साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रम्बास कविता: पृष्ठभूमि, परिचय र अक्षर संरचना

रम्बास कविता अक्षर-सङ्ख्याका आधारमा लेखिने हुँदा रम्बास कविताको अध्ययन, विश्लेषण र मूल्याङ्कनका लागि अक्षरका प्रकार, संरचना र सङ्ख्या जान्न र बुझ्न आवश्यक हुन्छ ।

Chovar Blues Mobile Size

१. पृष्ठभूमि

लेखनलाई केन्द्र बनाएर नेपाली भाषासाहित्यका इतिहासमा गरेका र भएका आन्दोलन, अभियान, काण्ड, पर्व, वाद, विचार र शैलीले विशेष महत्व राख्दै आएका छन् । साहित्य सृजनाका लागि उत्प्रेरणा र परम्परामा भिन्न विचारसहित नयाँ आयाम दिने यी भाषासाहित्यको जीवन्त गति हुन् । नेपाली साहित्यका इतिहासमा मोतीमण्डली (वि.सं. १९३८) नै पहिलो साहित्यिक अभियान मानिन्छ । अन्य विधामा भन्दा कविता विधामा विविध अभियान र आन्दोलनको प्रभाव धेरै पाइन्छ । सङ्ख्यात्मक रूपमा पनि कविता विधाको क्षेत्रमा नै यी आन्दोलन र अभियान ज्यादा केन्द्रित छन् ।

असम नेपाली भाषा र साहित्यको एउटा केन्द्र हो । असमेली नेपाली कविता लेख्य रूपमा देखिनुपूर्व मौखिक परम्परामा विकसित हुँदै आएको देखिन्छ । सन् १८९३ देखि असमेली नेपाली कविताको लेख्य रूपको प्रारम्भ भएदेखि वर्तमान अवस्थासम्म निरन्तर रूपमा असमेली नेपाली कविता गतिशील छ । भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, सन् २०२० मा पहिलो पटक रम्बास कविता लेखनको आरम्भ भएको देखिन्छ ।

१.१ रम्बास कविताको परिचय र संरचना

रम्बस (Rhombus) ग्रीक भाषाबाट आएको शब्द हो । जसलाई ग्रीक भाषामा Bullroarer Shap भनिन्छ । यसको अर्थ A Spinning Top हुन्छ भने नेपालीमा समबाहु चतुर्भुज हुन्छ । रेखागणितमा ‘रम्बस’ भन्नाले चारओटा भुजाहरूको लम्बाइ र विपरीत कोणहरू बराबर भएको समानान्तर चतुर्भुज बुझिन्छ । यही ‘रम्बस’ बाट नेपाली साहित्यको कविता विधामा ‘रम्बास’ शब्द निर्माण गरी रम्बास कविताको लघुरूप निर्माण गरिएको छ ।

sagarmani mobile size
दीपक सुवेदी

एउटा शाब्दिक वर्णबाट सुरु गरेर क्रमशः दोस्रो, तेस्रो गर्दै दसौँ पङ्क्तिसम्म दसओटा वर्णलाई भावना अनुसार सजाएर पुनः दश पछि नौ, आठ गर्दै अन्तिम शाब्दिक वर्ण प्रयोग गरी मोठ उन्नाइसओटा पङ्क्तिमा एकसय वर्णमा सक्नुपर्ने ज्यामितिको रम्बास आकारमा लेखिने कवितालाई रम्बास कविता भनिन्छ (सापकोटा, kenjokhabar.com) । यो अपरम्परागत शैली र आकारमा लेखिने कविता केही साधारण नियमले लेखिन्छ (बोहोरा, titopati.com) । यो एक चतुष्कोणी कविता अर्थात् चारकुने आकृतिमा लेखिने कविता हो । कविताका शब्द र वर्णहरूलाई विभिन्न आकारमा, चित्रको रूपमा सजाएर विचित्रको अनुभूति अभिव्यक्त गर्दछन् (दाहाल, nepaltouch.com) । अङ्ग्रेजीमा विभिन्न वस्तुहरूको आकारमा अक्षर राखेर विविध कविताहरू लेख्ने चलन एक समयमा चलेको थियो र छ पनि । यस खाले चित्रात्मक कविताहरूलाई concrete poetry भनिन्छ । असममा लेख्न थालेर कृतिसम्म निस्किसकेको वर्णपिरामिड र रेखा कविता पनि यसै अन्तर्गत पर्दछ (दाहाल, nepaldut.com) । यसको संरचनामा निम्न सर्त पूरा भएको हुनुपर्छ ।

क) एउटा शीर्षक हुनुपर्छ ।

ख) जम्मा १९ पङ्क्तिमा अक्षरसङ्ख्या एकसय हुनुपर्छ ।

ग) एक अक्षरबाट सुरु भएर एक अक्षरमै समाप्त हुनुपर्छ ।

घ) एकदेखि दश पङ्क्तिसम्म अक्षरसङ्ख्या क्रमशः एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दशओटा हुनुपर्छ । त्यसपछि क्रमशः नौ, आठ, सात हुँदै एउटा अक्षरमा टुङ्गिनु पर्छ ।

ङ) आधा अक्षर र हलन्त लागेको अक्षरको गन्ती हुँदैन । सग्लो अक्षरको मात्रै गन्ती हुन्छ ।

च) सुरु र अन्त्यमा एउटै अक्षर हुन सक्छ । भिन्न अक्षर पनि हुनसक्छ ।

छ) कवितामा एउटा सिङ्गो कविताको अभिव्यक्ति हुनुपर्छ ।

ज) यसको भावपक्ष जति महत्वपूर्ण हुन्छ संरचना पक्ष पनि उत्ति नै महŒवपूर्ण हुन्छ ।

झ) यस कवितामा मानव मनका सबै खालका अनुभूति व्यक्त गर्ने क्षमता हुन्छ ।

ञ) यो कविता ज्यामितीय रम्बस तथा चतुष्कोण आकारमा लेखिनु पर्छ ।

रम्बास कविता अक्षर-सङ्ख्याका आधारमा लेखिने हुँदा रम्बास कविताको अध्ययन, विश्लेषण र मूल्याङ्कनका लागि अक्षरका प्रकार, संरचना र सङ्ख्या जान्न र बुझ्न आवश्यक हुन्छ ।

२. अक्षर परिचय

‘अक्षर’ तत्सम शब्द हो । अङ्ग्रेजीमा Syllable अक्षरको समानार्थी शब्द मानिन्छ । वर्णभन्दा माथिल्लो भाषिक एकाइलाई अक्षर भनिन्छ अथवा सासको एक झोक्कामा उच्चारण हुने भाषिक एकाइ अथवा लेखिने ध्वनि समूहलाई अक्षर भनिन्छ । वास्तवमा बोलीचालीका हिसाबमा अक्षर भन्नाले एक झट्कामा वा एक पटकका उच्चारणमा उच्चरित हुने ध्वनि वा ध्वनिसमूह हो । अक्षर एउटा ध्वनिको यस्तो एकाइ हो जसलाई टुक्रयाउन सकिदैन, त्यसैले यसलाई क्षरण नहुने अर्थात् अक्षर भनिएको हो । अक्षरलाई वर्ण पनि भन्ने गरिन्छ । यसअनुसार एक अक्षरमा एउटै ध्वनि पनि हुनसक्छ, एकभन्दा बढी पनि ।

नेपाली भाषामा शब्दको लेखाइअनुसार उच्चारण हुन सक्ने स्थिति छैन । यस्तै नेपाली भाषामा लेख्य रूपमा रहेका कतिपय वर्णको उच्चारण सोहीअनुसार हुँदैन । वर्ण दुई किसिमका हुन्छन्– स्वरवर्ण र व्यञ्जनवर्ण । नेपाली भाषाका स्वरले एक्लै अक्षर बनाउन सक्छन् र व्यञ्जनवर्णसँग मिलेर पनि अक्षर बनाउँछन् । तर व्यञ्जन वर्णले एक्लै अक्षर बनाउन सक्दैनन् । व्यञ्जन वर्णले स्वारसँग मिलेरमात्र अक्षर बनाउँछन् ।

२.१ अक्षरका प्रकारहरू

अक्षरलाई अनाक्षरिक वा बद्धा अक्षर र आक्षरिक वा मुक्ता अक्षर गरी दुई प्रकारमा छुट्याउन सकिन्छ ।

२.१.१ अनाक्षरिक वा बद्धा अक्षर

व्यञ्जनमा टुङ्गिने अक्षरलाई बद्धा अक्षर भनिन्छ । अरु वर्णको सहयोग लिएरमात्र अक्षर निर्माण गर्न सक्ने वर्णलाई अनाक्षरिक वर्ण भनिन्छ । अनाक्षरिकअन्तर्गत व्यञ्जन वर्ण पर्दछन् । अनाक्षरिक वर्णको उच्चारण गर्दा स्वर वर्णको सहयोग चाहिन्छ ।

जस्तै :

बस् /ब्अस्/ ।
खेप /ख्एप/ ।
चैत /च्अइत्/ ।

२.१.२ आक्षरिक वा मुक्ता अक्षर

स्वरमा टुङ्गिने अक्षरलाई मुक्ता अक्षर भनिन्छ । अरु वर्णको सहयोग नलिई एक्लै अक्षर निर्माण गर्ने वर्णलाई आक्षरिक वर्ण भनिन्छ । यसमा स्वर वर्णहरू पर्दछन् । अथवा अन्तमा स्वर भएको (व्यञ्जन नभएको) अक्षर मुक्ता अक्षर हो । यी वर्णको उच्चारणमा व्यञ्जन वर्णको सहयोग चाहिँदैन ।

जस्तै :

खा /ख्आ/ ।
के /क्ए/ ।
दाइ /द्आइ/ ।

३. अक्षरीकरण

अक्षरीकरण भन्नाले शब्दलाई अक्षरमा टुक्रयाउनु भन्ने बुझिन्छ । शब्दलाई अक्षरमा टुक्रयाउँदा उच्चारण तथा लेखाइलाई ध्यान दिनु पर्छ । कुनै शब्दमा कति अक्षर छन् भन्ने थाहा पाउनलाई शब्दको अक्षरीकरण गर्नु आवश्यक हुन्छ । लिखित आधार र मौखिक आधारमा एउटै शब्दको अक्षरीकरणमा भिन्नता देखापर्छ ।

३.१ अक्षर संरचनाको परिचय

अक्षरको बनोट नै अक्षर संरचना हो । कुन कुन वर्ण मिलेर अक्षर बन्छ भन्ने कुरा थाहा पाउनु अक्षर संरचनाको ज्ञान हो । शब्दमा रहेका अक्षरको सङ्ख्या पत्ता लगाउन र त्यस अक्षरको उच्चारण कसरी हुन्छ भनेर देखाउनु शब्दको अक्षर संरचना देखाउनु हो । जति स्वरध्वनिहरूको उपस्थिति हुन्छ, एउटा शब्दमा त्यति नै अक्षर हुने कुरा निर्विवाद देखिन्छ ।

शब्दको अक्षर संरचना देखाएर अक्षर सङ्ख्या निर्धारण गर्नुलाई अक्षर सङ्ख्याको पहिचान भनिन्छ । अक्षर संरचना देखाउँदा दोहोरो तिर्यक (//) भित्र राखिन्छ र अक्षरलाई छुट्याउन तिनको बिचमा चिन्ह (.) प्रयोग गरिन्छ ।

 

शब्द लेख्य (रूप) कथ्य रूप अक्षर संरचना अक्षर सङ्ख्या
घर घर् घर्/घ्अर्
अइन् अइन्/अइन्/ यसमा एका दुवै स्वर सासको एक्कै झोँकामा उच्चारण हुने भएकाले अक्षर सङ्ख्याका दृष्टिले एउटै हो ।
ना अइना अइना/अइ.ना/
सञ्चार सन्चार् सन्. चार् /स्न.च्अर/
व्यवस्था ब्यवस्था ब्य.बस् /ब्.य्अ.ब्अस्.थ्आ/
सूर्योदय सुर्योदय सुर्.यो.द.य/स्उर्.य्ओ.द्अ.य्अ/
संरचनागत सम्रचनागत् सम्.र.च.ना.गत्/ स्अम्.र्.अ.न्आ.ग्अत्/
अन्पत्यारिलो अनपत्त्यारिलो अ.न.पत्.त्या.रि.लो/अ.न्अ.प्अत्.त्य्आ.र्,अ.ल्ओ
अपरिवर्तनीय अपरिबर्तनिय अ.प.रि.बर्.त.नि.य/अ.प्अ.र्,इ.ब्अर्.त्अ.न्इ.य्अ
अन्तर्विनिमययोग्य अन्तर्बिनिमययोग्ग्य अन्.तर्.बि.नि.म.य.योग्.ग्य/इ,न्इ.म्अ.य्अ.य्ओ.ग्य्अ
उपमहानगरपालिका उपमहानर्पालिका उ.प.म.हा.न.गर्.पा.लि.का/

उ.प्अ.म्अ.ह्आ.न्अ.ग्अर्.प्आ.ल्इ.क्आ

 

३.२ अक्षर संरचना देखाउँदा ध्यान दिनु पर्ने कुराहरू

३.२.१ अक्षरलाई लेखनका आधारमा नभएर उच्चारणका आधारमा छुट्याउनु पर्छ ।
जस्तै : कलम– क.लम्

३.२.२ शब्दका बिचमा एकभन्दा बढी व्यञ्जन आए पहिलोलाई अघिल्लो र दोस्रोलाई पछिल्लो अक्षरसँग लेख्ने ।
जस्तै : पक्का– पक्.का, शङ्ख– शङ्.ख

३.२.३ य, र, ल, ‘व’ सँग गाँसिएर आएका अल्पप्राण वर्ण द्वित्व हुन्छ ।
जस्तै : कन्या– कन्.न्या, विद्या– विद्.द्या

३.२.४ य, र, ल, ‘व’ सँग गाँसिएर आएको महाप्राण व्यञ्जनबाट बनेको संयुक्त व्यञ्जनमा त्यो वर्ण एकपटक उही वर्णको अल्पप्राण बन्छ ।
जस्तै : व्याख्या– व्याक्.ख्या, सभ्यता– सब्.भ्य.ता

३.२.५ दुईवटा स्वरसँगै आउँदा छुट्टछुट्टै देखाउने ।
जस्तै : आएस्– आ.एस्, आउनुहोस्– आ.उ.नु.होस्

३.२.६ द्विस्वरलाई एकै अक्षर मानिन्छ र त्यसले एउटा अक्षर बनाउँछ ।

जस्तै : ऐना– अइ.ना

३.२.७. श, ष, स मध्ये ‘स’ को प्रयोग गर्नु पर्छ ।
जस्तै : शिशिर– सि.सिर्, शोषक– सो.सक्

३.२.८ ‘ञ’ र ‘ण’ को सट्टामा ‘न’ को प्रयोग गर्नु पर्छ ।
जस्तै : सञ्चार– सन्.चार, सुवर्ण– सु.बर्.न

३.२.९ शब्द दीर्घ भए पनि ह्रस्व लेख्नु पर्छ ।
जस्तै : दीपक– दि.पक्

३.२.१० ‘ऋ’ को सट्टा ‘रि’ लेख्नु पर्छ ।
जस्तै : ऋषि– रि.सि

शब्दका लेख्य रूप र कथ्य रूप भिन्नाभिन्नै छन् । यसर्थ नेपाली भाषामा शब्दको लेखाइअनुसार उच्चारण हुन सक्ने स्थिति छैन । यस्तै नेपाली भाषामा लेख्य रूपमा रहेका कतिपय वर्णको उच्चारण सोहीअनुसार हुँदैन । नेपाली भाषामा लेख्य रूपमा रहेका दीर्घ ‘ई’, ‘ऊ’, को ह्रस्व ‘इ’, ‘उ’, ‘ऋ’ को ‘रि’, ‘ऐ’ को ‘अइ’, ‘औ’ को ‘अउ’ (द्विस्वर) यस्तै व्यञ्जन वर्ण ‘श’ ‘ष’ को ‘स’ ‘ञ’ को ‘न’् र ‘ण्’ को ‘न्’ वा ‘डँ’ को उच्चारण हुन्छ ।

४. रम्बास कवि र कविता

भारतवर्षको उत्तर पूर्वाञ्चलको असमबाट अप्रिल, २०२० मा रम्बास कविता लेखन आरम्भ भएको थियो । त्यहाँदेखि निरन्तर रूपमा कविता लेखिरहने रम्बास कविहरूमा मोहन सुवेदी, रोहित सैजु, पुष्कर रेग्मी, वसन्त हरियाली, सीता विष्ट कार्की, रवीन्द्रनाथ पोख्रेल, शेषमणि आचार्य, घनश्याम पौडेल,. अर्जुन उप्रेती, डा.जगन्नाथ उपाध्याय, देवीचरण सेढाईँ, भीम धमला, पुरुषोत्तम उपाध्याय दाहाल, खडानन्द दुलाल, लोकनाथ शर्मा, प्रितम आचार्य, प्रकाश कुइँकेल, गिरिधारी उपाध्याय, मुकेश रेग्मी, कृष्णलाल शर्मा, मिनादेवी फुयँल, कुञ्जदेवी उपाध्याय, दुलुमनि देवी, हिरनमयी आचार्य शर्मा, नीता गुरुङ भाटिया, प्रियङ्का शर्मा, मिना पौडेल, नरमाया उपाध्याय, गौरव दाहाल, शान्ति भुजेल, लखिकान्त शर्मा, कुलबहादुर छेत्री (कुलेभाइ), सुरज खनाल, दिवाकर न्यौपाने, प्रकाश बुडाथोकी, गोपाल नेवार, चित्र पौडेल, पद्मावति देवी, दीपक दवाडी, रीना भारद्वाज, अरुणकुमार भुजेल, राजेन बोहोरा, अनुपमा कट्टेल, चन्द्र भट्टराई, अजितकुमार हाजरिका, लीलाकान्त तिमसिना, विनीता उपाध्याय गजुरेल, अनुप शर्मा, प्रेम विश्वकर्मा, अर्जुन निरौला, रेवतीरमण सापकोटा, सुरज धमला, शान्ति भुजेल, लुइस बिष्ट, गीताश्री शर्मा आदि रहेका छन् । यसरी विभिन्न पत्रपत्रिकामा अहिलेसम्म सम्बास कविता लेख्ने कविहरूको लामै पङ्ति समेत रहेको देखिन्छ ।

रम्बास कविताको पहिलो कृति मिलन बोहोराको तानाबाना (२०२१) हो । यसपछि आंशिक रूपमा रम्बास कविताहरू रहेको अर्जुन उप्रेतीको घुम्तिमा नआऊ है (२०२१), मिलन बोहोरा र देवीचरण सेडाइँको सम्पादनमा वरपिपल (२०२२), डा.जगन्नाथ उपाध्यायको कलनाद (२०२२), अर्जुन उप्रेती अप्रतिमको सयपत्री (२०२२), गिरिधारी उपाध्यायको शालिग्राम (२०२२), नेपालबाट तनहुँका कवि शेषमणि आचार्यको डाली (२०७८) र सिक्किमबाट गीताश्रीको तिलस्मी (सन् २०२२) रम्बास कवितासङ्ग्रह प्रकाशित भएको देखिन्छन् ।

============

सन्दर्भ
१. दाहाल, डम्बर, मिलन बोहोराको नाताबानामा अल्झिँदा, नेपालदुत, nepaldut.com/2021/08/11/64607 ।

२. दाहाल, पुरुषोत्तम, रम्बास कविता के हो ?, नेपाल टच, nepaltouch.com/news/6117/10/2021।

३. बोहोरा, मिलन, प्रयोगवाद अनि रम्बास कविता, कोसेलीन्यूज, titopati.com/2021/08/05/38518 ।

४. बोहोरा मिलन, तानाबाना, पूर्वायण प्रकाशन, सन् २०२१ ।

५. सापकोटा, रेवतीरमण, रम्बास कविता शैलीको काव्यिक आन्दोलन, केन्जो खबर, kenjokhabar.com/details/5369 ।

६. सुवेदी, दीपक, सजिलो नेपाली वर्णविन्यास, मञ्जरी पब्लिकेसन, काठमाडौँ, २०७६ ।

७. सुवेदी, दीपक, रम्बास कविता, संरचना र लेखन शैली, वरपिपल, खडानन्द शर्मा दुलाल र पुरुषोत्तम उपाध्याय दाहाल, सन् २०२२ ।

प्रतिक्रिया
Loading...