काठमाडौं । स्रष्टाहरूले नेपाली साहित्य र पत्रकारितामा भैरव अर्यालले पुर्याउनुभएकाेको विशिष्ट योगदानलाई राज्यले अझैसम्म कदर गर्न नसकेको बताउनुभएकाे छ ।

कल्पतरु प्रज्ञा प्रतिष्ठान र कल्पतरु द्वैमासिकद्वारा राजधानीमा आयोजित कार्यक्रममा वक्ताहरूले छोटो जीवनमै अर्यालले साहित्य तथा पत्रकारितामा पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयाे। उहाँहरूको भनाइमा, हास्यव्यङ्ग्य मात्र नभई कविता र गम्भीर लेखनमा पनि अर्याल सशक्त देखिनुभएकाे थियाे ।

सामाजिक र राजनीतिक विसङ्गति–विकृति विरुद्ध दशकौँ अघि अर्यालले गर्नुभएकाे लेखनहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखियो। साथै, उहाँका कृतिहरू अन्तर्राष्ट्रिय स्तरका भएकाले तिनलाई विभिन्न भाषामा उल्था गरी विश्व साहित्यसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याइयो।

कार्यक्रममा साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, प्रतिष्ठानका अध्यक्ष तथा कल्पतरु द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’, साहित्यकार बद्री अर्याल, वसन्त रिजाल, विमल अर्याल, डा. सुवास प्याकुरेल, निर्मल अर्याल, राजन पुडासैनीलगायतले अर्यालका कृतिहरूको विभिन्न कोणबाट मूल्याङ्कन गर्नुभएकाे थियाे ।

सोही अवसरमा जेन्जी आन्दोलन (भदौ २३–२४) का क्रममा मृत्युवरण भएकाहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएकाे थियाे । साथै, भैरव अर्यालको स्मृतिमा प्रकाशित कल्पतरु द्वैमासिकको ११५औँ अंक लोकार्पण पनि गरिएको थियो।

वि.सं. १९९३ असोज ५ गते जन्मिनुभएकाे अर्यालको निधन २०३३ साल असोज १९ गते, ४० वर्षको उमेरमा भएको थियो। उहाँका जय भुँडी, दश अवतार, गलबन्दी, उपवन, इति श्री, काउकुती लगायतका कृतिहरू नेपाली साहित्यका कालजयी सम्पदा मानिन्छन्।