काठमाडौँ  । नेपाली साहित्य, संस्कृति र सिर्जनात्मक लेखनमा उल्लेखनीय योगदान पुर्‍याउने तीन व्यक्तित्वलाई २०८१ सालका लागि पद्मश्री गौरव, पद्मश्री साधना र पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको छ। काठमाडौंमा मंगलबार आयोजित एक विशेष समारोहबीच प्राध्यापक अभि सुवेदीलाई पद्मश्री गौरव पुरस्कार, प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान तथा पत्रकार एवं लेखक रमेश भुसाललाई संस्मरणात्मक कृति ‘छालबाटो’ का लागि पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको हो।

पुरस्कार वितरण समारोहमा खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तिनै जना व्यक्तित्वलाई जनही तीन लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्नुभएकाे थियाे । उहाँले नेपाली साहित्य, संस्कृति र वाङ्मयका क्षेत्रका साधकहरूलाई सम्मान गर्न पाउनु संस्थाको गौरव रहेको बताउनुभयाे ।

“यो सम्मानले उहाँहरूमा थप हौसला र ऊर्जा प्राप्त होओस् भन्ने म कामना गर्दछु,” अध्यक्ष लामिछानेले भन्नुभयाे, “नेपाली साहित्य, संस्कृति तथा कलाको मौलिकता र विशिष्टता हाम्रो पहिचान हो। यो सानो फूलबारीभित्र रहेका विविध फूलका थुंगाहरूको जैविक सुवास नै हाम्रो गौरवको शिखर हो।”

साहित्य, कला र संस्कृतिप्रतिको समर्पणका कारण पद्मश्री गौरव पुरस्कार प्राप्त प्राध्यापक डा. अभि सुवेदीले यो सम्मानलाई आफ्नो सिर्जनात्मक यात्राको महत्वपूर्ण प्रेरणाको रूपमा लिनुभएकाे छ। उहाँले साहित्यलाई समय, अनुभव र चेतनाको निरन्तर यात्रा बताउँदै भन्नुभयाे, “साहित्यको मूल आधार आफ्ना कालिक अनुभव अनि घटनाहरूतिर फर्किएर लेख्नु हो। त्यो स्थिर हुँदैन, लेख्नेले आफूले सोचेका कुरा लेखिसकें वा भनिसकें भन्ने कुनै निश्चित आधार हुँदैन।”

उहाँका अनुसार सिर्जनामा निश्चित सीमारेखा हुँदैन। “एउटा बाटो लिएर ‘मेरो यही हो, यत्ति हो’ भनेर जगत् र जीवन हेर्ने तरिका निश्चित गर्न सकिँदैन,” उहाँले भन्नुभयाे, “लेख्नेले आफ्नो विषय समाउने आधारहरू पनि निरन्तर परिवर्तन भइरहेका हुन्छन्।”

नेपाली भाषा साहित्यप्रति जीवन समर्पण गर्दै आउनुभएकाे प्राध्यापक रमा शर्मालाई पद्मश्री साधना सम्मान प्रदान गरिएको हो। उहाँले यो सम्मानले आफूमा थप ऊर्जा र प्रेरणा जगाएको बताउनुभयाे । “सेवा गर्ने प्रेरणा मैले बुबाबाट नै पाएकी हुँ,” उहाँले भन्नुभयाे, “सन्तानप्रतिको स्नेह र ममता सबै पितामाताको हुन्छ, त्यसैबाट मैले भाषासेवा र सिर्जनाको बाटो रोजेँ।”

शर्मा लामो समयदेखि नेपाली भाषा र साहित्य शिक्षण, लेखन तथा शोधमार्फत योगदान पुर्‍याउँदै आउनुभएकाे छ ।

पद्मश्री साहित्य पुरस्कार प्राप्त पत्रकार तथा लेखक रमेश भुसालले आफ्नो पुस्तक ‘छालबाटो’ मार्फत नदी वरिपरिका जीवन, संस्कृतिको कथा र वातावरणीय चेतना प्रस्तुत गर्नुभएकाे छ। उहाँले पुरस्कारप्राप्ति पश्चात् भावना व्यक्त गर्दै भन्नुभयाे, “नदी पानी मात्रै होइन, यो सभ्यता हो, संस्कृति हो, जीवन चलाउने आधार हो। यो पृथ्वीलाई चलायमान बनाउने रक्तनली हो।”

भुसालका अनुसार अहिले विश्वको कुल बिजुलीको करिब १७ प्रतिशत खोलानदीहरूले उत्पादन गरिरहेका छन्। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीहरू तीव्र गतिमा फेरिँदै गएका छन्। “फेरिनु प्रकृतिको नियम हो, तर जुन गतिमा फेरिएको छ, त्यो असामान्य छ,” उहाँले भन्नुभयाे, “यहाँ मान्छेले मात्रै आफ्नो कथा भनिरहेको छ, तर अरू प्रजातिहरूका कथाहरू हराउँदै गएका छन्।”

पद्मश्री पुरस्कार नेपाली साहित्य, कला र सामाजिक क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानित गर्ने उद्देश्यले स्थापना गरिएको हो। यस वर्षका पुरस्कारप्राप्त व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउँदै आउनुभएकाे छ । आयोजकहरूको भनाइमा, यस्ता सम्मानहरूले सिर्जनाकर्मीहरूमा प्रेरणा जगाउने मात्र होइन, नेपाली कला, साहित्य र संस्कृतिको समृद्ध परम्परालाई निरन्तरता दिने कार्यमा समेत सहयोग पुर्‍याउँछन्।