लामो समयदेखि जापानमा कर्म गरिरहेका मोहन खतिवडा कालिन्चोक ३, दोलखा निवासी कवि हुन् । प्रारम्भिक शिक्षा दार्जीलिङ हुँदै काठमाडौबाट विश्वविद्यालयीय शिक्षा पुरा गरेका खतिवडा थप शिक्षा र रोजगारका लागि जापान प्रवेश गरे । वाल्यकालदेखि नै साहित्यमा रुचि राख्ने मोहन खतिवडालाई जापानको व्यस्त जीवनशैलीले पनि रोक्न सकेन । साहित्यप्रतिको लगाव र घरदेशको सम्झना र चिन्ताले उनलाई कहिलै छोडेन । यही चासो र चिन्ताले उनलाई कहिले निबन्धहरूमा घोप्ट्याउँछ कहिले गीतहरूमा पोखिदिन्छ । कहिले गजलका शेरहरूमा भेटिन्छन् त कहिले कविताका पङ्क्तिहरूमा समेटिन्छन् । आफ्ना रचनाहरू निरन्तर रूपमा सामाजिक सञ्जाल तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित गर्दै आइरहेका छन् उनी ।

मोहन खतिवडा

कवि मोहन खतिवडा मुलतःप्रवासी कवि हुन् । प्रवासी स्वर नै उनको मूल स्वर हो । आत्मपहिचान, स्वाभिमान र सामाजिक असन्तोष उनका विषयहरू हुन् । वर्तमान समाज र राजनीति उनको रुचिको लेखन हो । उनी आफ्ना प्रायः कविताहरूमा वर्तमान राजनीतिप्रति खरो रूपमा प्रस्तुत हुन्छन् र परिवर्तनकामी शक्तिहरू एकजुट हुनुपर्छ भन्छन् । युवा पुस्ता नै परिवर्तनको आधार स्तम्भ भएकाले परिवर्तनको नेतृत्व पनि युवा पुस्ताले हाँक्नुपर्छ भन्ने उनको मान्यता छ । भाषा सरल छ तर शैली प्रश्नात्मक छ । उनी आफ्ना विचारहरूलाई प्रस्तुत गर्न कत्ति नहिचकिचाउने स्वभावका छन् । घोषणाताम्क तरिकाले सिधा प्रहार उनको तरिका हो । प्रत्यक्ष सम्बोधन मार्फत उनी आफ्ना विचार दृढताका साथ राख्छन् । देश, परिवार र आफन्तजन, श्रम र स्वाभिमानप्रतिको भावनात्मक प्रतिबद्धता उनको कविताको मूल आधार हो । आजको मुगलानी चराको १४ औँ शृङ्खलामा हामी उनै कवि मोहन खतिवडाका तीनवटा कविता प्रस्तुत गर्दैछौँ ।

 

१. फिर्नु छ घर 

 

न भाले बास्छ कतै बिहानी

न सूर्य उदाउँछ देखेर यहीँ कतै

न अस्ताउँछ लालित्य लिएर सूर्य

न भेला हुन्छन् पर बजारमा संगीहरू

न आउँछन् लिएरै अनुहारमा खुशीका उमङ्गहरू

न देखाउँछन् विजयका तरङ्गहरू

न टकराउँछन् यौवनका उन्मादहरू

न त सेलाउँछन् नै मनका चोटहरू

किन खल्लो खल्लो हुन्छ यो शहर

किन अँध्यारो अँध्यारो लाग्छ त्यो आधुनिकता

किन पराई पराई लाग्छन् चिल्ला मानिसहरू

किन ओसिला ओसिला लाग्छन् गुलिया अनुरोधहरू

किन फुस्राफुस्रा लाग्छन् यी गुलाबी यौवनहरू

किन दासी झैँ लाग्छन् उही अनुहारहरू

किन त्याग्न सक्दैनन् ढिपीका आलापहरू

आफैभित्र किन गर्न सक्दैनन् मान्छे ईन्कलाबहरू

किन हारिरहेछन् आफैँभित्र आफूहरू

किन छुपाइरहेछन् पसिनाका गन्धहरू

किन लुकाइरहेछन् हत्केलाका ठेलाहरू

किन झुकाइरहेछन् स्वाभिमानका शिरहरू

किन हारिरहेछन् यी मनका वीरहरू

तस्वीरमा भाग्य लहैलहै झुलेको देख्छन्

लेख्नेहरूले खै किन यस्तै यस्तै लेख्छन् !

सडक महल दरबार त आफै चिल्ला छँदैछन्

हत्केला,यो मन,त्यो मुटु तिम्ले चिल्ला बनाउ है !

चिल्लो मन,चिल्लो मुटु अनि चिल्लै धड्कनमा

चिल्लो काख,चिल्लो माटोको फुस्रो देशमै फिर्नु छ मलाई।

= = =

२. परदेशी 

सपनाका लस्करहरूले परदेशिएको मान्छे

बिपनाका संघर्षले कहाँ बिथोलिन्थ्यो र ?

बरु ऊर्जा भरिने रहेछ रगतमा

साहस बढ्ने रहेछ धड्कनमा

आकाशमा पंक्षीहरू उडेको देख्दा

नरोकिने रहेछन् सपनाहरू त झनै

नथामिने रहेछन् पाखुरीहरू

नरोकिने रहेछन् गोडाका चालहरू पनि !

अस्थिरतामा स्थिरता खोज्दै

स्थिरतामा प्राप्ति देखेका नयनहरू

फेरि पनि अन्धकारमै कहाँ निदाउँथे र ?

मैदानमा उत्रिएका एक हूल

तालिमे परेडी सिपाहीका सपना

घरबाट निस्किएको पासपोर्टधारी

एक परदेशीको सपना

शायद कता कता मिल्दा जुल्दा हुने रहेछन् यसबेला !

= = =

३. तैँ झोले मैँ झोले ।

देशमा भविष्य नदेखेपछि

म झोला बोकेर निस्किएको हुँ परदेश

स्वीकार्य भएको हो मलाई स्वाभिमानको झोला बोक्न

आफ्नै मर्जीको झोला बोकेर उडेको हुँ रुमानी उडान

आफ्नै मनमौजीको दौड्मा निस्किएको हुँ परदेश

म फेरिरहन्छु झोला मेरै स्वाद र इच्छाहरूमा

म फसिनँ कहिल्यै स्वार्थी पार्टीका गुच्छाहरूमा

हिडेँ बरु एक्लै पुग्ने गन्तब्य थाहै नहुँदा पनि

स्वार्थ पूरा गर्नलाई भनिनँ कहिँ जदौ भनी !

आफ्नै चेतनाको आयतनहरू फैलिएपछि

आफ्नै विवेकले स्वाभिमान नझुकाएपछि

म झुक्न सकिन स्वार्थका ती झोलेहरूसँग

मैले जलाउन सकिन मेरा मनका सपनाहरू पनि

दुई थरि झोलेहरूको द्वन्द्वबाट

म फगत युद्धविराम गरी निस्केको महामानव हुँ

सफेद झोला भिरेको हुँ मैले आजसम्म पनि

मैले बोक्ने झोलामा आमाको आशीर्वात हुन्छ

मैले बोक्ने झोलामा बाबाको शाहस हुन्छ

समाजको सम्झनाका कोसेलीहरू छन्

देशको माटोको सुगन्ध बस् झोलामै मगमगाइरहेछ

मलाई मन्जुर छैन तिम्रो दासत्वको झोला भिर्न

मलाई मन छैन तिम्रा दुर्गन्धित बाछिटाहरू सहन

तिमी भन्छौ – तँ पनि झोले नै होस् कसैको ?

हो म झोले हुँ मेरो आफ्नै चेतनाको

म झोले हुँ मेरै आफ्नै मनका सपनाको

म झोले हुँ मेरो आफ्नै भबिष्यको

म झोले हुँ आमाको सपनाको

म झोले हुँ प्यारीको रहरहरूको

म झोले नै हुँ समाजको अग्रगमनको ।

मेरो झोलाले कहिल्यै देशमाथि धोका दिएन

मेरो झोलाले कहिल्यै देशमाथि गद्दार गरेन

मेरो झोलाले अर्थतन्त्र थपियो रेमिट्यान्स बनेर बारम्बार

मेरै झोलाबाटै चन्दा लिइयो गाउँबस्तीका चित्कारहरूमा

हो म झोले हुँ तिमीभन्दा बिल्कुल फरक

तिमी झोले हौ म भन्दा फरक

तिमी सुगन्ध र दुर्गन्ध चिन्दैनौ झोला भिरेपछि

स्वतन्त्र सोँच गुमाएर सिर्फ अनुयायी बन्छौ

म झोला बोकेर आफ्नै काम गर्छु

तिमी झोला बोकेर मालिक बन्नै सक्दैनौ

म झोला बोकेर दाश बन्नै सक्दिन !

तिमी झोले हौ यो देश रित्याउने

म झोले हुँ रेमिट्यान्स भित्र्याउने

तिमी पनि झोले मै पनि झोले !!

= = =