काठमाडौं । बान्तावा भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य हुने भएको छ। बान्तावा भाषामा प्रकाशित हुने मासिक पत्रिका ‘बुङ्वाखा’ र नेपाल प्रज्ञा–प्रतिष्ठानबीच आगामी ‘बान्तावा साहित्य महोत्सव’ का लागि सहकार्य हुने भएको हो।

सहकार्यसम्बन्धी सम्झौता असोज २० गते काठमाडौंमा सम्पन्न भएको थियो। सम्झौतामा बुङ्वाखाका सम्पादक पदम राई र नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागका प्रमुख प्राज्ञ राजन मुकारुङले हस्ताक्षर गर्नुभएको हो। सम्झौतापछि विभागीय प्रमुख मुकारुङले बुङ्वाखाले मातृभाषा साहित्य र संस्कृति संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी महोत्सवलाई सफल पार्न प्रतिष्ठानले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।

“बान्तावा भाषा, साहित्य र संस्कृतिका लागि बुङ्वाखाले नियमित र निरन्तर कार्य गर्दै आएकोले नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग यस अभियानमा जोडिएको हो,” मुकारुङले भन्नुभयो। यस सहकार्यअन्तर्गत बुङ्वाखाको आयोजनामा र सूर्योदय नगरपालिकाको सहयोगमा आगामी मङ्सिर २३ र २४ गते इलामको फिक्कलमा ‘बान्तावा साहित्य महोत्सव’ आयोजना हुने भएको छ। महोत्सवमा बान्तावा भाषाका विविध साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू हुनेछन्।

कार्यक्रमअन्तर्गत बान्तावा कविता प्रतियोगिता, बान्तावा चिठी लेखन प्रतियोगिता, भे तालेत प्रतियोगिता, दोङ दोङ्मा (परम्परागत गीत) प्रस्तुतिका साथै बान्तावा भाषा र साहित्यमा गहिरो बहस र छलफल समेत गरिने बताइएको छ।

बुङ्वाखा पत्रिका बान्तावा भाषामा नियमित रूपमा प्रकाशित हुने मासिक पत्रिका हो, जसले विगत २१ वर्षदेखि निरन्तर भाषा र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। २०८२ साल असोजसम्म पत्रिकाको २४७ औँ अंक प्रकाशित भइसकेको छ।

वार्षिकोत्सवको अवसरमा बुङ्वाखाले विभिन्न जिल्ला र गाउँ–समुदायमा पुगेर भाषिक समुदायबीच सांस्कृतिक कार्यक्रम र साहित्यिक छलफलहरू गर्दै आएको छ। यसले बान्तावा समुदायभित्र भाषिक चेतना जगाउने र युवा पुस्तालाई मातृभाषा तथा परम्पराप्रतिको गर्व र जिम्मेवारीबोध गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

सहकार्य सम्झौताले बान्तावा भाषिक समुदायको सांस्कृतिक आन्दोलनलाई संस्थागत स्वरूप दिने अपेक्षा गरिएको छ। महोत्सवमा स्थानीय समुदायका साथै देशभरका साहित्यकार, भाषाविद्, कलाकार र अनुसन्धानकर्ता सहभागी हुने तयारी भइरहेको आयोजकले जनाएका छन्।