काठमाडौं। नइ एकेडेमीले नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
विजय मल्लका सिर्जनात्मक योगदानको गहिरो अध्ययन तथा विद्यावारिधि (पीएचडी) अनुसन्धानमा समर्पित भई उल्लेखनीय प्राज्ञिक कार्य गरेबापत उक्त पुरस्कार प्रदान गरिन लागेको नइ एकेडेमीले जनाएको छ। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट सम्मानित हुने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा. डा. कृष्णराज घतानी रहनुभएको छ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो। विजय मल्ल नेपाली साहित्यमा नाटक, कथा र कवितामार्फत आधुनिक चेतनाको सशक्त प्रस्तोता मानिनुहुन्छ । उहाँको शताब्दी महोत्सवका अवसरमा प्रदान गरिने यस पुरस्कारले विजय मल्ल अध्ययन र अनुसन्धानलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० माघ २०८२, मंगलवार 





