नेपाली चलचित्र तथा रंगकर्ममा लामो समयदेखि सक्रिय भएर काम गरिरहेका कलाकार हेमन्त बुढाथोकी अहिले दमकमा बसोबास गर्छन् । दमकस्थित कदम थिएटरका अध्यक्षको भूमिकामा रहेका उनले रंगकर्मको क्षेत्रलाई सशक्त बनाउन मिहिनेत गरिरहेका छन् ।
एकदिन दमक घुमघामकै अवसरमा उनको नम्बर साथी नवीन प्राचीनबाट प्राप्त भयो । फोनमा उनीसँग वार्तालाप भएपश्चात् भेट्ने वातावरण पनि सिर्जना भयो । आफ्नै मोटरसाइकलमा राखेर उनले मलाई निर्माणाधीन कदम थिएटरको प्राङ्गणमा लिएर गए । शान्त वातावरणमा रहेको कदम थिएटरले रंगकर्ममा लाग्ने इच्छुक व्यक्तिलाई साथ समेत दिइरहेको छ । सोही क्रममा भएको कुराकानीमा उनले कदम थिएटर सञ्चालन तथा निर्माणका केही कुराहरू सुनाए ।
दमक बसोबास गर्न थालेपछि उनलाई नाटक घरको अभाव महसूस भयो । किनभने दमक आसपास हुने साहित्यिक वा सांस्कृतिक कार्यक्रम होटेल वा हलहरूमा सञ्चालन भएको उनले देखेका थिए । त्यसवेला दमकमा नाटकसम्बन्धी गतिविधि गर्ने त्यस्तो कुनै केन्द्र पनि थिएन ।
केही समयअघि ‘गन्तव्य थिएटर’ नामक नाट्य समूह प्रकाश आङ्दम्बेहरूले चलाउने गरेको उनी सम्झन्छन् । उनी आफू पनि यही क्षेत्रसँग नजीक भएको कारण र नाटक गरेरै सिनेमामा प्रवेश गरेको हुनाले एउटा नाटक गर्ने केन्द्र दमकमा बनाउन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो ।
यही छटपटीले नाटक घर निर्माण गर्ने अभिलाषा उनको मनभित्र अंकुरायो । आफूले मात्र होइन, रुचि भएका तर स्थान नपाएका स्थानीय प्रतिभाहरूले पनि नाट्य गतिविधि गर्ने ठाउँ पाउन् भन्ने सोच उनको थियो । या भनौं सबैका लागि सहज केन्द्र बनाउने चाहना थियो । अन्ततः बुढाथोकीले विभिन्न व्यक्तित्वहरूसँग छलफल गर्दै दमकमा स्थायी नाटक घर स्थापना गर्ने योजना बनाए ।
यो ०७३/०७४ साल तिरको कुरा हो । कदम थिएटरको स्थापनाका लागि प्रारम्भिक छलफलहरू गर्न उनीसहित लीला गुरागाईं र प्रकाश बुढाथोकीको एक टोली नगरपालिका सम्म पुग्यो । जहाँ प्रशासकीय अधिकृत युवराज दाहालसँग उनीहरूको भेट भयो । यस क्रममा, दाहालले उपलब्ध जग्गाको बारेमा जानकारी मात्र दिएनन् तुरुन्तै जागा देखाउन समेत लागे ।
करीब पाँच कट्ठा क्षेत्रफल रहेको उक्त जग्गामा नाटक घर खडा गर्न सकिन्छ भन्ने बुढाथोकीको समूहलाई लाग्यो । र दमकमा नाटक घर बनाउने अवधारणा साकार हुने सम्भावना देखियो । थिएटरको नाम ‘कदम थिएटर’ राख्ने सल्लाह भने कवि तथा चलचित्रकर्मी उपेन्द्र सुब्बाले दिएको हेमन्त बताउँछन् ।
कदम थिएटरको औपचारिक यात्रा उपेन्द्र सुब्बाको लेखन रहेको नाटक ‘मरिचेको चुप्पी’ मञ्चनबाट शुरू भएको हेमन्त सम्झन्छन् । यो नाटक दमकको गोरखा डिपार्टमेन्टको हलमा मञ्चन भएको थियो, जहाँ नाटक प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यसबाट पनि दमकमा नाट्यकला प्रति मानिसहरूको आकर्षण देखियो । बिस्तारै दर्ता गर्ने कामहरू अघि बढ्यो ।
थिएटरको स्थायी निर्माणका लागि प्रदेश सरकारले ६० लाख रुपियाँको बजेट उपलब्ध गराउने बताएको थियो । यस बजेटबाट २५० जनाको क्षमता भएको स्थायी हल, विद्यार्थीहरूका लागि होस्टेल, खुला थिएटर, र क्यान्टिनको निर्माण भइरहेको छ । नाटक घरको अवधारणा तयार गरी डीपीआर बनाएर पेस गरेपछि २० लाखको दरले ६० लाख आउने तय भएको उनले सुनाए ।
पछिल्लो समय मुख्यमन्त्री हिक्मत कार्कीलाई भेट्न हेमन्तसँगै सिजन दाहाल पनि पुगेका थिए । सो भेटमा हिक्मतले अहिले धेरै बजेट नभएको बताउँदै २० लाख मात्र उपलब्ध गराउन सक्ने जानकारी दिएका छन् । यद्यपि थप बजेटको व्यवस्था गरेर भए पनि यस पटक थिएटर निर्माण सम्पन्न गर्ने हेमन्तको सोच रहेको छ ।
यसरी थिएटर निर्माणको काम अघि बढिरहेको अवस्थामा तत्काल गतिविधि सञ्चालन गर्न अस्थायी हलको आवश्यकता पर्यो । फलस्वरूप हेमन्त र उनको समूहले विभिन्न सहयोगी हातहरूको माध्यमबाट १४० जनाको क्षमतायुक्त अस्थायी हल निर्माण गरे ।
‘यस हलमा समय-समयमा नाटक मञ्चन गरिन्छ, जसले नाटक-प्रेमीहरूको आवश्यकतालाई तत्काल पूरा गर्न ठूलो भूमिका खेलेको छ’ उनले भने । नाटक मञ्चनबाट उठेको पैसाबाट थिएटरमा आवश्यक पर्ने सर-सामानहरू जुटाउने काम पनि भइरहेको छ ।
कदम थिएटरको विशेषता भनेको ‘कम्युनिटी शो’ पनि हो, जहाँ प्रत्येक नाटकको पहिलो शो स्थानीय समुदायका लागि निःशुल्क रूपमा मञ्चन गरिन्छ । यसले स्थानीय जनतालाई नाटकप्रति चासो बढाउन र कला तथा संस्कृतिको महत्त्वबारे जागरूक बनाउन मदत पुर्याउने गरेको छ । यसले प्रचारप्रसार पनि सहयोग पुग्ने गरेको हेमन्त बताउँछन् ।
कदम थिएटरले नाटक मञ्चन मात्र होइन, नाट्यकला प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । पहिलो ब्याचमा करीब १२ जना विद्यार्थीहरूले नाट्यकला प्रशिक्षण लिएका थिए । यसलाई अझ प्रभावकारी बनाउन काठमाडौंबाट राजन खतिवडा, सोम खनाल लगायत प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए । हाल दोस्रो ब्याचका करीब १० जना विद्यार्थीहरूले प्रशिक्षण लिइरहेका छन् ।
थिएटरको नाट्यकर्मी समूहमा १३ जना सक्रिय सदस्य छन् भने साधारण सदस्यहरूको सङ्ख्या करिब ५० पुगेको छ । यो समूहले दमक र आसपासका क्षेत्रमा नाटकप्रतिको आकर्षणलाई बढाएको छ र नाट्यकला क्षेत्रलाई जनचासोको विषय बनाएको छ ।
थिएटरको निर्माण कार्यलाई अगाडि बढाउँदै गर्दा कोरोना महामारीले केही अवरोध पुर्यायो । महामारीको प्रभावले आएको बजेट समेत उपभोग हुन सकेन । केही सजिला केही अप्ठ्यारा भए पनि अहिले काम पुनः अघि बढाइएको छ, र हेमन्त बुढाथोकी यस पटक थिएटरको पूर्ण निर्माण सम्पन्न हुनेमा आशावादी छन् ।
साहित्यिक तथा सांस्कृतिक गतिविधिमा राज्यको त्यति चासो नहुने उनी बताउँछन् । झक्झकाई रहनुपर्छ । तर, अहिले यस्तो सांस्कृतिक गतिविधिको केन्द्र बनाउनुपर्छ भन्ने सोच भएका मान्छेहरू राजनीतिमा आएको उनले पाएका छन् । सरकारी आश्वासन अनुसार यो ०८१ सालभित्र निर्माण प्रक्रिया पूरा हुने बताइएको छ । नभए पनि ८२ सालसम्म पूरा हुने उनी बताउँछन् ।
‘२५० क्षमतायुक्त हलको स्थायी निर्माणपछि अन्य सहायक संरचनाहरूको निर्माण कार्य पनि योजनाबद्ध रूपमा अघि बढ्नेछ,’ उनले भने, ‘यसले दमकमा नाट्यकला र सांस्कृतिक गतिविधिका लागि एक केन्द्र तयार गर्नेछ ।’
कदम थिएटरमा अहिलेसम्म ‘मरिचेको चुप्पी’, ‘येल्लो कमेडी’, ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’, ‘लङ टाइम नो सी’, ‘मनचिन्ते फिरन्ते’, ’१२ दुर्वासा’ लगायतका नाटकहरू सफलतापूर्वक मञ्चन भइसकेका छन् । नाटक हेर्न टाढा-टाढाबाट दर्शकहरू आउने गरेका छन् । थिएटरले विविध विषयमा सडक नाटकहरू समेत गर्ने गरेको छ । कदम थिएटर पूर्वमा नाट्य अभ्यासको राम्रो थलो बन्नेमा हेमन्त विश्वस्त छन् ।
कदम थिएटर झापाको दमकमा अवस्थित छ । दमक बजारको बिजुली अफिसबाट तल कदम चौकमा पुग्नासाथ कदम थिएटरको बोर्ड देख्न सकिन्छ । यो ठाउँ अहिले दमकमा नाटक घरको रूपमा परिचित भइसकेको छ, जसले गर्दा ठेगाना पत्ता लगाउन गाह्रो पर्दैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










