई ‘छोरी’ जस्तै
भनेको आवाज सुन्थ्यो
त्यही हातले
अपराधको मार्ग टेकेर
यमको ढोका खोलिदियो ।
अन्तत
न्यायाधीशको उच्चारण
‘सर्वस्वसहित जन्मकैद’
कर्मको प्रतिफल सिद्धान्तकै
नयाँ व्याख्या बन्यो
धर्मले दण्ड छैन भन्दैन
तर न्यायबिना
धर्म अपूर्ण रहन्छ ।
समाज सोधिरहन्छ
कहाँबाट सुरु हुन्छ
यस्तो क्रूरता ?
कसरी
एक परिचित अनुहार
हत्यारा बन्छ ?
मदिरा, क्यासिनो, अनि क्लब
लगातार हार, अनि
पैसाको छटपटी
यिनले एउटा मान्छेको
मस्तिष्क भताभुङ्ग बनाएर
समाजकै अनुहारमा
कालो रेखा कोरिदिन्छ।
नेपालको इतिहासमा
धेरै अपराधका पानाहरूले
धब्बिएको छ
तर ‘जुवाको कुलतले
लिएको ज्यान’
सधैँ इतिहासको
सबैभन्दा कालो अक्षर हो ।
राजदरबारको गल्लीदेखि टोलसम्म
जुवाले
कहिल्यै सुख दिएको छैन
न राजा बचे
न रैती
कुलत एकै हो
विनाश पनि एकै ।
राज्यको दायित्व
नागरिकको सुरक्षामा
लोभ, अपराध र
कुलतका जाल तोड्नु ।
तर राज्य धेरैपटक
दुई कदम ढिलो पुग्छ
जबकि अपराधी
सयौँ कदम अघि ।
न्यायाधीशको फैसला
सिर्फ दण्ड मात्र होइन
राज्यको घोषणा पनि हो
“कसैको जीवन
कसैको जुवाको दाउ
बन्न पाउन्न ।”
हाम्रा आँगनमा
आमा–बुबा भन्छन्
“जुवा खेल्ने घर
एकदिन उजाडिन्छ।”
ख्यातिको कथा
यही लोकवादको
खोलिएको सत्य हो ।
गाउँ होस् या शहर
सबै भन्छन्
जुवाडेको हात
कहिल्यै कोरा हुँदैन
कहाँ त उसको हात
रगतले भिज्न पनि सक्छ ।
लोकदृष्टिले
यस अपराधले
एक युवती मात्र होइन
एक समुदायको भरोसा
एक परिवारको भविष्य
एक समाजको नैतिक मेरुदण्ड
टुक्राएको छ ।
अन्त्य, शिला
ख्यातिको आत्मा
आज पनि आकाशसँग भन्छ
“मेरो हत्या
एक मान्छेले गरेन
एक कुलतले गर्यो ।”
र इतिहास
यो घाउको लेखाजोखा राखिरहन्छ
जुवाको दाउमा
जुन जीवन हारियो
त्यसका प्रत्येक आँसु
न्यायका पानामा
अक्षर भएर बगिरहन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










