सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरसभाको सभाहलमा आइतबार गृह पुस्तकालय दिवस भव्यताका साथ मनाइएको छ।
गृह पुस्तकालय सङ्खुवासभाका संयोजक स्रष्टा ताराबहादुर बुढाथोकीको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका शिक्षा, साहित्य र पुस्तकालयसँग सम्बन्धित करिब तीन दर्जनभन्दा बढी संस्था तथा विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा ९ वटा व्यक्तिगत कृति र ६ वटा सम्पादनसहित १५ वटा पुस्तक लेखन, सम्पादन र प्रकाशनमार्फत नेपाली भाषा, साहित्य, कला र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएकाे साहित्यकार तथा शिक्षक बुढाथोकीकाे पुस्तकहरू एकैसाथ सार्वजनिक गरिएकाे थियाे । हाल हिमालय मावि खाँदबारीमा प्रथम श्रेणीका शिक्षकका रूपमा कार्यरत बुढाथोकी हालै गठन भएको गृह पुस्तकालय अभियानको केन्द्रीय सदस्य र जिल्ला संयोजकसमेत हुनुहुन्छ।
बुढाथोकीले आजसम्म लेख्नुभएकाे कृतिहरूमध्ये हास्यव्यङ्ग्य, लोककथा, उपन्यास, खोजग्रन्थ, खण्डकाव्य, नियात्रा, पालिका परिचय, संस्मरणात्मक आख्यान, स्मृति ग्रन्थदेखि बाल साहित्यिक स्मारिकासम्मका विविध विधा समेटिएका छन्। उहाँकाे ‘सङ्खुवासभा–एक चिनारी’, ‘अरुण उपत्यकाका १६ भाषा र २२ जातिका लोकगीत संग्रह’, ‘भाँडाकुटी’, ‘बाउ’ उपन्यास, ‘जीवन सीमारेखा’, ‘शिवधारा यात्रा’, ‘जिन्दगीका कुइनेटा’ लगायतका कृतिहरू पुस्तक जगतमा विशेष स्थान ओगट्ने मानिएको छ। त्यस्तै, ‘डम्बर खड्का स्मृति ग्रन्थ’, ‘खड्ग सर स्मृति ग्रन्थ’ र ‘भानु स्मृति ग्रन्थ’ जस्ता कृतिहरूले साहित्य र शिक्षामा योगदान दिने व्यक्तित्वलाई उजागर गरेका छन्।
कार्यक्रममा खाँदबारी नगरप्रमुख महेश थपलिया, प्रिन्सिपल्स एसोसिएसनका अध्यक्ष कुवेरप्रसाद भेटुवाल, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपालमान भण्डारी, नगर शिक्षा शाखा प्रमुख दीपकमणि घिमिरे, शिक्षक महासङ्घका अध्यक्ष शेरबहादुर पुरी, बरुण क्याम्पस प्रमुख चित्ररेखा अधिकारी, मिदास एकेडेमीका प्रतिनिधि नगेन्द्र न्यौपाने, नेराशि सङ्गठनका अध्यक्ष कृष्णबहादुर चापागाईँ, अनेशिसङ्घका अध्यक्ष भीमबहादुर कट्टेललगायत ३० भन्दा बढी विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख थपलियाले लेखक बुढाथोकीको श्रम र सिर्जनाले पुस्तकालय मात्र होइन, समाजमा पनि ज्ञान र चेतना फैलाउने महत्वपूर्ण काम गरेको बताउनुभयाे। उहाँले गृह पुस्तकालय अभियानले विद्यार्थी, शिक्षक र सर्वसाधारणलाई पठन संस्कृतितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले बुढाथोकीका कृतिहरूले जिल्लाको साहित्यिक, भाषिक र सांस्कृतिक पहिचानलाई अभिलेखित गर्ने काम गरेको उल्लेख गर्दै उहाँको योगदान भावी पुस्ताका लागि मार्गदर्शक बन्ने धारणा राख्नुभएकाे थियाे ।
यसै अवसरमा, प्रिन्सिपल्स एसोसिएसन नेपालले आयोजना गरेको “सङ्खुवासभामा समता र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको क्षमता विकास” शीर्षकको बहस पनि सम्पन्न गरिएको थियो। सो बहसलाई गृह पुस्तकालय दिवससँग जोडेर आयोजना गरिएको हुँदा कार्यक्रममा शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रम समापन गर्दै संयोजक बुढाथोकीले गृह पुस्तकालय स्थापना अभियानलाई गाउँगाउँमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै पठनसंस्कृतिको विकासले मात्र समाजलाई सचेत र सबल बनाउन सक्ने बताउनुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










