लक्ष्मण भन्तना ‘शिरीष’का तीन गजल

लक्ष्मण भन्तना
गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिकामा जन्मिएका गजलकार लक्ष्मण भन्तना ‘शिरीष’ लामो समयदेखि नेपाली गजल लेखनमा सक्रिय छन् । पिता यमप्रसाद भन्तना र माता मैयाँ भन्तनाको सन्तानको रूपमा जन्मिएका लक्ष्मण भन्तना गजलका अलावा कविता, मुक्तक र गीतहरू पनि रचना गर्छन् । भन्तनाले रचना गरेका तीनवटा गीतहरू विभिन्न गायकहरूले स्वरबद्ध गरिसकेका छन् । लामो समयदेखि प्रवासमा रहेका भन्तना ‘शिरीष’ हाल जापानको टोकियो, उएनो पार्क नजिकै बस्छन् । घरको आर्थिक बोझ व्यवस्थापन गर्न वैदेशिक रोजगारीमा निस्किएका भन्तनाको नेपाली साहित्यप्रतिको रूचि भने कहिलै घटेन । मनास्लु हिमशृङ्खलाहरू आँखाभरि सजाउँदै जापानका अग्ला घरहरूका साँघुरा गल्लीहरूमा अलमलिरहने भन्तना टोकियोमा प्रायः जुटिरहने साहित्यिक माहोलहरूमा अक्सर पुगिरहन्छन् र घरदेश र आफ्नाहरूको न्यास्रो गजलका सेरहरूमार्फत मेटिरहन्छन् ।
गजलकार भन्तना आफ्ना गजलका सेरहरूमार्फत मानवीय सम्बन्ध र समवेदनाको निकै सुन्दर र अर्थपूर्ण चित्रण गर्छन् । वर्तमान नेपाली राजनीतिप्रतिको वितृष्णा, यान्त्रिक बन्दै गइरहेको मानवताप्रतिको असहमति, मृत्यु चेतनाप्रति आफ्नो दृष्टिकोण, समाजको अन्ध चेतनाको चिरफार, प्रेम, देशको माटो र परिवारको सम्झना लगायतका विषयवस्तुमा उनका गजल मुख्य रूपमा केन्द्रित देखिन्छन् । जापानको व्यस्त जीवनशैलीबाट थोरै समय झिकेर पनि निरन्तर साहित्य साधना गरिरहेका गजलकार लक्ष्मण भन्तना शिरीषका तीन वटा गजल यहाँ प्रस्तुत गरिएको छ-
१.
मृत्युकै लागि पनि त, पहिले जन्मिनु पर्छ
अर्थ रहोस् जिन्दगीको, अस्तित्त्व जोगिनु पर्छ ।।
मृत्युको सोधपत्र जस्तो, मृत्युकै रङ्ग के खोजौँ
यहाँ त हरपल जिन्दगी, प्रयोगमा राखिनु पर्छ ।।
यी सम्बन्धहरू पनि, चप्पलका तुना झैं लाग्छन्
कसलाई के थाह छ र, कुन बेला चुँडिनु पर्छ ।।
ए नारी अब तिमीले, लिङ्ग बिहिन् सन्तान जन्माऊ
जे जसरी हुन्छ देशमा, बलात्कार रोकिनु पर्छ ।।
भूगोलभन्दा अलिक पर, देश खोज्नु पर्यो भने
निर्धक्क आँखा चिम्लेर, आमालाई सम्झिनु पर्छ ।।
२.
ठूलो – बडो कुर्चीमाथि, खुट्टा हल्लाई रहन्छ
पाउ पर्छ निमुखा झन्, बिन्ती बिसाई रहन्छ
दाम नै रै’छ ठूलो भन्नू, नाम हुनेको काम के हो
भ्रम भित्रको दुनियाँले, मान्छे झुक्याई रहन्छ ।।
आज तिम्रै छ समय, कसको हो भोलि के’ थाह
बेला – बेला समयले, रफ्तार बढाई रहन्छ ।।
मैदानमाथि आऊ तिमी, मेरो सामना गर्न लौ
घरभित्र त बालक पनि, तुजुक देखाई रहन्छ ।।
तिमीले तिम्रै सुरक्षाको, रक्षा के गरी गर्छौ खै
आफ्नै धड्कन मुटुभित्र, हलचल मच्चाई रहन्छ ।।
३.
मैले बाँचेको जिन्दगी कहाँ पुगेर सकिन्छ
जिन्दगी त चिहान सम्म मृत्यु कुरेर सकिन्छ ।।
तछाड मछाड अति भयो के रैछ र यो जिन्दगी
रित्तै हुन्छ आखिर घाटमा लास बनेर सकिन्छ ।।
आफ्नो भन्दैन मृत्युले जान्दैन झुक्न कहिल्यै
के भर मान्नु यो सास पनि छिनमै उडेर सकिन्छ ।।
धन दौलत आफ्नो पराई मिथ्या हुन् छिनभरको
के थाह भ्रम भित्रको खुशी कति खेर सकिन्छ
आहा भनून् दुनियाँले भुलौँ रिस राग ईर्ष्या
अहमताले त मान्छे नै बर्बाद भएर सकिन्छ ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
४ माघ २०८२, आईतवार 










