सपना पनि त बारम्बार रोएको होला
बारम्बार लुटिएर, टुक्रा-टुक्रा चिथोरिएर
रगतको सागरमा डुबेर

अझै पनि आशाको किरण खोजिरहेको होला!

तर सपना पनि अब जागिसकेको छ!
अब ऊ झुकेर बस्दैन
सुतेर बस्दैन
भ्रष्टाचारको तखता हल्लाउन उठ्छ
कुर्सीको दास भएका हरूलाई लत्याउँछ!

ओ नेतागण!
तिमीले वर्षौंदेखि हामीलाई सपना बेच्यौ
स्वर्णिम भोलिको नाटक देखायौ
तर तिम्रै महलका पर्खालमा
हाम्रा सपनाहरूको रगत टल्किरहेको छ!
वीर शहीदहरूको रगत
हामीले बालेका मशाल निभ्दैनन् अब
हाम्रा गला घाँटी अठ्याएर बन्द गर्न सक्दैनौ!
अब क्रान्तिको ज्वाला सल्किसकेको छ
आक्रोश, भोकमरी, बेरोजगारीले हिसाब मागेको छ!

हामीले रोपेका सपना उमार्न नदिए
हामी आफैं माटो बनी उम्रनेछौं
हामी आफैं हुरी बनी बगाउनेछौं
अब इतिहास फेरिनेछ
व्यवस्था होइन नेतृत्व फेरिनेछ
भ्रष्ट नेताहरू अब शूली चढ्ने छन्
नागरिक सुरक्षा, सुशासन, वाक स्वतन्त्रता, आउनेछ भाषणमा होइन व्यवहारमा
अब सपनाहरूको पनि सपना पूरा हुनेछ!
सुशासन छाउने छ ।

पेरिस, फ्रान्स