विश्वनाथ जिल्लाको गमिरी (असम) मा सन् १९६९ मा डा. इन्दुप्रभा देवीको जन्म भएको थियो । इन्दुप्रभाका माधव कन्दली र रामायण (असमिया रामायणको अयोध्या काण्डको नेपाली अनुवाद, २००६), सपनाको जरो पहिल्याउँदै (कवितासङ्ग्रह, २००७), शब्द शिल्प र कारुकार्य (असमिया निबन्धसङ्ग्रह, २०१०), एक सय लिमारिक (हास्यव्यङ्ग्य मुक्तकसङ्ग्रह, २०११), ती पाइलाहरू (कवितासङ्ग्रह, २०१२), प्राप्ति अप्राप्ति (कथासङ्ग्रह, २०१७), तबेलामा घोडाहरू (कवितासङ्ग्रह, २०१८), जलप्रपात ( असमिया कवितासङ्ग्रह, २०१९), रुद्ध अनिरुद्ध (कथासङ्ग्रह,२०१९), अनुहारभित्रको आकाश (उपन्यास,२०२०) लगायतका कृति र एक दर्जन सम्पादित कृतिहरू प्रकाशित छन् ।

इन्दुप्रभाले असमिया र नेपाली भाषाको रूपतत्त्व : एक तुलनात्मक अध्ययन विषयमा पिएचडी गर्नुभएको छ । हाल गुवाहाटी, कामरूपमा स्थायी बसोबास गरिरहनुभएकी उहाँ असम नेपाली साहित्य सभा सदस्य हुनुहुन्छ साथै के के हेन्डिक राज्यिक मुक्त विश्वविद्यालय, असमको नेपाली पाठ्यक्रम, (एम. ए) विषय विशेषज्ञ उहाँ गुवाहाटी स्थित बि.बरुवा कलेजको प्राध्यापकसमेत हुनुहुन्छ । प्रस्तुत छ डा. इन्दुप्रभासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

 तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?

लेखनको दृष्टिले पहिलो विधा असमिया कविता हो । शीर्षक बिर्सिएँ । नेपाली भाषामा पनि मेरो पहिलो विधा कविता नै हो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

नेपाली रचनाको कुरा गर्ने हो भने पहिलादेखि नै लेखे तापनि सन् १९९२ मा मात्रै भानुभक्त शीर्षक कविता देशवार्ता पत्रिकामा छापिएको हो । त्यसपछि ‘विष त विषै हो’ भन्ने कथा छापियो जुन मेरो पहिलो प्रकाशित नेपाली कथा हो तर त्योभन्दा अघि नै असमिया भाषाका कविताहरू विश्वनाथ कलेजका भित्ते पत्रिकामा र तेजपुरबाट निस्कने असमिया पत्रिका महाजातिमा छापिने गर्थे । सन् १९८६ मा भित्ते पत्रिकामा पहिलो प्रकाशित रचना कविता हो, शीर्षक थियो ‘बहाग’ (वैशाख) ।

जीवनको भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?  कहाँ र कसरी बित्यो बाल्यवस्था ?

रमाइलो देख्छु, घमाइलो देख्छु । बाल्यकालले जुन जीवन भोग्यो अझै त्यही सपनामा आउँछ । अहिले सम्झिँदा पीडाका कुनै विम्ब सम्झनामा छैनन् केवल प्राप्तिका बाहेक । मुक्त चराजस्तो एउटा जीवन न आजको जस्तो त्रास्त परिवेशकै केही अनुमानसम्म थियो न केही दुश्चिन्ता । आफ्नै जन्मथलोमा बित्यो बाल्यकाल । आफन्तहरू र साथीहरूसहित गाउँका हितचिन्तक अग्रजहरूको अपार मायामा र प्रकृतिको छायामा बित्यो । साँच्चै भन्ने हो भने तोरी फूलेको यामजस्तै बिर्सिनसक्नु एउटा याम थियो त्यो जीवन ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?

पहिलो प्रेरणा दिने व्यक्ति मेरा पिता । त्यसपछि मेरा दाजु र स्कुलका आदरणीय शिक्षकहरू । साहित्यप्रतिको रुचि बढाइदिनु भयो उहाँहरूले । घरमा भएका र स्कुलका लाइब्रेरीमा भएका पुस्तकहरू पढ्दै जाँदा असमिया साहित्यप्रति पहिला रुचि बस्यो । सानैमा पढेका असमिया उपन्यास र कविताहरू अझै सम्झनामा टम्म छन् । बिस्तारै नेपाली साहित्यमा प्रवेश गरेँ ।

प्रेरणा के कहाँबाट मिल्यो ?

स्कुलमा छँदा नेपाली र बाङ्ला भाषाको रामायण स्वर लगाएर गाउने गर्थेँ । नेपालीका टुक्राटुक्री कविताहरू कराई कराई पढ्थेँ । अगमसिंह गिरीको युद्ध र योद्धा काव्य पढेर आप्लुत हुने गर्थेँ । केही नबुझीकनै मेरो भाइ रमेश र म उनको त्यो काव्यसहित एउटा कविता पनि भट्याउँथ्यौँ- ‘तिमी त यहाँ नचिनिने भएछौ’… । यति सारो भट्याउँथ्यौँ कि बाटामा हिँड्ने मान्छे हाम्रो घरतिर फर्किएर हेर्थे । भन्नैपर्छ, पछि अरू अरूका कविताले मलाई तान्यो । बिस्तारै साहित्यप्रति आकृष्ट हुँदै गएँ । कहिले शब्दसित प्रेम गर्न सिकेछु थाहै पाइनँ ।

आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ र किन ?

अचम्म कुरा के भने यस्तो विचार पनि दिगो हुँदो रहेनछ । म त्यसै त स्रष्टा भन्नै लजाउने मान्छे तर भन्नै पर्दा कविता विधाकी स्रष्टा भनिन रुचाउँथेँ । जुन समयमा नेपाली भाषामा कविता लेख्थेँ त्यो समयमा असमिया दैनिक पत्रिकामा र प्रतियोगिताहरूका निम्ति कथा लेख्थेँ । पछि आफ्नो भाषामा पनि कथा लेख्न थालेँ । अहिले मलाई कसैले कथाविधाकी स्रष्टा भन्दा खुसी नै लाग्छ ।

 तपाईँ त लिमारिक पनि लेख्नु हुन्छ नि । के हो यो कस्तो हुनुपर्छ ?

हजुर,  लिमारिक एक समयमा धेरै लेखेँ, हिजोआज बिर्सिए जत्तिकै भएको छ । दशवर्षजति भइसक्यो होला नलेखेको । लिमारिक भनेको हास्यव्यङ्ग्य काव्य विधा हो । कुनै व्यक्तिविशेषलाई होइन सामूहिकरूपमा चारित्रिक प्रकृतिमाथि हास्यमधुर व्यङ्ग्य कस्नु यस विधाको विशेषता हो । यसमा पाँच पङ्क्ति हुन्छन्- तीन लामा दुई छोटा । पहिलो, दोस्रो र पाँचौ पङ्क्तिको अन्त्यानुप्रास हुन्छ भने तेस्रो र चौथो पङ्क्तिको पनि अन्त्यानुप्रास हुने गर्छ ।

कसले कहाँबाट सुरु गरेको के हो यो लिमारिक ?

अङ्ग्रेजी साहित्यमा एडवर्ड लियरले सन् १८४६ मा बुक अफ ननसेन्स प्रकाशनमा ल्याएर यस विधालाई प्रसिद्धि दिलाएका हुन् । असमियामा लिमारिक धेरैले लेख्छन् ।

डा. इन्दुप्रभा देवी

तपाईँले नेपालीमा चाहिँ कसरी लेख्न थाल्नुभएको हो ?

साहित्यकार मुक्ति उपाध्याय बरालज्य़ूले गर्दा नेपालीमा लेख्न थालेँ । उहाँ बर्सेनी हास्यव्यङ्ग्य कवि सम्मेलन आयोजन गर्नुहुन्छ र त्यहाँ वाचन गर्ने कवितासङ्ग्रह साउती प्रकाश गर्नुहुन्छ । साउतीकै निम्ति मैले पहिला आफ्नो भाषामा लिमारिक लेखेकी हुँ । वास्तवमै हुने घटनाको आधारमा मैले लेखेको एउटा लिमारिक सुन्नुहोस् न त-

घरकी बुढी आमै घिटिकघिटिक भइन्

मरिन् भन्दै छोरा रोए बुहारी पनि रोइन्

 तर आमै बाँचिन् फेरि

 दुवैले झन डाको छोडी

रुँदै भने- मर्दिनन् बुढी छैन हाम्रो चैन ।

 तपाईँलेअनुहारभित्रको आकाशएउटा उपन्यास लेख्नुभयो । के विषयलाई लिनुभएको छ ?

हजुर, पोहोरको लकडाउनको अवधिमा दुई महिनामा अनुहारभित्रको आकाश लेखेकी हुँ । असमको लक्ष्मिपुरको एकजना युवकलाई मुख्य पात्रका रूपमा लिएर रचित यस उपन्यासमा उच्च शिक्षालगायत अन्य कतिपय पक्षहरू समेट्न खोजेकी छु । उच्च शिक्षामा भएका खुड्किला, त्यसपछि कुदेका बौद्धिक सपना, प्रतिभा पलायनका कारण यहाँ गोर्खा जातिले भोग्नुपरेको राष्ट्रियतासम्बन्धी पीडा र  प्रश्नहरू, प्रेम, सम्प्रीति यस्तै यस्तै विषय यसमा समेट्ने प्रयास गरेकी छु ।

असमेली नेपाली साहित्यमा महिला स्रष्टाको अवस्था कस्तो छ ?  

महिला स्रष्टाको अवस्था यहाँ विशेषगरी सङ्ख्याका दृष्टिबाट त्यति राम्रो छैन तर त्यही पनि कतिपय स्रष्टाका कृतिहरू समादृत र लोकप्रिय बनेका छन् र पुरस्कृत पनि भएका छन् । आदरणीय गीता उपाध्याय, डा. शान्ति थापा, गोमा शर्मा, मैना थापा आशा, नयाँ देवी, मुन्नी सापकोटा आदि यहाँका वरिष्ठ सर्जक हुनुहुन्छ भने अन्य स्रष्टाहरू पनि समकालीन विशेषता लिएर लेख्दै हुनुहुन्छ । विशेष गरी अनुवाद क्षेत्रमा र बाल साहित्य रचनामा पनि कतिपय महिलाहरू सक्रिय हुनुहुन्छ । असमिया साहित्य जगत्‌मा महिलाका लागि छुट्टै असम लेखिका संस्था वा लेखिका समारोह भन्ने संस्था भएझैँ हाम्रो छैन तर अनेसासले महिलालाई विशेष अग्राधिकार दिएको छ । नारीहरूलाई केन्द्रीय पदाधिकारी राख्ने व्यवस्था छ, नारीको लागि अनुपात छ, नारी सर्जकका लागि पुरस्कारको व्यवस्था छ, प्रतिनिधि चयनमा पनि अनुपात छ र सबैभन्दा राम्रो कुरा, नारी प्रकोष्ठ पनि छ ।

असमेली नेपाली साहित्यमा आशा लाग्दा महिला स्रष्टाहरू कुनकुन विधामा हुनुहुन्छ ?  

आनन्दको कुरा हो आशालाग्दा महिला स्रष्टाहरू अहिले यता धेरै देखिनुभएको छ । सामाजिक सञ्जालले पनि सघाएको छ । प्रतिभावान् र सम्भावनापूर्ण यी स्रष्टाहरू कविता र कथालेखनको क्षेत्रमा सक्रिय देखिए तापनि उपन्यासलेखनतिर पनि कतिपयको रुचि देखिन्छ । निबन्ध र समीक्षा लेख्न रुचाउने नयाँ नारी कलम पनि छन् ।

विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ?

नेपाली साहित्यको वा विश्वसाहित्यको तर्फबाट हाम्रो साहित्य विश्वसाहित्यमा कहाँ छ भन्ने कुराको खोज अनुसन्धान भएको छ छैन म जान्दिनँ । मेरा मनमा दुइटा कुरा खेलाउँछन् । पहिलो त के भने,  विश्वसाहित्यसम्म पुग्न हाम्रो जस्तो एउटा भाषालाई अझै साधन चाहिएला । विश्वका धेरै भाषाको लामो र समृद्ध इतिहास छ तर हाम्रो त्यत्रो छैन । विश्वसाहित्यको जुन चुचुरो हामी देख्छौँ त्योभन्दा तल नै छ हाम्रो साहित्य तर जमिनदेखि माथिको उडानचाहिँ भर्न थालेको छ । जस्तो किसिमको समकाल चेतना, आफ्नो परिचय बोक्न सक्ने सिर्जना, स्तरीय लेखन, स्तरीय अनुवाद, उत्थानका लागि आवश्यक सामूहिक प्रचेष्टा चाहिन्छ, माथिल्लो तहमा लागिदिने प्रयास र विश्वका पाठकको दृष्टि तान्ने जमर्को चाहिन्छ त्यो पर्याप्त छैन । यस्तो विचार सँगसँगै मेरा मनमा आएको अर्को विचारचाहिँ के भने हाम्रो भाषामा पनि स्तरीय लेखन छन् । उत्तिकै उत्कृष्ट केही रचना कुनै अङ्ग्रेज साहित्यकार र नेपाली भाषाका साहित्यकारले लेखे भने एउटा विश्वसाहित्यको दर्जामा पर्ला । लामो बाटोपछि कुनै एउटा समयमा नेपाली साहित्यले पनि विश्वसाहित्यको त्यो चुचुरो अवश्य छुनेछ ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?

कताको समकालीन लेखनको कुरा गर्नुभयो बुझिनँ । म असमकै कुरा गर्छु । सन् ९० देखिपछि यता समकालीन चेतना लिएर सर्जकहरू विभिन्न विधामा लेख्दै आउँदै छन् । बाहिरको र यताको आञ्चलिक भाषाको साहित्यमा केही प्रभाव छ । भिन्न ढाँचामा कथा र कविता लेखिन थालेका छन् । भाषाको क्षेत्रमा सचेत हुने जमर्को छ, अभिव्यक्ति स्वतन्त्रता छ । कोही विशेष धारणाभित्र रहेर त कोही धारणाबाहिर साहित्य सिर्जना गरिरहेका छन् ।

तपाईँ प्राध्यापन पनि गर्नुहुन्छ । असमेली नेपाली भाषा साहित्यको अवस्था कस्तो छ ? कसरी हेर्नुहुन्छ ?

हुन त कलेजमा म असमिया विषय पढाउँछु तर नेपाली साहित्यसित हृदयकै नाताले सम्बन्धित छु । यहाँ अहिले कतिपय विधामा राम्रा सिर्जना भइरहेका छन् भने कतिपय विधामा कम्ती लेखिँदै छ । तुलनात्मक रूपमा हेर्दा कवि धेरै छन्, कथाकार छन् केही, उपन्यासकार कम्ती छन्, अनुवाद फस्टाएको छ, बाल साहित्यमा रुचि राख्दै स्रष्टाहरू निस्कँदै छन् । निबन्ध विधामा जति कलम चल्दै छन् समालोचनामा त्यति छैनन् । नाटककार पनि कम्ती नै छन् तर असम नेपाली साहित्य सभाजस्तो बृहत् सङ्गठनले यहाँको साहित्यलाई उँभो लान निरन्तर प्रयास गरिरहेको छ ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

साहित्यकार पहिला त राम्रो पाठक हुनुपऱ्यो । अध्ययन गर्नु र राम्रो चिन्तन राख्नु उनीहरूको कर्तव्य हो । स्तरीय साहित्य सिर्जना गरेर जाति र भाषाको गरिमा बढाउने ठुलो दायित्व हुन्छ उनीहरूमा । समाजलाई सोझै उपदेश साहित्यले दिँदैन तर जाति र समाजको कल्याण साहित्यको अन्तर्निहित उद्देश्य हुनुपर्छ । प्रवीण साहित्यकारले आफूपछिको नवीन साहित्यिक जमातलाई पनि प्रेरणा दिने काम गर्नुपर्छ । एक्लो बृहस्पति झूटो हुन्छ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?

तेह्रौ चौधौँ शताब्दीतिरबाट थालिएको असमिया साहित्यको इतिहासमा पनि त्यतिखेरका राजाहरूले पृष्ठपोषण गरेको कुरा पाइन्छ । राजा नरनारायणले कवि राम सरस्वतीलाई महाभारतका पर्वहरू अनुवाद गर्न अनुरोध गर्दै आर्थिक सहयोग मात्र नगरेर गोरुगाडामा पुस्तकहरू धरि पठाएका थिए अरे । यही सहयोगले गर्दा राम सरस्वती ‘असमिया व्यास’का रूपमा परिचित भए । राज्यले स्रष्टाहरूलाई प्रोत्साहन दिनका लागि आफ्नो वार्षिक बजेटमा आर्थिक प्याकेज  राख्नुपर्छ । पेन्सनको र पुरस्कारको पनि व्यवस्था गर्नुपर्छ । सुखको कुरा, असम सरकारले यस्ता कतिपय काम गर्दै छ । पोहोर साल ‘असम भाषागौरव योजना’का अन्तर्गत यहाँका विभिन्न भाषाका साहित्यकारलाई पचास हजार रुपियाँ गरी आर्थिक अनुदान र ‘लेखक संवर्द्धना’ सम्मान दियो । साहित्यिक र शिल्पी पेन्सन दिने व्यवस्था यहाँ पहिलादेखि नै छ । अनेसासलाई पनि एउटा ठुलो आर्थिक अनुदान पोहोर साल राज्य सरकारले दिएको हो ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

यो ‘बजार’ शब्द नै खड्किन्छ हामीलाई त । हाम्रा पुस्तक किन्ने बेच्ने बजारै छैन भन्दा हुने स्थिति छ । पुस्तक बेचेर खाउँला भन्ने सोच्न गाह्रो छ । आफ्नै रहरमा कवि लेखकहरू पैसा खर्चेर पुस्तक प्रकाशन गरिरहेका छन् । राम्रो बिक्री नभएपछि प्रकाशकहरू पनि अघि बढेर आएका छैनन् ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?  

नबिर्सने क्षण धेरै छन् । एकान्त व्यक्तिगत ती क्षणहरू साझा गर्नु र? तर सोधिहाल्नुभयो जब एकदुइटा केही उल्लेख गरूँ ।

सानामा बीउ छरेको बारीमा भाइ र म चरा रुँग्ने गर्थ्यौँ । अझै पनि जहिल्यै झरी पर्दा त्यो बारीको सानो छानामुनिको ओतलाई सम्झन्छु र रोमाञ्चित हुन्छु ।

एउटा समयमा उडिया भाषा सिकेर कविता लेख्ने गर्थेँ । विश्वविद्यालयमा पढेका बेला एकदिन ओडिशाका एकजना प्रोफेसरसित भेट भयो । वार्तालाप भयो । उनी त्यहाँ रिफ्रेसर कोर्स गर्न आएका थिए । उनले उनको होस्टलमा बोलाए मेरा कविता सुन्छु भनेर । उनको कोर्सको अन्तिम दिन म मेरी असमिया साथी रूपाञ्जलि दत्तलाई लिएर गएँ ।

मैले पढेको कलेजका अध्यापक सदानन्द हाजरिका र अमृत पाल पनि त्यहाँ हुनुहुँदो रहेछ । बात मारेर निस्किएर आउने बेलामा ढोकाका छेउमा उभिएर एकजना अपरिचित युवकले हामीलाई हेरिरहेको देखेँ । हामी निकै टाढा आइपुगेपछि पछिल्तिरबाट सदानन्द सरले बोलाइरहेको सुनेर फर्किएर हेऱ्यौँ । सर ती नै युवकसित आउँदै हुनुहुन्थ्यो । मसित परिचय गराउँदै सरले भन्नुभयो- तिम्रै जातिका हुन् यी । लखिमपुर कमार्स कलेजका एकाउन्टेसीका अध्यापक ।  एकछिनको साधारण परिचयपछि हामी होस्टल फर्कियौँ तर त्यो दिन रूपाञ्जलिले होस्टलभरि त्यसै त्यसै हल्ला फिँजाइदिइन्- एकजना केटासित इन्दुको भेट भयो । मलाई लाग्छ, एक्जमपछि हामीले बिहे खान पाउँनेछौँ ।

होस्टल न हो, हाँस्ने केही बहाना चाहिन्छ सधैँ । मैले पनि ए हो र  भनेर टारिदिएँ । भोलिपल्ट हामी होस्टलका धेरै साथी मिलेर वशिष्ठ मन्दिर गएका थियौँ । त्यहाँ अलिक माथि पञ्चकन्या मन्दिर छ । मन्दिर दर्शन गर्न हात जोडेर उभिएकी मात्रै थिएँ ती साथीहरूले पछिबाट फेरि जिस्क्याउन थाले- इन्दुले हिजोका केटालाई मागिन् होला जस्तै छ है । यो मन्दिरमा त जे माग्यो त्यही पुग्छ नि । ढोग्न उभिएर हाँस्न थालेछु म त । मन्दिरमा कहिल्यै केही मागेकी थिइनँ मैले केवल दयादृष्टिको याचनाबाहेक । त्यो दिन पनि माग्न डर लाग्यो- को हुन्, के हुन् । पाँच मिनेट भेटेका मान्छे तर मेरो भएर रूपाञ्जलिले मागिदिइन् मन्दिरसामु उभिएर ।

अचम्म के भने म परीक्षा दिएर घर फर्किँदा ती युवक हाम्रो घर पुगिसकेका रहेछन् । घरकालाई मन परेर मलाई सोध्न पर्खिरहनुभएको पो रहेछ । कस्तो सन्जोग, साँच्चै हाम्रो बिहे भयो । ती दुईचारदिनका सम्झना अझै यथावत् छन् मनमा । अझै पनि पञ्चकन्या मन्दिर जाँदा, ती साथीहरू त्यहीँ उभिएर मलाई जिस्क्याइरहेजस्तो अनुभव हुन्छ । बिहे गर्ने नियमभित्र ध्रुवतारा देखाउने नियम हुँदो रहेछ । बादलले डम्म ढाकेको आकाशतिर औल्याउँदै मेरा श्रीमान्‌ नित्यानन्द उपाध्यायले भन्नुभयो- “ध्रुवतारा”, मैले आफ्नो घुम्टो हटाएर हेरेँ तर त्यो तर ध्रुवतारो होइन बिजुलीको चम्काइ थियो । अझै बिजुली चम्किएको बेला कहिलेकाँहीँ ध्रुवतारो सम्झन्छु । (कहिलेकाँहीँ अनुभव हुन्छ- जीवन भनेकै चञ्चल बिजुलीदेखि स्थिर ध्रुवतारा खोज्ने अनिश्चित यात्राजस्तै पनि त रहेछ ।)

अनि, छोरो जन्मिएको रातलाई बिर्सन्नँ । बिर्सन्नँ उसलाई हुर्काएका कैयौँ मोहक क्षणहरू ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

जसलाई बुझ्न खोज्दाखोज्दै राम्ररी नबुझी सकिन्छ त्यो जीवन हो । जीवन एउटा सीमित यात्रा हो । कसैका लागि कठोर बाध्यताजस्तो कसैका लागि रमाइलो । अथवा दुइटैको अनुभव मिसिएको ।

तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?

विश्वस्तरीय हुन् होइनन् को सिद्धान्ततिर नगएर उत्कृष्ट लागेको सिर्जनाको कुराचाहिँ गरौँ । आफ्नो भाषाका उल्लेख्य लेखकहरूका अनेक कृतिले मन छोएको छ । अन्य भाषाका मलाई उत्कृष्ट लागेका सिर्जनामध्ये असमियाका कतिपय कविता, उपन्यास र कथाकृति छन् । आफूले जानेको जुनै भाषामा लेखेको भए पनि महाभारत त सधैँ मन पर्ने महाकाव्य हो । सानैमा पढेका प्रेमचन्दका उपन्यास गोदाननिर्मलाले मनमा अझै छाप छोडेका छन् । एउटा समयमा बङ्गला भाषाका हाङ्ररी कविता पनि अरू कवितासरह नै मन पर्थे । मैत्रेयी देवीको न हन्यते शीर्षक उपन्यास, ओडिया भाषाकी प्रतिभा रायको उपन्यास याज्ञसेनी मलाई उत्कृष्ट लागेका सिर्जना हुन् । कलेज र विश्वविद्यालयमा छँदा पढेका सेक्सपियरका नाटक चेखव ओ हेनरीका कथाहरू, एन फ्राङ्कको डायरी, म्याक्सिम गोर्कीको मदर, टलस्टयको वार एन्ड पि र मैले पछिको समयमा पढेका सिमोन द बोउआरको द सेकेन्ड सेक्स, चिनुवा एचेवेको थिङ्क्स फल एपार्ट, पाउलो कोलोको द अलकेमिस्टले पनि मनलाई प्रभावित पारेका हुन् ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?

स्तरीकरणका लागि  पहिला त स्तरीय साहित्य लेख्ने साधना साहित्यिकले नै गर्नुपऱ्यो । अध्ययन, चिन्तन मनन र सूक्ष्म पर्यवेक्षणद्वारा उत्कृष्ट साहित्य रचना गरेपछि समीक्षकबाट पनि  त्यो साहित्यको चर्चा हुनुपऱ्यो । साहित्यमा लबी हुनु अत्यन्त हानिकारक कुरा हो । विश्वव्यापीकरणका लागि स्तरीय अनुवाद हुनु,  संस्थागत रूपमा अघि बढ्नु, राज्य र देशले विशेष भूमिका खेल्नु अत्यावश्यक देखिन्छ ।

विगतदेखि र्तमानसम्म आइपुग्दा शासक र सर्जकका बीचको सम्बन्धलाई कुन रूपमा हेरिरहनुभएको छ ?  

धेरै सर्जकले शासकका विरुद्धमा लेख्दै आएका छन् भने कतिपय शासकको भएर लेख्दै छन् । सर्जक अन्धो हुनु हुँदैन । शासकलाई बाटो देखाउने आँखा हुनु पर्छ सर्जक । शासकले पनि सर्जकको स्वतन्त्रता छिन्नु हुँदैन । शासक आउँछन् जान्छन्, सर्जक युग युग बाँच्छन् । जाति र भाषा, समाज र देशप्रति दुवैको दायित्व हुन्छ तर सर्जकको दायित्व शासकको भन्दा आन्तरिक हुन्छ ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?  

नवोदित स्रष्टाहरू हाम्रो भविष्य हुन् । उनीहरूले गहिरो अध्ययन त गर्नुपर्छ नै । कुन विधामा उनीहरू अधिक पारङ्गत छन् वा हुन सक्छन् त्यो विधा चयन गर्न सके राम्रो । आफूभित्रको मौलिकतालाई अधिक महत्त्व दिनुपर्छ । आफूले लेखेकै उत्कृष्ट हो भन्ने एकपक्षीय धारणा पनि लिएर बस्नु हुँदैन; सिक्नुपर्छ अरूबाट, शब्दहरू खेलाउन सिक्नुपर्छ ।

जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?  के सार्वजनिक गर्न मिल्छ ?  

त्यसै पनि लेख्ने क्षेत्रमा पछिसम्मको सोच्दिनँ म । अहिले केही सार्वजनिक गर्ने इच्छा छैन ।

अहिले साहित्यमा लागेर के पाए र के गुमाएजस्तो लाग्छ ?

पुस्तक किन्दा र प्रकाशन गर्दा भएको खर्चलाई गुमाएको मान्ने मानसिकता राख्दिनँ म । मेरो दायित्वभित्र पर्ने कुरा हुन् यी । हो, केही नै गुमाएकी छुइनँ । प्राप्तिको बाटो खोलिदियो साहित्यले । पाएँ एउटा फराकिलो साहित्यिक जमात, नयाँ दृष्टि, नयाँ जगत्‌ र स्वस्थ बाँचिरहेँ भने भविष्यमा शब्दसित व्यस्त रहेर जीवन, जगत्‌लाई हेर्न सक्छु भन्ने भित्री आड र भरोसा ।