भक्तपुरको कटुन्जेमा जन्मनु भएको शेखर ढुंगेल कवि तथा साहित्यकार हुनुहुन्छ । उहाँको अहिलेसम्म ‘शेखरका सय कविता’ कवितासंग्रह, ‘क्षितिजपारीका सपना र जात’ कथासंग्रह, ‘माटोको सुगन्ध’ गीतिसंग्रह, ‘LIFE  IS BEAUTIFUL JOURNEY  OF STRUGGLE’  नियात्रासंग्रह, ‘कहाँ छ मेरो देश’ नियात्रासंग्रह, परिवर्तनका लागि विवेकशीलता (NORMS  OF STRONG CIVIC SENSE ) उत्प्रेरक लेखसंग्रह प्रकाशित छन् । अहिले उहाँ ‘नेपाल भारत धार्मिक  यात्रा’ संस्मरणको तयारीमा हुनुहुन्छ । हाल उहाँ अमेरिकाको न्यु ह्याम्सरमा हुनुहुन्छ ।

प्रस्तुत छ, कवि तथा साहित्यकार शेखर ढुंगेलसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

अनेसासको आजीवन सदस्य पनि हुनुहुन्छ र अनेसासलाई बाहिर बसेर भरपुर सहयोग गर्नु भएको छ ! तपाईं व्यस्त हुनुहुन्छ ! यस्तो घडीमा अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कत्तिको मन जान्छ ?

– जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै कुनै विषयमा चासो वा लगाव राख्यो भने समय जसरी पनि निस्कँदो रहेछ । अध्ययन जीवनको अभिन्न पक्ष नै भयो । कहिले नसकिने रहेछ । लेखन र पुस्तक प्रकाशन सोख भयो त्यो सोख पूरा गर्न  अभ्यस्त हुने नै  भइयो ।  काम व्यस्तताले गर्दा तयार भएका केही सिर्जनाको प्रकाशन गर्न ढिला हुँदै गएको छ ।

साहित्य, जीवन–दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ? जीवन के हो ?

– गहन प्रश्न ! किन मानव रुख, पन्छी जनावर, मान्छे, सर्पलाई पूजा गर्छन् ? मानव जीवन र हावा, पानी, अन्न, सूर्यताप, आकाश, जमिन, ग्रह, नक्षत्रसँग के सम्बन्ध छ ? किन सबै मानिसको आवाज एकै छैन ? सोच एकै छैन ? अनुहार एकै छैन ? सृष्टिकर्ताले  पन्छीको, जनावरहरूको आवाज एकै बनाए । हामीले सबै बाघको आवाज उस्तै उस्तै आवाज सुन्छौं । त्यस्तै गाईको पनि कौवाको पनि । तर मानिसको फरक किन बनाइयो ? के हो ३३ कोटी (प्रकारका)देवता भनेको ? यी सबै तत्त्वहरूको सृष्टिकर्ताले के उद्देश्यले सिर्जना गरे ? मानवजीवन, पशुपंक्षी, जीवजन्तु, रुख बिरुवाको सिर्जना र सम्बन्धको बारेमा  र त्यसको महत्त्व बुझ्न धेरै अध्ययन गर्नु पर्ने हुन्छ ।

मानव जीवन आत्मा र प्रकृति एक अर्काका पूरक हुन् । साहित्य जीवनमा भोगेको-देखेको, अनुभूति गरेको, चेतले  प्रेरित गरेको सोख र पक्ष भन्ने ठान्दछु ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– यी विषय राष्ट्र वा समाजलाई गरिने योगदानको पक्ष भयो । अर्को शब्दमा चर्चा कमाउने वा परिचय दिलाउने माध्यम मात्र हो । मानिसको उचाइ  यस्तो योगदानसँगै इमानदारिता, मानवीयता, नैतिकता, करुणा, प्रेमिल व्यवहार र अनुकरणीय जीवनशैली पनि अनिवार्य हुनु पर्छ ।

तपाईंका कविता बेजोड छन् हो ? कविता राम्रो लेख्न के गर्नु पर्छ ?

– हेहेहेहे त्यस्तो केही छैन मेरो कवितामा । अलि विद्रोही चेतको मात्र हो । त्यो पनि चर्चामा कहाँ छ र ? अब प्रकाशन हुने कविसंग्रहको नाम भने विद्रोही राख्दै छु । कस्तो कवितालाई राम्रो भन्ने हो ? कवितालाई रङ्ग र रूपमा लियौँ भने भन्न सकिन्छ – कोहीलाई रातो मन पर्छ, कोहीलाई सेतो, कोहीलाई कालो । जस्तै कोहीलाई आक्रोश मन पर्छ, कोहीलाई प्रेम, कोहीलाई प्रकृतिमा लेखिएका कविता मन पर्छ । मेरो बुझाइमा कविता कुण्ठाविहीन हुनु पर्छ । सोचको दायरा विशाल हुनु पर्छ । त्यो चाहे प्रेमको होस्, चाहे प्रकृति होस्, चाहे राष्ट्रभक्तिको होस्, चाहे सामाजिक परिवेशको होस् । फरक पाठकले फरक तरिकाले मूल्याङ्कन गर्ने गर्छन् ।

तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ? तपाईं किन लेख्नु हुन्छ ?

– प्रेरणा मेरो अध्ययन र भोगाइ हो । भोगाइको अनुभूतिलाई सार्वजनिक गर्न लेख्ने गर्छु ।

खाली समय कसरी बिताउनु हुन्छ ?

– प्रवासमा खाली समय भाग्यमा कहाँ लेखेको हुन्छ र ? त्यसमाथि पनि सामाजिक सञ्जालको लतले लागु औषधको दुर्व्यवसी जस्तो पो बनाइ दियो ।

अनेसासलाई कस्तो संस्था भएको देख्न चाहनु हुन्छ ?

– विशुद्ध भाषा-साहित्य संस्था । साझा संस्थाको । यो संस्था भाषा र साहित्य सेवा भन्दा बाहिर पुगेर विवादित नहोस् भन्ने कामना गर्दछु ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ?

– मानवीयता, सामाजिक, प्राकृतिक र  मानसिक ऊर्जा उत्प्रेरणा  दिने साहित्य लेखन मन पर्छ ।

साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– नेपाल र नेपाली समाजको सन्दर्भमा भन्नु पर्दा साहित्य सेवाबाट आधुनिक समाजको न्यून स्तरको जीवन पनि बाँच्न कठिन हुन्छ । के गर्नु पर्छ भन्ने खास जवाफ पनि हुँदैन । किनभने साहित्य, विज्ञान, संगीत मार्फत बाँच्न त्यो समाज र देशको आर्थिक सम्पन्नता अनिवार्य हुन्छ । दोस्रो महत्त्वपूर्ण कुरा साहित्य पनि बेचेर बाँच्ने कुरो हो त्यसको बजार सानो छ, माग कम छ, त्यसमा पनि वास्तविक साहित्यिक साधकहरू उल्टो पछाडि धकेलिँदै छन् घोस्टलेखन प्रवृत्तिले । भन्नु पर्दा आर्थिक सम्पन्नता बजार र चेतनाशील समाजको अभावमा विशुद्ध साहित्यलाई पेशा बनाएर हाम्रो जस्तो समाजमा बाँच्न कठिन छ ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?

– विगत ३० वर्षको राजनैतिक वातावरण हेर्दा म मात्र होइन स्वयम् नेताहरूले नै सन्तोषको श्वास फेरिरहेका छैनन् । विश्वमा हुने हरेक परिवर्तन पछि व्यवस्था तथा सोच परिवर्तन हुन्छ । तर विडम्बना ! हाम्रो देशको राजनीति उल्टो बाटो हिंडिरहेको छ । राष्ट्रको स्वतन्त्र स्वाधीन अस्तित्वको सुरक्षा नै मुख्य चुनौती रहेको पीडादायी अवस्थामा पुगेको छ नेपाल ।

पुरस्कार, सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपाल र अनेसासमा ?

– केही अपवाद बाहेक, लेनदेन गर्ने तरिका “बार्टर  सिस्टम” जस्तै भइरहेको पाउँछु । कसले के लेख्यो होइन । हाम्रो स्वार्थको अनुकूलताको हो-होइन हेरिने गरिन्छ । समालोचना पनि ठिक त्यस्तै अपवाद बाहेक व्यावसायिक मनोविज्ञान तर्फ प्रेरित भएको छ यसो भन्दा अन्यथा नहोला ।

के अनेसासका साथीहरू मिलेर आफ्नै शेयरमा आफ्नै पब्लिकेसन, आफ्नै अनलाइनबाट साहित्यको सबै काम आफैंले गर्न मिल्दैन र ?

– धेरै राम्रो विचार ! यो टिम वर्क हो र गर्नु नै पर्ने काम हो । अनेसास स्थापनाको उद्देश्य मध्य एक यो पनि हो । अनेसास प्रकाशन गृह, सम्पादन विज्ञ समूह, बजार वितरक समूह, एकै छातामुनि राख्नु पर्छ । त्यसो भयो भने अनेसासका सम्पूर्ण सदस्यहरूको कृति प्रकाशन गर्न अन्यत्र धाउनु पर्दैन । प्रवासीहरूको लागि सहायक हुन्छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईको धारणा के छ ?

– पहिले त म नेपाल र नेपाली डायास्पोरिक होइनन् भन्दै आएको छु । हामीले यो डायास्पोरिक उच्चारण रोक्नु पर्छ । प्रवासी नेपालीको जन्मभूमि नेपाल अहिलेसम्म सुरक्षित छ । त्यसैले हामी डायास्पोरिक होइनौं । त्यसैले साहित्य विशुद्ध प्रवासी भावनामा भएको छ । प्रवासी नेपालीको साहित्य सिर्जना योगदान अहिले नेपालको सन्दर्भमा सशक्त र ऊर्जामय रहेको छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य र लेखनाथ पौडेल पछिको कविता लेखनलाई कसरी हेर्नु भएको छ ?

– व्यङ्ग्य र साहित्यिक सिर्जना समय साक्षेप सामाजिक अवस्थामा हुने हुन् । त्यसैले हिजो आज र भोलिका व्यङ्ग्य र साहित्यका स्रोत र प्रेरणा पनि सामाजिक परिवेश नै हुन् । आआफ्नै समयका विशिष्टता हुन्छन् । तर वर्तमानको व्यङ्ग्य विधा/कलामा कुण्ठा व्यक्तिको शारीरिक कमजोरी उसको अवस्थालाई प्राथमिकतामा राख्ने जुन प्रवृत्ति छ त्यो रोकिनु पर्छ भन्ने मान्यता राख्छु ।

भनिन्छ ‘साहित्यले मानिसलाई आनन्दित बनाउँछ’ यो कसरी ?

– यो एउटा प्रसव वेदना पछिको सन्तान प्राप्ति जस्तै त हो । समय र मानसिक ऊर्जा खर्च गरेपछि हुने प्रकाशनले आनन्दित त पार्ने नै भयो । तर आनन्दको सम्पूर्णता भने साहित्य मात्र होइन है ।

अचेल नेपाली भाषा बिस्तारै लोप हुँदै छ ! भन्ने सुनिन्छ । नेपाली भाषा र नेपाली साहित्य पढ्ने सङ्ख्या बढाउन के गर्नु पर्ला ?

– भाषा त कसरी लोप होला र ? देश नै विलय भए पनि भाषा त जिउँदो रहन्छ । भाषा – समूह र देशको पहिचानको मुख्य स्रोत वा आधार हो । विश्वभर छरिएका नेपालीहरूले भाषासँगै बोकेर हिंडेका छन्, हो नेपालमा  भाषा-साहित्य-संस्कृति माथि सङ्क्रमण भने बढेको छ । अनेसासका चेतनशील सदस्यहरूले यसको विरुद्ध अनुकरणीय योगदान दिनु पर्ने अवस्था छ

अहिले अनेसासको चुनाव नजिकिंदैछ, अनेसासलाई कस्तो नेतृत्वको खाँचो देख्नु हुन्छ ?

– यो विशुद्ध साहित्यिक सेवा गर्ने प्रतिष्ठान हो । त्यसैले भाषा-साहित्य-संस्कृति बुझेको,  विशुद्ध साहित्यिक व्यक्तित्व भएको, प्रतिष्ठानको उद्देश्यअनुरूप प्रतिबद्ध विवादरहित नेतृत्वको खाँचो देख्छु ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– अनेसास साहित्यिक प्रतिष्ठान प्राज्ञिक स्तरको रहोस् । व्यक्तिगत कुण्ठा र अमुक समूह वा मनोविज्ञान अनुकूल बन्ने-बनाउने  खेल भन्दा माथि उठेको प्रतिष्ठित प्रतिष्ठान बन्न सकोस् । हाम्रो साहित्य चिन्तनले राष्ट्रको माटो छोएको होस्, त्यहाँको पानी पिएको होस्, त्यहीको हावाको सुवास मगमगाई रहोस् ।

धन्यवाद !