केवल एक भाषिक उत्सव मात्र होइन, यो सभ्यता, पहिचान, मूल्य र मानव गरिमाको उत्सव हो । अरबी भाषा विगतको गौरव, वर्तमानको शक्ति र भविष्यको सम्भावनाको प्रतिनिधित्व गर्ने विश्वव्यापी भाषा हो । जसले गर्दा संयुक्त राष्ट्रसङ्घले सन् २०१२ मा प्रत्येक वर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय अरबी भाषा दिवस का रूपमा मनाउने निर्णय गरेको हो ।

यस मितिको विशेष महत्त्व यस कारण पनि छ कि सन् १९७३ को डिसेम्बर १८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले अरबी भाषालाई आधिकारिक तथा कार्यकारी भाषाको मान्यता दिएको थियो । अरबी भाषा इस्लामिक सभ्यता, अरब विश्व, तथा विश्वव्यापी सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको भाषा हो । यही ऐतिहासिक योगदानको सम्मान स्वरूप यो दिवस स्थापना गरिएको हो ।

यो दिवस संयुक्त राष्ट्रसङ्घ (UNESCO) को पहलमा हरेक वर्ष  मनाइँदै आएको छ । यस दिवसले अरबी भाषालाई केवल सञ्चारको साधन मात्र नभई सभ्यता, संस्कृति, ज्ञान र पहिचानको वाहक का रूपमा चिनाउँछ । अरबी भाषा इमानदारी, पारदर्शिता र सांस्कृतिक पहिचानको संरक्षण प्रवर्द्धन गर्ने मूल आधार भएको हुनाले यसको नैतिक मूल्यहरू भाषा र संस्कृतिबाट अलग हुन सक्दैनन् । यो भाषा विश्वव्यापी पनि रहेको छ ।

अरबी भाषा २२ वटा देशहरूको आधिकारिक भाषा हो । जुन देशहरू अरब लिग (Arab League) का सदस्य राष्ट्रहरू हुन् । साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, बहराइन, इजिप्ट, जोर्डन, लेबनान, सिरिया, इराक, यमन, सुडान, लिबिया, ट्युनिसिया, अल्जेरिया, मोरक्को, माउरिटानिया, सोमालिया, जिबुटी, कोमोरोस र प्यालेस्टाइन लगायत देशहरूमा आधिकारिक रूपमा अरबी भाषा बोलिन्छ । यसै गरी यी देशहरूमा अरबीलाई मानिसले मातृभाषाको रूपमा बोल्छन् । जसको संख्या करीब ३० करोडदेखि ३२ करोड (300–320 million) रहेको पाइन्छ । यति मात्र होइन, संसारका अन्य मुलुकहरूमा पनि अरबी भाषा बोल्ने गरिन्छ जहाँ धार्मिक, शैक्षिक र व्यावसायिक कारणले अरबी दोस्रो भाषाका रूपमा प्रयोग गर्नेहरूको संख्या पनि उच्च रहेको छ । यो सबैलाई जोड्दा ४२ करोडदेखि ४५ करोड (420–450 million) मानिस संसारभर अरबी भाषा बोल्छन् । यस आधारमा अरबी भाषा विश्वको पाँचौँ सबैभन्दा धेरै बोलिने भाषामा पर्दछ । जसका कारण अरबी भाषा संयुक्त राष्ट्रसङ्घको ६ आधिकारिक भाषामध्ये एक प्रमुख भाषा बन्न पुगेको छ ।

ऐतिहासिक रूपमा अरबी भाषालाई विज्ञान, दर्शन, चिकित्सा,धार्मिक शिक्षा र अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम र साहित्यको भाषा भनेर पनि चिनिन्छ । अरबी भाषा साहित्य कविता, दर्शन, इतिहास, कथा र आधुनिक विचारधाराको विशाल खजाना भएको कारण यसले विश्व साहित्यलाई गहिरो प्रभावमा पारेको छ ।मलाई धेरै नेपाली साथीभाइहरूले सोध्ने गर्छन् – रमजान सर, के विश्वभर बोलिने अरबी भाषा एउटै हो त ? किनभने, हामी जहाँ कार्यरत छौँ त्यहाँ हामीले केही फरक भिन्नता पाएका छौँ । यसको उत्तरको रूपमा म यति भन्न चाहन्छु – अरबी भाषा एउटा विशाल भाषा भएको कारण यो एउटै भए पनि दैनिक बोलचालमा क्षेत्रअनुसार फरक–फरक उपभाषा प्रयोग हुन्छन् । यी उपभाषाहरूलाई मुख्यतः ५ समूहमा वर्गीकरण गरिन्छ ।

पहिलो र अत्यन्तै प्रख्यात एवं बढी प्रयोगमा आउने र कला संस्कृत साहित्यिक पक्ष बोकेको खाडी अरबी (Gulf Arabic) लाई लिइन्छ । खाडी अरबी बोलिने देशहरूमा कतार, साउदी अरब (पूर्वी भाग), कुवेत, युएई, बहराइन, ओमान खाडी संस्कृतिसँग नजिक भएको कारण यहाँ बोलिने भाषामा निकटता र समानता पाइन्छ ।

दोस्रो  मिस्री अरबी (Egyptian Arabic) हो । यो उपभाषा इजिप्टमा बोलिन्छ । यसको विशेषता भनेको यो अरब संसारमा सबैभन्दा धेरै बुझिने भाषाको रूपमा रहेको छ । मिस्री अरबी चलचित्र, टेलिभिजन र गीत–सङ्गीतका कारण लोकप्रिय पनि प्रख्यात र लोकप्रिय रहेको छ । इजिप्ट (मिस्र) का अरबी भाषाका प्राचीन/शास्त्रीय साहित्यकारहरूलाई हामीले यसरी स्मरण गर्न सक्छौँः अल-कादी अल-फादिल (Al-Qadi al-Fadil), रसाइल अल-कादी अल-फादिल । सलाहुदिन अय्यूबीका मुख्य सचिव, उच्चस्तरीय अरबी गद्यका प्रवर्तकको इतिहास पनि मिस्र इजिप्टमै पाइन्छ ।

इमाम अल-शाफेई उनको जन्म: गज्जामा भए तापनि निधन भने इजिप्टमा भएको थियो । उनको प्रमुख कृति अल-उम्म हो । उनी धार्मिक विद्वान मात्र नभई उच्चकोटिका अरबी कवि र गद्य लेखक हुन् । इब्न खल्दून उनी ट्युनिसियामा जन्मिएका हुन तर निधन भने काइरोमा भएको हो । उनको प्रमुख कृति अल-मुकद्दिमा अरबी साहित्यको स्तम्भ नै मानिन्छ । काइरोमा अध्यापन, लेखन र निधन—मिस्रको बौद्धिक इतिहाससँग गहिरो सम्बन्ध रहेका उनको सेवा सदैव स्मरणीय रहेको छ ।

शारेह बुखारी उपनामले प्रख्यात इब्न हज्र अल-असकलानी असकलानमा जन्मिएका थिए तथापि उनको कार्यक्षेत्र काइरो नै रह्यो । उनको प्रमुख र प्रख्यात  कृति फत्अहुल -बारी शर्ह बुखारी हो । उच्चस्तरीय अरबी गद्य र इस्लामिक साहित्यका स्तम्भ मानिने इब्न अल हज्र अस्कलानी गज्जबका विद्वान थिए । संक्षेपमा हेर्दा  इमाम अल-शाफेई ८–९ औँ शताब्दी कविता, धर्म; अल-कादी अल-फादिल १२ औँ शताब्दी गद्य; अल-मक्रीजी १४–१५ औँ शताब्दी इतिहास; इब्न खल्दून १४ औँ शताब्दी समाजशास्त्रमा अतुलनीय योगदान गर्ने साहित्यकार हुन् ।

यहाँ अरबी साहित्यका महारथीहरू (Classical र Modern दुवै) लाई युग अनुसार पनि हामी स्मरण गर्न सक्छौँ । जस्तैः  शास्त्रीय (प्राचीन) अरबी साहित्यका महारथीहरूमा हामीले इमरुउल क़ैस (Imru’ al-Qais) लाई सम्झिन सक्छौँ । उनको युग स्लामपूर्व रहेको छ भने उनी अरबी कविताका जनक मानिन्छन् । उनको कृति मुअल्लक़ात (स्वर्ण कवितासङ्ग्रह) अत्यन्तै प्रख्यात छ । अल-मुतानब्बी (Al-Mutanabbi) लाई नचिन्ने को होला ? उनको युग १० औँ शताब्दी हो । उनलाई  महान् अरबी कवि भनेर सम्बोधन गरिन्छ । उनको कृतिदीवान अल-मुतानब्बी इस्लामी पाठ्यक्रमको अभिन्न अङ्ग नै हो ।मैले पनि यो पुस्तक पटक पटक अध्ययन गर्ने अवसर पाएको छु । उनैको एउटा सानो कविताको अंश:

أنا الذي نظرَ الأعمى إلى أدبي

وأسمعت كلماتي من به صَمَمُ

नेपाली भावानुवादः

म त त्यही हुँ जसको साहित्यले अन्धालाई दृष्टि दिन्छ,

र मेरो शब्दले सुन्न नसक्ने व्यक्तिलाई पनि सुनाउँछ ।

मानिसको आत्मसम्मान, प्रतिभा र मूल्यमाथि आधारित कविता हो। अल–मुतानब्बी भन्छन् कि सच्चा सम्मान र गौरव बाह्य अवस्थाले होइन, मानवको योग्यता र चरित्रले निर्धारण गर्छ । यसले व्यक्तित्व, सम्मान र भाषाको शक्तिलाई जोड दिएको छ । अल-जाहिज (Al-Jahiz) उनको सादा जीवन नै साहित्य अनुरागी र कलाका पारखीको निम्ति मार्गदर्शनको रूपमा रहेको छ । उनको युग नाैऔँ शताब्दी हो उनी अरबी गद्यका पिता मानिन्छन् । अन्य कृतिसहित उनको कृति किताब अल-हयवान निक्कै रोचक रहेको छ ।