अमेरिका । नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘बाङ्गा अक्षर’ले स्थापना गरेको खाइराइड हास्यव्यङ्ग्य पुरस्कार अन्तर्गत आयोजित निबन्ध प्रतियोगिताको म्याद थपिएको छ।
२०७९ साउनमा आह्वान गरिएको उक्त प्रतियोगितामा विद्यार्थीहरूबाट निबन्धहरू प्राप्त भइसके पनि भाद्र महिनामा जेन–जी आन्दोलन, त्यसपछिका दशैँ–तिहार र छठ पर्वका कारण धेरै विद्यार्थीले निबन्ध लेख्न समय पाउन नसकेको जानकारी आएको बाङ्गा अक्षरले जनाएको छ।
विद्यालयहरूबाट फोन र म्यासेन्जरमार्फत प्राप्त अनुरोधको आधारमा निबन्ध पठाउने म्याद २०८२ मंसिर १५ (डिसेम्बर १, २०२५) सम्मका लागि थप गरिएको संयोजक नारायण भट्टराईले जनाउनुभएकाे छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको राशि रु २० हजार द्वितीय रु १० हजार र तृतीय पुरस्कार दुई जनालाई जनही रु पाँच हजार रहेको छ।
विद्यालय तह (कक्षा १२ सम्म)मा अध्ययनरत नेपाली भाषी विद्यार्थीले प्रतियोगितामा भाग लिन सक्नुहुनेछ। विद्यालयका प्रधानाध्यापक वा प्रिन्सिपलको सिफारिस पत्र निबन्धसँगै अनिवार्य रूपमा पठाउनुपर्नेछ।
निबन्ध मौलिक, देवनागरी लिपिमा टाइप गरिएको, ११ सय देखि १८ सय शब्दबीचको हुनुपर्नेछ। एआई, चोरी वा नक्कल गरिएको निबन्ध प्रतियोगितामा मान्य नहुने आयोजकले स्पष्ट गरेको छ।
निबन्धको विषय स्वतन्त्र भए पनि रचनाले सामाजिक प्रवृत्तिलाई व्यङ्ग्य गर्नुपर्नेछ। तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय वा लिङ्गलाई लक्षित गर्ने सामग्री अस्वीकार्य हुनेछ। सहभागीहरूले आफ्नो फोटो, छोटो परिचय, र निबन्धको WORD र PDF दुवै फर्म्याट बाङ्गा अक्षरको इमेल bangaakshar@gmail.com मा पठाउनुपर्नेछ। निर्णायक मण्डलले प्राप्त निबन्धहरूको मूल्याङ्कन गरी उत्कृष्ट रचनाहरूलाई पुरस्कार प्रदान गर्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२७ कार्तिक २०८२, बिहीबार 




