ललितपुर। नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्थाको सहआयोजनामा तेस्रो बृहत् बालसाहित्य महोत्सव यही माघ ११, १२ र १३ गते पाटन संग्रहालयमा आयोजना हुने भएको छ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा बालसाहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारका विषयमा सामूहिक छलफल, बालसाहित्यिक पुस्तक विमोचन, अन्तर्क्रिया तथा संग्रहालय प्रदर्शनीलगायतका विविध कार्यक्रम समावेश गरिएका छन्।
महोत्सवमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा साहित्यकार–कलाकारहरूको सक्रिय सहभागिता रहनेछ। बाल सहभागितालाई विशेष प्राथमिकता दिइएको महोत्सवमा नृत्य, गायन, नाटक, कवितावाचन, कथावाचनलगायत कला प्रस्तुतिका कार्यक्रमहरू हुनेछन् भने वरिष्ठ बालसाहित्यकारहरूका रचना वाचनसमेत गरिनेछ।
महोत्सवको विशेष आकर्षणका रूपमा बंगलादेशबाट आमन्त्रित वरिष्ठ साहित्यकार प्रा.डा. मिजानुर रहमान कल्लोलले किनोट स्पिच दिनुहुनेछ।
सामूहिक छलफलका विषयहरूमा ‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परिस्थिति’ तथा ‘सम्पदा, संस्कृति र बालबालिका’ रहेका छन्।
त्यस्तै, प्रस्तुत हुने कार्यपत्रहरूमा डा. तीर्थबहादुर श्रेष्ठको ‘बालसाहित्यमा विज्ञान’, प्रा. भिक्टर प्रधानको ‘बालसाहित्यको अबको बाटो’, प्रा.डा. मिजानुर रहमान कल्लोलको ‘फोकलोर टु फ्युचर : ब्लेन्डिङ बंगलादेशी कल्चर विथ साइन्स फिक्सन’ तथा गौरी प्रधानको ‘बालसाहित्यमा बाल अधिकार’ समावेश छन्।
रंगकर्मी तथा बालसाहित्यकार केदार श्रेष्ठले ‘बालसाहित्यसँगै बाल रंगमञ्च र बाल चलचित्र’ विषयमा प्रस्तुति दिनुहुनेछ। यसैगरी रंगकर्मी पुष्पराज अवस्थी र कलाकार कृष्णभक्त महर्जनको संयोजनमा नाट्य तथा कला प्रस्तुति रहनेछ। साथै कलाकार प्रदीप वम्जन, रोशनसिंह क्षितिज, नरहरि प्रेमीलगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
महोत्सवका कार्यक्रमहरू पाटन संग्रहालयको भित्रीचोक, भण्डारखाल चोक र भण्डारखाल हलमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 




