झापा अस्तित्वमा आएको एक शताब्दीभन्दा बढी भइसकेको छ । यही झापाको अहिलेसम्मको इतिहासलाई पत्रकार तथा लेखक तीर्थ सिग्देलले नजिकबाट नियाल्ने प्रयास गरेका छन् । भर्खरै सिग्देलको ‘त्यो झापा औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार’ पुस्तक प्रकाशित भएको छ ।
सिग्देलले पुस्तक लेखनका क्रममा उबेलाको पल्लो किराँत, लिम्बुवान तथा विजयपुरसँगको अन्तरसम्बन्धदेखि जानकार र देखेभोगेका स्रोतव्यक्तिहरूबाट सकेसम्म इतिहास खोज्ने प्रयास गरेका छन् । यस क्रममा लक्ष्मीपुरका गोविन्द काफ्ले र प्रेमसागर खनाल, बुधबारेका दिनानाथ ढकाल, शनिश्चरेका नारदप्रसाद कोइराला, गोपाल खड्का, लवकुश गिरी, कृष्णप्रसाद मिश्र र केदारमणि ढकाल, दुर्गापुरका हरिध्वज खत्री, चकचकीका दयानन्द गोश्वामी, देउनियाका दयाराम उप्रेती, गरामनीका राममाया खरेल, भद्रपुरका हरिप्रसाद तिम्सिना, दिव्य भुर्तेल र धनजुजु श्रेष्ठ, अनारमनीका गुरुभक्त न्यौपाने, बुट्टाबारीका खिनप्रसाद बराल, धुलाबारीका तिलविक्रम नेम्वाङ, दमकका मेघराज तिम्सिना, राजगढका खड्गप्रसाद राजवंशी, लक्ष्मीपुरका केदारमान बस्नेत, जलथलका श्रीप्रसाद मेचे, महेशपुरका गणेशप्रसाद ओली, पुहाँतुबारीका परमानन्द मिश्र, गोलधापका मानप्रसाद लिङ्देन, बुधबारेका कूलप्रसाद न्यौपाने, गौरीगन्जका विजय अग्रवाल, लखनपुरका रामचन्द्र पोखरेल, सुरुङ्गाका यामनाथ विमली, काठमाडौँका डा. मोहनमान सैँजु, आसामका प्रकाश कोइराला र कुवेर पौडेललगायतलाई स्रोत व्यक्तिका रूपमा प्रयोग गरेका छन् ।
सिग्देलले पुस्तकमा आफ्ना स्रोतमार्फत राणा शासनको अन्त्य, औलो रोग उन्मूलनसँगै पञ्चायती व्यवस्थाको प्रारम्भसँगै पहाडका विभन्न जिल्ला, आसाम अनि वर्माबाट व्यापक रूपमा बसाइँसराइ हुने क्रम कसरी शुरु भयो ? आदिवासीहरूको जीवनशैली कस्तो थियो, उनीहरूले रोगव्याधीको प्रकोप र हिंस्रक जङ्गली जनावरबिच कति कष्ट सहेर आफ्नो अस्तित्व जोगाए ? लगायत प्रशासन र भूगोलका बारेमा समेत प्रस्तुत गरेका छन् ।
यति हुँदाहुँदै पनि पुस्तकभित्र परिवार (पृ.३६), विराटपोखरी, महारानीगञ्ज (पृ.४३), संचालन (पृ.४६), अञ्चल, राष्ट्रिय पञ्चायत, सांसद (पृ.४७) जस्ता शब्दको हिज्जे लेखनमा त्रुटि रहेको पाइन्छ । त्यसै गरी भूमिसुधार सम्बन्धी (पृ.२२), यस सम्बन्धी (पृ.२७४), नीति अन्तर्गत (पृ.४९), प्रणाली अन्तर्गत (पृ.२०), जमिन सम्बन्धी झै-झगडा (पृ.४२) जस्ता पदयोग र पदवियोगमा त्रुटिलगायत क्षेत्र नं. ३० झापाबाट (पृ.४७) जस्ता पदावलीहरूमा पनि सम्पादन कार्यमा समस्या रहेको पाइन्छ । त्यो हाट दुईदिनसम्म लाग्थ्यो (पृ.२५८) भनेर गौरीगन्जको हाटको बारेमा उल्लेख गरिएको छ । तर हाट दुई दिनसम्म लाग्थ्यो कि ? हप्ताको दुई पटक लाग्थ्यो ? सिग्देलको यो पुस्तकमा तराईतर्फ पहाडी जनसङ्ख्याको बसाइँसराइ वि.सं. २००७ तिरबाट शुरु भएको मान्न सकिन्छ (पृ.१९) । …….बसाइँ सर्ने प्रवृत्ति सन् १९५० तिर आइपुग्दा तीव्र अवस्थामा पुगिसकेको थियो (पृ.२०) भनेर उल्लेख छ तर वि.सं. २००७ र सन् १९५० ले एउटै समय रेखालाई बुझाउँदैन र ? पुस्तक पढ्दै जाँदा पाठक अलमलमा पर्छन् ।
लेखकको स्रोत भन्छ, “महारानीझोडा क्षेत्र चन्द्र शमशेरकी महारानीको बिर्ता हो (पृ.२६३) ।” तर यो क्षेत्र त राजा त्रिभुवनले आफ्ना दुई रानी मध्ये जेठी रानी कान्ति राज्यलक्ष्मीदेवी शाहको चाहिँ बिर्ता थियो । वि.सं. २०३६ सालपछि गौरादहबाट अलग भएको महारानीझोडा (पृ.२५९) भनेर उल्लेख गरिएको छ । तर वि.सं. २०३८ सालमा तत्कालीन गौरादह गाउँ पञ्चायतलाई फुटाएर महारानीझोडा गाउँ पञ्चायत बनाइएको थियो ।
पुस्तकमा स्रोतले भनेको छ, “गौरीगञ्ज र यसको वरिपरिको क्षेत्र आठमौजामा पर्दथ्यो । यसभित्र थिए सबै ठाउँहरू । यसमा दमक, जुरोपानी, लखनपुर, गौरादह, रङ्पुर, टटुवामारी, गौरीगञ्ज पर्दथे भनिन्छ (पृ.२५८) ।” तर आठमौजामा आठवटा मौजा थिए । पुस्तकमा सातवटा मात्र नाम उल्लेख गरिएको छ । त्यसमा पनि पुस्तकमा उल्लेख गरिएका उक्त स्थानमध्ये गौरीगन्जबाहेक आठमौजाभित्र कुनै पनि ती मौजा थिएनन् । आठ मौजाभित्र त आठमौजा, अल्ताबारी, तुलाचन (बुट्टाबारी), गौरीगन्ज, मादलडाँगा, फकिरढिप, फत्तेहपुर र गौरियाडाँगी गरी आठवटा मौजा थिए । त्यसबेला गौरादहको भूूभाग मादलडाँगा मौजाभित्र पर्दथ्यो ।
त्यसै गरी भीमबहादुर बस्नेत (पृ.२३) नभएर नरेन्द्रबहादुर बस्नेत र मनकुमार श्रेष्ठ (पृ.२३) नभएर मदनकुमार श्रेष्ठ हुनुपर्ने थियो । पुस्तकमा जमिन्दारको सहयोगका लागि सरकारी कर्मचारीको रूपमा पटवारी नियुक्त गरिएको हुन्थ्यो (पृ.२२) भनिएको छ । तर त्यसबेला पटवारी कुनै सरकारी कर्मचारी हुँदैन थिए । जमिन्दार आफैँले राख्थे ।
“बाध्यतावश १८१६ मार्च ४ मा सुगौली सन्धिमा नेपालले हस्ताक्षर गर्नुपर्यो (पृ.१५)” भनेर उल्लेख गरिएको छ । उक्त मिति त सुगौली सन्धिमा हस्ताक्षर गरिएको सार्वजनिक वा पुष्टि गरिएको मिति चाहिँ होइन र ?
पुस्तकमा “समयगढ, झोरपाटा, त्रिभुवन नगर, चन्द्रपुर, विराटपोखरी, महारानीगञ्ज, झापा, राजगढ, नजरपुर, चम्पापुर, रामपुर जस्ता नाम गरेका सयौँ मौजाहरू” (पृ.४३) रहेको उल्लेख गरिएको छ । तर उसबेला झापा १२ वटा प्रगन्नामा विभाजित थियो । ती प्रगन्नामा आठमौजा, रामपुर, चम्पापुर, नजरपुर, राजगढ, झापा, घातज्यान, विराटपोखरी, चन्द्रपुर, त्रिभुवन नगर, झोरपाटा र समयगढ थिए । यी प्रगन्नाभित्र चाहिँ अन्य मौजाहरू थिए ।
इतिहास, बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो । यो निरन्तर खोज र अनुसन्धानको विषय पनि हो । यस लेखनमा प्रशस्त समस्या रहेका छन् । यसको मुख्य कारण भनेको सामग्रीहरूको अप्राप्यता र अस्पष्टता पनि हो । तथापि पुस्तक लेखनमा लेखक तीर्थ सिग्देलले तथ्य र तथ्याङ्क, अनुभव र अनुभूति उल्लेख गर्ने सन्दर्भमा आलोचनात्मक र विश्लेषणात्मक चेतसहित सम्पादन गरेको भए पुस्तक अझ प्रभावकारी हुने थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ माघ २०८२, बुधबार 










