०२/०२/२२२२ मिति लेख्नलाई
आजको कुनै पनि मान्छे
बाँचिरहने छैन ।

के बाँचिरहने होला धानका लागि
एक चिम्टी माटो ?
किनभने हाम्रा दसै औँलाहरूमा
हरेक दिन हुँदै छ प्लास्टिकको खेती।

औँलाको थिचाइमा यदि पृथ्वी सल्किन्छ भने
आइन्सटाइनको धनुकाँडलाई
तबसम्म धेरै समय बाँकी रहनेछ ।

रहनेहरूले त्यो दिन बिहानको पाठमा
कुन भाषामा अभिनव मिति लेख्लान् !
मेटाभर्सको प्रेम र निवेदन
कृत्रिम बुद्धिमत्ताको ।

के पुरुषतन्त्रले रट्छ होला नारीवादको पाठ ?
वैषम्य र समानताको एक फाँटमा ‘सान्छे’
अर्को फाँटमा ‘मान्छे’।
किनभने यौनिकता प्राकृतिक हो
एक बाटोमा जन्तु, मानवभन्दा
एउटा फड्को माथि छ
क्षणमै रोबोटले लिङ्ग परिवर्तन गर्छ ।

रहनेछ होला के
छातीबाट उछिट्टिएर अज्ञात कक्ष लिने सुन्दर चन्द्रमा ?
क्रमिक विकासको इतिहास लेख्नेहरूले
के भन्न सक्छन् होला
होमो सेपियन्सपछि को हुनेछ ?

हाम्रा कविताका हड्डीमा उम्रनका लागि
रहनेछ होला र
कुनै प्रेमिकाको आँगनमा दुई त्यान्द्रा दुबो ?

कहालीलाग्दो सपना सुनाएर डर बाँड्नलाई
रहनेछ होला र
गाउँको शिरमा कुनै तर्साउने बटवृक्ष ?

बूढो रूखको औँठीले समाइराख्छ इतिहास
यदि हामीले रूखहरूलाई बाँच्न दियौँ भने।

सन्तान नभएपछि पनि माटोमा गाडेर राखौँ
दसवटा सन्तान (रूख)।

 

मूल असमिया: राजीव बरा
अनुवाद: डा. देवेन सापकोटा