मलाई सम्झना भएसम्म अध्ययनका क्रममा मैले नाम लिँदै जाँदा यी प्रिय निबन्धकार सधैँ मस्तिष्कमा मग्मगाइरहेका हुन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, डा. तारानाथ शर्मा, भाषाशास्त्री बालकृष्ण पोखरेल, निबन्धकार डा. नरेन्द्र चापागाईं, भैरव अर्याल, कृष्णचन्द्रसिंह प्रधान, डा. माधवप्रसाद पोखरेल, कृष्ण धरावासी आदि अनेकौँ नाम छन्, जसको निबन्ध पढेर मैले पनि आफूलाई यो विधामा हिँडाउन खोजेको छु । यसरी नै पछिल्लो पुस्तामा आएर मलाई निकै सन्तुष्टि दिने निबन्धकार पुण्य कार्की पनि हुन् । उनका ‘कविको छैठौँ इन्द्रिय’, ‘एउटा हर्कुलसको खोजी’, ‘रातको सुन्दरता’, ‘जाग्रत आँखाहरू’, ‘बङ्लङबङ्लङ’ निबन्धहरू लेखकमार्फत प्राप्त अगाडि नै पढिसकेको हुँदा पुण्य कार्कीका निबन्धले मेरो पठनयात्रालाई उर्बर बनाएको मैले अनुभव गरिसकेको छु ।

निबन्धकार पुण्य कार्कीको ‘जराको शक्ति’ निबन्ध अध्ययन गर्दा लागेको संक्षिप्त प्रतिक्रियाका रूपमा यसलाई सङ्केत गरेको छु । मैले भन्ने कुरा थोरै छन् । ‘जराको शक्ति’ २०८२ साल श्रावणमा प्रकाशित भएको कृति हो । प्रतीकात्मक दृष्टिले हेर्दा अभिधा, व्यञ्जना, लक्षणा तीनवटै शब्दशक्तिमार्फत अध्ययन गर्न सहज अनुभव हुन्छ । यसले फराकिलो दार्शनिक फाँटलाई सङ्केत गरेको छ । जसरी फर्डिन्याडी सस्युरको संरचनात्मक भाषाविज्ञानले ज्ञानविज्ञानको सबै क्षेत्रलाई प्रभाव पार्यो, ठिक त्यसरी नै ‘जराको शक्ति’लाई यदि प्रतीक मान्ने हो भने धर्म, संस्कृति, राजनीति, दर्शन आदि सारा क्षेत्रमा रहर पुगुन्जेल गहिरेर जान सकिन्छ । निबन्ध सङ्ग्रहको कुनै एउटा निबन्ध शीर्षकको रूपमा खिच्नुको अर्थ पनि यही होला भन्न सकिन्छ । साथै जीवनका हरेक क्षेत्रमा देखिने सत्यलाई शीर्षकले राम्ररी सम्बोधन गरेको हुँदा शीर्षक चयनका दृष्टिले यसलाई उत्कृष्ट निबन्धसङ्ग्रह मान्न सकिन्छ । 

दोस्रो कुरा, निबन्धमा प्रतीकको फाँट फराकिलो देखिन्छ । अध्ययनको व्यापकताबाटै यो कुरा सम्भव हुन्छ । उनले पुराण, इतिहास, विज्ञान, राजनीति, दर्शन, संस्कृति, कला आदि सबै ठाउँबाट प्रतीक लिएका छन् । उनले प्रयोग गरेका प्रतीक राष्ट्रिय र अन्तर्राष्ट्रिय पनि छन् । विश्व इतिहास नपढी अन्तर्राष्ट्रिय प्रतीकविधान मिल्दैन र देशको सारा कुरा नबुझी राष्ट्रिय प्रतीकविधान मिल्दैन । 

तेस्रो कुरा, लेखकले परम्पराको सम्मान गरेका छन् तर अन्धविश्वासमाथि प्रहार गर्ने कुरामा कतै पनि पछि परेका छैनन् । समय सापेक्ष रूपमा चल्न जान्दा नै हामी हरेक कुरामा सफल हुन्छौँ । अन्धविश्वासले हामीलाई कतै पनि उठ्न दिँदैन । नयाँ पुस्ताको दिमागमा पुरानो पुस्ता बादल लाग्नुहुँदैन । पुरानो पुस्तालाई नयाँ पुस्ताले अनादर गर्नु हुँदैन । यो सन्देश पनि हामी यहाँ पाउँछौँ । 

चौथो कुरा, यहाँ कुनै राजनीतिकवादको दुर्गन्ध आउँदैन । लेखक कुन वादका पक्षधर हुन् थाहा पाइँदैन ।  नाटक मञ्चन हुँदा कलाकार चिनिएन भने नाटकको भाव ग्रहण गर्न दर्शकलाई असजिलो हुँदैन ठिक यही कुरा यी निबन्धमा हामी पाउँछौँ । कतै पनि लेखकले आफ्नो भित्रको अहंलाई हावी हुन दिएका छैनन् । स्वाभिमानको सम्मान गरेका छन् । मानौँ हामी मौन्तेनको आत्मपरकता र बेकनको वस्तुपरकता निबन्धमा पाइन्छ । 

पाँचौँ कुरा यी निबन्धहरूलाई विनिर्माणको माध्यम बनाएर पनि हामी नयाँ अर्थको खोजीमा निर्धक्क निस्कन सक्छौँ । जसरी मैनालीले ‘परालको आगो’लाई पुनर्लेखन गरेर चार वटा जति कथा लेखे । यी निबन्ध नेपाली पाठकले जुन ढङ्गले पढेर भाव ग्रहण गर्छ, हिन्दुस्तानी लेखकले आफ्नो दिमागले त्यहाँको परिवेशलाई खिचेर कला भर्न सक्छ । यदि नेपालको प्रसङ्गलाई एकाठाउँमा राखेर अन्य कुरालाई हेर्ने हो भने दक्षिण एसियाको कुनै पनि कुनामा बसेर पढ्दा यी निबन्ध त्यहीँकै लेखकले लेखे जस्तो लाग्छ । यसलाई लेखकको उच्चतम सफलता मान्न सकिन्छ । दक्षिण एसियाको आञ्चलिकतालाई यो निबन्धमा ल्याएर जोड्ने हो भने लेखक कहाँ बसेर लेखेको हो त्यो थाहा पाइँदैन । थाहा पाउनका लागि ठेगानाकै सहयोग लिनुपर्ने हुन्छ । यसरी निबन्धकारले आफ्नो व्यक्तित्वलाई राष्ट्रभन्दा धेरैमाथि उठाएको अनुभव पाउन सकिन्छ ।     

छैठौँ कुरा, जसरी हामी साबुनपानीले शरीरको सफाइ गर्छौँ, त्यसरी नै आत्माको सफाइ गर्ने कुरामा यी निबन्ध सफल छन् । तिनले औषधिको काम पनि गर्छन् । निबन्ध पढ्दा लाग्छ, यो त मेरै बारेमा लेखिएको निबन्ध हो, यहाँ भएका जुन विसङ्गतिको चित्रण गरिएको छ त्यो मेरै नै होला जस्तो लाग्छ । जब आफूले आफूलाई देखिन्छ, आनन्द आउँछ, छेल्ने कालो धब्बा हटाउन यी निबन्ध सबल छन् ।

भाषाको सरलीकरण, आलङ्कारित शिल्पशैली, अभिव्यक्तिमा सरलताका साथ सघनता, बेजोड तार्किकता, सूचनात्मकता, कालनिरपेक्षता र जहिले पढे पनि आजै लेखे जस्तो लाग्ने । निबन्ध जसलाई लेखकले लक्ष्य गरेर लेखेका छन्, ती पाठकका हातमा पुग्न सक्दा राम्रो हुन्छ । कतै कतै मुद्राराक्षस फेला पर्नुलाई म त्रुटि मान्दिनँ । ईश्वरले त गल्ती गर्छन् भने हामी त मानव हौँ, गल्ती भइ नै हाल्छ । अन्त्यमा मेरो एउटा सानो अनुभव थप्न मन लाग्यो – मैले आफू स्तम्भकार हुँदा दलितको कुरा लेखेँ, पुरेत पण्डितको कुरा लेखेँ, महिलाहरूका कुरा लेखेँ, त्यो पनि लोकप्रिय स्थानीय पत्रिकामा । तर त्यो क्षेत्रको पाठक मेरा अगाडि एउटा पनि देखिएन । हामी आखिर कसका लागि लेख्दै छौँ ? भन्ने लाग्यो ।