दुई पैसाको सिन्दुरसँग जीवन, साट्नै पर्ने किन होला
बिहेपछि पीडा, हण्डरजति सबै, ढाँट्नै पर्ने किन होला
दिनभरि ठेगान छैन राति, मदिराको बेहोसीमा छिर्छन्
यस्तो बैगुनी बेसर्मीसँग जीवन, काट्नै पर्ने किन होला
माइतीले ज्वाईँको कमाई दैनिकी, ठीक छ नि भनी सोध्दा
यस्तो दुर्जनलाई सज्जन भन्दै कुरा, छाँट्नै पर्ने किन होला
राति सबै सुनकेस्री केशहरू, थाहा छ पक्कै भुतेलिन्छन्
दिनभरी लगाई मिलाएर चुल्ठो, बाट्नै पर्ने किन होला
खेतबारी र वस्तुको कामले, लखतरान शरीरले नि
सबैले खाई रित्याएको भाँडो मात्रै, चाट्नै पर्ने किन होला
राम्रो लाउन मीठो खान, कसलाई रहर हुन्न र यहाँ
एउटै उध्रेको धोतीसँगै बैँस, फाट्नै पर्ने किन होला



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




