काठमाडौं । नेपाली साहित्य, संगीत तथा सिर्जनात्मक क्षेत्रका बहुआयामिक स्रष्टा डा. डीआर उपाध्यायको नवीन कवितासंग्रह ‘अन्तस्करण’ राजधानीमा एक समारोहबीच लोकार्पण गरिएको छ ।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रम साहित्यिक पत्रकारसंघ र मिलाप मासिकको संयुक्त आयोजनामा भएको हो । समारोहमा साहित्यकार राधेश्याम लेकालीको सभापतित्व तथा सांसद राजिव खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सामूहिक रूपमा लोकार्पण गरिएको कृतिबारे बोल्दै वक्ताहरूले ‘अन्तस्करण’ लाई समकालीन नेपाली समाजको भावनात्मक दस्तावेजका रूपमा व्याख्या गर्नुभएकाे थियाे ।
उनीहरूको भनाइअनुसार, कृतिमा समयको बेचैनी, मानवीय सम्बन्धको जटिलता, सामाजिक यथार्थ, प्रेम, संघर्ष र आशाका विविध आयामहरूलाई संवेदनशील ढंगले अभिव्यक्त गरिएको छ । प्रमुख अतिथि खत्रीले डा. उपाध्यायको लेखनलाई “मानवीय चेतनाको गहिरो अभिव्यक्ति” भन्दै प्रशंसा गर्नुभयाे ।
समारोहमा कविद्वय सुमन थापा संगम र शोभा अधिकारीले कृतिबाट कविता वाचन गर्नुभएकाे थियाे । साथै, कृतिको भूमिका लेखक प्रा. पुरुषोत्तम दाहाल, काव्यकार खेमनाथ दाहाल तथा स्रष्टा डा. उपाध्यायलाई विशेष सम्मान गरिएको थियो ।
आफ्नो मन्तव्यमा डा. उपाध्यायले ‘अन्तस्करण’ आफ्ना जीवनका अनुभूति, भोगाइ र समाजप्रतिको संवेदनशील दृष्टिको अभिव्यक्ति भएको बताउनुभयाे । उहाँले साहित्यलाई मानिसलाई मानवीय बनाउने सशक्त माध्यमका रूपमा व्याख्या गर्नुभयाे ।
मिलाप पब्लिकेशनद्वारा प्रकाशित २ सय ९९ पृष्ठको यस संग्रहमा ७९ वटा कविता समावेश छन् । कार्यक्रममा सहभागीहरूले उक्त कृतिले नेपाली साहित्यमा नयाँ चेतना र बहसको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




