पूर्वजहरूको प्रकृतिसँगको सहजीवन, उनीहरूको चेतना र जीवनशैलीलाई आजको युगसँग तुलना गर्दा अझ बढी अनुसन्धान, सिर्जना र दस्तावेजीकरणको आवश्यकता देखिन्छ जसको लागि यो पुस्तकले धेरै टेवा पुर्‍याएको छ ।

००००

ॐ द्यौः शान्तिरन्तरिक्षँ शान्तिः

पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्तिः ।

सर्वँ शान्तिः, शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि ॥

ॐ शान्तिः शान्तिः शान्तिः ॥

घरमा पूजाआजा समापनपछि आँप र पीपलको पातले घडामा रहेको जल घरका प्रत्येक सदस्यको शिरमा साथै घरको चोटा कोठा चारैतिर छर्केर शान्ति आह्वान गर्दै पूजा विसर्जन गर्ने परम्पराबाट आफू हुर्किएको हुँदा यो मन्त्रसँग मलाई विशेष लगाव छ ।

द्यौः शान्ति भनेको ‘देउ शान्ति’ हो भन्ने बुझाइ मेरो धेरैपछि सम्म थियो । पछि थाहा भयो द्यौः भनेको आकाश रहेछ भनेर । यस मन्त्रमा आकाशको शान्ति, अन्तरिक्षको शान्ति, पृथ्वीको शान्ति, जलको शान्ति, वनस्पतिहरूको शान्ति, सम्पूर्ण देवता, आकाशीय शक्तिहरू र ब्रह्माण्डीय व्यवस्थाको शान्तिको कामना गर्दै अन्तमा त्यो शान्ति आफैंभित्र आओस् भन्ने कामना गरिएको छ । हाम्रा पिता–पुर्खालाई मानव जीवन प्रकृतिबाट टाढा रहनै नसक्ने गहिरो यथार्थको अनुभूति थियो, त्यसैले उनीहरूको चलन–चल्ती, धार्मिक विश्वास र दैनिक कर्म सबै प्रकृतिसँगको सन्तुलनमा आधारित थिए ।

समयसँगै हामीले भौतिक चाहना र व्यक्तिगत स्वार्थमा बगेर यो सजीव सम्बन्धलाई बिस्तारै भत्काउँदै गयौँ । परिणामस्वरूप, प्राकृतिक संसाधनहरूको दुरुपयोग, जैविक विविधताको क्षति र वातावरणीय असन्तुलन जस्ता चुनौतीहरू हाम्रो समाजमा देखा पर्न थाले । यसले स्पष्ट देखाउँछ कि जब मानिसले प्रकृतिसँगको समन्वय गुमाउँछ र प्रकृतिको सम्मान गर्न भुल्छ तब मानव अस्तित्वको आधार नै जोखिममा पर्न जान्छ ।

आज हामी बाँचिरहेको यस द्रुत परिवर्तनशील संसारमा प्रकृति निरन्तर अतिक्रमण, दोहन र उपेक्षाको चपेटामा परेको छ र यही चुनौतीपूर्ण परिवेशले पर्या-साहित्यको आवश्यकता झन् तीव्र बनाएको छ ।

साहित्य केवल सौन्दर्य वा मनोरञ्जनको साधन मात्र होइन । असल साहित्यले चेतना जगाउने, प्रश्न उठाउने र परिवर्तनतर्फ समाजलाई उन्मुख गराउने महत्त्वपूर्ण माध्यम भूमिका पनि खेल्ने गर्छ । वैज्ञानिक चेतनासहित साहित्य सिर्जना गर्नु त्यसमाथि पनि कविता लेख्नु सजिलो कुरा होइन । शायद त्यसैले पनि होला यस्ता विषयहरूमा साहित्य, विशेष गरी कविताहरू, नेपाली भाषामा अझै पनि सीमित मात्रामा मात्र पाइन्छन् । विज्ञानका तथ्यहरूलाई समेट्दै लय, भाव र मर्मलाई नमासीकन कविता लेख्न विशेष संवेदनशीलता र दक्षता आवश्यक हुन्छ ।

समयको मागलाई सम्बोधन गर्दै कृष्ण बाउसेज्यूको ‘पर्याप्रेमको गुञ्जन’ नामक कृति जन्मिएको हो। वातावरणीय संकटका जटिल यथार्थलाई सहज, भावनाशील र प्रभावकारी ढङ्गले प्रस्तुत गरेको पुस्तक भित्रका कविताहरूले पाठकलाई सोच्न र महसुस गर्न मात्र हैन अन्ततः जिम्मेवार बन्न पनि प्रेरित गर्छ ।

बढ्दो पर्यावरणीय संकट र हाम्रा भावी पुस्ताले पाउने पृथ्वी कस्तो होला ? भन्ने गहिरो चिन्तालाई कविले अत्यन्त संवेदनशील दृष्टिले आफ्ना कविताहरूमा उतारेका छन् । सुन्दर अभिव्यक्ति भएका यी कविताहरू आजको समाजलाई पथप्रदर्शक बन्ने छन् ।

मानव जीवन, संस्कृति र अस्तित्वको आधार हो प्रकृति, जसका बारे लेखिँदा तथ्यको ख्याल राख्नुपर्ने हुन्छ । यो पुस्तक पढ्दा एउटा जिम्मेवार साहित्यकारको रूपमा साहित्यकार बाउसेले समाजका आवश्यकता, आकांक्षा र चेतनाका तहहरूलाई निरन्तर नियालिरहेको भान हुन्छ।

‘पर्याप्रेमको गुञ्जन’ नेपाली पर्या-साहित्यामा एउटा उल्लेख्य उपलब्धि बनेर उभिएको छ । यस कृतिले तथ्य र कला मिलेर पाठकको मन र मस्तिष्क दुवैलाई समान रूपले छोएको छ । केवल प्रकृतिको वर्णन मात्र नगरी प्रकृतिसँग हाम्रो सम्बन्ध, कर्तव्य र भविष्यप्रतिको प्रश्नहरूको गहिरो प्रतिध्वनि भएर निस्किएको यो कृति नेपाली पर्या-साहित्यको एउटा दरिलो खम्बा हो ।

पूर्वजहरूको प्रकृतिसँगको सहजीवन, उनीहरूको चेतना र जीवनशैलीलाई आजको युगसँग तुलना गर्दा अझ बढी अनुसन्धान, सिर्जना र दस्तावेजीकरणको आवश्यकता देखिन्छ जसको लागि यो पुस्तकले धेरै टेवा पुर्याएको छ । यो कृति आजको भयावह पर्यावरणीय संकटबीच मान्छेले गरेको प्रकृति-दोहनको चित्र पनि हो ।

अनियन्त्रित शहरीकरण आजको डरलाग्दो समस्या हो । हाम्रो जीवनका आधार जल, हावा, बन, माटो सबै संकटको सामना गरिरहेका छन् । नदी, ताल र पोखरीहरूको दुरावस्था, प्राण वायुमा प्रदुषण, बन जंगल कटानी, भू- क्षय, जीव जन्तु र वनस्पतिको लोप जस्ता यी सबै विश्वव्यापी चुनौतीहरूले प्रकृति र मानवको सम्बन्धलाई संकटमा पार्दैछन् । हामीले तत्काल चेतनशीलता र जिम्मेवारीका साथ कदम चाल्नुपर्ने आवश्यकता कविताको माध्यमबाट अत्यन्त कलात्मक र वैज्ञानिक रूपमा प्रस्तुत भएका छन् ।

संग्रहको पहिलो कविता ‘फूलको प्रश्न’ मा फूलको सौन्दर्य मात्र हैन फूलको मौन व्यथा पनि लेखिएको छ । अवरुद्ध हुँदै गएको जैविक प्रणालीले निम्त्याउने भयावह स्थितिको चित्रण गरिएको कविता मर्मस्पर्शी छ ।

‘विकासको जहर’ कविताले अन्धाधुन्ध विकासका वैज्ञानिक प्रभावहरूलाई कलात्मक संवेदनासँग जोडेर प्रस्तुत गरेको छ । जलाधार नष्ट हुँदा हुने भू–क्षय, अव्यवस्थित सडकले बढाउने धुलोको कण, डोजरले घोचेर विक्षिप्त बनेको पहाडको पीडा आदिले वातावरणमा पारेको असन्तुलनलाई सम्प्रेषण गरेको छ ।

‘प्लास्टिकको घाँस’ कविता आधुनिक उपभोक्तावादले जन्माएको प्लास्टिक–प्रदूषणप्रति लक्षित छ । सूक्ष्म-प्लास्टिकबाट माटो, पानी र मानव शरीरमा पर्ने दुष्प्रभावहरू कवितामा अत्यन्त स्पष्ट र कलात्मक रूपमा संकेत गरिएको छ ।

‘रूख भएर बाँच्न पाए’ कवितामा कविले रुखको दृष्टिबाट संसार हेरेका छन् । प्रकृति र मान्छेको जीवन चक्रबीचको सम्बन्धले मानव अस्तित्वमा पार्ने प्रभावलाई मिठो ढंगले लेखिएको यो कविता मार्मिक पनि छ । रूखको धैर्यता, स्थिरता र जीवनचक्रको निरन्तरताको उपमा दिँदै कविले आजको मान्छेलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सोच्न बाध्य बनाएको जस्तो लाग्छ ।

संग्रहको अन्तिम कविता ‘हरियाली संसारको पुनर्निर्माण’ ले मान्छे सचेत र सक्रिय भयो भने पुनर्स्थापना, पुनर्जीवन र पुनर्निर्माण सबै सम्भव छन् भन्ने आशावादी दृष्टिकोण प्रस्तुत भएको छ ।

समग्रमा, ‘पर्याप्रेमको गुञ्जन’ भूमि, आपः, तेज, वायु र आकाशलाई केवल भोग्य वस्तु नठानी, प्रकृतिसँग मेल–मिलाप गर्दै उत्तरदायी जीवनशैली अपनाउन प्रेरित गर्ने प्रभावशाली साहित्यिक कृति हो । यस कृतिले जीवनमा अभ्यास गर्नुपर्ने मूल्यहरू-संयम,करुणा र उत्तरदायित्वको बोध पनि गराएको छ ।

डरलाग्दो वातावरणीय संकटले आक्रान्त पारेको समयको यस कालखण्डमा आशा, चेतना र जिम्मेवारी बोध गराउने कृति ‘पर्याप्रेमको गुञ्जन’ का लेखक कृष्ण बाउसेज्यूलाई सुखद साहित्यिक यात्राको हार्दिक शुभकामना !

नर्थ क्यारोलाइना, अमेरिका