जङ्गल नै फाँडेर मान्छेले यहाँ, घर बनाउँछ
विकृतिहरू सबै समेटी यहाँ, शहर बनाउँछ

प्रकृति सबै दोहन गरी, को बाँच्छ र दीर्घायु भई
र पनि अकालमै सिद्धिनलाई, जहर बनाउँछ

दूध, दही, मोहीको नाम, सुन्न पनि सक्दैन मान्छे
त्यसैले रक्तशिरालाई मदिराको, नहर बनाउँछ

ईश्वरको सृष्टिमा सबै, मानव जाति बराबर हुन्
आफैँ ठूलो बन्न मान्छेले नानाथरी, थर बनाउँछ

सबै मिली मिलाई/मिलाई, देश नै कङ्गाल बनाए
त्यसैले त युवाले विदेश जाने, लहर बनाउँछ

धान, गहुँ नरोपी भोको पेटलाई, दोष दिन्छ मान्छे
त्यसैले भकारी भर्ने विशाल खेत, बगर बनाउँछ ।

गोदावरी न.पा., ललितपुर