निकै बेर पहाडी बाटो बस गुडाएपछि मलाई भित्रबाट ओरालियो । बल्ल माटो टेक्ने मौका पाएँ । त्यसपछि मसिने दाइ अघि-अघि म पछि-पछि । उनको देब्रे हातमा मलाई बाँधेको दाम्लो थियो अनि दाहिने हातमा हरियो घाँसको मुठो । घरिघरि उनले त्यो घाँस खुवाउँदै मलाई बाटाको उँभो चढाउँदै लैजान्थे भने घरिघरि रसीले तान्ने गर्थे । उनी साथमा हुँदा म ढुक्क थिएँ । बालक अवस्थादेखि नै मलाई उनले हुर्काएका हुन् । अरू त के, सानामा आमालाई गुमाउनुपर्दा उनैले बटलमा दूध भराएर मलाई खुवाएका हुन् ।
हामीले क्रमशः माटो टेक्न छाडी भुईँमा बिछाएका ध्वाँसे ढुङ्गामाथि टेक्न लाग्यौँ । त्यसपछि सिँढीजस्ता सजाइएका ढुङ्गामा टुकुरटुकुर चढ्दै उँभो लाग्यौँ । बाटाका दुवैपट्टि आऊजाऊ गर्ने दुईखुट्टे बटुवाको भिड थियो । तिनीहरूले हातमा फूल, केरा र मिठाइका प्रसाद बोकेका देखिए । मानिसले बोलेको कोलाहल बढ्दै थियो । टाडाबाट हावामा बगिआएका टङटङ घण्टीका शब्द र प्रतिध्वनि पनि उत्तिकै क्रमबद्ध भए ।
केही बेर ओकालो ओरालो लागेपछि हामी एउटा सानो साँघुमाथिबाट हिँड्दै थियौँ । केही तल खिरिलो खोल्सो आफ्नै गतिमा बगिरहेको थियो । साँघु कटिसकेपछि हामी ढुङ्गा बिछाएको सम्म सफा मैदानभित्र पस्यौँ । मानिसको चहलपहल अझ बढ्दै थियो । यिनीहरूले यसलाई मन्दिर भन्दा रहेछन् । परेवाहरू माकमाकुर गरेर कोही मन्दिरमाथि उड्ने, कोही भुईँमा बसी घुर्ने, कोही मानिसले हुत्याएका चामल खाने गरिरहेका थिए । जताततै मानिसको चहलपहल थियो । कता-कता मजस्तै चारखुट्टे बाख्रा पनि देखिए तर ती सब मेरी आमाजस्ता ठुली लागे । एउटीचाहिँ हाँप-र-झाँप गरी मतिरै आएजस्तो देखेँ ।
हिँड्दा तिनको स्फीत फाँचाको टुप्पाले भुईँलाई छुँ छुँ गर्दै कहिले दायाँ कहिले बायाँ पेटमा मृदु हिर्काउँदै थियो । तिनले छेउमा आएर मलाई खुसुक्क कानमै भनिन् “ए कालु नानी, आज तिम्रो पालो रहेछ । अलिक होसियार रहनू है ।”
“के को पालो?” मैले सोधेँ ।
“ए बबुरालाई थाहै रैनछ! तिमीलाई दक्षिणकाली मातालाई चढाइएको छ । आज तिम्रो पूजा गरिन्छ, त्यसपछि प्रसाद बनाइन्छ ।”
यति भनेर उनी गइहालिन् । मैले सोचेँ मलाई मन्दिरमा चढाइएको छ भने त खुसीमात्र होइन गौरवको पनि कुरो हो तर तिनको अनुहार किन मलिन थियो? बादल छाएको जस्तो ? मलाई किन होसियार बस्नू भनेकी? मैले केही बुझिनँ । म दाइको पछि-पछि लुखुरलुखुर हिँड्दै थिएँ ।
विपरीत दिशाबाट निधारमा रातो टिको लगाएका, फूलमाला भिरेका, टपरीभित्र केही प्रसाद बोकी एक जना मानिस छेउमा आइपुगे । उनको माला भुईँमा लत्रिएको रहेछ । यत्रोबेर पैदल हिँडेर भोक, प्यास र थकानले म चूर भएको थिएँ । मुखैमा आएको खाने कुरो देखेर मेरो भोक उर्लिएर आयो । मैले आफूलाई रोक्न सकिनँ । जिभ्रो लप्काएर मुखभित्र हालिहालेँ । ती आगन्तुकले मलाई एक्कासि झम्टिए । के-के जाति बरबराउँदै मेरो मुखबाट त्यो फूल चुँडेर निकालिछाडे । अनि रिसले आगो भएर मेरो टाउकैमा कस्सेर मुक्का हाने । प्रहार मेरो दाहिने आँखामाथि नै बज्रियो । आँखो झिलिक्क गऱ्यो । म रन्थनिएछु । कस्सो लडिनँ । यसपछि उनले आवेशमा आएर खुट्टो उचाले । मलाई भकुर्ने थिए होला तर कस्सो मसिने दाइले जोगाए । उनले हत्त-न-पत्त ठेल्दै र घँचेट्दै मलाई अघि सारे । म पनि ठुलो सास फेरेर उम्किएँ । त्यति बेला मेरो ओठमुख सुकिसकेको थियो ।
जति-जति मलाई अघि बढाउँदै लगियो उति-उति मानिसहरूको भिड बढेको देखेँ । प्राय: सबैले नै हातमा फूल, अक्षता, अगरबत्ती, माटाको पालो आदि बोकेका देखिए । दाइले मलाई घिसार्दै र ठेल्दै एउटा सानो कटेरो जस्तोमा पुऱ्याए । त्यसको भुईँ सिमेन्टले पोतेको, चिल्लो सफा रहेछ । भित्र ढिकीका खाँबाजस्ता पुराना काठले बनेका दुइटा संरचना खडा रहेछन्, बिचमा आग्लो हालेको । मलाई साथमा लिएर मसिने दाइ केही टाडा उभिए । उनका अघि मजस्तै बोका र परेवा लिएर मानिसहरू लाममा खडा थिए । खाँबाका पल्लापट्टि मुठे जुङ्गा मुसार्दै एक जना स्थूलकाय गाँठिला मानिस देखिए । तिनको शरीरको माथिल्लो भागमा वस्त्र थिएन । निधारको बिचमा ठाडो रातो टिको टल्किरहेको थियो । गलाभरि किसिम-किसिमका माला थिए । दाहिने नाडी रङ्गीन धागाले बेरिएको थियो । दुवै हातका औँलामा विभिन्न खाले औँठी टल्किरहेका थिए । तिनको हातको धारिलो खड्ग हावामा टलकटलक नाचिरहेको थियो । यत्तिकैमा मसिने दाइको पकेटबाट टिङटिङ ध्वनि बाहिरियो । उनको मोबाइल बजेको रहेछ । यसलाई कानमा टँसाई ‘हल्लो’ ‘हल्लो’ भन्न लागे । एकछिन उताको कुरो कान थापेर सुनेपछि भट्याउन लागेँ..”हल्लो म अहिले बलि चढाउने ठाउँमा आइपुगेँ । यति बेला लाइनमै खडा छु । चार नम्बरमा पालो छ । सबै ठिकै छ । बिचरा बोकाले के अप्ठ्यारो पार्नु? सानैदेखि मेरै हातमा हुर्किएको बबुरो, सोझो प्राणी । अँ, बलि चढाएपछि भोग लिएर सोझै घर फर्कन्छु । अहिलेलाई राखेँ… ।”
लाइनको शिरमा रहेको मानिसले साथमा ल्याएको बोकोअघि सारिदिए । त्यो भुस्तिघ्रे मानिसले बोकाको सिङमा समायो र घिसार्दै दुई खाँबाबिचको ठाउँमा पसायो र आग्लो लगायो तर बोकोचाहिँ अघि नै सर्न मानेको थिएन । ‘म्या..’ ‘म्या..’ गरी बिलौना गाइरहेको थियो । जबरजस्ती कँज्याइयो । त्यो अतिकायले भुईँमा राखेको थालबाट सिन्दूर निकालेर बोकाको निधारमा लगाइदियो, केही फूल पानी छर्किदियो र मुखले के-के जाति भट्यायो । त्यसपछि भुईँमा राखेको खड्ग उझ्यायो अनि ‘जय दक्षिण काली माई’ भन्दै खसीको गर्धनमा घ्याप्प हान्यो ।
निमेषमै टाउको नभएको बोको भर्याकभर्याक गर्दै शिरच्छेदन स्थानबाट भित्रपट्टि लड्यो । बाहिरपट्टि लडेको टाउकाले भने केही क्षणसम्म प्याकप्याक भएपछि अडियो । निन्याउरा आँखाले हेरेको हेऱ्यै भयो । भुईँमा रगतको भल बग्न लाग्यो । रगतका केही छिटाहरूले त्यो हत्याराको निम्नांशलाई सिँगारेको थियो । म वाकवरुद्ध भएँ । शरीर थरर्र काम्न लाग्यो । भित्रबाट अनौठो प्रकारको चिसो पलाएर आयो । मृत्युको विभीषिका चारैपट्टि ताण्डव गरेर नाचिरहेको देखेँ- कहिले हत्याकारीको खड्गमा त कहिले उसको गाजले राता आँखामा त कहिले माटामा बगेको रगतमा । ‘अब के होला’को पीडाले मलाई भित्रभित्रै खङ्ग्रङ्ग पार्दै आयो । त्यसपछि मैले केही देखिनँ । आँखा झ्याप्प भए । परिस्थितिलाई सम्हाल्न मुन्टो बाहिरतिर बङ्ग्याएँ ।
त्यता मान्छेको भिड रहेछ । परेवाहरूले माटामा झरेका चामललाई टिप्दै थिए । एउटा चाहिँ मेरो छेवैमा रहेछ । उसले मेरो मनःस्थिति बुझेछ क्यार । बिस्तारै बोल्यो “काले दाइ, अब सावधान बस है?”
मनको उत्सुकतालाई थाम्न नसकी सोधेँ..
“के मलाई हत्या गर्न ल्याइएको हो?”
“हत्या गर्न होइन, बलि चढाउन । हत्या भनेको अनाहकमा मार्नु हो, बलि भनेको चाहिँ कसैको भलोको लागि मार्नु हो ।”
“तर मलाई नै थाहा छैन, म कसको भलो गर्न बलि चढ्दै छु ।”
मलाई यसरी यत्रो बाटो ल्याएको कारण त बल्ल बुझेँ । ममाथि यसरी छल गरिएको रहेछ! सानैदेखि जसले मलाई खुवाए, प्याए, हुर्काए तिनले नै मलाई मार्न यहाँसम्म ल्याएका ! यो कत्रो विश्वासघात! फेरि कसका लागि मलाई बलि चढाउन ल्याइएको हो त्यो पनि बुझिएन । केही क्षणअघि ती बाख्री आमाले ‘तिमीलाई चढाइएको छ’ भनेको अर्थ त बल्ल निकालेँ ।
“जब पनि कुनै मानिसको जीवनमा जन्ममृत्युको सङ्कट आइपर्छ त्यति बेला दक्षिणकाली माईलाई बिन्ती गरेर भाकल गर्छन् ‘हे माता, यसपल्टलाई सङ्कट मोचन गरिदेऊ, म तिमीलाई कालो बोको चढाउँला ।’” त्यसैले तिमीलाई यहाँ ल्याउनुको विनिमयमा कसैको जीवन बाँचेको हुनुपर्छ ।”
मैले बिचैमा बोलेँ.. .”यो कस्तो एकतर्फी जम्झौता रहेछ एउटा प्राणीको जीवनको साटोपाटोमा अर्को प्राणीको हत्या गर्नु? कसले राखेको होला यो नियम? के मेरो मृत्युमा दक्षिणकाली माई सन्तुष्ट हुन्छिन् अरे? कहाँ छिन् ति माई ?”
“उनी त्यो मन्दिरभित्रै छिन् ।”
“त्यसो भए तिमी उडिगएर तिनलाई एकपल्ट भए पनि यहाँ आइदिनलाई मेरो बिन्ती सुनाइदेऊ न ।”
“उनी यहाँ आउन सक्दिनन् ।”
“उसो भए तिमी सोधेरै मात्र आइदेऊ न त.. मेरो मृत्यु उनले खोजेकी अरे? तर मैली जान्दा यी माताहरूलाई सारा प्राणीको अमङ्गल हर्ता भन्ने गर्छन् त । यस्तो परिस्थितिमा यी माताले प्राणीको हत्या कसरी खोजेकी होलिन् त?
“उनी बोल्दिनन् । ढुङ्गाकी हुन् ।”
” त्यसो भए कसले जान्यो मलाई हत्या गर्दा उनी खुसी हुन्छिन् भनी? उनी त बोल्दी रहिनछिन् । ”
“यो एक परम्परा हो.. त्यसै पनि यस मन्दिरमा पशुबलि चढाउँदा मानिसको सङ्कट मोचनका साथ-साथ उन्नति पनि हुन्छ अरे भन्ने जनविश्वास छ ।”
“जसको मृत्यु हुन्छ त्यसलाई नै थाहा नदिईकन राखिएको यो परम्परा होइन ढोँग हो । यो छलकपट, अन्याय र षड्यन्त्र मात्र हो । उनीहरूको आफन्तको जीवन जोगाउनलाई, उन्नति गर्नलाई हामी पशुको हत्या गर्ने अधिकार यी दुईखुट्टे मानवलाई कसले दिएको हो?”
म धेरै आवेशमा रहेछु । एकछिन बिसाएँ । ठुलो सास फेरेँ । अनि फेरि सोधेँ..
“तिमीचाहिँ कसरी यहाँ आयौ त? घरपरिवार कहाँ छन्?”
“मलाई पनि तिमीलाई जसरी नै भाकल गरेर यहाँ ल्याइएको हो तर हामी परेवालाई भने बलि चढाइँदैन । यहाँ ल्याएर छाडिन्छ, उडाइन्छ ।”
“त्यसो भए हामीलाई पनि यहाँ ल्याएर छाडिदिए भैहाल्थ्यो नि । किन हत्या गर्नुपरेको ? म पनि ती सेती आमाजसरी मुक्त डुल्न पाउँथे नि त । ज्यान पनि गुमाउनुपर्ने थिएन । जीवभित्रैमा यो फेरि कस्तो विभेद राखेको? किन अन्याय, पक्षपात गरेको? के यी दक्षिणकाली माईलाई यी सबै थोक कुरो थाहा छ? …”
एक्कासि मेरो कान कसैले बेस्सरी निमोठेर तान्दा म झसङ्ग भएँ । ती मेरा अघि यत्रोबेर खडा यमदूत पो रहेछन् । अब मेरो पालो आएछ ।
मलाई तिनले बलिवेदीतिर घिसारेर तान्न लागे । यति बेला मसिने दाइलाई मप्रति करुणा उम्रेछ क्यार । उनी कहिले मलाई पछि तान्ने त कहिले ती हत्याराको हातमा समाउने गर्न लागे तर ती बलवान् मानिसको अघि मसिने दाइको केही चलेन । मभित्र विद्रोहको ऊर्जा उम्लिएर आउन लाग्यो । आफूलाई थाम्न नसकेर म चिच्च्याउन लागेँ-
“यहाँ प्रत्येक दुईखुट्टे प्राणीलाई बचाउनका लागि हामी चारखुट्टे प्राणीको हत्या गरिँदै छ । यसको अर्थ के लाग्छ भने हामी पशु जीवनको बलि भएर मात्र यी मान्छे भनौँदाको जीवन रक्षा भएको रहेछ । त्यसरी नै कसैको जीवन रक्षा गर्नको विनिमयमा म सहिद हुन जाँदै छु । आजसम्म यो बलिवेदीमा जति पनि पशुहरू बलि भएका छन् ती सबै मजस्तै सहिद भएका रहेछन् । त्यसैले यो त एक पवित्र स्थान पो रहेछ । त्यसैले ए मेरा मित्र परेवा, तिमीहरू पनि मजस्तै सहिद रहेछौ । म मृत सहीद तर तिमीहरू जीवन्त सहिद ।” यसपछि मेरो बोली नै निस्कन सकेन । मलाई बलिशालाको चोकेमा पसाई सकिएको थियो । त्यहाँ मलाई सासै फेर्न नसक्ने गरी कँज्याइयो । यसपछि मेरो जिउमा पानी छर्किएको र टिको लगाएको आभास पाएँ । त्यसपछि ती मान्छे बडबडाएको । मृत्यु मेरो एकदमै सम्मुखमा थियो । तिनले मलाई अब घाँटीमा घ्याप्प हान्लान् भन्ने त्रासमा थिएँ । चौतर्फको पृथ्वी चारैपट्टि फनफनी घुम्न लाग्यो । मैले अरू केही सोच्न सकिनँ । आँखाअघि कालो बादल झ्याप्प ओर्लियो । मैले आँखा चिम्लेँ ।
त्यति बेरै भूमि कम्पायमान गर्दै ती माता मेरो सम्मुख मै प्रकट भइन् । बाहिर निस्किएको तिनको लामो रातो जिब्राबाट झरेको आलो रगत मेरो शरीरमाथि तपतप खसिरहेको थियो । गगन थर्काउने स्वरले तिनले चिच्च्याउन लागिन् .. “ए मूर्ख मानव, जीव हत्या महापाप हो । यो प्राणीलाई तत्काल छाडिदे । अबदेखि यहाँ कुनै पनि जीवको हत्या हुने छैन । सावधान ।”
.. ………
हठात् मैले आफैँलाई मुक्त अवस्थामा पाएँ । ठुलो स्वरमा मसिने दाइ चिच्च्याउँदै रहेछन्… ” आफ्नो स्वार्थसिद्धिका लागि यो निमुखा प्राणीलाई हत्या गर्न म दिन्न । बलि चढाउँदिनँ । हामी दुईखुट्टे ज्ञानी मानिस बोल्न नसक्ने चारखुट्टे प्राणीमाथि यत्रो अन्याय गर्नु हुँदैन । उनले त्यो भीमकाय मानिसको हातबाट उद्याउँदै गरेको खड्ग खोस्दै रहेछन् । खोसाखोस गर्दा मसिने दाइको हात काटिएछ । काटिएको ठाउँबाट मेरो शरीरमा तपतप रगत खसिरहेको रहेछ । चारैपट्टि हल्लाखल्ला मच्चिन लागेको थियो । कोही भन्दै थिए “बलिशालामा एकपल्ट पशु ल्याएपछि फर्काएर लैजाने नियम छैन ।” अरू कोही भन्दै थिए “पशुको साटो मान्छे काटिनु कुलक्षण हो ।” तर धेरैजसोले भन्दै थिए, “मानिसको स्वार्थसिद्धिका लागि पशुलाई हत्या गर्नु उचित होइन । अब हामीले यसको विरोध गरौँ । यसलाई रोकौँ ।”
म अलमल्ल रल्लिइरहेँ ।
डा. देवेन सापकोटा
प्राध्यापक. असम कृषि वि. वि.
गुवाहाटी, भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।