
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराईले तिहारलाई छेको पारेर आफ्नो सातौँ कृति सार्वजनिक गर्नु हुँदैछ । लामो समयको प्रतीक्षापछि भट्टराईले ‘चमेलीको फूल वैजनी रुमाल’ शीर्षकको नयाँ पुस्तक बजारमा ल्याउने तयारी गर्नुभएकाे हाे ।
फाइनप्रिन्ट प्रकाशनमार्फत सार्वजनिक हुन लागेको यो पुस्तक असोज ३१ गतेबाट बजारमा उपलब्ध हुने भएको छ । भट्टराईका अनुसार यो कृति मनोविज्ञानमा केन्द्रित आख्यान हो । उहाँले पुस्तकको विस्तृत कथावस्तु क्रमशः सार्वजनिक गर्दै लैजाने योजना बनाएको बताउनुभयाे ।
तीन वर्षपछि नयाँ पुस्तक लिएर आउनुभएकाे भट्टराईले यसअघि २०२२ मा ‘इजोरिया’ प्रकाशन गर्नुभएकाे थियाे । त्यसअघि उहाँका ‘समर लभ’, ‘साया’, ‘प्रिय सुफि’ जस्ता कृतिहरूले नेपाली युवापुस्तामाझ व्यापक लोकप्रियता हासिल गरेका थिए । विशेषगरी प्रेम, भावनात्मक उतार–चढाव र समकालीन युवा जीवनका संवेदनशील पक्षहरूलाई उहाँले आफ्ना कृतिहरूमा सजीव रूपमा प्रस्तुत गर्दै आउनुभएकाे छ ।
साहित्यिक वृतमा सुबिन भट्टराई नयाँ पुस्तालाई साहित्यतर्फ आकर्षित गराउने लेखकका रूपमा हेरिन्छ । उहाँका कृतिहरूमा सरल भाषा, समसामयिक विषयवस्तु र गहिरो भावनात्मक धरातलको संयोजन पाइन्छ । यसै कारण उहाँका पुस्तकहरू युवा पुस्तामाझ ट्रेन्डिङ बन्ने गरेका छन् ।
आगामी पुस्तक ‘चमेलीको फूल वैजनी रुमाल’ बाट पनि साहित्यिक वृत र पाठकमाझ उत्साहजनक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ । विशेषगरी मनोवैज्ञानिक पृष्ठभूमिमा आधारित आख्यान भएकाले यसले नयाँ प्रयोग र गहिराइ बोकेको हुनसक्ने समीक्षकहरूको अनुमान छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

